लोमान्थाङको लोवाथाङस्थित मुस्ताङ गल्फ कोर्षमा आगामी शनिबार विश्वकै उच्च स्थानमा दोस्रो गल्फ प्रतियोगिता शुरु हुदैंछ। प्रतियोगिताको पूर्व तयारीमा कोर्ष मर्मतसम्भार गरिदैं। तस्बिर सौजन्यः भूबहादुर गुरुङ
बिहान चारैतिर हिमाल खुल्छ। त्यही हिमालको फेदमा ठूलो चरन क्षेत्र छ। केहीवर्ष अघिसम्म यो घोडाको चरन क्षेत्र थियो, तर, त्यो क्षेत्रको स्वरुप फेरिएको छ। जहाँ अहिले गल्फ कोर्ष बनेको छ।
विश्वकै उच्च उचाईको गल्फ कोर्षको कीर्तिमानसहित गिनिज बुकमा लेखाउने तयारी छ। हिउँदमा अधिकांश समय हिउँले ढाकिन्छ। असारदेखि असोजसम्म मौसम सफा हुन्छ। निलो आकास, चारैतिर हिमाल र हिमालकै फेदमा कोर्षको हरियालीले मनमोहक बनाउँछ। हिमाललाई लक्षित गर्दै आइरन हान्ने चाहना धेरै गल्फरको छ। गल्फरहरुको सपना र चाहनालाई मुस्ताङ गल्फ कोर्षले पुरा गर्दै छ।
समुद्री सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाईको मुस्ताङ गल्फ कोर्षमा शनिबार ‘विश्वकै उच्च उचाईमा दोस्रो गल्फ प्रतियोगिता’ हुदैं छ। त्यसको लागि नेपाल गल्फ संघको केन्द्रीय सदस्य एवं हिमालयन गल्फ कोर्षका व्यवस्थापक भूबहादुर गुरुङ(भुवन) एकसातादेखि लोमान्थाङमा छन्। उनकै सक्रियतामा लोमान्थाङको लोवाथाङस्थित गल्फ कोर्ष मर्मत सम्भार गरिएको छ। उनका अनुसार शुक्रबारसम्म कोर्षलाई फाईनल गरिनेछ। शनिबार विहानैदेखि पार ३६ को ९ होलमा प्रतिस्पर्धा शुरु हुनेछ।
‘तीनवटा होल र टि (हान्ने ठाँउ) केही परिवर्तन गरिएको छ,’ गुरुङले भने, ‘शुरुमा गरिएको डिजाईन अनुसार कोर्षलाई पुर्ननिर्माण गरिएको छ।’ उनका अनुसार होल नं ९ केही तल सारिएको छ। होल नं ६ लाई डाडाँको फेदैमा लगिएको छ। होल नं ७ लाई पनि पुर्ननिर्माण गरिएको छ। होल नं ७ मा स्ट्रोकको लागि बनाईएको टी अफले लोमान्थाङको बस्ती पुरै देखिने उनले बताए।
‘अरु सबै गतवर्ष बनाइएको होल र टि अफलाई केवल मर्मत सम्भार मात्रै गरिएको छ,’ उनको भनाई थियो। ग्रिन मर्मत गर्न बालुवा प्रयोग गरिएको छ। बालुवाले लेभल मिलाएपछि माटो हालेर रोल गरिने उनले जानकारी दिए। ‘माटो हालेर रोल गर्दै छौं, बल गुड्ने हुनुपर्छ,’ उनको भनाई थियो।
गतवर्ष लोमान्थाङ गाँउपालिकाले आयोजकको जिम्मेवारी लिएको थियो। अहिले मुस्ताङ गल्फ कोर्षको आयोजना र व्यवस्थापनमा हुनेछ। गाँउपालिकाको विशेष सहयोगी भूमिका रहने छ। पहिलो संस्करण काठमाडौंका श्याम तामाङ च्याम्पियन बने। पोखराका बलराम थापा उपविजेता भए। ‘कोर्ष उचाईमा छ। तर खेल्न उत्तिकै मजा आउँछ,’ गल्फर थापाले भने, ‘यो वर्षपनि लोमान्थाङ गल्फ खेल्न जाँदै छौं।’
उनीसँगै पोखराका १४ जना गल्फर लोमान्थाङ पुग्ने तयारीमा छन्। अघिल्लो वर्ष खेलेर फर्किएका पोखराकै अर्का गल्फर भक्तराज गुरुङ पनि लोमान्थाङ पुग्न उत्साहित छन्। ‘कोर्ष व्यवसायिक गल्फ कोर्ष जस्तो छैन्। तर उचाईकै कारण लोमान्थाङमा खेल्न छुट्टै आनन्द हुन्छ’ उनले भने, ‘निकै एडभेन्चर छ कोर्ष त्यसैले पनि फेरी खेल्न जाँदै छौं।’
लोमान्थाङदेखि गल्फ कोर्ष २० मिनेटको दुरी टाढा पर्छ। प्रतियोगिताको व्यवस्थापकीय जिम्मेवारी स्थानीयबासी लिएका छन्। विभिन्न संघसंस्थाले सहयोगी भूमिका खेलेको छ। गण्डकी प्रदेशका पूर्व सदस्य एवं मुस्ताङ गल्फ कोर्षका अध्यक्ष समेत रहेका इन्द्रधारा विष्टले गल्फकोर्षलाई गिनिज बुकमा लेखाउने लक्ष्य रहेको बताए। लोमान्थाङको परिचय बदल्ने लष्य रहेको उनल सुनाए।
‘यो पटक होल ईन वान हान्नेलाई पुरस्कार स्वरुप घोडा प्रदान गरिनेछ,’ विष्टले सुनाए, ‘७० वर्षमाथिको उमेरका गल्फरलाई सम्मान गरिनेछ।’ गल्फमा हुने होल ईन वानसँगै बेष्ट ग्रस, लङगेष्ट ड्राईभ, होल नजिक प्रहार गर्ने र सर्वाधिक बर्डी हिर्काउने गल्फरलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने जानकारी गराए।
‘लाोमान्थाङको परिचय बदल्ने योजनामा छौ। त्यही अनुसार गल्फको हब बनाउने लक्ष्यलाई साकार रुप दिन यो वर्षपनि निरन्तरता दिदैं छौं’ विष्टले भने–‘गल्फले लोमान्थाङको परिचय बदल्ने विश्वास छ। साहसिक पर्यटनको हब बन्ने छ।’ पोखरा, काठमाडौं, बुटवल र धरानका ४० गल्फरहरुले प्रतिस्पर्धामा गर्ने छन्।
जुम्ला। यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेलहुने भएपछि यहाँका स्थानीय तह र सरोकारवाला निकाय तयारी अवस्थामा जुटेकाछन्। खेल सञ्चालनहुने स्थानलाई तयारी अवस्थमा राखिएको छ।
बाहिरीबाट आउने खेलाडिलगायत अतिथिलाई स्वागत गर्नेका लागि जिल्लाको मुख्य प्रवेश विन्दु तिला गाउँपालिकामा गेट निर्माणको जिम्मा सम्बन्धित गाउँपालिकालाई दिइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए।
पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डाको खेलमैदान प्रतियोगिता हुने भएको छ। आवश्यक सबै स्रोत साधन उपलब्ध भएको छ। खेल यही १४ देखि २० मंसिरसम्म सञ्चालनहुने छ। प्रतियोगिता अघि आवश्यक मर्मतसम्भार, व्यवस्थापन र तयारीका काम अहिले भइरहेको उनको भनाइ छ।
यसैगरी खेलाडिलाई थप पूर्व तयारी खेल खेल्न चन्दननाथ नगरपालिका–२ स्थित परिमलाचौर फुटबल मैदान सम्याउने, प्याराफिट मर्मत गर्ने र आवश्यक पोल निर्माणका काम सञ्चालन भएका छन्। प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउन थप मर्मतसम्भार तथा सजावटका काम धमाधम भइरहेको समितिले जनाएको छ। रासस
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...