प्रतिवाद गर्न आएका स्पोर्टिङ इलामका खेलाडीलाई खेल सुचारु गर्न निर्देशन दिँदै रेफ्री कविन व्यञ्जनकार (माथि) र खेल सकिएपछी रेफ्रीलाई स्कटिङ गरेर बाहिर लाँदै सुरक्षाकर्मी। तस्बिर सौजन्य : विशाल पन्थ
इन्जुरी समयमा तनावपूर्ण बनेको खेलमा वीरगन्ज युनाइटेडले बुधबार स्पोर्टिङ इलामलाई २-१ ले स्तब्ध बनाउँदै जारी नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित निकालेको छ।
खेलका रेफ्री कविन व्यञ्जनकारले इन्जुरी समयमा दिएको पेनाल्टी विवादास्पद बन्दा केही समय खेल प्रभावित बन्न पुग्यो। यद्यपि, त्यो पेनाल्टी अवसरमा विलियम ओपोकुले गोल गर्दै जारी दोस्रो सिजनबाट डेब्यु गरेको वीरगन्ज युनाइटेडलाई पहिलो जित दिलाए।
पुछारका दुई टोलीबीचको खेल खासै रोमाञ्चक नबने पनि अन्तिम समय भने निकै झडपको स्थिति नै सिर्जना भयो। खेल बराबरीको संघारमा थिय, तर विवादास्पद बनेको पेनाल्टी अवसरबाट वीरगन्जले स्पोर्टिङ इलाममाथि नाटकीय जित रच्यो।
रेफ्री व्यञ्जनकारले स्पोर्टिङ इलामका सुरज बस्नेतले ह्यान्ड गरेको भन्दै वीरगन्जलाई पेनाल्टी अवसर दिएका थिए। त्यससँगै इलामका गोलकिपर विकेश कुथु र उनको टोली आक्रामक बने। त्यसपछि कुथुले पेनाल्टी रक्षा गर्न नै मानेनन्। तर, ९४औं मिनेटमा पाएको सो पेनाल्टीमा ओपोकुले गोल गरे।
त्यो गोलसँगै यसै सिजनबाट एनएसएलमा पदार्पण गरेको वीरगन्जले पहिलो जित निकाल्यो। रेफ्री कविनले अन्तिम सिटी फुकेसँगै इलामको टोली नै रेफ्रीमाथि जाइलाग्यो। त्यस क्रममा गोलकिपर कुथुले रातो कार्ड पाए।
त्यसअघि नै उनका गोलकिपर प्रशिक्षक उज्ज्वल मानन्धरले पनि रातो कार्ड सामना गरेका थिए। इलामको टोलीको आक्रमण शैली शान्त बनाउन त्यहाँ रहेका सुरक्षाकर्मीलाई नै हम्मेहम्मे पर्यो।
इलामका मुख्य प्रशिक्षक मेघराज केसीले भने आफ्ना खेलाडीलाई शान्त पार्ने प्रयास गरे। प्रशिक्षक केसीले त्यो घटनालाई नेपाली फुटबलको कमजोर पक्षका रूपमा औंल्याए। उनले खेलाडी र प्रशिक्षकसँगै रेफ्रीबाट पनि गल्ती भएको दाबी गरे।
‘मेरा गोलकिपरले पेनाल्टी निर्णयप्रति प्रतिवाद गर्दै स्याबास् भनेका थिए। तर, त्यसमा पनि रेफ्रीले पहेंलो कार्ड दिए। त्यसपछि खेलाडी आक्रामक भए। त्यो पेनाल्टी थियो या थिएन भन्नेबारे म टाढा रहेकाले देखिनँ। तर, जुन घटना भयो त्यो हुनु हुँदैनथ्यो,’ प्रशिक्षक केसीले भने, ‘तर, सो क्रममा सहायक रेफ्रीले पनि अपशब्द बोलेका छन्। त्यो झन् निन्दनीय घटना हो। त्यहाँ खेलाडी, प्रशिक्षक र रेफ्रीबाटै पनि गल्ती भएको छ। यो नै नेपाली फुटबलको कमजोर पक्ष हो।’
प्रशिक्षक केसीले हारको कारण रेफ्रीको निर्णयलाई मात्र दोष नदिने उल्लेख गर्दै आफ्नो टोलीले पनि खेल्न नसकेको बताए। ‘रेफ्रीको निर्णयलाई मात्र दोष दिन्नँ। हामीले अवसर पाएर पनि गोल गर्न सकेनौं।
राम्रो खेलेर मात्र हुँदैन गोल गर्न सक्नुपर्छ, जहाँ हामी चुक्यौं,’ प्रशिक्षक केसीले भने, ‘यो हारसँगै प्लेअफमा पुग्ने अवसर समाप्त भएको छ।’ यो खेलमा स्पोर्टिङ इलामले सुरुआती अग्रता जोगाउन नसक्दा वीरगन्जलाई नतिजा सुम्पिन पुगेको हो। यो जितसँगै वीरगन्ज पाँच खेलबाट पाँच अंक बटुल्दै स्पोर्टिङ इलामलाई नै पछि पारेर आठौं स्थानमा उक्लिएको छ।
यो जितपछि वीरगन्जका प्रशिक्षक सनोज श्रेष्ठले माथिका टोली र आफ्नो टोलीबीच अंक अन्तर धेरै नरहेकाले शीर्ष चारको सम्भावना अभैm बाँकी रहेको विश्वास व्यक्त गरेका छन्। ‘आजको खेल हाम्रा लागि महत्त्वपूर्ण थियो।
खेलाडीले राम्रो खेले र जित सम्भव भयो,’ वीरगन्जका प्रशिक्षक श्रेष्ठले भने, ‘माथिको टोली र हामीबीच अंकमा खासै अन्तर छैन। त्यसैले शीर्ष चारको अभैm सम्भावना छ। अब बाँकी खेलमा ध्यान दिन्छौं।’ उनले विवादास्पद बनेको पेनाल्टीबारे भने आफू टाढा रहेकाले अहिल्यै नै यही बन्न नसक्ने धारणा राखे। यता, स्पोर्टिङ इलाम यो हारसँगै ६ खेलबाट चार अंकसहित पुछारमा झरेको छ।
स्पोर्टिङ इलामले एक जित, एक बराबरी र चार हार सामना गरेको छ। त्यसअघि खेलको पहिलो आक्रमणमा नै स्पोर्टिङ इलामले आशिष चापागाईंको गोलबाट अग्रता लियो। डिफेन्डर सुरज बस्नेतले दिएको लामो पास नियन्त्रणमा लिएका आशिषले पेनाल्टी क्षेत्रबाटै उत्कृष्ट गोल गरे।
१८औं मिनेटमा फोडे क्यामराले करिब १२ यार्डबाट गोल गर्न सकेनन्। अनमार्क रहेका उनको प्रहार अकासियो। दुई मिनेटपछि नै ओमार थियोमको सट पनि पोस्टको दिशा लिन असफल भयो। २१औं मिनेटमा वीरगन्जले आक्रमण बुने पनि त्यो सफल हुन सकेन। वीरगन्ज ३३औं मिनेटमा बिसन गुरुङको गोलबाट खेलमा फर्कियो।
सुशील लामाको लामो पास नियन्त्रणमा लिने क्रममा उनले अफसाइड बिट गर्दै पेनाल्टी क्षेत्रबाटै गोल गरेका हुन्। उनको प्रहार इलामका कुथुको खुट्टामुनिबाट जाली चुम्न पुग्यो। चार मिनेटपछि नै सुशील लामाको लामो प्रहार इलामका गोलकिपर विकेश कुथुका लागि समस्या बनेन। त्यससँगै पहिलो हाफ १–१ को बराबरीमा सकियो।
दोस्रो हाफमा दुवै तर्फबाट खासै धेरै अवसर सिर्जना हुन सकेन। राम्रो अवसर सिर्जना हुन ७१औं मिनेट पर्खनुपर्यो। ओपोकुको पेनाल्टी बक्सभित्रबाट गोल गर्ने अवसर खेर फाले। उनको प्रहार दोस्रो बार हुँदै बाहिरियो। निकै तनावपूर्ण बनेको इन्जुरी समय वीरगन्जले पेनाल्टी पायो। जहाँ ओपोकु सफल हुँदा वीरगन्जले २-१ नाटकीय जित निकाल्यो।
च्याम्पियन ललितपुर सिटीलाई ट्रफी हस्तान्तरण गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र आयोजक नेपाल स्पोर्टस् म्यानेजमेन्टकी अध्यक्ष आश्रयता कार्की चौधरी। तस्बिर सौजन्य : विशाल पन्थ
क्षमताभन्दा पनि बढी दर्शकको साथ पाएको नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा पनि धनगढी एफसी उपाधि जित्न असफल बनेको छ।
दशरथ रंगशालाको सिट क्षमता १५ हजार मात्र हो। तर, शनिबार ललितपुर सिटी र धनगढी एफसीबीचको फाइनलपछिको म्याच रिपोर्टमा नै १५ हजार पाँच सय दर्शक उपस्थित रहेको उल्लेख छ। टिकट किनेर पनि खेलको मध्यान्तर हुँदासम्म करिब तीन हजार हाराहारी दर्शक भित्र पस्ने पर्खाइमा थिए। नजिक रहेको वल्र्ड ट्रेड सेन्टरलगायतका रेस्टुरेन्ट खचाखच थिए।
घरेलु मैदानमा भएको १९औं दक्षिण एसियाली खेलकुद (साग) पछि सम्भवतः पहिलो पटक रंगशालामा यो दृश्य देखियो, जुन फुटबलका लागि सुखद पक्ष हो। तर, लगातार दोस्रो पटक फाइनलमा पुगेर पनि उपाधिबाट वन्चित धनगढीका लागि भने फाइनल बिर्सनलायक नै बन्यो।
युरोपा लिग खेलेका फलाउ डियाग्नेसहित घरेलु लिगका चर्चित विदेशी खेलाडी अफिज ओलावाले र फोडे फोफानाको साथ पाएको धनगढी यस पटक पनि फाइनलमा पुग्नुलाई सबैले स्वाभाविक रूपमा लिएका थिए।
तर, फाइनलमा धनगढीको प्रदर्शन स्वाभाविक रहेन, आशातीत हुन सकेन। त्यससँगै धनगढी ललितपुर सिटीसँग ३-२ ले स्तब्ध भयो। त्यो हारपछिको पत्रकार सम्मेलनमा धनगढीका प्रशिक्षक युगलकिशोर राई आफू बोल्न सक्ने अवस्थामा नै नरहेको उल्लेख गर्दै निराश देखिए।
‘आजको खेलमा हामी निकै थकित देखियौं। लगातार तीन खेल खेलेर आएको ललितपुरभन्दा हामी बढी थकित देखियौं,’ उनले भने, ‘सोचेअनुरूप खेल नै हुन सकेन।’ एक गोलको अग्रता लिए पनि धनगढीले फाइनलमा समालिएको प्रदर्शन गर्न सकेन र सजिलै नतिजा सुम्पियो। यसअघि पहिलो सिजनको फाइनलमा पनि धनगढी काठमाडौं रेजर्ससँग स्तब्ध भएपछि उपाधिविमुख भएको थियो। यस सिजन उपाधि जित्ने अवसर भए पनि धनगढीले सदुपयोग गर्न सकेन।
सर्वोत्कृष्ट खेलाडी अनन्त तामाङसुरुआती अग्रता जोगाउन सकेन र उल्टै तीन गोल बेहोर्यो। अग्रता लिएपछि खेलको एक घण्टाभन्दा बढी समय बाँकी भए पनि धनगढीले रक्षात्मक रणनीति अपनायो। जुन उसका लागि सही निर्णय भएन।
खेलमा पछि परेको ललितपुर सिटीको लगातार आक्रमण र उत्कृष्ट मिडफिल्डसामु धनगढी निरीह बन्यो। ललितपुरका इमोन इजेकिलले दुई तथा दिनेश हेन्जनले एक गोल गरे। धनगढीले अफिज ओलावालेको गोलबाट अग्रता लिएको थियो। तर, पहिलो हाफको अन्तिम समयमा गोल बेहोर्यो।
उत्कृष्ट गोलकिपर जेफ्री विली मार्सेलललितपुर सिटीले काउन्टर अट्याकमार्फत ६० मिनेट पनि नबित्दै दुई गोल थप्दै एक पक्षीय रूपमा हाबी भयो। इन्जुरी समयमा अहमद हिजाजीले गोल फर्काए पनि ललितपुरका लागि क्षति भएन। त्यसअघि खेलको १३औं मिनेटमा डिफेन्डर कमल श्रेष्ठको कर्नरमा धनगढीले अवसर बनाए पनि सदुपयोग गर्न सकेन।
गोल्डेन बुट विजेता इमोन इजेकिलतीन मिनेटपछि धनगढीको अवसरमा ललितपुरका डिफेन्डर सनिस श्रेष्ठ बाधक बने। अफिजको पासमा हिजाजीले बललाई पोस्टको नजिक दिनै लाग्दा सनिसले उनलाई ट्याकल गरे। त्यसपछि धनगढीले सेटपिसमा अर्को अवसर सृजना बनायो। कमलको कर्नर बलमा धनगढीले मौका खेर फाल्यो।
कमलको कर्नर मिलन राईको अगाडि ड्रप हुँदै अफिजसम्म पुग्यो, तर उनले बललाई टच दिन सकेनन्। पहिलो हाफ सकिन १० मिनेट बाँकी छँदा ललितपुरले पहिलो अवसर सृजना गर्यो। दिनेश हेन्जनले करिब २२ यार्डबाट गरेको फ्रिकिक पहिलो बारनजिकैबाट बाहिरियो।
फरवार्ड पापा इबो केबेलाई धनगढीका डिफेन्डर रिचअर्ड अग्यमेङले फाउल गरेपछि ललितपुरले त्यो अवसर पाएको थियो। ३८औं मिनेटमा भने अफिजले गोल गर्दै धनगढीलाई अग्रता दिलाए। लेफ्ट साइडबाट अहमद हिजाजीको सट ललितपुरका गोलकिपर जेफेरी विली मार्सेलले बचाए।
उदीयमान खेलाडी रोहण कार्की । तस्बिर सौजन्य : विशाल पन्थतर, नियन्त्रण गर्न नसक्दा अनमार्क अफिजले वान टचमा गोल गरे। यद्यपि, पहिलो हाफमा थप समयको अन्तिम सेकेन्डमा २५ यार्डबाट इजेकिलले फ्रिकिकमा गोल गर्दै ललितपुर सिटीलाई खेलमा फर्काए। उनको सटमा धनगढीका डिफेन्डरसँगै गोलकिपर मोहम्मद ताहा सजग नहुँदा गोल भयो। त्यसपछि पहिलो हाफ १-१ को बराबरीमै रह्यो।
५०औं मिनेटमा ललितपुरले दोस्रो गोल गर्दै ठूलो झड्का दियो। ललितपुर काउन्टर अट्याकमा यो गोल गरेको हो। सेसेहाङ आङदेम्बेको थ्रु पासमा आदित्य शाक्यले उपलब्ध गराएको क्रसमा दिनेशले सहजै गोल गरेका हुन्।
५८औं मिनेटमा ललितपुर सिटीले अर्को गोल थप्दै ३-१ को अग्रता लियो। रिचार्ड अग्यमेङले क्लियर गरे पनि पापा केबेको पासमा इजेकिलले एक्रोबेटिक प्रहार गर्दै ललितपुर सिटीलाई बलियो स्थितिमा पुर्याए। त्यसपछि पूर्ण दबाबमा परेको धनगढी समालिन नै सकेन।
७९औं मिनेटमा धनगढी उल्टै दश खेलाडीमा सीमित हुन पुग्यो। रिचार्ड अग्यमेङले इजेकिलमाथि फाउल गरेपछि दोस्रो पहेँलो कार्ड बेहोर्दै उनी मैदानबाट बाहिरिए। इन्जुरी समयमा हिजाजीले गोल गर्दै धनगढीलाई खेलमा फर्काउने प्रयास गरे। तर समय अन्तिममा पुगिसकेको थियो र यसपटक पनि धनगढी उपविजेतामा नै खुम्चिन बाध्य भयो।
उपाधिसँगै ललितपुरले ७० लाख रूपैयाँ पाउँदा धनगढीले भने २० लाख रूपैयाँमा नै चित्त बुझाउनुपर्यो। दुवै टोलीले प्लेअफमा पोखरा थन्डर्सलाई हराउँदै फाइनलसम्म यात्रा तय गरेका हुन्। पहिलो क्वालिफायरमा धनगढीले पेनाल्टी सुुटआउटमा ४-३ को जित निकाल्दा दोस्रो क्वालिफायरको अतिरिक्त समयमा ललितपुर सिटीले २-१ को जितसहित फाइनल खेलेको हो।
दोस्रो सिजन नौ टोलीले एनएसएलमा प्रतिस्पर्धा गरेका थिए। झापा एफसी, स्पोर्टिङ इलाम डी मेची र वीरगन्ज युनाइटेड नयाँ टोलीका रूपमा थपिँदा पहिलो संस्करण खेलेको विराटनगर सिटीले भने सहभागिता जनाएन।
यस सिजन इमर्जिङ प्लेयर धनगढीका रोहन कार्की, उत्कृष्ट गोलकिपर ललितपुरका जेफ्री विली मार्सेल हुँदा ललितपुरकै इमोन इजेकिलले गोल्डेन बुट पाए। ललितपुरका कप्तान अनन्त तामाङ गोल्डेन बलले सम्मानित भए। अनन्तले २ लाख तथा सर्वाधिक गोलकर्ता इमोन र उत्कृष्ट गोलकिपर जेफ्रीले जनही १ लाख रूपैयाँ पाए। उदीयमान रोहनले पनि एक लाख रूपैयाँ पाए।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...