‘प्रकृति जोगाए पो भविष्य जोगिएला’
२२ जेष्ठ २०८३
•
११ मिनेट पाठ
‘प्रकृति जोगाए पो भविष्य जोगिएला’
ए मान्छे हो,




रोक आफैँलाई डढाउन खोज्ने हातहरु,

पछि फर्काउ विष कुण्डतिर बढेका

तिम्रा ती खुट्टाहरु:

रुखलाई संरक्षण गर्न प्रयोग गर,

भविष्यमाथि बन्चरो नहान,

बुझ र फर्क

हरित नेपालतर्फ।

कवि निर्मलमणि अधिकारीको ‘बुझ र फर्क’ शीर्षकको कविताबाट ल्याइएको यी हरफहरुले हरियाली, जीवन र भविष्यप्रतिको चिन्तालाई उजागर गरेको छ। हरित नेपालतर्फ फर्किन गरेको कविको आह्वान आजको जलवायु सङ्कट र पर्यावरणीय चुनौतीबीच अझै सान्दर्भिक र अर्थपूर्ण बनेर उभिएको छ।

यस्तै सन्देश विश्वप्रसिद्ध गायक माइकल ज्याक्सनको ‘अर्थ सङ’ ले पनि तीन दशकअघि नै दिएको थियो।  

के तिमीले कहिल्यै रोकेर हेर्यौ

युद्धमा मारिएका बालबालिकाहरू ?

के तिमीले कहिल्यै रोकेर हेर्यौ

यो रोइरहेकी पृथ्वी, यो विलाप गरिरहेको किनारा ?

यी हरफहरूले युद्ध, वन विनाश, प्रदूषण र मानवको उदासीनताप्रति गम्भीर प्रश्न उठाउँछन्। आज विश्वले भोगिरहेको जलवायु सङ्कटलाई हेर्दा माइकल ज्याक्सनको त्यो गीत भविष्यवाणीझैँ लाग्छ।

पृथ्वी अहिले जलवायुजन्य सङ्कटमा छिन। कतै अत्यासलाग्दो गर्मीको लहर छ, कतै भीषण बाढी। कतै सुक्दै गएका छन् पानीका मुहान। अनि गहिरिँदै छ, खानेपानीको सङ्कट। जलवायु परिवर्तनका कारण हिमालहरूले हिउँ गुमाउँदै छन्। नदीहरूको बहाव अनिश्चित बन्दै गएको छ।

मानव गतिविधिका कारण वातावरणीय सन्तुलन बिग्रँदा बाढी, पहिरो, डुबान, वन डढेलो, खडेरी र तातो हावाका लहरजस्ता विपद्हरुले पृथ्वीको अस्तित्वलाई नै नास गर्ने त होइन ? भन्ने चिन्ताजनक प्रश्न तेर्सिएको छ।

सुक्खा मौसमले खाद्य सङ्कट निम्ताउला कि भन्ने चिन्ता उस्तै छ। जलवायु परिवर्तनका कारण ती सेता हिमाल कालो पथ्थरमा परिणत हुने हो कि डर पनि छ। वातावरणीय न्यायका लागि सडकदेखि सदनसम्म र राष्ट्रिय तहदेखि अन्तरराष्ट्रिय तहसम्म आवाज उठी नै रहेका छन्।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९ औँ शिखर सम्मेलनजस्ता अन्तर्राष्ट्रिय फोरमहरुमा जलवायु न्यायका लागि नेपाललगायत जलवायु प्रभावित विकासोन्मुख मुलुकले उठाएका जलवायु न्यायका आवाजहरु कहिले कार्यान्वयन हुने हुन् त्यो भने हेर्न बाँकी नै छ।

नेपालमा सन् २०२१ को मेलम्ची बाढी, २०८१ साउन ३२ गतेको १ः३० बजे सोलुखुम्बुस्थित खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहित आएको बाढी, २०८२ असार २४ गते सुप्राग्लेसियर ताल फुटेर रसुवाको ल्हेन्दे खोलामा अचानक आएको बाढी तथा भारतको उत्तराखण्डमा सन् २०१३ मा आएको केदारनाथ बाढी, भारतको सिक्किममा सन् २०२३ मा भएको दक्षिण ल्होनाक हिमताल विस्फोटजन्य बाढीलगायतका घटनालाई जलवायु परिवर्तनका ज्वलन्त उदारणको रुपमा लिइन्छ।

विश्व मौसम सङ्गठनले सन् २०२५ जलवायु परिवर्तनका दृष्टिले अत्यन्तै चिन्ताजनक वर्षका रूपमा लिएको छ। सङ्गठनका अनुसार विश्वव्यापी रूपमा तापक्रम वृद्धि, चरम मौसमीय घटना र वातावरणीय असन्तुलनले मानव जीवन, कृषि र पारिस्थितिक प्रणालीमा गम्भीर प्रभाव पारेका छन्। सन् २०२५ इतिहासकै सबैभन्दा तातो वर्षमध्ये शीर्ष तीनमा परेको सङ्गठनको तथ्याङ्क जनाउँछ। 

पछिल्लो दशकभरि लगातार नयाँ तापक्रम रेकर्ड कायम भइरहेको भन्दै विश्वका वैज्ञानिकहरूले चिन्ता जनाएका छन्। यसवर्ष नै अफ्रिका, एसिया र युरोपका विभिन्न क्षेत्रमा व्यापक गर्मीको लहर (हिटवेभ) देखियो, जसले कृषि उत्पादनमा गिरावट ल्यायो।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा खडेरी पर्नसक्ने र सुक्खा बढ्नसक्ने प्रक्षेपण गरेको छ। मनसुन अवधि (समान्यतया जेठ १८ देखि असोज १४ सम्म) चार महिनामा अधिकांश भू–भागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम् र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको बताउनुहुन्छ जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईँ।

यसले गर्दा बर्खे धान रोपाइँलाई असर गर्नसक्ने र उत्पादनमा समेत हस आउनसक्ने भन्दै कृषकहरु चिन्तित छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गतवर्ष पनि मधेसमा सुक्खा बढ्दा आव २०८१/८२ मा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन उत्पादन भएकामा चालु आव ४।२० प्रतिशतले कमी भई ५७ लाख पाँच हजार १२६ मेट्रिक टन उत्पादन भएको छ।

सुक्खाकै कारण मधेस क्षेत्रलगायत तराईका अधिकांश स्थानमा खानेपानीको सङ्कट बढ्दो रहेको छ। सङ्घीय सदनमा सांसदहरुले मधेशमा सुक्खाको समस्या बढिरहेको भन्दै समाधानका लागि तत्काल बजेट व्यवस्थापन गर्न सरकारलाई आग्रह गर्दै आइरहेका छन्।

विश्वको तापक्रम वृद्धि १.५ डिग्रि सेन्टिग्रेडमा कायम राख्न सकिए पनि एक्काइसौ शताब्दीका अन्त्यसम्म हिमालय क्षेत्रबाट ३६ प्रतिशत हिउँ पग्लने अध्ययनले देखाएको छ।  

एल निनोको तीव्र विकाससँगै विश्वव्यापी तापक्रम बढ्ने सम्भावना

यस वर्ष तीव्र रूपमा विकसित भइरहेको एल निनोका कारण विश्वका अधिकांश भूभागमा औसतभन्दा बढी तापक्रम हुने तथा दक्षिण एसियासहित भारतीय उपमहाद्वीपमा औसतभन्दा कम वर्षा हुने सम्भावना रहेको भन्दै चिन्ता जनाइएको छ।

विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) अन्तर्गतको बहु–मोडेल मौसमी पूर्वानुमान प्रणालीले सार्वजनिक गरेको पछिल्लो मौसमी पूर्वानुमानअनुसार यस वर्षको सुरुआतमा कमजोर बन्दै गएको ला निनाबाट प्रशान्त महासागरको अवस्था तटस्थमा पुगेको भए पनि आगामी महिनाहरूमा बलियो एल निनो विकसित हुने सङ्केत देखिएको छ।

प्रशान्त महासागरमा विकसित भइरहेको एल निनोसँगै सकारात्मक आइओडीको प्रभावले दक्षिण एसियाली मनसुन प्रणालीमा थप असर पार्न सक्ने मौसमविद्हरूको भनाइ छ।

पूर्वानुमानअनुसार उत्तरी अमेरिका, युरोप, अफ्रिका तथा एसियाका अधिकांश भूभागमा औसतभन्दा बढी तापक्रम हुने सम्भावना उच्च छ। दक्षिण तथा पूर्वी एसियामा तापक्रम वृद्धि हुने सम्भावना अझ बढी रहेको उल्लेख गरिएको छ।

दक्षिणी गोलाद्र्धका दक्षिण अमेरिका, दक्षिणी अफ्रिका तथा अस्ट्रेलियाका धेरै क्षेत्रमा पनि औसतभन्दा बढी तापक्रम रहने सङ्केत देखिएको छ।

भूमध्यरेखीय अफ्रिका तथा समुद्री दक्षिणपूर्वी एसियामा समेत तापक्रम सामान्यभन्दा माथि रहने सम्भावना प्रबल छ । विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार एल निनोको तीव्र विकासले विश्वव्यापी तापक्रम वृद्धि, खडेरी, पानीको अभाव तथा चरम मौसमी घटनाहरूको जोखिम बढाउन सक्छ। त्यसैले प्रभावित हुनसक्ने क्षेत्रहरूले कृषि, जलस्रोत व्यवस्थापन तथा विपद् जोखिम न्यूनीकरणका लागि समयमै तयारी गर्नुपर्ने आवश्यकता रहेको औल्याए।  

हिन्दूकुश हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दो

हिन्दूकुश हिमालय क्षेत्रका आठ देशमध्ये चार देशले सन् २०२५ मा १० भन्दा बढी ठूला विपद् सामना गरेको तथ्याङ्क सार्वजनिक भएको छ।

एकीकृत पर्वतीय विकासका लागि अन्तरराष्ट्रिय केन्द्र (इसिमोड) को विश्लेषणले यस क्षेत्र जलवायुजन्य तथा प्राकृतिक प्रकोपको बढ्दो जोखिममा रहेको देखाएको हो।

आइसीआइमोडले आपत्कालीन घटनासम्बन्धी अन्तर्राष्ट्रिय तथ्याङ्क (इएम–डेटा) को विश्लेषण गर्दै यी क्षेत्रका देशहरूले सन् २०२४ मा मात्रै बाढी, पहिरो, आँधीबेहरीलगायत पानीजन्य विपद्का कारण छ अर्ब अमेरिकी डलरभन्दा बढी आर्थिक क्षति बेहोरेको जनाएको छ।

मनसुनी वर्षाका कारण बङ्गलादेश, भारत, नेपाल र पाकिस्तानमा बारम्बार बाढी र पहिरोका घटना भए। केही स्थानमा हिमताल विस्फोटजन्य बाढी (ग्लेसियल लेक आउटबस्र्ट फ्लड) का घटनासमेत दर्ज भएका छन्।

यी विपद्का कारण क्षेत्रभर करिब १२ लाख मानिस प्रत्यक्ष प्रभावित वा विस्थापित भएका छन्। इएम–डेटाका अनुसार विश्वव्यापी रूपमा सन् २०२५ मा विपद्सम्बन्धी आर्थिक क्षति १६९ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको अनुमान गरिएको छ।

पछिल्ला वर्षहरूमा हिमाली क्षेत्रमा बाढी, पहिरो तथा अन्य जोखिमहरू एकअर्कासँग गाँसिँदै गएको र यसले घर, पूर्वाधार तथा आधारभूत सेवामा हुने क्षति झन् बढाएको इसिमोडको निष्कर्ष छ।

विज्ञहरूले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा चरम मौसमीय घटनाको आवृत्ति र तीब्रता बढ्दै गएको भन्दै समयमै अनुकूलन, पूर्वसूचना प्रणालीको विस्तार तथा बहुविपद् जोखिम व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।  

विकास र वातावरणलाई सँगै अघि बढाउनुपर्नेमा जोड

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरणमैत्री र दिगो विकासको अवधारणालाई प्रभावकारी रूपमा अवलम्बन गर्न नसक्दा विश्वले जलवायुजन्य सङ्कटको सामना गरिरहेको बताए।

उनले जलवायु परिवर्तनका असरहरू विश्वभर बढ्दै गएको उल्लेख गर्दै विकासका गतिविधिलाई प्रकृति र वातावरणसँग सन्तुलित ढङ्गले अगाडि बढाउन आवश्यक रहेकामा जोड दिए।

‘जलवायु तथा प्रकृतिमैत्री विकासलाई प्रवद्र्धन गर्दै विकास र वातावरणलाई सँगसँगै अघि बढाउने सन्देश प्रवाह गर्नुपर्छ,’ महानिर्देशक सुवेदीले भने, ‘आर्थिक समृद्धि र पूर्वाधार विकासलाई मात्र प्राथमिकता दिने प्रवृत्तिले प्राकृतिक स्रोत साधनमाथि दबाब बढाएको छ, जसका कारण जलवायु परिवर्तनका जोखिम र चुनौतीहरू थप गम्भीर बन्दै गएका छन्।

विकासका योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वयनका क्रममा वातावरणीय पक्षलाई समान महत्व दिनुपर्ने उनको भनाइ छ। महानिर्देशक सुवेदीले दिगो विकासका लक्ष्य हासिल गर्न हरित विकास, वातावरण संरक्षण तथा जलवायु अनुकूलनका उपायहरूलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउँदै विकास र वातावरणबीच सन्तुलन कायम गर्न सके मात्र दीर्घकालीन समृद्धि सुनिश्चित हुने बताए।  

वातावरण संरक्षणलाई औपचारिक कार्यक्रममा मात्रै सीमित गर्न नहुने

जलवायु अभियन्ता गीता पाण्डेले वातावरण संरक्षणलाई औपचारिक कार्यक्रम वा हरेक दिनको उत्सवमा सीमित नगरी दैनिक जीवन, समुदाय र परम्परागत अभ्याससँग जोड्नुपर्नेमा जोड दिइन्।

उनले नेपालका विभिन्न आदिवासी तथा स्थानीय समुदायहरूले पुस्तौँदेखि प्रकृतिसँग सहअस्तित्वमा आधारित जीवनशैली अपनाउँदै आएको उल्लेख गरिन्।

यसवर्ष जुन ५ अर्थात् विश्व वातावरण दिवसकै दिन थारु समुदायको परम्परागत ‘धुरिया पूजा’ परेको सन्दर्भ उल्लेख गर्दै उनले यसलाई वातावरण संरक्षण र सांस्कृतिक परम्पराबीचको गहिरो सम्बन्धको प्रतीकका रूपमा व्याख्या गरिन्।

थारु समुदायमा प्रत्येक वर्ष जेठ महिनामा, मनसुन सुरु हुनुअघि मनाइने धुरिया पूजामा विभिन्न गाउँका बडघर र चौधरियाहरू एकै स्थानमा भेला भई जलस्रोतको पूजा गर्नुका साथै समुदायका साझा सरोकारका विषयमा छलफल गर्ने परम्परा रहेको छ।

यस पर्वले प्रकृति, वन, जलस्रोत तथा वातावरणप्रतिको सम्मान, संरक्षण र सहअस्तित्वको सन्देश प्रवाह गर्ने विश्वास गरिन्छ। पाण्डेका अनुसार पुस्तौँदेखि अभ्यास हुँदै आएको झुरिया पूजा जलस्रोतप्रतिको सम्मान र संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको छ। 

विश्व वातावरण दिवस र झुरिया पूजा एउटै दिन पर्नु केबल संयोग मात्र नभई प्रकृतिसँगको सम्बन्ध तथा वातावरण संरक्षणप्रतिको साझा जिम्मेवारीलाई स्मरण गराउने महत्वपूर्ण अवसर भएको उनले बताइन्।

जलवायु परिवर्तनका चुनौती बढ्दै गएको वर्तमान अवस्थामा यस्ता परम्परागत ज्ञान र अभ्यासको संरक्षण तथा प्रवद्र्धन गर्दै वातावरण संरक्षणका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिइन्।  

अबको बाटो के हुने ?

पूर्वमन्त्री दीपक ज्ञवालीले नेपालमा भइरहेका अव्यवस्थित सडक निर्माणका कारण कमजोर पहाडी भूबनोटमा जथाभावी सडक विस्तारले विपद् जोखिम बढाएको बताए। ‘जलवायु परिवर्तनका कारण माटो सुक्दै गएको छ, जसले सबैभन्दा बढी असर गरिब समुदायलाई पारिरहेको छ’, उनले भने, ‘अबको बाटो भनेको राज्यले जलवायु लगानी बढाउनुपर्छ। खाली अन्तर्राष्ट्रिय वित्तमा मात्रै भर पर्नुभएन।’

विपद् व्यवस्थापनविद् अच्युत लुइँटेलले विकास र वातावरणबीच सन्तुलन कायम गर्न नसके जलवायुजन्य विपद् अझै बढ्नसक्ने भन्दै दिगो, वातावरण तथा जलवायुमैत्री विकासलाई अगाडि बढाउनुपर्ने सुझाव दिए।

वातावरण अभियन्ता आरती पौडेलले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय नीतिहरू र स्थानीय समुदायका वास्तविक आवश्यकता तथा अनुभवबीच अझै पनि उल्लेख्य दूरी रहेको बताइन्।

‘जलवायु सङ्कटको प्रभाव न्यूनीकरण र दिगो भविष्य निर्माणका लागि स्थानीय समुदायको भूमिका केन्द्रमा राख्न आवश्यक छ । प्रकृतिसँग सहकार्य गर्दै अघि बढ्नु अब विकल्प होइन, अपरिहार्यता हो’, उनले भनिन्।  

जलवायु न्यायको सुनिश्चितता आवश्यक

वातावरण कानुनविद् प्रकाशमणि शर्माले जलवायु न्यायको सुनिश्चितमार्फत जलवायु परिवर्तनबाट प्रभावित समुदायको अधिकार संरक्षण गर्न सकिने बताए। प्रकृतिको समृद्धिबिना मानव सभ्यताको समृद्धि सम्भव नहुने उनको भनाइ छ।

शर्माले विश्वव्यापी रूपमा तापक्रम वृद्धि भइरहेका कारण जलवायु परिवर्तनका चुनौतीलाई गम्भीरतापूर्वक सम्बोधन गर्न आवश्यक रहेको उल्लेख गरे।

‘हिमालहरू पानीका टावर हुन्’, उनले भने, ‘हिमशृङ्खलाहरू तीव्र रूपमा पग्लिँदै गए र पानीको भण्डार घट्दै गयो भने भविष्यमा अर्बौं मानिसले खानेपानीको गम्भीर सङ्कट सामना गर्नुपर्ने अवस्था आउन सक्छ।’

शर्माले जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी गरिब तथा सीमान्तकृत समुदाय प्रभावित हुने बताए।

उनका अनुसार यस्ता समुदायसँग अनुकूलनका लागि आवश्यक स्रोत र क्षमता कम हुने भएकाले जलवायु सङ्कटको भार पनि उनीहरूले नै बढी वहन गर्नुपरेको छ।

उनले वातावरणीय पक्षलाई बेवास्ता गर्दै अगाडि बढाइने विकासले अन्ततः विनाश निम्त्याउन सक्ने चेतावनी दिए। जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सन्धि–सम्झौता, नेपालको संविधानको धारा ३० ले सुनिश्चित गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक तथा वातावरण संरक्षणसँग सम्बन्धित कानुन र राज्यका नीतिहरूको प्रभावकारी कार्यान्वयनमा शर्माले जोड दिए।

‘जलवायु परिवर्तनको चुनौती सामना गर्न कानुनी व्यवस्था, नीतिगत प्रतिबद्धता र व्यवहारिक कार्यान्वयनबीचको दूरी कम गर्न आवश्यक छ’, उनले भने, ‘प्रकृति संरक्षण र दिगो विकासलाई सँगसँगै अगाडि बढाउन सके मात्र भावी पुस्ताको सुरक्षित भविष्य सुनिश्चित गर्न सकिन्छ।’
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
३ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस