२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सहाना स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता : त्रिभुवन आर्मीलाई सफलता

विभागीय टोली त्रिभुवन आर्मी क्लबले छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा जित निकालेको छ।

शनिबार भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० गोल अन्तरले हराएको हो। धुलिखेल खेलमैदानमा भएको खेलमा आर्मीलाई जित दिलाउन सीमा खड्का, डम्मरा भट्ट र सरस्वती तामाङले गोल गरे।

खेलको २१औं मिनेटमा सीमाले गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। आर्मीका लागि डम्मराले खेलको ५०औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाइन्। सरस्वतीले खेलको ५६औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाउन सफल भइन्। आर्मीले जितबाट प्रतियोगितामा तीन अंक जोडेको छ। 

शनिबार नै भएको दोस्रो खेलमा लुम्बिनी प्रदेशले अग्रता जोगाउन नसक्दा मधेस प्रदेशसँग १–१ गोलको बराबरी खेलेको छ। लुम्बिनीका लागि अनन्या बड्नवालले खेलको सातौं गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्।

मधेसकी आरतीकुमारी महतोले ४०औं मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याइन्। दुवै टोलीले १÷१ अंक जोडेका छन्। आइतबार चार खेल हुनेछन्। पहिलो खेलमा आर्मीले बाग्मती प्रदेशसँग खेल्दा दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशसँग खेल्नेछ।

तेस्रो खेलमा गण्डकीले बाग्मतीको सामना गर्दा अन्तिम खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिमसँग खेल्नेछ। आइतबार पहिलो खेल बिहान ८ बजेबाट सुरु हुँदा दोस्रो १० बजे, तेस्रो ३ बजे र अन्तिम खेल ५ बजेबाट सुरु हुनेछ।

प्रतियोगितामा नेपाल आर्मी, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टोलीको सहभागिता रहेको छ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ। प्रतियोगितामा पहिलो हुने टोलीले १ लाख पाउँदा दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५० हजार नगद पुरस्कार प्रमाण पत्र प्राप्त गर्नेछन्।

प्रकाशित: १६ वैशाख २०८१ ०७:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App