सर्वसाधारणलाई कहिले खुल्छ सुरुङ ?
१२ साउन २०८३
•
४ मिनेट पाठ
सर्वसाधारणलाई कहिले खुल्छ सुरुङ ?
नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबारबाट सञ्चालनमा आएको छ। निर्माण थालेको ८० महिनापछि सुरुङमार्ग सञ्चालनमा आएको हो। पहिलो चरणमा एम्बुलेन्स, दमकल र सुरक्षाकर्मीको गाडीका लागि चौबिसै घण्टा सुरुङ खुला हुने छ। सुरुङ सञ्चालनका लागि आवश्यक जनशक्ति तयार नहुँदा आम सर्वसाधारणले त्यसको प्रयोग कहिलेदेखि गर्न पाउने भन्ने अझै निश्चित भएको छैन।




पहिलो चरणमा तीन महिनालाई परीक्षणकाल भनिए पनि सुरुङ सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन हुन नसक्दा सर्वधारणका लागि भने अझै सुरुङयात्रा निश्चित छैन। आवश्यक तयारी र जनशक्तिको व्यवस्थापनभन्दा उद्घाटनमा हतारो गर्ने विगतलाई निरन्तरता दिँदै वर्तमान सरकारले पनि सुरुङ उद्घाटन गरेको हो। ४२ महिनाभित्र काम सक्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरी नगरपालिका–२ स्थित टुटीपाखामा २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास गरेका थिए। आयोजनामा १६ अर्ब रुपैयाँ जाइकाको सहुलियतपूर्ण ऋण छ भने मुआब्जालगायत कुल निर्माण खर्च २४ अर्ब खर्च रहेको आयोजनाले जनाएको छ।

खर्च जोगिन्छ कि बढ्छ ?

सुरुङमार्गको उद्घाटनसँगै नेपालको सडक मार्ग नयाँ चरणमा प्रवेश गरेको छ। तर यति ठुलो रकम खर्चेर निर्माण गरिएको सुरुङ मार्गबाट आम सर्वधारणका लागि लागत र लगानी जोगियो या अझ खर्च बढ्यो भन्ने प्रश्न जन्मिएको छ। दुई र तीन पांग्रे सवारीका साथै प्रज्वलनशील पदार्थ बोकेका सवारीसाधनले सुरुङ मार्ग प्रयोग गर्न पाउने छैनन्। जसले सुरुङमार्ग प्रयोग गर्न पाउने छन्, उनीहरूले त्यसबापत ६० रुपैयाँ देखि ६०० रुपैयाँसम्म शुल्क तिनुपर्ने हुन्छ। यो सुरुङले पुरानो राजमार्गभन्दा केवल २.६८ किलोमिटर मात्र दुरी घट्ने छ। सुरुङमार्गको दुरी २.६८ किलोमिटर छ। त्यसबाहेक पहुँच सडकमा पुग्न पूर्वतर्फ २.३२० र पश्चिम ०.५६५ किलोमिटर दुरी छ।

निर्माण थालेको ८० महिनापछि परीक्षण सञ्चालनमा आएको नागढुंगा–सिस्ने खोला सुरुङमार्गको प्रयोग सर्वसाधारणले कहिलेदेखि गर्न पाउने भन्ने अझै निश्चित छैन।
यात्राका लागि ठुला सवारीसाधनले ६०० रुपैयाँसम्म शुल्क बुझाउँदा यसबाट यात्रा झनै महँगो पर्ने देखिएको छ। यद्यपि सडक विभागका महानिर्देशक डा. विजय जैशीले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनको समय र पैसा दुवै बचत हुने बताए। ‘उकालोमा तेल बढी खान्छ, एक नम्बर गियरमा उकालो चढाउनुपर्छ। उकालोमा गाडी गुडाउँदा इन्जिनको चाप बढ्छ तर सुरुङमार्ग प्रयोग गर्दा इन्जिनको चाप घट्छ,’ महानिर्देशक जैशीले भने, ‘सुरुङमार्ग प्रयोग नगरी सवारीसाधनलाई उक्त सडकमा यात्रा पूरा गर्न ३० मिनेट लाग्छ तर प्रयोग गर्दा सात मिनेटमै यात्रा पूरा हुन्छ। यसबाट २३ मिनेट समय बच्छ। लामो समयसम्म ट्राफिक जाममा पर्ने झन्झट बेहोर्नुपर्दैन।’ उनका अनुसार सुरुङमार्ग प्रयोग गर्दा सबैभन्दा ठुलो फाइदा ट्राफिक सुरक्षा हो। ‘सुरुङमार्ग प्रयोग नगर्दा दुर्घटनाको सम्भावना रहिरन्छ तर प्रयोग गर्दा दुर्घटनाको सम्भावना करिबकरिब हुँदैन।’ विभागका अनुसार सिस्नेखोला–बलम्बु जोड्ने सुरुङमार्गबाट २.८ किलोमिटर दुरी घट्ने भएको छ।

शुल्क कति छ ?

सुरुङमार्ग प्रयोग गरेबापत काठमाडौं प्रवेश गर्ने र काठमाडौंबाट धादिङ प्रवेश गर्ने सवारीसाधनका हकमा फरकफरक शुल्क राखिएको छ। कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौं प्रवेश गर्दा ६५ रूपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क बुझाउनुपर्ने छ। यसैगरी मिनी बस, मिनी टिपर/ट्रकको प्रवेशका लागि ११५ रुपैयाँ, बाहिरिँदा ८० रुपैयाँ तथा बस, ट्रक (सिंगल रियर एक्सल) लाई प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क बुझाउनुपर्छ। यसैगरी मल्टी एक्सल ट्रक/सवारीसाधन तथा भारी उपकरणका हकमा प्रवेश गर्नुपरे ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ। जुन अहिलेको पेट्रोलियम पदार्थको मूल्यलाई नै आधार बनाउने हो भने हलुका सवारीसाधनभन्दा मालवाहक सवारीसाधनको खर्च थप बढ्ने छ।

तत्काल कुनकुन सवारी गुड्छन् ?

अहिले सबै किसिमका सवारीसाधनले सुरुङमार्ग प्रवेश गर्न पाउँदैनन्। हाल दमकल, एम्बुलेन्स, सुरक्षाकर्मीका सवारीसाधनलगायत सवारीले मात्र सुरुङमार्ग प्रवेश गर्ने छन्। विभागका अनुसार केही समय परीक्षण सञ्चालन अवधि रहने छ। उक्त अवधिमा अन्य सवारीसाधनलाई समेत क्रमशः चरणबद्ध रूपमा प्रवेश गराई सुरुङको सुरक्षा प्रणाली, सञ्चालन व्यवस्था तथा आपतकालीन प्रतिकार्य प्रणालीको परीक्षण गरिने छ।

परीक्षण सञ्चालन अवधिभर सुरुङ प्रयोगबापत कुनै टोल दस्तुर लिइने छैन। परीक्षण सञ्चालन सफलतापूर्वक सम्पन्न भई सुरुङमार्ग नियमित रूपमा सञ्चालनमा आएपछि तोकिएको दरअनुसार टोल दस्तुर संकलन गरिने छ। विभागका अनुसार टोल व्यवस्थापनलाई आधुनिक र प्रभावकारी बनाउन आरएफआइडीमा आधारित विद्युतीय टोल संकलन प्रणाली जडान गरिएको छ। सडक बोर्ड नेपालबाट स्वीकृत आरएफआइडी पास तोकिएका बैंकमार्फत उपलब्ध छन् भने अन्य अधिकृत बैंकहरूले पनि उक्त प्रणालीमा आबद्ध हुने कार्य अन्तिम चरणमा रहेको विभागको भनाइ छ।

विभागका अनुसार मुख्य सुरुङ २.६८८ किलोमिटर लामो छ। उक्त सुरुङमार्ग दुई लेनमा सञ्चालन हुने छ। यसको चौडाइ ११ मिटर तथा उचाइ ८.१५ मिटरको छ। यसैगरी आपतकालीन सुरुङ २.५५७ किलोमिटर लामो छ। यसको चौडाइ ५.१ मिटर छ भने उचाइ चार मिटर छ। यसैगरी मुख्य सुरुङ र आपतकालीन सुरुङबिच करिब प्रत्येक ३७५ मिटरमा सात वटा क्रस प्यासेज पहुँच मार्ग राखिएका छन्। यस आयोजनामा पुल, कल्भर्ट, फ्लाइओभर तथा अन्य १२ वटा संरचना तयार गरिएका छन्। हाल सुरुङमार्गसँग जोडिएको राजमार्ग भएर दैनिक करिब १३ हजार सवारीसधान आवतजात गर्ने जनाइएको छ।
अर्को समाचार
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
२१ मिनेट अघि
•
१ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।




महानगरको सुशासनदेखि विकास निर्माणसम्मका धेरैजसो वाचा अधुरै रहेका हुन्। नगरप्रमुख कोइराला आफूले चुनावमा नगरवासीसँग गरेको संकल्प चुनाव जितेपछि व्यवहारमा लागु गर्न सफल नभएको पाइएको छ।

विराटनगरका नगरप्रमुख र उपप्रमुखले निर्वाचित हुनेबित्तिकै महानगरको यातायातलगायत कुनै पनि सेवासुविधा नलिने भन्दै गरेको घोषणा एक वर्ष पनि पुग्न नपाउँदै तुहिएको थियो। केही महिना महानगरपालिकाको गाडीको सुविधा नलिई आफ्नै गाडी प्रयोग गरेका प्रमुख र उपप्रमुखले पुनः महानगरपालिकाकै सवारीसाधन प्रयोग गरेका थिए। महानगरको गाडी सुविधा नलिने घोषणा सार्थक नभएजस्तै चुनावका बेला महानगरवासीसँग गरेका ६६ बुँदे संकल्पपत्रका अधिकांश बुँदाले सार्थकता पाउन सकेनन्। विराटनगरमा सुशासन कायम गर्ने, विकास निर्माणका कामलाई द्रुत गतिमा अघि बढाउनेलगायत संकल्पहरू व्यवहारतः कार्यान्वयनमा नआउँदै कार्यकाल अन्तिम चरणमा पुगिसकेको छ।

संकल्पपत्रको पहिलो बुँदा नै महानगरमा कार्यान्वयनमा आउन नसकेको पाइएको छ। उक्त बुँदामा उल्लेख थियो, ‘भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अवलम्बन गर्दै यसको नियन्त्रणका लागि विशेष संयन्त्र बनाउने। सूचनाको हक प्रत्याभूत गर्दै पारदर्शी एवम् जवाफदेही महानगरपालिका निर्माण गर्ने।’

यस्तै दोस्रो बुँदामा महानगरले गर्ने विकास निर्माणका कामलाई प्राथमिकता दिन र व्यवस्थित गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन भागमा विभाजन गर्ने भनिएको थियो। तेस्रो बुँदामा उल्लेख ‘महानगरपालिका कार्यालयमा गरिँदै आएका अनावश्यक र अनुत्पादक खर्च नियन्त्रण गर्ने’ र ‘महानगरका खर्चलाई रचनात्मक क्षेत्रमा प्रयोग गर्न कठोर आर्थिक नीति र अनुशासनको तर्जुमा गर्ने’ विषय पनि कार्यान्वयनमा आउन नसकेको पाइएको छ। चौथो बुँदामा रहेको ‘महानगरपालिकाबाट प्रमुखलाई प्राप्त हुने सबै आर्थिक सेवा र सुविधा सामाजिक कार्यमा प्रदान गर्ने’ विषयत पूर्ण रूपमै कार्यान्वयनमा आउन नसकेको देखिन्छ।

महानगरपालिकाका कार्यसम्पादनलाई व्यवस्थित, सुचारु र प्रभावकारी बनाउन सम्बन्धित क्षेत्रका विशेषज्ञहरूको विज्ञ समूह गठन गर्ने, विराट राजाको दरबार रहेको विराटनगरको भेडियारी क्षेत्रलाई समुचित विकास गर्दै पर्यटन केन्द्रका रूपमा विकास गर्ने संकल्प संकल्पपत्रमै सीमित देखिएको छ।

सामुदायिक विद्यालयमा समयानुकूल शैक्षिक गुणस्तर सुधार गर्न नवप्रवर्तन केन्द्र (इनोभेसन सेन्टर) तथा अनुसन्धान केन्द्र (रिसर्च सेन्टर) निर्माण गर्ने, अनाथ, असहाय तथा विपन्नका पहुँचमा शिक्षाको समान अवसर पुर्‍याउन नमुना आवासीय विद्यालयको स्थापना गर्ने, सामुदायिक विद्यालयलाई छात्रामैत्री बनाउन भेन्डिङ मेसिनसहितको प्याड बैंक स्थापना गर्ने संकल्पपत्रका बुँदाहरू पनि कार्यान्वयनमा आउन सकेका छैनन्। जटिल शल्यक्रिया तथा विशेषज्ञ सेवासहित महानगर अस्पताल (मेट्रोसिटी हस्पिटल) स्थापना गर्ने, विराटनगर महानगरपालिका क्षेत्रमा भूमिगत पार्किङसहितको दुई हजार पाँच सय क्षमताको सुविधासम्पन्न सभागृहको निर्माण गर्ने विषयमा हालसम्म खासै प्रगति हुन सकेको छैन।

चुनाव जितेपछि सभागृह निर्माणको विषयलाई प्रमुख कोइरालाले औपचारिक कार्यक्रममा समेत उच्चारण गरेका छैनन्। विराटनगर–१९ मा सभागृह निर्माण गर्न डिपीआरसमेत बनाई भौतिक निर्माणको चरणमा पुगेको उक्त सभागृहका लागि अधिग्रहण गर्ने तयारी गरिएको जग्गामा महानगरपालिकाले काम अघि बढाउने संकेत नदेखाएपछि स्थानीयले आ–आफ्नो जग्गामा पुनः खेतीपाती गरिरहेका छन्।

विराटनगरमा एक औद्योगिक र राजनीतिक संग्र्रहालयको निर्माण गर्ने, रानीदेखि विराटनगर–१९ स्थित रंगशालासम्म सटल बस सञ्चालन गर्ने, बिजुली, टेलिफोन, इन्टरनेटलगायत तारका सञ्जाललाई भूमिगत गर्न संघीय र प्रदेश सरकारसँग समन्वय गरी ताररहित विराटनगर निर्माणको पहल गर्ने विषयमा पनि महानगरले कुनै प्रगति गरेको देखिएको छैन।

बिग्रन थालेका सडक, पेटी, ढल तथा अन्य संरचनालाई द्रुत गतिमा प्रारम्भिक चरणमै मर्मत गर्ने, ट्राफिकसम्बन्धी चापलाई घटाउन महानगरभित्र आवश्यक स्थानमा एस्केलेटर (विद्युतीय सिँढी) सहितको आकासे पुल निर्माण गर्ने काम पनि साढे चार वर्षको अवधिमा अघि बढ्न सकेका छैनन्। महानगरको सौन्दर्यीकरण अभियानअन्तर्गत सडक, बाल उद्यान, मनोरञ्जन केन्द्र निर्माण, संरक्षण र सरसफाइका काम अघि बढाउने विषयमा भने आंशिक रूपमा कामहरू भएका छन्।

सहरभित्र स्मार्ट पार्किङ स्थल निर्माण गर्ने र त्यसको व्यवस्थापनमा काम गर्ने, पिछडिएका समुदाय तथा सुकुम्बासीको पहिचान गरी लालपुर्जासहितको एकीकृत बस्ती निर्माण गरी हस्तान्तरण गर्ने कार्यलाई गति दिने संकल्पपत्रका बुँदाहरू पनि कार्यान्वयनमा आउन सकेका छैनन्। मनोरञ्जन तथा पारिवारिक वातावरणयुक्त पार्कहरू निर्माण गर्ने, केसलिया र सिंघिया खोलाका किनारमा वृक्षरोपण गरी ग्रिनबेल्ट करिडोरका रूपमा विकास गर्ने, प्रदेश राजधानीका लागि आवश्यक स्थायी संरचना निर्माण गर्न प्रदेश सरकारसँग समन्वय गर्ने विषयमा पनि काम अघि बढ्न नसकेको देखिएको छ। प्रतिमहिना ३० युनिटसम्म विद्युत् खपत गर्ने महानगरवासीलाई निःशुल्क विद्युत् उपलब्ध गराउनेलगायत थुप्रै लोकप्रिय कार्यक्रम संकल्पपत्रमै सीमित भएको छ।

समग्रमा हेर्दा महानगरपालिकाले नियमित गर्ने कामबाहेक उल्लेख्य रूपमा उदाहरणीय काम पछिल्लो कार्यकालमा हुन नसके पनि केही क्षेत्रमा भने विगतको तुलानामा राम्रो काम भएको छ। पछिल्लो कार्यकालमा विराटनगरको फोहोर व्यवस्थापन, सरसफाइ, सडक बत्तीको व्यवस्थापन, ट्राफिक लाइटको व्यवस्थापन, नाला सरसफाइलगायत काममा भने महानगरपालिकाले राम्रो गरेको देखिन्छ। यो कार्यकालमा विकास निर्माणतर्फ एउटा मात्रै ठुलो आयोजना कार्यान्वयन भएको पाइएको छ। विराटनगरमा स्वच्छ खानेपानी पुर्‍याउने उद्देश्यले जापान सरकारको सहयोगमा सञ्चालित खानेपानी परियोजना भने सम्पन्न भएको छ।

करिब अढाइ अर्बको यो आयोजनाले विराटनगरको खानेपानीको गुणस्तर सुधार गर्दै मुख्य सहरी क्षेत्रको ५९ किलोमिटर क्षेत्रमा पाइपलाइनसमेत विस्तार भएको छ। तर यो आयोजना पूर्ण रूपमा सफल बनाउन सहायक सडकको करिब एक सय किलोमिटर क्षेत्रमा नयाँ पाइपलाइन विस्तार गर्न आवश्यक रहेको नेपाल खानेपानी संस्थान विराटनगर कार्यालयले जनाएको छ।

यता विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले संकल्पपत्रका धेरै काम पूरा हुन नसके पनि आफ्नो कार्यकालमा उल्लेख्य काम भएको दाबी गरेका छन्। कोइरालाले संकल्पपत्रमार्फत चुनावामा गरेको वाचाअनुसार विराटनगर महानगरपालिका १५ स्थित नगर अस्पतालमा डाक्टर नियुक्ति, ल्याबलगायत पूर्वाधार निर्माणको काम भइरहेको जानकारी दिए।

यस्तै शिक्षा क्षेत्रमा पनि आफ्नो कार्यकालमा उल्लेख्य सुधार भएको प्रमुख कोइरालाले बताए। विगतमा तीन वटा मात्रै विद्यालयमा विद्यार्थीको आकर्षण रहेकोमा अहिले १५–२० वटा विद्यालयमा गुणस्तर सुधार गरिएको कोइरालाको दाबी छ। तर विद्यार्थीहरूलाई सेनेटरी प्याडको व्यवस्था गर्न विभिन्न कानुनी अड्चनहरूले सम्भव नभएको कोइरालाले बताए। सार्वजनिक शौचालयको व्यवस्था गर्न सहरी क्षेत्रमा जग्गा अभावका कारण नसिकिएको कोइरालाले बताए।

उनले सार्वजनिाक शौचालय महानगरपालिकाले निर्माण गर्न नसके पनि त्यसको विकल्पमा विराटनगरका पेट्रोल पम्पहरूमा शौचालय निर्माण गर्न लगाई सर्वसाधारणका लागि पनि प्रयोग खुला गरिएको बताए। विराटनगरमा नगरबस सञ्चालनका लागि प्रदेश सरकार र निजी क्षेत्रसँग सहकार्य गर्ने महानगरपालिकाको योजना भए पनि सटल बस सञ्चालनका लागि निजी क्षेत्र इच्छुक नदेखिँदा योजना सफल नभएको स्पष्ट पारे।

प्रदेशको स्थायी संरचनाका लागि जग्गा उपलब्ध गराउने विषय पनि एक महिनाभित्रै टुंगिने चरणमा रहेको कोइरालाले दाबी गरे। ‘प्रदेशको स्थायी संरचनाका लागि १० बिघा जग्गा आवश्यक रहेकोमा आठ बिघा प्राप्त भइसकेको र थप दुई बिघा पनि प्राप्त हुने क्रममा छ,’ कोइरालाले भने।

कोइरालाले बजेट अभाव र विभिन्न अवरोधका बिचमा पनि आफ्नो कार्यकालमा विकास निर्माण, फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापनलगायत धेरै क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गरे। कोइराला आफूले गरेका वाचा पूरा गर्न पाँच वर्षको कार्यकाल कम रहेको बताए। अझै एक कार्यकाल महानगरको जिम्मेवारी पाए आफूले परिकल्पना गरेका कामहरूले पूर्णता पाउने उनको भनाइ छ।

सुधारको प्रयास, न्यून उपलब्धि
विराटनगर महानगरपालिकाले स्थानीय कानुन निर्माण, विकास निर्माण र प्रशासनिक सुधारमा केही प्रगति गरे पनि वित्तीय अनुशासन, कर्मचारी व्यवस्थापन र बजेट कार्यान्वयनमा अपेक्षित सुधार गर्न सकेको छैन। नगर प्रमुख नागेश कोइरालाको कार्यकालमा बेरुजु घटाउने, प्रशासनिक खर्च नियन्त्रण गर्ने र विकास योजनालाई व्यवस्थित बनाउने प्रयास भए पनि अपेक्षित सुधार भने हुन नसकेको देखिएको छ।

महानगरको वित्तीय अवस्थासम्बन्धी विवरणअनुसार आर्थिक वर्ष २०७७/७८ सम्म महानगरको अद्यावधिक बेरुजु एक अर्ब ६३ करोड ५७ लाख ४३ हजार रुपैयाँ थियो।

त्यसपछि निरन्तर सम्परीक्षण हुँदा बेरुजु घट्दै आर्थिक वर्ष २०७८/७९ मा ६७ करोड एक लाख, २०७९/८० मा ५० करोड ३८ लाख ३८ हजार र २०८०/८१ मा ३९ करोड ५२ लाखमा झरेको थियो। यद्यपि आर्थिक वर्ष २०८१/८२ मा नयाँ बेरुजु आठ करोड दुई लाख थपिँदा कुल अद्यावधिक बेरुजु पुनः ३७ करोड ६८ लाख ८४ हजार रुपैयाँ पुगेको छ।

महानगरको प्रशासनिक खर्चमा पनि उल्लेख्य रकम विनियोजन हुँदै आएको छ। विविध खर्च, इन्धन, सवारी मर्मत, बैठक भत्ता, पत्रपत्रिका, भ्रमण र मसलन्द गरी सात वटा चालु शीर्षकको कुल खर्च आर्थिक वर्ष २०७९/८० मा ६ करोड ५ लाख १४ हजार रुपैयाँ थियो। आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड ४७ लाख ४९ हजार र २०८१/८२ मा चार करोड १४ लाख नौ हजार रुपैयाँ खर्च भएको छ। यस अवधिमा बैठक भत्ता एक करोड पाँच लाखबाट घटाएर ३४ लाख ५० हजार रुपैयाँमा सीमित गरिएको छ। स्थानीय कानुन निर्माणलाई भने महानगरले तीव्रता दिएको छ।

आर्थिक वर्ष २०८१/८२ सम्म महानगरले पाँच वटा ऐन, ७५ वटा नियमावली र १९८ वटा कार्यविधि निर्माण गरेको छ। नगर विकास कोषबाट बस टर्मिनल, फोहोरमैला प्रशोधन केन्द्र र वीरेन्द्र सभागृहका लागि लिएको ऋणको साँवा–ब्याज नियमित भुक्तानी गरी बाँकी ऋण ३४ करोड १४ लाखबाट घटाएर ३२ करोड ६ लाखमा झारिएको विवरणमा उल्लेख छ।

नगर प्रमुख कोइरालाले पुरानो बेरुजु घटाउने, बजेटको आकार सानो बनाउने र प्रशासनिक शीर्षकमा खर्च कम गर्ने प्रयास गरे पनि महानगरको मूल आर्थिक संरचनामा परिवर्तन आउन सकेको देखिँदैन। आन्तरिक राजस्व ६० देखि ६१ करोड रुपैयाँकै वरिपरि अड्किनु, करार कर्मचारी र भत्ताको भार बढ्दै जानु तथा पुँजीगत खर्च घटेर कुल खर्चको एक तिहाइमा सीमित हुनु महानगरको वित्तीय व्यवस्थापनका प्रमुख चुनौती हुन्। महानगरको कर्मचारी व्यवस्थापन पनि खर्च बढ्नुको अर्को कारण बनेको छ।

श्वेतपत्रको पहिलो बुँदामा ६०९ कर्मचारी (३३१ करार र आठ अस्थायी) को जम्बो संरचनाले आर्थिक बोझ बढाएको उल्लेख थियो। आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार महानगरमा कार्यरत कुल कर्मचारी संख्या घटेर ५४३ (२३८ स्थायी, ५ अस्थायी र ३०० करार) मा झरेको छ। तर कर्मचारी संख्या घटे पनि करार र दैनिक हाजिरीको खर्च भने बढेको छ। आर्थिक वर्ष २०७८/७९ मा करारतर्फ १० करोड ४३ लाख र दैनिक हाजिरीमा ६८ लाख ७६ हजार रुपैयाँ खर्च भएको थियो। आर्थिक वर्ष २०८१/८२ मा करार सेवा शुल्कमा १४ करोड ४४ लाख १३ हजार र दैनिक हाजिरीमा एक करोड ३५ लाख ११ हजार गरी करिब १५ करोड ८० लाख रुपैयाँ खर्च भएको छ।

त्यस्तै कोसी प्रदेशको कानुनविपरीत प्रतिस्पर्धाबिनै दैनिक हाजिरीका २४ जनालाई सोझै करारमा नियुक्त गरिएको, जिल्ला प्रशासन कार्यालय मोरङका ६ कर्मचारीलाई महानगरको कोषबाट २२ लाख ७५ हजार रुपैयाँ तलब खुवाइएको तथा विभिन्न शीर्षकमा प्रोत्साहन, अतिरिक्त समय र खाजा भत्ता वितरण गरिएको विवरणले कर्मचारी व्यवस्थापनमा प्रश्न उठाएको छ। महानगरले आवधिक योजना निर्माणमा पनि अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन।

विगतमा हचुवाका भरमा बजेट विनियोजन हुने र आवधिक योजना नबनाउने गरेको आलोचनापछि कोइरालाको कार्यकालमा आर्थिक वर्ष २०८०/८१ मा १९ लाख ६३ हजार रुपैयाँ खर्च गरेर आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६ सम्मको आवधिक योजना तयार पारिएको थियो। तर उक्त योजना पूर्ण कार्यान्वयनमा आउन सकेको छैन।

त्यस्तै बजेट रकमान्तर गर्ने प्रवृत्तिमा पनि सुधार देखिएको छैन। आर्थिक वर्ष २०८०/८१ मा २२ करोड ३५ लाख रुपैयाँ र आर्थिक वर्ष २०८१/८२ मा २७ करोड ८३ लाख ६१ हजार रुपैयाँ रकमान्तर गरिएको छ। विराटनगर महानगरपालिकाले कानुन निर्माण, ऋण भुक्तानी र केही प्रशासनिक खर्च कटौतीमा सुधार गरे पनि आन्तरिक राजस्व वृद्धि, कर्मचारी खर्च नियन्त्रण, बेरुजु व्यवस्थापन, योजना कार्यान्वयन र पुँजीगत खर्च बढाउने विषयमा अपेक्षित उपलब्धि हासिल गर्न सकेको देखिँदैन।

प्रमुख–उपप्रमुखबिच सुमधुर सम्बन्ध
विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट नागेश कोइराला र नेकपा एमालेबाट शिल्पा निराला कार्की निर्वाचित भए पनि सम्बन्ध सुमधुर देखिएको छ। निर्वाचित भएदेखि हालसम्म प्रमुख–उपप्रमुखबिच कुनै दरार आएन। फरक पार्टीका प्रमुख–उपप्रमुख मात्रै होइन, एउटै पार्टीका प्रमुख–उपप्रमुख निर्वाचित भएका स्थानीय तहहरूमा प्रमुख–उपप्रमुखबिच समेत असमझदारी हुने गरेकोमा विराटनगर महानगरपालिकाको साढे चार वर्षे कालमा प्रमुख–उपप्रमुखबिचको सुमधुर सम्बन्ध उदाहरणीय नै देखिएको छ।

विगतमा नेपाली कांग्रेसबाटै प्रमुख र उपप्रमुख निर्वाचित हुँदा पनि बेलाबेला खटपट हुने गरेको थियो। यस्तै वडा अध्यक्षलगायत अन्य जनप्रतिनिधिहरूका बिचमा पनि यो कार्यकालमा खासै खटपट देखिएन। सबै पक्षबाट सहयोग पाउँदा पनि उल्लेख्य काम हुन नसक्दा भने नगरवासी निराश बनेका छन्।

विराटनगरका सामाजिक अभियन्ता पारुल क्षेत्री महानगरपालिकाका पदाधिकारीहरूले पाँच वर्षको अवधिमा गौरव गर्न लायक कुनै पनि काम गर्न नसकेको बताए। उनले चुनावमा आफैले गरेको संकल्पका अधिकांश बुँदा कार्यान्वयनमा ल्याउन नसक्नु विडम्बना भएको बताए। ‘केही पनि काम भएन भन्ने कुरा त होइन तर महानगरपालिकाको स्रोत र सामर्थले गर्न सक्ने जति काम पनि नभएकाले पाँच वर्षे कार्यकालको कामप्रति सन्तुष्ट हुने अवस्था छैन,’ क्षेत्रीले भने, ‘धाराको पानी ढुक्कसँगले पिउने बनाउने मुख्य वाचा गरेका नगरप्रमुखको कार्यकाल सकिनै लाग्दासम्म महानगरपालिकाका विद्यार्थीहरूले विद्यालय जाँदा घरबाटै खोनेपानीको बोतल बोकेर जानुपर्ने अवस्था अन्त्य नहुनुले के भनियो र के गरियो भन्ने स्पष्ट हुन्छ।’

रोजगारी सिर्जना र नगरवासीको आर्थिक अवस्था सुधारका विषयमा त कुनै पनि काम नभएको क्षेत्रीले बताए। महानगरपालिकाको विकासका लागि गुरुयोजना नबनाउनु महानगरपालिकाका जनप्रतिनिधिहरू चुक्नुको प्रमुख कारण भएको प्राध्यापक डा. भेषप्रसाद धमला बताउँछन्। उनका अनुसार आफूले पटकपटक गुरुयोजना बनाएर विकासका गतिविधिहरू सञ्चालन गर्न आग्रह गरेको भए पनि जनप्रतिनिधिहरूले ध्यान नदिएको गुनासो गरे। ‘के बनाउने, कसरी बनाउने, कस्तो बनाउने भन्ने नै स्पष्ट नभएपछि विकासका काम व्यवस्थित नभएको हो,’ धमलाले भने।

महानगरपालिकाको न्यून स्रोत सधान रहेको, साधारण खर्च धेरै रहेको र उपलब्ध स्रोतसाधनलाई पनि परिचालन गर्ने असमर्थ हुँदा नगरवासीको अपेक्षा र महानगरपालिकाको काम गराईबिच तालमेल नमिलेको उनी बताउँछन्। महानगरपालिकाका जनप्रतिनिधिले पछिल्लो कार्यकालमा आम्दानी बढाउने सम्भावना हुँदाहुँदै पनि आम्दानी बढाउन नसकेको र खर्च पनि घटाउन नसकेको धमला बताउँछन्।

महानगरपालिकाले गुरुयोजना बनाएर गुरुयोजनाअनुसार विकास निर्माण गर्ने, राजस्व संकलन बढाउने र साधारण खर्च घटाउनेतर्फ ध्यान दिन आवश्यक रहेको उनको सुझाव छ।
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५५ सेकेन्ड अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस