नेपालगन्ज सोमबार र मंगलबार जेन-जी प्रदर्शनका कारण भय र त्रास ग्रस्त बन्यो । सडकमा टायर बालिँदा कालो धुवाँको पर्दा जम्थ्यो, प्रहरी र प्रदर्शनकारीबीच चर्काचर्की हुन्थ्यो, कार्यालयहरूमा आगजनी हुँदै गर्दा सर्वसाधारण आत्तिएका थिए । सामान्य जनजीवन पूर्णरूपमा ठप्प थियो । तर, मंगलबार राति १० बजेदेखि नेपाली सेना परिचालन भएपछि चित्र फेरिन थालेको छ । शहर बिस्तारै सामान्यतर्फ फर्किरहेको छ, मानिसहरूको अनुहारमा हराउँदै गएको आत्मविश्वास पुनः फर्किन थालेको छ ।
नेपालगन्जको मुख्य बजार क्षेत्र सुनसान थियो । पसलहरू ताला झुण्ड्याएर बन्द, सडकमा तैनाथ प्रहरी, आकाशतिर धुवाँमात्र देखिन्थ्यो । बुधबारको दिउँसो त्यो अवस्था केही हदसम्म बदलियो । सडकमा निजी सवारीसाधन चल्न थाले । चिया पसलमा थोरै भए पनि ग्राहक आउजाउ गर्न थाले ।
कोहलपुरतिर पेट्रोल पम्पमा गाडीहरू लामबद्ध देखिनु, मानिसहरू सामान्य जीवनतर्फ फर्किन खोजिरहेका छन् भन्ने संकेत हो । चिया पिउँदै बस्ने केही ग्राहकहरू खुलेआम भन्दै थिए, ‘भयावह दिन बिते, अब त कम्तीमा सहजै हिँड्डुल गर्न सकिन्छ ।’
सुरक्षा व्यवस्थामा सेना परिचालन भएसँगै मानिसले ढुक्क महसुस गर्न थालेका छन् । सेनाको गस्ती बढेपछि गल्लीगल्लीमा देखिने तिनका गाडी नागरिकका लागि आश्वासन बनेका छन् । उपमहानगरपालिका–१२ का रामकृष्ण श्रेष्ठ भन्छन्, ‘बाहिर निस्कनै सकिँदैनथ्यो, अहिले भने सेना देख्दा ढुक्क लाग्छ ।’ सेनाको उपस्थिति मात्रले होइन, उनीहरूको व्यवहारले पनि त्रसित नागरिकलाई मनोवैज्ञानिक सान्त्वना दिएको छ ।
यद्यपि, आगजनीले छोडेको घाउ अझै भुलिएको छैन । कोहलपुर नगरपालिकाको कार्यालयभित्र जलेर खरानी बनेका फाइलहरू अझै देखिन्छन् । नेपालगन्जस्थित कर कार्यालय जलेर नष्ट छ । जलेका भित्ताहरूमा कालो दागहरू अझै बाक्लै छन् । धुवाँको गन्ध विगतको त्रासलाई निरन्तर सम्झाइरहेको छ । प्रशासनिक सेवा नपाउँदा नागरिक असहज बनेका छन् । प्रमाणपत्र, दर्ता, नवीकरणका कामका लागि कार्यालय धाउने मानिसहरू हात खाली फर्किन बाध्य भएका छन् ।
पेट्रोल पम्पमा लाइन बजारमा भने हल्का मुस्कान फर्कन थालेको छ । धम्बोझीका केही पसल खोलिएका छन्, यद्यपि ग्राहक थोरै मात्र भेटिन्छन् । तरकारी बजारमा भने चहलपहल बढी छ । गाउँबाट ल्याइएका तरकारी सहरमा बिक्री हुन थालेका छन्, जसले उपभोक्तालाई सहज पारेको छ । यही दृश्यले सहर फेरि सामान्यतर्फ फर्किन थालेको अनुभूति दिलाउँछ । यातायातमा पनि केही सहजता आएको छ । आन्दोलनका कारण ठप्प रहेका लामो दूरीका बसहरू अझै चलेका छैनन्, तर निजी सवारीसाधन सडकमा दौडिन थालेका छन् । यात्रुहरूको अनुहारमा आशा देखिन्छ । नेपालगन्ज बसपार्कमा भेटिएकी सरिता खत्री भन्छिन्, ‘बुटवल जाने बस पाइएकै छैन । भोलिदेखि चल्छ रे भन्ने सुनेर राहत भएको छ ।’ उनको अनुहारमा कताकता ढुक्क र आशाको मिश्रण झल्किरहेको थियो ।
तर, विगतका केही दिन सामान्य नागरिकका लागि सजिलो थिएनन् । पसलमा आगो लगाइन्छ कि भन्ने त्रास, घर–घरमा आगजनी र लुटपाटको खबर, विद्यालयहरू बन्द हुँदा घरभित्रै बस्न बाध्य बालबालिका यी सबैले सहरलाई पूर्णरूपमा आतंकित बनाइदिएका थिए । सहरलाई फेरि पूर्णरूपमा सामान्य बनाउन समय लाग्ने निश्चित छ । सरकारी कार्यालयहरू पुनः सञ्चालन गर्न, विद्यालयमा विद्यार्थीलाई फर्काउन, मानसिक रूपमा त्रसित नागरिकलाई सान्त्वना दिन र व्यापारीलाई क्षतिपूर्ति दिलाउन राज्यले ठोस पहल गर्नुपर्ने अवस्था छ ।
सुरक्षाको जिम्मा अहिले सेना, प्रहरी र सशस्त्र प्रहरीले सम्हालिरहेका छन् । संयुक्त गस्तीले केही हदसम्म नागरिकमा भरोसा जगाइरहेको छ । तर, दीर्घकालीन शान्ति केवल सुरक्षाकर्मीको उपस्थिति मात्रले सम्भव हुँदैन भन्नेमा सबै सहमत छन् । बुधबारको नेपालगन्ज र कोहलपुरको दृश्य केही हदसम्म सामान्य बनेको छ । सडकमा गाडी चलेका छन्, बजारमा पसलहरू खुल्न थालेका छन्, मानिसहरू फेरि चिया पसलमा भेला हुन थालेका छन् । तर, जलेका भवन र धुवाँको गन्धले भर्खरै बितेको असामान्यतालाई स्मरण गराइरहेको छ । सहर सामान्य बन्दै गएको छ, तर पूर्णरूपमा सामान्य बन्न अझै समय, प्रयास र विश्वास चाहिन्छ । अत्यावश्यकबाहेक अन्य काममा बाहेक अरुबेला बाहिर ननिस्किन नेपाली सेनाले अपील गरेको छ ।
रोल्पा । घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ। तर, कतिपय घरका बन्द ढोकाभित्र यस्ता पीडा लुकेका हुन्छन्, जसको आवाज भित्रबाट बाहिर निस्कन सक्दैन। चुलोचौकाको धुवाँसँगै निसासिएका सुस्केरा, छोरा र छोरीमाझको खैदेखि गरिने विभेद र ‘इज्जत’को नाममा थुपारिएका मौनताहरूले हजारौँ दिदीबहिनी र बालिकाको जीवनलाई अँध्यारो सुरुङतिर धकेलिरहेका छन्। हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान केवल नाराले भरिएको क्यालेन्डरको पाना मात्र होइन, यो त मौनताको पर्खाल भत्काएर न्याय र समानताको उज्यालो खोज्ने सामूहिक सङ्कल्प हो। घरभित्रको अदृश्य पीडा र विभेदको जरा घरेलु हिंसा सधैँ शरीरमा देखिने नीलडाम वा रगतको दागमा मात्र सीमित हुँदैन। कहिलेकाहीँ अपमानजनक शब्द, आर्थिक नियन्त्रण, निर्णय प्रक्रियाबाट वञ्चितीकरण र मानसिक यातनाले मानिसको आत्मसम्मानलाई भित्रभित्रै गलाइदिन्छ। जन्मदेखिको विभेद: छोरा जन्मिँदा बज्ने खुसीका धुन र छोरी जन्मिँदा छाउने मौनता विभेदको पहिलो पाठ यहीँबाट सुरु हुन्छ। शिक्षा, पोषण र अवसरमा छोरीलाई दोस्रो दर्जामा राख्ने प्रवृत्तिले असमानताको जग बलियो बनाउँछ। घरेलु हिंसाको मौनता: ‘घरको कुरा घरमै मिलाउनुपर्छ’ भन्ने सामाजिक मान्यताले पीडितलाई न्याय माग्नबाट रोक्छ र पीडकलाई थप हौसला दिन्छ। पीडा सहनुलाई नै ‘सहनशीलता’ र ‘आदर्श नारी’को उपमा दिँदा अन्यायलाई संस्थागत रूपमै स्वीकार गरिन्छ। प्रथा र कुसंस्कारको भार: कहिलेकाहीँ जोगीको लोभमा त कहिले छाउपडीजस्ता अन्धविश्वासका नाममा महिलामाथि हुने दुर्व्यवहारले मानवीय संवेदनशीलतालाई नै चुनौती दिइरहेको छ। १६ दिने अभियान: केवल औपचारिकता कि वास्तविक रूपान्तरण? हरेक वर्ष मङ्सिर महिनाको अन्त्यतिर गाउँ–सहरमा र्याली, गोष्ठी र पोस्टर टाँस्ने क्रम चल्छ। तर, १६ दिन सकिएपछि फेरि त्यही पुरानो दैनिकी दोहोरिने हो भने अभियानको मर्म अधुरो रहन्छ। वास्तविक परिवर्तन तब सम्भव हुन्छ, जब यो अभियान सदन र सभाहलबाट निस्केर हरेक परिवारको भान्सा र आँगनसम्म पुग्छ। हिंसा सहनु अपराध होइन, तर हिंसा देखेर पनि चुप लाग्नु र अन्यायलाई सामान्य मान्नु समाजको सबैभन्दा ठूलो कमजोरी हो। हामीले अब सोचाइको दिशा बदल्न आवश्यक छ। छोराहरूलाई सानैदेखि सम्मान, समानता र भावनात्मक संवेदनशीलता सिकाउनुपर्छ भने छोरीहरूलाई डर होइन, आत्मविश्वास र अधिकारको पाठ पढाउनुपर्छ। कानुनका किताबमा लेखिएका धाराहरू व्यवहारमा उतार्न परिवार, समाज र राज्य सबैको हातेमालो अपरिहार्य छ। अबको बाटो: सम्मान र समानताको समाज लैङ्गिक हिंसा अन्त्य गर्न कुनै एक व्यक्ति वा संस्थाको प्रयास मात्र पर्याप्त हुँदैन। घरभित्रको सानो व्यवहारदेखि समाजको ठूलो संरचनासम्म समानताको अभ्यास हुनुपर्छ। जब हरेक घर छोराछोरीका लागि समान रूपमा सुरक्षित र स्नेहमय बन्नेछ, जब पीडितले बिना डर न्याय र साथ पाउनेछन् र जब विभेदको ठाउँ सम्मानले लिनेछ—तब मात्र १६ दिने अभियानले सार्थक रूप लिनेछ। पीडाका सुस्केराहरू अब आशाका गीतमा बदलिनुपर्छ। आवाजको शक्ति र नेतृत्वको यात्रा: १६ दिने अभियानको अर्थ हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पीडा, आँसु र विरोधका नाराहरूमा मात्र सीमित रहनु हुँदैन। यो अभियानले महिलाहरूलाई पीडितको भूमिकाबाट माथि उठाएर नीति बनाउने, निर्णय गर्ने र समाजको दिशा तय गर्ने निर्णायक स्थान अर्थात् राजनीतिक प्रतिनिधित्वसम्म पुर्याउने सेतुको काम गर्न सक्नुपर्छ। लैङ्गिक हिंसाको जरा अक्सर शक्ति असमानता, मौनता र अवसरको वञ्चितीकरणमा जोडिएको हुन्छ। जबसम्म महिलाहरू संसद्, स्थानीय तह र नीति निर्माणका टेबलहरूमा अर्थपूर्ण रूपमा पुग्दैनन्, तबसम्म हिंसा रोक्ने कानुन र बजेट कागजमै सीमित रहने जोखिम रहन्छ। घरको चुलोचौकादेखि टोलको सानो घेरादेखि राज्यको सर्वोच्च निकायसम्म महिलाको उपस्थिति केवल सत्ताका लागि होइन, अनुभव, संवेदनशीलता र न्यायपूर्ण दृष्टिकोणका लागि अपरिहार्य छ। कतिपय महिलाले आज पनि राजनीतिक यात्रामा पाइला चाल्दा चरित्रहत्या, धम्की, दोहोरो कार्यबोझ र अदृश्य बाधाहरूको सामना गर्नुपर्छ। १६ दिने अभियानले समाजलाई यही प्रश्न सोध्नुपर्छ: हामी हिंसाको विरोध त गर्छौँ, तर के हामी महिलालाई शक्ति र नेतृत्व सुम्पिन तयार छौँ? हिंसामुक्त समाजको जग त्यतिबेला बलियो हुन्छ, जब पीडितले न्याय मात्र होइन, नेतृत्व गर्ने अधिकार पनि पाउँछन्। आज आवश्यक छ, यो १६ दिने अभियानले हरेक युवती र महिलालाई भनौँ—तिम्रो पीडा मात्र होइन, तिम्रो विचार र नेतृत्व पनि यो देशलाई चाहिन्छ। जब महिलाको हातमा कलम र निर्णयको अधिकार पुग्छ, तब हिंसाको संस्कृति आफैँ कमजोर हुँदै जान्छ र साँचो अर्थमा लोकतन्त्र समावेशी बन्छ। न्याय, शक्ति र मर्यादाको साझा यात्रा: ‘अनुपम अभियान’ नेपालको महिला अधिकार र लैङ्गिक न्यायको सङ्घर्षमा पुस्तान्तरणको अनुभव र नवीन ऊर्जा जोड्दै अन्तरपुस्ता महिलावादी मञ्चले देशैभरि आफ्नो सञ्जाल विस्तार गरेको छ। यही मञ्चको अगुवाइमा सञ्चालित ‘अनुपम अभियान’ र हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान एउटै गन्तव्य—समानता, मर्यादा र हिंसामुक्त समाज—तर्फ उन्मुख दुई महत्त्वपूर्ण आयाम हुन्। ‘अनुपम अभियान’: शक्ति र मर्यादाको संरचनात्मक रूपान्तरण वि.सं. २०७९ को निर्वाचनपछि सुरु गरिएको पाँचवर्षे ‘अनुपम अभियान’ केवल परम्परागत पैरवी र दातामुखी सहायताको ढाँचाभन्दा माथि उठेर संरचनात्मक रूपान्तरणमा केन्द्रित छ। ‘घर चलाउन सक्ने महिलाले देश चलाउन सक्छन्’, ‘६४ मा महिला हुनुपर्छ पहिला’, ‘कुन पार्टी हो चिन्तै छैनौँ, महिला भएर जाँदैछौँ’ जस्ता नारा बोकेर अभियानमा निरन्तर अनुपम अभियानले १६ दिने अभियानको सार्थकता बोकेको छ। यस अभियानले नेपालको राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा महिलाको निर्णायक पहुँच र स्वायत्ततालाई मुख्य एजेन्डा बनाएको छ। शक्ति संरचनाको विश्लेषण: अभियानले महिला तथा सीमान्तकृत समुदायले भोग्ने दृश्य (राजनीतिक दल र नेतृत्वको तह), अदृश्य (निर्णय प्रक्रिया र पहुँचका अवरोध) तथा गहिरो संरचनात्मक (सामाजिक मान्यताका रूपमा रहेको शक्ति सम्बन्ध) पक्षलाई उजागर गर्छ। दान वा अनुकम्पाभन्दा माथि उठेर न्याय, आत्मनिर्भरता र मर्यादालाई केन्द्रमा राख्दै समुदाय–नेतृत्वको पहल र सुरक्षित संवादस्थल निर्माण गर्नु यसको विशेषता हो। अन्तरपुस्ता ऐक्यबद्धता: अग्रज पुस्ताको ऐतिहासिक सङ्घर्षको स्मृति र युवा पुस्ताको नवीन चेतनालाई जोड्दा नीति निर्माणदेखि स्थानीय तहसम्म महिलाको आवाज बलियो बन्छ। मौनता तोड्ने समय: घर, समाज, कार्यस्थल र डिजिटल माध्यममा हुने हिंसाविरुद्ध बोल्ने, पीडितलाई न्याय र सेवामा जोड्ने तथा दोषीलाई जवाफदेही बनाउने साझा मञ्चका रूपमा यो अवधिलाई स्थापित गर्नुपर्छ। दुई अभियानको अन्तरसम्बन्ध: महिलामाथि हुने हिंसा कुनै अलग घटना होइन, यो असमान शक्ति सम्बन्ध, निर्णय तहमा महिलाको न्यून उपस्थिति र पितृसत्तात्मक संरचनाको परिणाम हो। त्यसैले ‘अनुपम अभियान’ र १६ दिने अभियान एक–अर्काका परिपूरक देखिन्छन्। तुलनाको आधार: ‘अनुपम अभियान’ र १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियानको मुख्य जोड निर्णय तहमा पहुँच, शक्ति संरचनाको रूपान्तरण, आत्मनिर्भरता, लैङ्गिक हिंसा रोकथाम, पीडित संरक्षण र कानुनी उपचारमा छ। १६ दिने अभियानले उठाउने हिंसाका सवाल र ‘अनुपम अभियान’को राजनीतिक तथा सामाजिक बहसलाई अझ यथार्थपरक बनाउँछ। निष्कर्ष: नेपालमा लैङ्गिक न्यायको यात्रा केवल नारामा सीमित नराखी व्यवहार र संरचनामा उतार्न अन्तरपुस्ता संवाद अपरिहार्य छ। ‘अनुपम अभियान’को दीर्घकालीन शक्ति रूपान्तरणको दृष्टिकोण र १६ दिने अभियानको सघन सामाजिक ऐक्यबद्धतालाई जोड्न सके मात्र हरेक महिलाले डर, विभेद र हिंसामुक्त वातावरणमा मर्यादित जीवन जिउन सक्ने आधार तयार हुन्छ।