आत्मदाहले जन्माएका प्रश्न
२७ असार २०८३
•
५ मिनेट पाठ
आत्मदाहले जन्माएका प्रश्न
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि २५ वर्षीय पठाओ चालक गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए। झन्डै एक दिनसम्म जीवनसँग संघर्ष गरेपछि उनको वीर अस्पतालमा शुक्रबार मृत्यु भयो। एउटा सामान्य ट्राफिक तथा महानगर प्रहरीसँगको विवाद यति भयावह अन्त्यमा पुग्नु अत्यन्त दुःखद घटना हो। यसले आजको नेपाली समाज, राज्यका निकाय, युवाको मानसिक अवस्था र विरोधको संस्कृतिबारे गम्भीर प्रश्न उठाएको छ।




घटनाको वास्तविक कारण के थियो भन्ने कुरा अहिले अनुसन्धानकै विषय छ। प्रत्यक्षदर्शीहरूले महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक गरेपछि विवाद भएको, माफी माग्दा पनि लक नखोलिएको, त्यसपछि प्रहरीले थप्पड हानेको र लगत्तै गणेशले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको दाबी गरेका छन्। प्रहरीले भने अनुसन्धानपछि मात्रै तथ्य सार्वजनिक हुने जनाएको छ। घटनास्थलको सिसिटिभी फुटेज र अन्य प्रमाणहरूले मात्र अन्तिम सत्य स्थापित गर्ने छन्। त्यसैले अनुसन्धानअघि कसैलाई दोषी वा निर्दोष ठहर गर्नु  उचित हुँदैन।

तर एउटा तथ्य निर्विवाद छ– एक युवाले सार्वजनिक सडकमा आफूलाई आगो लगाउने निर्णय गरे र त्यो निर्णयले उनको ज्यान लियो। यही बिन्दु र कोणबाट समाजले आत्मपरीक्षण र आत्मसमीक्षा गर्नुपर्छ। त्यसो त गणेश नेपाली कुनै अपराधी थिएनन्। उनी रोजीरोटीका लागि बिहानैदेखि पठाओ चलाउने संघर्षशील युवा थिए। मोटरसाइकलको किस्ता तिर्नुपर्ने चिन्ता थियो। उनले लोकसेवा परीक्षा पास गर्ने प्रयास गरिरहेका थिए। त्यसबाट पार नलागे विदेश जाने सोच उनको थियो। परिवारमा पत्नी, छोरी, वृद्ध आमाबुवा र दाजुको जिम्मेवारी उनकै काँधमा थियो।

यस्ता व्यक्तिले केही मिनेटको आवेगमा जीवन समाप्त गर्ने निर्णय किन गरे ? यसको उत्तर केवल व्यक्तिगत आवेग र स्वभावमा मात्र होइन, सामाजिक र मनोवैज्ञानिक दबाबमा पनि खोज्नुपर्छ।

हुन पनि आजको नेपाली समाजमा आर्थिक असुरक्षा र बेचैनी गहिरिँदै गएको छ। बेरोजगारी, ऋणको दबाब, महँगो जीवन र भविष्यप्रतिको अन्योलले धेरै युवालाई निरन्तर तनावमा राखेको छ। यस्ता तनावले सामान्य देखिने घटनालाई पनि असह्य अपमान वा जीवन समाप्त भएको अनुभूतिमा बदल्न सक्छ। त्यसैले गणेशको मृत्युलाई केवल ‘आवेग’ भनेर टार्न सकिँदैन। तर यससँगै अर्को अत्यन्त महत्त्वपूर्ण प्रश्न पनि उठ्छ– के अन्याय वा अपमानको विरोध गर्ने माध्यम आत्मदाह हुन सक्छ ? यसको उत्तर स्पष्ट छ, त्यसो होइन।

इतिहासमा आत्मदाहले कहिलेकाहीँ राजनीतिक आन्दोलनलाई झकझक्याएको उदाहरण पाइन्छ। तर कुनै पनि समाजमा आत्मदाहलाई स्वीकार्य विरोधको माध्यम भने मानिँदैन। यस्तो कदमले अन्यायको अन्त्यभन्दा पहिले एउटा परिवारको भविष्य समाप्त गरिदिन्छ। गणेशले न्याय पाउने सम्भावना अझै बाँकी थियो। जीवित रहन्थे भने उनले अदालत, मानवअधिकार आयोग, सञ्चारमाध्यम, सामाजिक आन्दोलन र कानुनी प्रक्रियाबाट न्याय खोज्न सक्थे तर जीवन नै समाप्त भएपछि न्यायको लडाइँ अरूको काँधमा सर्छ।

झन् चिन्ताजनक कुरा के हो भने पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालले यस्ता घटनालाई कहिलेकाहीँ ‘बलिदान’ वा ‘क्रान्ति’ का रूपमा प्रस्तुत गर्ने गर्छन्। आत्मदाहलाई भावनात्मक महिमामण्डन गरियो भने भविष्यमा तनावमा रहेका अरू युवाले पनि यही बाटो रोज्ने जोखिम बढ्छ। त्यसैले गणेशप्रति सहानुभूति व्यक्त गरिरहँदा आत्मदाहलाई विरोधको माध्यमका रूपमा अस्वीकार गर्न पनि उत्तिकै आवश्यक छ।

त्यसो त यस घटनाले राज्यका निकायमाथि पनि उत्तिकै गम्भीर प्रश्न उठाएको छ। प्रत्यक्षदर्शीहरूको दाबीलाई सत्य मान्ने हो भने एउटा सामान्य प्रशासनिक कारबाही किन अपमानजनक अवस्थासम्म पुग्यो ? सार्वजनिक सेवामा खटिएका प्रहरी वा महानगर प्रहरीले नागरिकसँग संयम, सम्मान र संवादको व्यवहार गर्न सकेका थिए कि थिएनन् ? अत्यधिक बल प्रयोग भएकै हो भने त्यसको निष्पक्ष छानबिन र कारबाही हुनैपर्छ।

यसैगरी घटनापछि उनको शरीरमा लागेको आगो निभाउन ढिलाइ भएको भन्ने प्रत्यक्षदर्शीहरूको आरोप पनि उत्तिकै संवेदनशील छ। कुनै पनि व्यक्ति दोषी होस् वा निर्दोष, जीवन बचाउनु राज्य र समाज दुवैको पहिलो दायित्व हो। त्यसबारे पनि स्वतन्त्र अनुसन्धान हुनु आवश्यक छ। यो घटना केवल प्रहरीको व्यवहार वा एक व्यक्तिको आवेगको विषय मात्र होइन। यो हाम्रो समाजमा बढ्दो असहिष्णुता, मानसिक तनाव र संवादको कमीको प्रतिबिम्ब पनि हो। सामान्य विवाद केही मिनेटमै हिंसात्मक अन्त्यमा पुग्नु स्वस्थ समाजको संकेत होइन। अहिले आममानिस रिसलाई नियन्त्रण गर्नुभन्दा तत्काल हिंस्रक बाटोमा होमिने संस्कृतितर्फ धकेलिँदै छन्। सामाजिक सञ्जालको उत्तेजना, आर्थिक दबाब र संस्थाप्रतिको अविश्वासले यो प्रवृत्ति झन् बढाएको देखिन्छ।

सत्य के हो भने गणेश नेपाली अब फर्केर आउने छैनन्। उनको परिवारले एउटा श्रीमान्, छोरा र बाबु गुमाएको छ। तर यो घटनाबाट नेपाली समाजले एउटा ठुलो पाठ सिक्न सक्छ– नागरिकमाथि राज्यको व्यवहार मानवीय हुनुपर्छ। सार्वजनिक अधिकारीलाई तनाव व्यवस्थापन र संवादका सिपमा थप प्रशिक्षण आवश्यक छ। साथै युवाका लागि मानसिक स्वास्थ्य सेवा, संकट परामर्श र कानुनी गुनासो राख्ने सहज संयन्त्र बलियो बनाउनुपर्छ।

सबैभन्दा महत्त्वपूर्ण कुरा, कुनै पनि अपमान, अन्याय वा रिस मानिसको जीवनभन्दा ठुलो हुँदैन। विरोधका लोकतान्त्रिक र कानुनी बाटा अझै खुला छन्। अदालत छ, मानव अधिकार आयोग छ, सञ्चारमाध्यम छन्, नागरिक समाज छ, सामाजिक आन्दोलन छन्। न्यायका ढोका बन्द भएको अनुभूति हुन सक्छ तर जीवन समाप्त भएपछि ती सबै ढोकाको अर्थ पनि समाप्त हुन्छ। गणेश नेपालीको मृत्युले न्यायको माग अवश्य उठाएको छ। त्यो न्याय निष्पक्ष अनुसन्धानबाट स्थापित हुनुपर्छ तर यस घटनाले अर्को सन्देश पनि दिएको छ। त्यो हो– नेपाल यस्तो समाज नबनोस्, जहाँ एउटा थप्पड, एउटा अपमान वा एउटा ह्विल लक जीवनभन्दा ठुलो बन्न पुग्छ। हामीले यो प्रश्नको उत्तर खोजेनौं भने गणेश नेपालीको मृत्यु केवल एउटा समाचारमा मात्र सीमित रहने छ। तर यसबाट राज्य, समाज र नागरिक सबैले पाठ सिके भने उनको मृत्युले कम्तीमा भविष्यमा यस्ता दुःखद घटना दोहोरिन नदिन एउटा चेतावनीको काम गर्ने छ।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
४२ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस