नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
२४ असार २०८३
•
१० मिनेट पाठ
नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल चिटिक्क परेको छ। अत्याधुनिक भवन, चम्किला काउन्टर, एक्स–रे मेसिन, अध्यागमन डेस्क, प्रस्थान कक्ष र धावनमार्ग सबै तयारी अवस्थामा छन् तर यात्रुहरुको भीड छैन। कहिलेकाहीँ चार्टर उडान आउँछ, केही यात्रु ओर्लिन्छन् र फेरि तिनै उक्त विमानमा चढेर फर्किन्छन् अनि फेरि विमानस्थल पहिलेकै सन्नाटामा फर्किन्छ।




चार वर्षअघि नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा ठूलो उत्साहका साथ सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज पनि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा छ।

अर्बौं रुपैयाँको लगानी, आधुनिक पूर्वाधार र सरकारले दिएको आकर्षक सहुलियतका बाबजुद विमानस्थलले अपेक्षित गति लिन सकेको छैन।

विमानस्थल प्रशासन, निजी क्षेत्र र पर्यटन व्यवसायीसँग गरिएको कुराकानीले एउटा साझा निष्कर्ष देखाउँछ। समस्या धावनमार्ग वा भवनको होइन, नीति, बजार व्यवस्थापन र निर्णय क्षमताको हो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर साहका अनुसार पछिल्लोपटक थाई एयर एसियाले बैंकक–भैरहवा–बैंकक रुटमा हप्ताको दुई दिन नियमित उडान सञ्चालन गरेको थियो तर त्यो मार्चसम्मको ‘विन्टर सिड्युल’सम्म मात्र सीमित रह्यो।

अहिले ‘समर सिड्युल’ सुरु भइसकेकाले अक्टोबरसम्म कुनै नियमित अन्तर्राष्ट्रिय उडान छैन। बीचबीचमा चार्टर उडान भने भइरहेका छन्।

साहका अनुसार वायुसेवा कम्पनीले नियमित सेवा बन्द गर्नुको मुख्य कारण यात्रु अभावलाई देखाएका छन्। ‘जहाज आउँछ तर अपेक्षित ‘अकुपेन्सी’ हुँदैन। जानेबेला केही यात्रु भए पनि फर्कंदा जहाज खाली जस्तै हुन्छ। व्यावसायिक कम्पनीले नाफा हेर्ने भएकाले यस्तो अवस्थामा नियमित उडान टिकाउन कठिन हुन्छ’, उनी भन्छन्।

तर उनी यात्रु नै नभएको निष्कर्षसँग पूर्ण रुपमा सहमत छैनन्। ‘लुम्बिनी प्रदेश मात्रै होइन, मधेस, कोशी, सुदूरपश्चिमलगायत विभिन्न प्रदेशबाट विगतमा यात्रु भैरहवा आउँथे। यात्रुको सम्भावना छ । समस्या यात्रु व्यवस्थापनमा भयो’, उनले भने।

साहका अनुसार अन्तर्राष्ट्रिय उडान सफल बनाउन एयरलाइन्स मात्र पर्याप्त हुँदैनन्। यात्रुलाई जहाजसम्म पु¥याउने सम्पूर्ण प्रणाली सक्रिय हुनुपर्छ।

‘वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने म्यानपावर कम्पनी, टिकट बिक्री गर्ने ट्राभल एजेन्सी र जनरल सेल्स एजेन्ट (जिएसए) सबैले मिलेर काम गर्नुपथ्र्यो। त्यो हुन सकेन’, उनले भने।

उनका अनुसार कतिपय विदेशी वायुसेवा कम्पनी भैरहवामा उड्न इच्छुक भए पनि उनीहरुको नेपालस्थित जनरल सेल्स एजेन्ट काठमाडौंमै केन्द्रित छन्। उनीहरुको सम्पूर्ण व्यापारिक संरचना राजधानीमै भएकाले उनीहरुले यात्रुलाई पनि काठमाडौंबाटै उडाउन बढी जोड दिने गरेका छन्।

‘काठमाडौंका जिएसएले स्थानीय ट्राभल एजेन्सीसँग पर्याप्त सहकार्य गरेनन्। भाडामा केही सहुलियत दिने, टिकट सहज उपलब्ध गराउने वा संयुक्त रुपमा बजार प्रवर्द्धन गर्ने काम हुन सकेन। त्यसैले जहाजमा यात्रु भर्न कठिन भयो’, साहले बताए।

उनका अनुसार विमानस्थल सञ्चालनमा पूर्वाधारभन्दा ठूलो चुनौती अहिले यही बजार संरचना बनेको छ। साहको अर्को प्रश्न आफ्नै राष्ट्रिय ध्वजावाहकप्रति छ। नेपाल वायुसेवा निगम र हिमालयन एयरलाइन्सले भैरहवाबाट नियमित अन्तरराष्ट्रिय उडान सुरु गरेको भए विदेशी वायुसेवा कम्पनीलाई पनि सकारात्मक सन्देश जाने थियो।

‘नेपाली ध्वजावाहकले नै यहाँबाट उडान सुरु गरेको भए वातावरण बन्ने थियो कि ? त्यसपछि विदेशी कम्पनी आउन पनि सहज हुन्थ्यो’, उनी भन्छन्?

भैरहवाको भविष्य भारतसँग जोडिएका विषयमा पनि साह स्पष्ट देख्छन्। भारतीय वायुसेवा कम्पनीले दिल्ली, मुम्बई, कोलकाता, बेङ्गलोरलगायत विभिन्न सहरबाट भैरहवामा सहजै उडान गर्न सक्छन्।

त्यसले भारतीय पर्यटक र बौद्ध तीर्थयात्रीको सङ्ख्या उल्लेख्य रुपमा बढाउन सक्नेछ तर यसका लागि सरकारी तहबाट आवश्यक पहल हुन नसकेको उनको गुनासो छ। नेपाल र भारतबीचको एयर सर्भिस एग्रिमेन्ट धेरै पुरानो भएकाले त्यसमा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समेटिएको छैन।

नयाँ यथार्थअनुसार उक्त सम्झौता पुनरावलोकन गर्नुपर्ने आवश्यकता उनी औँल्याउँछन्। ‘भारतीय एयरलाइन्सले अहिले काठमाडौँमा दैनिक धेरै उडान गरिरहेका छन्। उनीहरुलाई भैरहवाबाट पनि उडान गर्न सरकारी तहबाट औपचारिक पहल हुनुपर्छ’, उनको भनाइ छ।

सरकारले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीलाई आकर्षित गर्न विभिन्न आर्थिक सहुलियत उपलब्ध गराउँदै आएको छ। ल्यान्डिङ शुल्क, नेभिगेसन शुल्क र यात्रु सेवा शुल्कमा शतप्रतिशत छुट, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट तथा काठमाडौंको तुलनामा हवाई इन्धनमा पनि उल्लेखनीय सहुलियत दिइएको छ।

यात्रु कम हुँदा एयरलाइन्सलाई हुने आर्थिक क्षति केही हदसम्म यी छुटले पूर्ति गर्ने उद्देश्य राखिएको हो तर उनको निष्कर्ष स्पष्ट छ, ‘सहुलियतले मात्र पर्याप्त हुँदैन। यात्रु व्यवस्थापन र टिकट बजारको संरचना सुधारिएन भने छुटले मात्र नियमित उडान टिकाउन सक्दैन।’

विमानस्थलको अन्तर्राष्ट्रिय हवाई यातायात तथ्याङ्कले पनि उतारचढाव देखाउँछ। सन् २०२२ देखि सन् २०२६ को मे महिनासम्म अन्तर्राष्ट्रियतर्फ एक हजार २१८ विमान आवागमन भएका छन् भने ६९ हजार ३१६ यात्रुले सेवा लिएका छन्। सन् २०२३ मा यात्रु सङ्ख्या चार हजार ७५१ मा झरेको थियो।

सन् २०२५ मा यो सङ्ख्या बढेर १९ हजार ५९० पुगे पनि अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताअनुसार यो अझै न्यून मानिन्छ। चालु वर्षको मे महिनासम्म चार हजार १५३ यात्रुले मात्र सेवा लिएका छन्।

भैरहवा विमानस्थलको अर्को विशेषता यहाँ जडान गरिएको इन्स्ट्रमेन्ट ल्याण्डिङ सिस्टम (आइएलएस) हो। साहका अनुसार कम दृश्यता भएका दिनमा पनि सुरक्षित अवतरण गर्न सहयोग गर्ने यो प्रणाली नेपालका लागि महत्वपूर्ण सम्पत्ति हो। अझ रोचक कुरा, यस्तो सुविधा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपलब्ध छैन तर यसको ‘सेकेन्डरी प्रोटेक्सन जोन’को करिब १।३ किलोमिटर भाग भारतीय भूभागमा पर्ने भएकाले भारतसँग आवश्यक सहमति हुन बाँकी छ।

यस विषयमा पहिले पत्राचार भए पनि त्यसपछि दुवै पक्षबाट पर्याप्त ‘फलोअप’ नभएको उनी स्वीकार गर्छन्। अहिलेसम्म सञ्चालन भएका अन्तर्राष्ट्रिय उडानमा यसले कुनै प्रत्यक्ष समस्या सिर्जना गरेको छैन।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको चार वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्नुले निजी क्षेत्रलाई पनि उत्तिकै निराश बनाएको छ। तर निजी क्षेत्रका प्रतिनिधिको बुझाइमा यसको मूल समस्या यात्रुको अभावभन्दा धेरै गहिरो छ।

उनीहरुका अनुसार सरकारको नीतिगत अन्योल, काठमाडौं केन्द्रित हवाई बजार, भारतसँगको अपर्याप्त कूटनीतिक पहल र कमजोर समन्वयका कारण विमानस्थलले आफ्नो वास्तविक सम्भावना उपयोग गर्न सकेको छैन।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ढिलाइ हुनुमा सरकारको नीतिगत कमजोरीलाई मुख्य कारण मान्नुहुन्छ।

उनका अनुसार चार वर्षदेखि सरकारले ‘विमानस्थल चल्छ’ भन्ने आश्वासन मात्रै दिइरहेको छ। अब आश्वासन होइन, ठोस निर्णय आवश्यक छ। उनी भन्छन्, ‘काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक अत्यधिक हवाई चाप छ। जहाजहरु अवतरणका लागि लामो समय आकाशमा होल्ड भइरहेका छन्। यस्तो अवस्थामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रुपमा प्रयोग गर्ने नीति सरकारले तत्काल ल्याउनुपर्छ।’

थापाको सुझाव छ, ‘सरकारले हवाई नीतिमा संशोधन गरेर अन्तर्राष्ट्रिय उडानको स्पष्ट वर्गीकरण गर्नुपर्छ। ‘फुल–सर्भिस क्यारियर’ र ठूला वाइडबडी विमान काठमाडौंमा केन्द्रित रहन सक्छन् भने बुद्ध सर्किट, धार्मिक पर्यटन र क्षेत्रीय बजार लक्षित बजेट एयरलाइन्स तथा न्यारोबडी जहाजलाई भैरहवामा अवतरण गर्न प्रोत्साहन मात्र होइन, आवश्यक परे नीतिगत व्यवस्था गर्नुपर्छ।’

सरकारले सबै अन्तर्राष्ट्रिय उडान काठमाडौंमै केन्द्रित हुने वर्तमान अवस्था परिवर्तन नगरेसम्म गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अपेक्षित गति लिन नसक्ने उहाँको ठम्याइ छ।

नेपालमा सञ्चालनमा रहेका अधिकांश अन्तर्राष्ट्रिय एयरलाइन्सका एजेन्ट काठमाडौंका सीमित व्यवसायीको नियन्त्रणमा रहेको उहाँको दाबी छ। टिकट बिक्री, बजार व्यवस्थापन, प्रचारप्रसार र यात्रु वितरणको सम्पूर्ण अधिकार केही कम्पनीमा केन्द्रित हुँदा भैरहवा र पोखराजस्ता नयाँ अन्तर्राष्ट्रिय विमानस्थलले प्रतिस्पर्धा गर्ने अवसर नै पाएका छैनन्।

‘काठमाडौंका जिएसएले आफ्नै व्यापारिक हितअनुसार जहाजको बजार व्यवस्थापन गर्छन्। स्थानीय ट्राभल एजेन्सीलाई पर्याप्त सहयोग, सहुलियत वा टिकटको समान पहुँच दिइँदैन’, थापा भन्छन्।

उनको प्रस्ताव छ– भैरहवा र पोखराका लागि स्थानीयस्तरका जिएसए नियुक्त गर्ने नीति सरकारले ल्याउनुपर्छ। उडानको सुनिश्चित भए लुम्बिनीका पर्यटन व्यवसायी र ट्राभल कम्पनी ठूलो लगानी गरेर पनि त्यो जिम्मेवारी लिन तयार रहेको उनको दाबी छ।

लुम्बिनी आउने धेरै विदेशी पर्यटक भारतका बौद्ध तीर्थस्थल पनि भ्रमण गर्न चाहन्छन् तर अहिले भारतको इ–भिसा लिएर आएका तेस्रो मुलुकका पर्यटक बेलहिया नाका हुँदै भारत प्रवेश गर्न नपाउने व्यवस्था रहेको श्रेष्ठ बताउँछन्।

यसले बुद्ध सर्किटको अवधारणालाई कमजोर बनाएको उनको भनाइ छ। नेपाल सरकारले भारतसँग उच्चस्तरीय कूटनीतिक पहल गरेर यो समस्या समाधान गर्नुपर्नेमा उनको जोड छ। पश्चिम नेपालका हजारौँ युवा हरेक वर्ष वैदेशिक रोजगारीमा जान्छन् तर मेडिकल परीक्षण, श्रम स्वीकृति, बायोमेट्रिक र भिसा प्रक्रियाका लागि उनीहरू अझै काठमाडौं जान बाध्य छन्।

भैरहवामै श्रम डेस्क, मेडिकल सेन्टर र प्रमुख मुलुकका भिसा सेन्टर स्थापना गर्न सकियो भने यही क्षेत्रबाट ठूलो सङ्ख्यामा यात्रु अन्तर्राष्ट्रिय उडानमा जोडिनसक्ने उनको विश्वास छ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई केबल रुपन्देहीको परियोजना मान्न नहुने बताउछन्।

‘धनगढी, नेपालगञ्ज, दाङ, बर्दिया, कैलाली, कञ्चनपुरका नागरिकलाई काठमाडौं पुगेर जहाज चढ्नुभन्दा भैरहवा आउन समय र खर्च दुवै हिसाबले सहज हुन्छ। श्रेष्ठको विचारमा अरुलाई दोष दिनुभन्दा पहिले नेपाल सरकारले आफ्नै दायित्व पूरा गर्नुपर्छ। उनी प्रश्न गर्छन्, ‘सरकारकै स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले दैनिक एउटा नियमित अन्तर्राष्ट्रिय उडान किन सुरु गर्न सक्दैन ?’ 

उनका अनुसार नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले नियमित उडान सुरु गरे त्यसले बजारमा सकारात्मक सन्देश जानेछ। त्यसपछि विदेशी एयरलाइन्स पनि भैरहवाप्रति आकर्षित हुन सक्छन्। यदि यात्रु उडान तत्काल विस्तार गर्न कठिन छ भने कार्गो उडानलाई विकल्पका रुपमा अघि बढाउन सकिने सुझाव पनि निजी क्षेत्रले दिएको छ।

विमानस्थलमा पर्याप्त भौतिक पूर्वाधार, जनशक्ति र सञ्चालन क्षमता रहेका अवस्थामा अन्तर्राष्ट्रिय कार्गो सेवा सुरु गर्न सकिए कृषि उत्पादन, औद्योगिक वस्तु र निर्यात व्यापारले नयाँ बजार पाउन सक्छ। भारतसँग प्रत्यक्ष हवाई सम्पर्कलाई विमानस्थलको भविष्यसँग जोडेर हेरिएको छ।

नयाँदिल्ली, मुम्बई, कोलकाता, बेङ्गलोर, वाराणसी वा लखनउबाट नियमित उडान सुरु भए भारतीय पर्यटक मात्रै होइन, बौद्ध धर्मावलम्बी, तीर्थयात्री तथा तेस्रो मुलुकका पर्यटक पनि सिधै लुम्बिनी आउन सक्नेछन्। यसले लुम्बिनीसँगै पाल्पा, पोखरा, मुक्तिनाथ र पश्चिम नेपालको पर्यटनलाई पनि प्रत्यक्ष लाभ पुग्नेछ।

विसं २०२१ मा घाँसे हवाई मैदानबाट सुरु भएको यो विमानस्थल २०२३ सालदेखि आन्तरिक विमानस्थलका रुपमा हालको स्थानबाट सञ्चालनमा आएको छ। विसं २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले अन्तरराष्ट्रिय विमानस्थलको शिलान्यास गर्नु भई करिब रु ३५ अर्बको लागतमा निर्माण भएको विमानस्थलको २०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए।

करिब आठ सय बिघामा फैलिएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा तीन किलोमिटरको रन–वे रहेको छ। ‘फोर ई क्याटेगरी’को विमानस्थलमा नवौँ क्याटेगरीको दमकलहरु रहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरहको उडान र अवतरण हुनसक्ने यहाँ चार न्यारोबडी र एक वाइडबडी जहाज पार्किङ गर्न सकिन्छ।
अर्को समाचार
अर्बौं लगानीको गौतमबुद्ध विमानस्थल सुनसान : शाह सरकारले नियमित उडान सुरु गर्ने आशा
१४ असोज २०८३
•
६ मिनेट पाठ
अर्बौं लगानीको गौतमबुद्ध विमानस्थल सुनसान : शाह सरकारले नियमित उडान सुरु गर्ने आशा
मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै लगानीमा निर्माण गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानका पर्खाइमा रहेको छ।




विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएको साढे चार वर्ष पुग्न लाग्दासमेत नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा विमानस्थलको भविष्यलाई लिएर रुपन्देहीको निजी क्षेत्र र स्थानीय बासिन्दामा पुनः चिन्ता बढेको छ।

विमानस्थललाई केन्द्रमा राखेर होटल, पर्यटन, यातायात तथा विभिन्न उद्योग व्यवसायमा ठुलो लगानी गरेका व्यवसायीले नियमित अन्तर्राष्ट्रिय उडानका लागि पटक पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। प्रधानमन्त्री, पर्यटनमन्त्री, संघीय सांसद तथा सम्बन्धित मन्त्रालय र निकायसमक्ष ज्ञापनपत्र, छलफल, धर्ना र आन्दोलनमार्फत माग राख्दै आए पनि अपेक्षित परिणाम नआएको व्यवसायीको गुनासो छ।

राज्यले करिब रु ३५ अर्ब लगानी गरेर निर्माण गरेको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा निजी क्षेत्रको लगानीसमेत जोखिममा परेको व्यवसायी बताउँछन्। विमानस्थल सञ्चालनमा आउने अपेक्षामा भैरहवा र आसपासका क्षेत्रमा होटल, पर्यटन पूर्वाधार, यातायात तथा अन्य व्यवसायमा ठुलो लगानी भए पनि नियमित हवाई सम्पर्कको अभावमा त्यसबाट अपेक्षित प्रतिफल लिन नसकिएको उनीहरूको भनाइ छ।

पर्यटन व्यवसायी तथा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनीका पूर्वअध्यक्ष सागर अधिकारीका अनुसार विमानस्थललाई केन्द्रमा राखेर निजी क्षेत्रले गरेको लगानी राज्यको लगानीभन्दा दोब्बर बढी छ। ‘विमानस्थल सञ्चालनमा आउँछ, नियमित अन्तर्राष्ट्रिय उडान हुन्छ र लुम्बिनीमा पर्यटकको आगमन बढ्छ भन्ने विश्वासमा निजी क्षेत्रले लगानी गरेको हो। तर, लामो समयदेखि नियमित उडान नहुँदा लगानीबाट अपेक्षित प्रतिफल आउन सकेको छैन’, उनले भने।

विमानस्थल सञ्चालनमा आएदेखि नै व्यवसायीले तत्कालीन विभिन्न सरकारसँग अन्तर्राष्ट्रिय उडान नियमित गराउन आग्रह गर्दै आएका छन्। तत्कालीन प्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवासमक्ष समेत व्यवसायीले कम्तीमा एउटा वायुसेवाबाट नियमित उडान सुरु गराउन माग राखेका थिए। विभिन्न समयमा केही वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि ती उडान निरन्तर हुन सकेनन्।

नियमित उडानका लागि निजी क्षेत्रले गरेको दबाबका बाबजुद समस्या समाधान हुन नसकेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले बताए। उनका अनुसार पछिल्लो राजनीतिक परिवर्तनपछि निजी क्षेत्रमा नयाँ सरकारबाट केही आशा पलाएको छ।

‘यति ठुलो सम्भावना बोकेको विमानस्थलमा कम्तीमा एउटा वायुसेवाको नियमित उडान सञ्चालन गर्न सरकारले पहल गर्न सक्छ। तर, विगतमा त्यो हुन सकेन’, उनले भने, ‘नयाँ सरकार बनेपछि केही आशा पलाएको छ। सरकारले भैरहवाको विमानस्थललाई प्राथमिकतामा राखेर पहल गर्नुपर्छ।’

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले कार्यभार सम्हालेपछि रुपन्देहीका पर्यटन तथा उद्योग व्यवसायीले विमानस्थल सञ्चालनको विषय पुनः उठाउँदै आएका छन्। व्यवसायीका प्रतिनिधिमण्डलले प्रधानमन्त्रीदेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसम्म भेट गरी विमानस्थल सञ्चालन र नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरेका छन्।

यहीबिच पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले सेप्टेम्बर २३ देखि दुबई-पोखरा दैनिक उडान सुरु गरेको छ। बोइङ ७३७ म्याक्स-८ विमानमार्फत सुरु भएको उक्त उडानले पश्चिम नेपालमा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारको नयाँ सम्भावना देखाएको छ।

पोखरामा अन्तर्राष्ट्रिय उडान सुरु भएपछि भैरहवाका व्यवसायीमा पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः नियमित उडान सुरु हुने अपेक्षा बढेको छ। पोखरा र भैरहवा दुवै पश्चिम नेपालका महत्त्वपूर्ण अन्तर्राष्ट्रिय विमानस्थल भएकाले सरकारले दुवै विमानस्थललाई नियमित अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्न आवश्यक पहल गर्नुपर्ने व्यवसायीको भनाइ छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म ६९ हजार ३७७ यात्रुले अन्तर्राष्ट्रिय सेवा लिएका छन्। यस अवधिमा एक हजार २२२ वटा सेड्युल तथा चार्टर अन्तर्राष्ट्रिय उडान भएका छन्। ती उडानबाट विभिन्न मुलुकबाट ३१ हजार ९३२ यात्रु नेपाल आएका छन् भने ३७ हजार ४४५ यात्रु बाहिरिएका छन्।

विमानस्थलबाट पछिल्लोपटक सन् २०२६ मार्च २५ मा थाइ एयर एसियाले बैंकक-भैरहवा र भैरहवा-बैंकक उडान गरेको थियो। उक्त उडानबाट बैंककबाट १४ यात्रु भैरहवा आएका थिए भने भैरहवाबाट १०६ यात्रु बैंकक गएका थिए।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी पवन अग्रहरीका अनुसार त्यसयता विमानस्थलमा कुनै अन्तर्राष्ट्रिय उडान भएको छैन। तत्कालका लागि अन्तर्राष्ट्रिय उडानको नयाँ सेड्युलसमेत प्राप्त नभएको उनले बताए। ‘माथिल्लो तहबाट के तयारी भइरहेको छ भन्नेबारे हामीलाई जानकारी छैन। तत्काल अन्तर्राष्ट्रिय उडान हुने सेड्युल भने छैन’, उनले भने।

विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा आकर्षित गर्न सरकारले पार्किङ तथा इन्धनलगायतका क्षेत्रमा विभिन्न छुट तथा सहुलियतको व्यवस्था गरे पनि विमानस्थलबाटै अन्तर्राष्ट्रिय यात्रुका लागि आवश्यक कतिपय सेवा सहज रूपमा उपलब्ध हुन नसकेको व्यवसायीको भनाइ छ। भिसा सेन्टर, नो अब्जेक्सन लेटर, स्वास्थ्य परीक्षण, बिमा, म्यानपावरलगायतका सेवा सम्बन्धित कार्यालयबाट उपलब्ध हुन नसक्दा विमानस्थल सञ्चालनको वातावरण पूर्ण रूपमा तयार हुन नसकेको उनीहरूको गुनासो छ।

व्यवसायीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि लुम्बिनी आउने विदेशी पर्यटकको सङ्ख्या बढ्ने, होटल तथा पर्यटन व्यवसाय विस्तार हुने, रोजगारी सृजना हुने र भैरहवा आसपासको व्यापारिक गतिविधि बढ्ने अपेक्षामा निजी क्षेत्रले लगानी गरेको हो। तर, नियमित उडान नहुँदा ती अपेक्षा पूरा हुन सकेका छैनन्।

रुपन्देहीबाट प्रतिनिधित्व गर्ने सांसदहरूले समेत संघीय संसद्मा पटक पटक गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषय उठाउँदै आएका छन्। व्यवसायीले भने संसद्मा आवाज उठाउनेदेखि सडक आन्दोलनसम्मका प्रयास गर्दा पनि विमानस्थल नियमित सञ्चालनको ठोस आधार बन्न नसकेको बताएका छन्।

विमानस्थलको धावनमार्ग, टर्मिनल भवनलगायतका प्रमुख पूर्वाधार तयार छन्। विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रले होटल तथा अन्य पर्यटन पूर्वाधारमा समेत लगानी गरिसकेको छ। तर, नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा तयार पूर्वाधारको पूर्ण क्षमतामा उपयोग हुन सकेको छैन।

अहिले रुपन्देहीको निजी क्षेत्रको मुख्य चासो विमानस्थल निर्माणको विषयभन्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान कसरी सुनिश्चित गर्ने भन्नेमा केन्द्रित छ। पोखरामा फ्लाई दुबईको नियमित उडान सुरु भएपछि भैरहवामा पनि त्यस्तै गरी कम्तीमा एउटा अन्तर्राष्ट्रिय वायुसेवाबाट नियमित उडान सञ्चालन गराउन सकिने आशा व्यवसायीले गरेका छन्।

लुम्बिनी बुद्ध जन्मस्थल हुनुका साथै पश्चिम नेपालका प्रमुख पर्यटकीय गन्तव्यसँग जोडिएको क्षेत्र भएकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्न सके त्यसको प्रभाव लुम्बिनीको पर्यटनसँगै रुपन्देहीको उद्योग, व्यापार र सेवा क्षेत्रमा समेत पर्ने व्यवसायीको अपेक्षा छ।

राज्यको ठुलो लगानीमा निर्माण भएको विमानस्थल, निजी क्षेत्रको ठुलो लगानी र लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन सम्भावनालाई एकै ठाउँमा जोडेर हेर्दा अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित उडानमा ल्याउने ठोस पहलको प्रतीक्षा भइरहेको छ। व्यवसायीका लागि यो केवल एउटा विमानस्थल सञ्चालनको विषय नभई वर्षौँदेखिको लगानी, रोजगारी र लुम्बिनीको पर्यटन विकाससँग जोडिएको विषय बनेको छ। कमल रायमाझी/रासस
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस