विपद्को पूर्वतयारीमा काभ्रे: तीन वर्षमा १४ हजार घटना, ७ पालिका उच्च जोखिममा
२७ भदौ २०८३
•
४ मिनेट पाठ
विपद्को पूर्वतयारीमा काभ्रे: तीन वर्षमा १४ हजार घटना, ७ पालिका उच्च जोखिममा
विपद्पछि मात्रै उद्धार र राहतमा जुट्ने अभ्यासलाई बदल्दै काभ्रेपलाञ्चोक जिल्लाले जोखिम पहिचान, पूर्वसूचना प्रणाली र पूर्वतयारीलाई प्राथमिकतामा राखेको छ।




विगत तीन आर्थिक वर्षमा मात्रै १४ हजारभन्दा बढी विपद्का साना–ठूला घटना बेहोरेको यस जिल्लाले पूर्वतयारीमार्फत मानवीय र भौतिक क्षति न्यूनीकरण गर्ने रणनीति अख्तियार गरेको हो।

जिल्ला विपद् व्यवस्थापन समितिले विगतका तीता अनुभवबाट पाठ सिक्दै जोखिमयुक्त बस्तीको रेखाङ्कन, प्रतिकार्य क्षमता अभिवृद्धि, राहत, पुनःस्थापना र दीर्घकालीन जोखिम न्यूनीकरणका योजना एकसाथ अघि बढाएको छ।

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्म जिल्लामा १४ हजार ३०४ वटा विपद्का घटना दर्ता भएका छन्।

आव २०८०/८१ मा २३५ आगलागी र ८७ बाढी/पहिरोसहित ३७९ घटना हुँदा १७ जनाको ज्यान गएको थियो भने १५ जना घाइते भएका थिए।

आव २०८१/८२ जिल्लाका लागि विपद्का दृष्टिले सबैभन्दा घातक रह्यो। सो वर्ष दर्ता भएका १३ हजार ८७३ घटनामध्ये १३ हजार ७०८ बाढी/पहिरो र ११६ आगलागीका थिए

उक्त वर्ष विपद्‌मा परी ९१ जनाको मृत्यु, ११३ जना घाइते र आठ जना बेपत्ता भए भने ८ हजार ९०८ घर-गोठ तथा २ हजार ७१० चौपायाको क्षति भएको थियो।

गत आव २०८२/८३ मा बाढी-पहिरोका ९९ र आगलागीका २९ सहित १६२ वटा घटनामा १३ जनाको ज्यान जानुका साथै १२ जना घाइते भएका थिए।

चालु आर्थिक वर्षको सुरुआतमै काभ्रेले अर्को मानवीय विपत्ति झेलिरहेको छ। गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीमा परी रोजगारी र भ्रमणका लागि पुगेका काभ्रेका ६५ नागरिकमध्ये ४० जना अझै बेपत्ता छन्

२४ जना सकुशल परिवारको सम्पर्कमा आएका छन् भने एक जनाको शव फेला परेको छ। यस्तै, चालु आवको साउनमा रोशी खोलामा बगेर एक जना र भुम्लु तथा धुलिखेलमा करेन्ट लागेर दुई जनाको मृत्यु भइसकेको छ।

जिल्ला विपद् व्यवस्थापन समितिले १३ वटै स्थानीय तहको जोखिम वर्गीकरण गरेको छ। समग्र सङ्कटासन्नताका आधारमा पाँचखाल, बनेपा, धुलिखेल, नमोबुद्ध, पनौती, महाभारत र खानीखोला गरी सात पालिका उच्च जोखिममा छन्। मण्डनदेउपुर, भुम्लु, रोशी, बेथानचोक, तेमाल र चौँरीदेउराली मध्यम जोखिममा छन्।

विषयगत रूपमा मण्डनदेउपुर, भुम्लु, रोशी, बेथानचोक, महाभारत, तेमाल, खानीखोला र चौँरीदेउराली पहिरोको उच्च जोखिममा छन्।

पाँचखाल, बनेपा, नमोबुद्ध, पनौती, महाभारत र खानीखोलामा बाढीको जोखिम बढी छ। रोशी, इन्द्रावती, सुनकोशी र पुण्यमाता करिडोर आसपासका बस्ती नदी कटानको जोखिममा छन् भने भूकम्प र पहिरोको दृष्टिले जिल्लाका सबै पालिका संवेदनशील मानिएका छन्।

जोखिमयुक्त क्षेत्रको पहिचान गरी प्राविधिक टोलीले तस्बिर र प्रमाणीकरणसहितका विवरण डिजिटल ‘विपद् पोर्टल’ मा समावेश गरेको छ। यसले राहत, पुनःस्थापना र लक्षित कार्यक्रम सञ्चालन गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।

प्रभावित परिवारका लागि हालसम्म १२ करोड ६ लाख २५ हजार रुपैयाँ अस्थायी आवास अनुदान निकासा भइसकेको छ।

जसअनुसार पहिलो किस्ताबापत ३ हजार १६५ लाभग्राहीलाई ७ करोड ९१ लाख २५ हजार र दोस्रो किस्ताबापत १ हजार ६६० लाभग्राहीलाई ४ करोड १५ लाख रुपैयाँ वितरण गरिएको छ।

पूर्ण क्षति भएका निजी आवासको स्थायी निर्माणका लागि प्रतिपरिवार ४ लाख रुपैयाँ उपलब्ध गराउने प्रक्रियाअन्तर्गत रोशीका २३९, बेथानचोकका २५२ र मण्डनदेउपुरका ५२ परिवार सिफारिस भएका छन्।

यस्तै, बर्डफ्लु प्रभावित २० वटा कृषि फार्मलाई ४ करोड ९४ लाख ९८ हजार ७६६ रुपैयाँ राहत दिइएको छ भने १० वटा फार्मको प्रक्रिया जारी छ।

आपत्कालीन प्रतिकार्यका लागि १३ वटा स्थानीय तहको विपद् कोषमा कुल ४ करोड १६ लाख ६२ हजार १३७ रुपैयाँ मौज्दात छ। जिल्ला विपद् कोषमा ७४ लाख १३ हजार ६५१ र प्रदेश विपद् कोषमा १० लाख ४७ हजार ७९० रुपैयाँ रकम सुरक्षित राखिएको छ।

आपत्कालीन उद्धारका लागि जिल्लामा खोज तथा उद्धार, पूर्वाधार, खाद्य तथा कृषि, आश्रयस्थल, स्वास्थ्य, शिक्षा, खानेपानी लगायत ११ वटा विषयगत क्लस्टर गठन गरिएको छ।

खोज तथा उद्धारमा नेपाली सेनाका ४१, नेपाल प्रहरीका ८० र सशस्त्र प्रहरी बलका ५८ जना तालिमप्राप्त सुरक्षाकर्मीसहित रेडक्रसका ३५ प्रतिनिधि र स्थानीय युवा स्वयंसेवकलाई जुनसुकै बेला परिचालन गर्न सकिने गरी ‘अलर्ट’ राखिएको छ।

जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतमका अनुसार सुरक्षित निर्माण मापदण्ड तथा भू-उपयोग नीतिको प्रभावकारी कार्यान्वयन गर्दै अनियन्त्रित बस्ती विस्तार रोक्ने नीति लिइएको छ। भारी वर्षा हुनासाथ तटीय क्षेत्रमा पूर्वसूचना दिने र रातिको समयमा जोखिमयुक्त बीपी राजमार्गमा सवारी आवागमन रोक्ने कामलाई निरन्तरता दिइएको छ।

यसैगरी, गत २०८३ साउन १५ गतेको बैठकले विपद्पछि अवरुद्ध हुने विद्युत्, खानेपानी र सडक पूर्वाधार सम्बन्धित निकायले स्वतः तत्काल मर्मत गरी सञ्चालन गर्ने निर्णय गरेको प्रजिअ अधिकारीले बताए।

भौगोलिक विकटता, सडक अवरोध, सञ्चार विच्छेद, सीमित स्रोतसाधन र रात्रिकालीन उद्धारका जटिलता कायमै भए पनि तीनै तहका सरकार, सुरक्षा निकाय र समुदायको समन्वयमा विपद् पूर्वतयारीलाई सशक्त बनाइएको प्रशासनको दाबी छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
३२ मिनेट अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २४ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस