‘सफा हरित सहर’ धरानलाई साख जोगाउन कठिन
०९ असार २०८३
•
१० मिनेट पाठ
‘सफा हरित सहर’ धरानलाई साख जोगाउन कठिन
धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्, ‘गर्मी र वर्षाको समयमा फोहर दुर्गन्धित भएर चारकोसे जङ्गलको बाटो यात्रा गर्नै कठिन हुन्छ।




त्यही फोहरबाट निस्किने झिँगा र लामखुट्टेका कारण घरमा बालबालिका बिरामी पर्ने जोखिम उच्च छ। कहिले फोहर जलाएको धुवाँले त कहिले दुर्गन्धले गर्दा बाटोमा हिँडिसक्नुहुँदैन।’ पहिले ‘सफा हरित सहर’ भनेर चिनिने धरानमा अहिले नाक थुनेर हिँड्नुपर्ने अवस्था छ।

उपमहानगरपालिकाले यसको दीर्घकालीन समाधान बेलैमा खोज्नु आवश्यक छ। उनले भने, ‘कुनै समय मुलुककै सफा, सुन्दर र व्यवस्थित सहरको पहिचान बनाएको धरान उपमहानगरपालिकामा अहिले फोहरमैला व्यवस्थापनको सङ्कट चुलिएको छ। धरानबाट दैनिक रूपमा सङ्कलन हुने फोहरको वैज्ञानिक र दीर्घकालीन व्यवस्थापन गर्न नसक्दा वातावरणीय प्रदूषण तीव्र रूपमा बढ्दै गएको छ।’

धरान उपमहानगरपालिकाका नगर प्रमुख अइन्द्रविक्रम बेघाले स्थानीयस्तरबाट ठूलो बजेट विनियोजन गर्न नसकिएका कारण वैकल्पिक ऊर्जा र फोहर व्यवस्थापनको क्षेत्रमा समस्या देखिएको बताए। 

धरानमा सौर्य ऊर्जा र फोहरबाट ऊर्जा उत्पादन गर्ने प्रचुर सम्भावना भए पनि नीतिगत अस्पष्टता र लगानीको अभावका कारण समस्या देखिएको उनको भनाइ छ। स्थानीयस्तरमा फोहरलाई स्रोतमै कुहिने र नकुहिने गरी वर्गीकरण गरेर उचित प्रयोग गर्नसके त्यहीँबाट ऊर्जा प्रवद्र्धन गर्न सकिन्थ्यो। नगर प्रमुख बेघाले भने, ‘प्रविधि महँगो हुनु र स्थानीय सरकारसँग पर्याप्त बजेट नहुँदा यो सम्भव हुन सकेको छैन।’

परम्परागत इन्धन र केन्द्रीय प्रसारणको बिजुलीमा मात्र भर नपरी यसका लागि उपमहानगरपालिकाले नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि छुट्टै कोष स्थापना र ठोस कार्यनीति ल्याउनु आवश्यक रहेको उनले बताए।

फोहरमैला व्यवस्थापनसँगै वायोग्यास ग्यास उत्पादन गर्ने भनी धरान–६ मा फोहरमैला प्रशोधन केन्द्र स्थापना गरिएको थियो अहिले उक्त केन्द्र बन्द भएपछि नगरभित्र सङ्कलन गरिएको फोहरमैला धरान उपमहानगरपालिका–१५ स्थित बाझगरा सामुदायिक वन क्षेत्रको सेउती खोला किनारमा जथाभाभी विसर्जन (डम्पिङ) गर्ने गरिएको छ।

अव्यवस्थित फोहरका कारण धरानको जैविक विविधताले भरिएको वन क्षेत्र र आसपासका मानव बस्तीहरू प्रत्यक्ष सङ्कटमा परेका छन्।

फोहर विसर्जन गर्ने क्षेत्र वैज्ञानिक र व्यवस्थित नहुँदा स्थानीय समुदाय, रैथाने वनस्पति तथा वन्यजन्तुले बहुआयामिक चुनौती सामना गरिरहेको बाझगरा सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष कुमार भारतीले बताए।

यो गम्भीर समस्याबारे हामीले उपमहानगरपालिकालाई पटकपटक ध्यानाकर्षण गराए पनि अहिलेसम्म कुनै ठोस र दिगो समाधान अघि बढ्न सकेको छैन।

उनले भने, ‘धरानको फोहरमैलाको दीर्घकालीन व्यवस्थापनका लागि विगतमा प्रयास नभएका भने होइनन्। करोडौँको निजी लगानीमा धरान उपमहानगरपालिका–६ पानवारीमा ‘भेन्चर वेस्ट टु इनर्जी’ प्रालिले फोहर प्रशोधन केन्द्र निर्माण गरेको थियो।’

वार्षिक आम्दानीको एक प्रतिशत नगरपालिकालाई प्रदान गर्ने र २० वर्षपछि उपमहानगरपालिकालाई नै उक्त केन्द्र हस्तान्तरण गर्ने सम्झौतासहित २०७८ सालमा निजी क्षेत्रको लगानीमा निर्मित उक्त केन्द्रको उद्घाटन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए।

दैनिक दुई हजार केजी ग्यास र जैविक मल उत्पादन गर्ने तथा उत्पादित ग्यासबाट धरानका चार सयभन्दा बढी टेम्पो सञ्चालन गर्ने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको उक्त केन्द्र अहिले पूर्ण रूपमा बन्द भएपछि वैकल्पिक ऊर्जा प्रवद्र्धन साथै फोहरमैला व्यवस्थापनमा समस्या भएको छ।

करोडौँको लगानीमा बनेको प्रशोधन केन्द्र प्राविधिक तथा विविध व्यवस्थापकीय कमजोरीका कारण बन्द भएपछि धरानबाट निस्कने फोहर पुनः जङ्गल र खोला किनारमा फाल्न थालिएको हो।

अव्यवस्थित फोहरका कारण वन क्षेत्रमा आइपर्ने सबैभन्दा प्रमुख र तत्कालीक खतरा डढेलो बनेको छ। सङ्कलन गरिएको फोहरमा लापरबाहीपूर्वक आगो लगाइँदा जुनसुकै बेला वनमा डढेलो सल्किने उच्च जोखिम रहेको उपाध्यक्ष भारतीको भनाइ छ। यसका साथै सो क्षेत्र पछिल्लो समय वन्यजन्तु शिकारीहरूको रोजाइमा पर्न थालेको छ।

‘रातिको समयमा जङ्गली जनावरहरू खानेकुराको खोजीमा फोहर विसर्जन स्थलसम्म आउने गर्छन्न्। त्यो समयमा शिकारीहरूले पासो थाप्ने र सिकार गर्ने गरेको पाइएको छ’, उपाध्यक्ष भारतीले भने।

वन्यजन्तु मात्र नभएर यो क्षेत्र मानव सुरक्षा र कानुनी दृष्टिकोणले अत्यन्तै संवेदनशील बन्दै गएको छ। फोहर विसर्जन स्थल र धरानको मुख्य बजार क्षेत्रको भौगोलिक दूरी नजिक भएकाले त्यहाँबाट फैलिने रोगवाहक झिँगा र कीराहरू सजिलै मानव बस्तीसम्म पुग्ने गरेका छन। यसले आसपासका क्षेत्रमा सङ्क्रामक महामारीको जोखिम बढाएको उपाध्यक्ष भारतीले बताए।

धरानको अव्यवस्थित फोहरको असर छिमेकी स्थानीय तहसम्म समेत पुग्न थालेको छ। फोहरबाट निस्कने तीव्र दुर्गन्ध र प्लास्टिकजन्य फोहर जलाउँदा निक्लने विषाक्त धुवाँ हावाको माध्यमबाट इटहरी उपमहानगरपालिकाको तरहरा क्षेत्रसम्म पुग्ने गरेको छ।

वर्षायाममा बाढीले फोहरको थुप्रो बगाएर तल्लोतटीय क्षेत्रका किसानहरूको खेतीयोग्य जमिनमा पुर्याउँदा बालीनाली नष्ट हुनुका साथै माटोको उर्वराशक्ति समेत कमजोर बन्ने खतरा बढेको छ।

धरान उपमहानगरपालिकामा लामो समयदेखि बहस र चिन्ताको विषय बन्दै आएको फोहर व्यवस्थापनको मुद्दा अहिले आएर वातावरणीय सङ्कट मात्र नभई वन संरक्षण र सार्वजनिक सुरक्षाका लागि समेत गम्भीर चुनौती बनेको धरान उपमहानगरपालिकाका पूर्व उपप्रमुख मन्जु भण्डारीले बताए।

पूर्वउपप्रमुख भण्डारीले भने, ‘फोहर विसर्जन स्थल र प्राकृतिक वन क्षेत्रको निकटताका कारण बहुआयामिक समस्याहरू निम्तिएका छन्। फोहरमैला व्यवस्थापनमा धरान उपमहानगरपालिका चुकेको छ यसमा स्थानीय प्रशासन र सरोकारवाला निकायको ध्यान जानु आवश्यक छ।’

धरान नगरको प्रमुख चुनौतीको रूपमा रहेको फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउन उपमहानगरले नयाँ ‘डम्पिङ साइट’ र ‘ट्रिटमेन्ट साइट’ खोजी गरी ठोस कार्ययोजना अघि सार्नुपर्ने उनको भनाइ छ।

धरान–६ मा निजी क्षेत्रको करोडौँ रुपैयाँ लगानीमा निर्माण गरिएको फोहर प्रशोधन केन्द्र (बायोग्यास प्लान्ट) लाई नगरपालिकाले प्रोत्साहन र आवश्क सहयोग गर्न नसक्दा वैकल्पिक ऊर्जा प्रवद्र्धनमा ठूलो समस्या देखिएको भण्डारीले बताए।

सम्झौतामा स्पष्ट हुँदाहुँदै पनि आवश्यक बजेट अभावका कारण देशकै नमूना बन्न सक्ने प्रोजेक्ट अहिले सङ्कटमा परेको उनको भनाइ छ।

यो प्रशोधन केन्द्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र बैंकहरूको ठूलो ऋण लगानी छ। यस्तो परियोजना डुब्नु भनेको एउटा निजी कम्पनी मात्र डुब्नु होइन केन्द्रीय सरकारको नीति असफल हुनु र राष्ट्रिय अर्थतन्त्र धरासायी हुनु पनि हो। उनले भने, ‘निजी क्षेत्र धरासायी भएर राष्ट्र समृद्ध हुन सक्दैन।’

देशभरका कार्यपालिकाले फोहरमैला व्यवस्थापनमा सामान्य प्रशासनिक काम गरिरहेको भए पनि यस्ता आधुनिक प्रशोधन केन्द्रहरू नेपालमा बिरलै बन्ने गरेका छन्।

उनले भने, ‘यसलाई पुनः सञ्चालन गर्न सके धरानले फोहरमैला व्यवस्थापन र बैकल्पिक ऊर्जा उत्पादनमा देशकै लागि नमुना मोडेल प्रस्तुत गर्न सक्ने छ।’

फोहरमैला व्यवस्थापनका नाममा मात्र नगरपालिकाले ट्र्याक्टर खरिद र सफाइ कर्मचारीको तलबमा वार्षिक रूपमा करोडौँ खर्च गर्ने गरेको छ। यदि निजी क्षेत्रलाई फोहरमैला प्रशोधनको जिम्मेवारी दिएर समन्वय मात्र गर्ने हो भने यो खर्च कटौती भई उपमहानगरपालिकाको आम्दानीमा वृद्धि हुने उनले बताए।

अहिले व्यवस्थित प्रशोधन केन्द्र नहुँदा जङ्गलमा जथाभाभी फालिएको र जलाइएको फोहरले वन्यजन्तु, बोटबिरुवा र मानव स्वास्थ्यमा गम्भीर असर पुर्याएको छ।

वन क्षेत्रमा फोहर फाल्दा नयाँ पालुवा पलाउँदै गरेका बोटबिरुवा मासिने र फोहर फालिएका वरपरका बोटबिरुवा मरिसकेका छन् चराचुरुङ्गी र जनावर विस्थापित भएका छन जसले गर्दा वन्यजन्तुको प्राकृतिक चक्र बिग्रँदो छ। साथै, फोहर जलाउँदा निस्कने धुवाँका कारण स्थानीय नागरिकको स्वास्थ्यमा समेत गम्भीर असर परेको उनको भनाइ छ।

प्रविधिको सही प्रयोग गरेर कुहिने फोहरबाट बायोग्यास र नकुहिने प्लास्टिकजन्य फोहरबाट अलकत्रा वा अन्य उपयोगी सामग्री बनाउने उद्योगलाई प्रोत्साहन गर्नुपर्ने पूर्वउपप्रमुख भण्डारीको सुझाव छ।

यसबाट धरानमा दैनिकरूपमा सङ्कलन हुने फोहरको दीर्घकालीन व्यवस्थापन हुनुका साथै वैकल्पिक ऊर्जाको प्रवद्र्धन भई अतिरिक्त आम्दानी गर्न सकिने उनले बताए।

२०७८ सालमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको उक्त केन्द्रबाट जैविक मल र बायोग्यास उत्पादन सुरु भएर दुई वर्षसम्म सञ्चालन गरिएको थियो तर हाल यो परियोजना पूर्णरूपमा ठप्प बनेको हो।

परियोजनाका निर्माण कन्सल्टेन्ट इन्जिनियर विवेक अग्रवालका अनुसार सङ्घीय सरकारको रु छ करोड अनुदानसहित करिब रु २७ करोडको लागतमा करिब एक बिघा जमिनमा प्रशोधन केन्द्र निर्माण गरिएको थियो।

उपमहानगरपालिकाले निजी कम्पनीसँगको साझेदारीमा फोहरबाट ऊर्जा उत्पादन गर्ने ‘वेस्ट टु इनर्जी’ परियोजनाअन्तर्गत यसलाई सञ्चालनमा ल्याएको भए पनि स्थानीय र सङ्घीय सरकारले आवश्यक चासो र आवश्यक सहयोग गर्न नसक्दा बन्द हुन पुगेको इन्जिनियर अग्रवालले बताए।

दैनिक ५० टन फोहर प्रशोधन गर्न सक्ने क्षमता रहेको उक्त केन्द्रबाट दैनिक एक हजार २०० किलोग्राम बायोग्यास र चार सय किलोग्राम जैविक मल उत्पादन हुने गरेको थियो।

लामो समयदेखि केन्द्र बन्द रहेका कारण यसलाई पुनः सञ्चालनमा ल्याउन निकै कठिन रहेको र सुरुवाती चरणकै जस्तो ठूलो खर्च लाग्ने भएकाले तत्काल सञ्चालन गर्न सहज नभएको अग्रवालको भनाइ छ।

धरान उपमहानगरपालिकाका वातावरण अधिकृत भेषराज घिमिरेका अनुसार प्रशोधन केन्द्रका लागि धरानको फोहरले मात्र नपुगेपछि छिमेकी स्थानीय तहहरूबाट फोहरमैला जुटाउने प्रयास गरिएको थियो तर सरकारका विभिन्न नीतिगत कठिनाइ र उत्पादित ग्यास प्रयोगमा देखिएका कानुनी तथा व्यवहारिक समस्याका कारण निजी क्षेत्रले यो केन्द्र सञ्चालन गर्न नसकेको उनले बताए।

उपमहानगरपालिकाले प्रशोधन केन्द्रका प्रतिनिधिहरूलाई बोलाएर सञ्चालनमा देखिएका समस्या समाधानका लागि चाँडै नै संवाद अगाडि बढाउने तयारी गरेको छ। अधिकृत घिमिरेले भने, ‘यो प्रशोधन केन्द्र पूर्ण रूपमा सञ्चालनमा आउन सके धरानको फोहर व्यवस्थापन र वैकल्पिक ऊर्जा उत्पादनमा ठूलो सहयोग हुनेछ।’

धरानमा दैनिक ३० देखि ३२ टनसम्म फोहर सङ्कलन हुने गरेको छ। फोहर व्यवस्थापनका लागि उपमहानगरपालिकाको वार्षिक साढे रु चार करोड खर्च हुने गरेकोमा फोहर सङ्कलन शुल्कबाट भने करिब साढे रु दुई करोड मात्र आम्दानी हुने गरेको उनले जानकारी दिए।

प्रशोधन केन्द्र बन्द भएपछि धरानको फोहरलाई नियमित रूपमा धरान–१५ स्थित सामुदायिक वन नजिकै नदी उकास जग्गामा खुला रूपमा डम्पिङ गर्ने र जलाउने गरिएको छ। फोहर जलाउँदा निस्कने बाक्लो धुवाँका कारण ऐतिहासिक चारकोसे जङ्गल क्षेत्र दिउँसै अँध्यारो हुने अवस्था सिर्जना भएको छ।

जङ्गल क्षेत्रमा उड्ने धुवाँका कारण नजिकै रहेको कोशी राजमार्गमा आवतजावत गर्ने सवारीसाधन र सर्वसाधारणले ठूलो सास्ती भोग्नु परिरहेको छ। धुवाँले गर्दा सडकमा ‘भिजिबिलिटी’ (दृश्यता) कम भई सवारी दुर्घटनाको जोखिम उच्च बनेको छ जसले यात्रुहरूको सुरक्षामै गम्भीर चुनौती थपेको छ।

डम्पिङसाइटमा कबाडी सामान सङ्कलन गर्ने व्यक्तिहरूले फलाम र तामाजस्ता धातु खोज्ने बहानामा रात्रिकालीन समयमा आगो लगाइदिने गरेका छन्। प्रमुख घिमिरेका अनुसार यस्ता अनधिकृत र प्रदूषणकारी गतिविधिलाई नियन्त्रण गर्न अब चाँडै नगरपालिकाले डम्पिङ साइटको व्यवस्थापन गरी प्रवेशद्वारमा गेट निर्माण गरिने र चौकीदार राखेर बाहिरी व्यक्तिहरूको प्रवेशमा पूर्ण निषेध गरिने व्यवस्था मिलाइने छ।

धरान मात्र नभएर समग्र सहरी क्षेत्रकै सबैभन्दा ठूलो चुनौती अहिले प्लास्टिकजन्य फोहर बन्न पुगेको छ। विगत १० देखि १५ वर्षअघिको तथ्याङ्क हेर्दा कूल फोहरमा प्लास्टिकको हिस्सा १० देखि १५ प्रतिशतको हाराहारीमा मात्र हुने गरेकोमा गत वर्ष गरिएको एक अध्ययनले यो मात्रा बढेर २५ प्रतिशतभन्दा माथि पुगेको अधिकृत घिमिरेको भनाइ छ।

प्लास्टिकजन्य फोहरको यो अत्यधिक वृद्धिलाई रोक्न र व्यवस्थापनलाई दिगो बनाउन अब उपमहानगरपालिकाले फोहरलाई स्रोतमै वर्गीकरण गर्ने रणनीति बनाउने उनले बताए।

पुनःप्रयोग वा रिसाइकल हुनसक्ने फोहरलाई घर र टोलस्तरमै छुट्याएर बाँकी रहेको फोहरलाई मात्र डम्पिङ साइटमा लैजाने गरी नयाँ योजना अघि सारिने उनले बताए।
अर्को समाचार
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
५ मिनेट अघि
•
१ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।




महानगरको सुशासनदेखि विकास निर्माणसम्मका धेरैजसो वाचा अधुरै रहेका हुन्। नगरप्रमुख कोइराला आफूले चुनावमा नगरवासीसँग गरेको संकल्प चुनाव जितेपछि व्यवहारमा लागु गर्न सफल नभएको पाइएको छ।

विराटनगरका नगरप्रमुख र उपप्रमुखले निर्वाचित हुनेबित्तिकै महानगरको यातायातलगायत कुनै पनि सेवासुविधा नलिने भन्दै गरेको घोषणा एक वर्ष पनि पुग्न नपाउँदै तुहिएको थियो। केही महिना महानगरपालिकाको गाडीको सुविधा नलिई आफ्नै गाडी प्रयोग गरेका प्रमुख र उपप्रमुखले पुनः महानगरपालिकाकै सवारीसाधन प्रयोग गरेका थिए। महानगरको गाडी सुविधा नलिने घोषणा सार्थक नभएजस्तै चुनावका बेला महानगरवासीसँग गरेका ६६ बुँदे संकल्पपत्रका अधिकांश बुँदाले सार्थकता पाउन सकेनन्। विराटनगरमा सुशासन कायम गर्ने, विकास निर्माणका कामलाई द्रुत गतिमा अघि बढाउनेलगायत संकल्पहरू व्यवहारतः कार्यान्वयनमा नआउँदै कार्यकाल अन्तिम चरणमा पुगिसकेको छ।

संकल्पपत्रको पहिलो बुँदा नै महानगरमा कार्यान्वयनमा आउन नसकेको पाइएको छ। उक्त बुँदामा उल्लेख थियो, ‘भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अवलम्बन गर्दै यसको नियन्त्रणका लागि विशेष संयन्त्र बनाउने। सूचनाको हक प्रत्याभूत गर्दै पारदर्शी एवम् जवाफदेही महानगरपालिका निर्माण गर्ने।’

यस्तै दोस्रो बुँदामा महानगरले गर्ने विकास निर्माणका कामलाई प्राथमिकता दिन र व्यवस्थित गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन भागमा विभाजन गर्ने भनिएको थियो। तेस्रो बुँदामा उल्लेख ‘महानगरपालिका कार्यालयमा गरिँदै आएका अनावश्यक र अनुत्पादक खर्च नियन्त्रण गर्ने’ र ‘महानगरका खर्चलाई रचनात्मक क्षेत्रमा प्रयोग गर्न कठोर आर्थिक नीति र अनुशासनको तर्जुमा गर्ने’ विषय पनि कार्यान्वयनमा आउन नसकेको पाइएको छ। चौथो बुँदामा रहेको ‘महानगरपालिकाबाट प्रमुखलाई प्राप्त हुने सबै आर्थिक सेवा र सुविधा सामाजिक कार्यमा प्रदान गर्ने’ विषयत पूर्ण रूपमै कार्यान्वयनमा आउन नसकेको देखिन्छ।

महानगरपालिकाका कार्यसम्पादनलाई व्यवस्थित, सुचारु र प्रभावकारी बनाउन सम्बन्धित क्षेत्रका विशेषज्ञहरूको विज्ञ समूह गठन गर्ने, विराट राजाको दरबार रहेको विराटनगरको भेडियारी क्षेत्रलाई समुचित विकास गर्दै पर्यटन केन्द्रका रूपमा विकास गर्ने संकल्प संकल्पपत्रमै सीमित देखिएको छ।

सामुदायिक विद्यालयमा समयानुकूल शैक्षिक गुणस्तर सुधार गर्न नवप्रवर्तन केन्द्र (इनोभेसन सेन्टर) तथा अनुसन्धान केन्द्र (रिसर्च सेन्टर) निर्माण गर्ने, अनाथ, असहाय तथा विपन्नका पहुँचमा शिक्षाको समान अवसर पुर्‍याउन नमुना आवासीय विद्यालयको स्थापना गर्ने, सामुदायिक विद्यालयलाई छात्रामैत्री बनाउन भेन्डिङ मेसिनसहितको प्याड बैंक स्थापना गर्ने संकल्पपत्रका बुँदाहरू पनि कार्यान्वयनमा आउन सकेका छैनन्। जटिल शल्यक्रिया तथा विशेषज्ञ सेवासहित महानगर अस्पताल (मेट्रोसिटी हस्पिटल) स्थापना गर्ने, विराटनगर महानगरपालिका क्षेत्रमा भूमिगत पार्किङसहितको दुई हजार पाँच सय क्षमताको सुविधासम्पन्न सभागृहको निर्माण गर्ने विषयमा हालसम्म खासै प्रगति हुन सकेको छैन।

चुनाव जितेपछि सभागृह निर्माणको विषयलाई प्रमुख कोइरालाले औपचारिक कार्यक्रममा समेत उच्चारण गरेका छैनन्। विराटनगर–१९ मा सभागृह निर्माण गर्न डिपीआरसमेत बनाई भौतिक निर्माणको चरणमा पुगेको उक्त सभागृहका लागि अधिग्रहण गर्ने तयारी गरिएको जग्गामा महानगरपालिकाले काम अघि बढाउने संकेत नदेखाएपछि स्थानीयले आ–आफ्नो जग्गामा पुनः खेतीपाती गरिरहेका छन्।

विराटनगरमा एक औद्योगिक र राजनीतिक संग्र्रहालयको निर्माण गर्ने, रानीदेखि विराटनगर–१९ स्थित रंगशालासम्म सटल बस सञ्चालन गर्ने, बिजुली, टेलिफोन, इन्टरनेटलगायत तारका सञ्जाललाई भूमिगत गर्न संघीय र प्रदेश सरकारसँग समन्वय गरी ताररहित विराटनगर निर्माणको पहल गर्ने विषयमा पनि महानगरले कुनै प्रगति गरेको देखिएको छैन।

बिग्रन थालेका सडक, पेटी, ढल तथा अन्य संरचनालाई द्रुत गतिमा प्रारम्भिक चरणमै मर्मत गर्ने, ट्राफिकसम्बन्धी चापलाई घटाउन महानगरभित्र आवश्यक स्थानमा एस्केलेटर (विद्युतीय सिँढी) सहितको आकासे पुल निर्माण गर्ने काम पनि साढे चार वर्षको अवधिमा अघि बढ्न सकेका छैनन्। महानगरको सौन्दर्यीकरण अभियानअन्तर्गत सडक, बाल उद्यान, मनोरञ्जन केन्द्र निर्माण, संरक्षण र सरसफाइका काम अघि बढाउने विषयमा भने आंशिक रूपमा कामहरू भएका छन्।

सहरभित्र स्मार्ट पार्किङ स्थल निर्माण गर्ने र त्यसको व्यवस्थापनमा काम गर्ने, पिछडिएका समुदाय तथा सुकुम्बासीको पहिचान गरी लालपुर्जासहितको एकीकृत बस्ती निर्माण गरी हस्तान्तरण गर्ने कार्यलाई गति दिने संकल्पपत्रका बुँदाहरू पनि कार्यान्वयनमा आउन सकेका छैनन्। मनोरञ्जन तथा पारिवारिक वातावरणयुक्त पार्कहरू निर्माण गर्ने, केसलिया र सिंघिया खोलाका किनारमा वृक्षरोपण गरी ग्रिनबेल्ट करिडोरका रूपमा विकास गर्ने, प्रदेश राजधानीका लागि आवश्यक स्थायी संरचना निर्माण गर्न प्रदेश सरकारसँग समन्वय गर्ने विषयमा पनि काम अघि बढ्न नसकेको देखिएको छ। प्रतिमहिना ३० युनिटसम्म विद्युत् खपत गर्ने महानगरवासीलाई निःशुल्क विद्युत् उपलब्ध गराउनेलगायत थुप्रै लोकप्रिय कार्यक्रम संकल्पपत्रमै सीमित भएको छ।

समग्रमा हेर्दा महानगरपालिकाले नियमित गर्ने कामबाहेक उल्लेख्य रूपमा उदाहरणीय काम पछिल्लो कार्यकालमा हुन नसके पनि केही क्षेत्रमा भने विगतको तुलानामा राम्रो काम भएको छ। पछिल्लो कार्यकालमा विराटनगरको फोहोर व्यवस्थापन, सरसफाइ, सडक बत्तीको व्यवस्थापन, ट्राफिक लाइटको व्यवस्थापन, नाला सरसफाइलगायत काममा भने महानगरपालिकाले राम्रो गरेको देखिन्छ। यो कार्यकालमा विकास निर्माणतर्फ एउटा मात्रै ठुलो आयोजना कार्यान्वयन भएको पाइएको छ। विराटनगरमा स्वच्छ खानेपानी पुर्‍याउने उद्देश्यले जापान सरकारको सहयोगमा सञ्चालित खानेपानी परियोजना भने सम्पन्न भएको छ।

करिब अढाइ अर्बको यो आयोजनाले विराटनगरको खानेपानीको गुणस्तर सुधार गर्दै मुख्य सहरी क्षेत्रको ५९ किलोमिटर क्षेत्रमा पाइपलाइनसमेत विस्तार भएको छ। तर यो आयोजना पूर्ण रूपमा सफल बनाउन सहायक सडकको करिब एक सय किलोमिटर क्षेत्रमा नयाँ पाइपलाइन विस्तार गर्न आवश्यक रहेको नेपाल खानेपानी संस्थान विराटनगर कार्यालयले जनाएको छ।

यता विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले संकल्पपत्रका धेरै काम पूरा हुन नसके पनि आफ्नो कार्यकालमा उल्लेख्य काम भएको दाबी गरेका छन्। कोइरालाले संकल्पपत्रमार्फत चुनावामा गरेको वाचाअनुसार विराटनगर महानगरपालिका १५ स्थित नगर अस्पतालमा डाक्टर नियुक्ति, ल्याबलगायत पूर्वाधार निर्माणको काम भइरहेको जानकारी दिए।

यस्तै शिक्षा क्षेत्रमा पनि आफ्नो कार्यकालमा उल्लेख्य सुधार भएको प्रमुख कोइरालाले बताए। विगतमा तीन वटा मात्रै विद्यालयमा विद्यार्थीको आकर्षण रहेकोमा अहिले १५–२० वटा विद्यालयमा गुणस्तर सुधार गरिएको कोइरालाको दाबी छ। तर विद्यार्थीहरूलाई सेनेटरी प्याडको व्यवस्था गर्न विभिन्न कानुनी अड्चनहरूले सम्भव नभएको कोइरालाले बताए। सार्वजनिक शौचालयको व्यवस्था गर्न सहरी क्षेत्रमा जग्गा अभावका कारण नसिकिएको कोइरालाले बताए।

उनले सार्वजनिाक शौचालय महानगरपालिकाले निर्माण गर्न नसके पनि त्यसको विकल्पमा विराटनगरका पेट्रोल पम्पहरूमा शौचालय निर्माण गर्न लगाई सर्वसाधारणका लागि पनि प्रयोग खुला गरिएको बताए। विराटनगरमा नगरबस सञ्चालनका लागि प्रदेश सरकार र निजी क्षेत्रसँग सहकार्य गर्ने महानगरपालिकाको योजना भए पनि सटल बस सञ्चालनका लागि निजी क्षेत्र इच्छुक नदेखिँदा योजना सफल नभएको स्पष्ट पारे।

प्रदेशको स्थायी संरचनाका लागि जग्गा उपलब्ध गराउने विषय पनि एक महिनाभित्रै टुंगिने चरणमा रहेको कोइरालाले दाबी गरे। ‘प्रदेशको स्थायी संरचनाका लागि १० बिघा जग्गा आवश्यक रहेकोमा आठ बिघा प्राप्त भइसकेको र थप दुई बिघा पनि प्राप्त हुने क्रममा छ,’ कोइरालाले भने।

कोइरालाले बजेट अभाव र विभिन्न अवरोधका बिचमा पनि आफ्नो कार्यकालमा विकास निर्माण, फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापनलगायत धेरै क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गरे। कोइराला आफूले गरेका वाचा पूरा गर्न पाँच वर्षको कार्यकाल कम रहेको बताए। अझै एक कार्यकाल महानगरको जिम्मेवारी पाए आफूले परिकल्पना गरेका कामहरूले पूर्णता पाउने उनको भनाइ छ।

सुधारको प्रयास, न्यून उपलब्धि
विराटनगर महानगरपालिकाले स्थानीय कानुन निर्माण, विकास निर्माण र प्रशासनिक सुधारमा केही प्रगति गरे पनि वित्तीय अनुशासन, कर्मचारी व्यवस्थापन र बजेट कार्यान्वयनमा अपेक्षित सुधार गर्न सकेको छैन। नगर प्रमुख नागेश कोइरालाको कार्यकालमा बेरुजु घटाउने, प्रशासनिक खर्च नियन्त्रण गर्ने र विकास योजनालाई व्यवस्थित बनाउने प्रयास भए पनि अपेक्षित सुधार भने हुन नसकेको देखिएको छ।

महानगरको वित्तीय अवस्थासम्बन्धी विवरणअनुसार आर्थिक वर्ष २०७७/७८ सम्म महानगरको अद्यावधिक बेरुजु एक अर्ब ६३ करोड ५७ लाख ४३ हजार रुपैयाँ थियो।

त्यसपछि निरन्तर सम्परीक्षण हुँदा बेरुजु घट्दै आर्थिक वर्ष २०७८/७९ मा ६७ करोड एक लाख, २०७९/८० मा ५० करोड ३८ लाख ३८ हजार र २०८०/८१ मा ३९ करोड ५२ लाखमा झरेको थियो। यद्यपि आर्थिक वर्ष २०८१/८२ मा नयाँ बेरुजु आठ करोड दुई लाख थपिँदा कुल अद्यावधिक बेरुजु पुनः ३७ करोड ६८ लाख ८४ हजार रुपैयाँ पुगेको छ।

महानगरको प्रशासनिक खर्चमा पनि उल्लेख्य रकम विनियोजन हुँदै आएको छ। विविध खर्च, इन्धन, सवारी मर्मत, बैठक भत्ता, पत्रपत्रिका, भ्रमण र मसलन्द गरी सात वटा चालु शीर्षकको कुल खर्च आर्थिक वर्ष २०७९/८० मा ६ करोड ५ लाख १४ हजार रुपैयाँ थियो। आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड ४७ लाख ४९ हजार र २०८१/८२ मा चार करोड १४ लाख नौ हजार रुपैयाँ खर्च भएको छ। यस अवधिमा बैठक भत्ता एक करोड पाँच लाखबाट घटाएर ३४ लाख ५० हजार रुपैयाँमा सीमित गरिएको छ। स्थानीय कानुन निर्माणलाई भने महानगरले तीव्रता दिएको छ।

आर्थिक वर्ष २०८१/८२ सम्म महानगरले पाँच वटा ऐन, ७५ वटा नियमावली र १९८ वटा कार्यविधि निर्माण गरेको छ। नगर विकास कोषबाट बस टर्मिनल, फोहोरमैला प्रशोधन केन्द्र र वीरेन्द्र सभागृहका लागि लिएको ऋणको साँवा–ब्याज नियमित भुक्तानी गरी बाँकी ऋण ३४ करोड १४ लाखबाट घटाएर ३२ करोड ६ लाखमा झारिएको विवरणमा उल्लेख छ।

नगर प्रमुख कोइरालाले पुरानो बेरुजु घटाउने, बजेटको आकार सानो बनाउने र प्रशासनिक शीर्षकमा खर्च कम गर्ने प्रयास गरे पनि महानगरको मूल आर्थिक संरचनामा परिवर्तन आउन सकेको देखिँदैन। आन्तरिक राजस्व ६० देखि ६१ करोड रुपैयाँकै वरिपरि अड्किनु, करार कर्मचारी र भत्ताको भार बढ्दै जानु तथा पुँजीगत खर्च घटेर कुल खर्चको एक तिहाइमा सीमित हुनु महानगरको वित्तीय व्यवस्थापनका प्रमुख चुनौती हुन्। महानगरको कर्मचारी व्यवस्थापन पनि खर्च बढ्नुको अर्को कारण बनेको छ।

श्वेतपत्रको पहिलो बुँदामा ६०९ कर्मचारी (३३१ करार र आठ अस्थायी) को जम्बो संरचनाले आर्थिक बोझ बढाएको उल्लेख थियो। आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार महानगरमा कार्यरत कुल कर्मचारी संख्या घटेर ५४३ (२३८ स्थायी, ५ अस्थायी र ३०० करार) मा झरेको छ। तर कर्मचारी संख्या घटे पनि करार र दैनिक हाजिरीको खर्च भने बढेको छ। आर्थिक वर्ष २०७८/७९ मा करारतर्फ १० करोड ४३ लाख र दैनिक हाजिरीमा ६८ लाख ७६ हजार रुपैयाँ खर्च भएको थियो। आर्थिक वर्ष २०८१/८२ मा करार सेवा शुल्कमा १४ करोड ४४ लाख १३ हजार र दैनिक हाजिरीमा एक करोड ३५ लाख ११ हजार गरी करिब १५ करोड ८० लाख रुपैयाँ खर्च भएको छ।

त्यस्तै कोसी प्रदेशको कानुनविपरीत प्रतिस्पर्धाबिनै दैनिक हाजिरीका २४ जनालाई सोझै करारमा नियुक्त गरिएको, जिल्ला प्रशासन कार्यालय मोरङका ६ कर्मचारीलाई महानगरको कोषबाट २२ लाख ७५ हजार रुपैयाँ तलब खुवाइएको तथा विभिन्न शीर्षकमा प्रोत्साहन, अतिरिक्त समय र खाजा भत्ता वितरण गरिएको विवरणले कर्मचारी व्यवस्थापनमा प्रश्न उठाएको छ। महानगरले आवधिक योजना निर्माणमा पनि अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन।

विगतमा हचुवाका भरमा बजेट विनियोजन हुने र आवधिक योजना नबनाउने गरेको आलोचनापछि कोइरालाको कार्यकालमा आर्थिक वर्ष २०८०/८१ मा १९ लाख ६३ हजार रुपैयाँ खर्च गरेर आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६ सम्मको आवधिक योजना तयार पारिएको थियो। तर उक्त योजना पूर्ण कार्यान्वयनमा आउन सकेको छैन।

त्यस्तै बजेट रकमान्तर गर्ने प्रवृत्तिमा पनि सुधार देखिएको छैन। आर्थिक वर्ष २०८०/८१ मा २२ करोड ३५ लाख रुपैयाँ र आर्थिक वर्ष २०८१/८२ मा २७ करोड ८३ लाख ६१ हजार रुपैयाँ रकमान्तर गरिएको छ। विराटनगर महानगरपालिकाले कानुन निर्माण, ऋण भुक्तानी र केही प्रशासनिक खर्च कटौतीमा सुधार गरे पनि आन्तरिक राजस्व वृद्धि, कर्मचारी खर्च नियन्त्रण, बेरुजु व्यवस्थापन, योजना कार्यान्वयन र पुँजीगत खर्च बढाउने विषयमा अपेक्षित उपलब्धि हासिल गर्न सकेको देखिँदैन।

प्रमुख–उपप्रमुखबिच सुमधुर सम्बन्ध
विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट नागेश कोइराला र नेकपा एमालेबाट शिल्पा निराला कार्की निर्वाचित भए पनि सम्बन्ध सुमधुर देखिएको छ। निर्वाचित भएदेखि हालसम्म प्रमुख–उपप्रमुखबिच कुनै दरार आएन। फरक पार्टीका प्रमुख–उपप्रमुख मात्रै होइन, एउटै पार्टीका प्रमुख–उपप्रमुख निर्वाचित भएका स्थानीय तहहरूमा प्रमुख–उपप्रमुखबिच समेत असमझदारी हुने गरेकोमा विराटनगर महानगरपालिकाको साढे चार वर्षे कालमा प्रमुख–उपप्रमुखबिचको सुमधुर सम्बन्ध उदाहरणीय नै देखिएको छ।

विगतमा नेपाली कांग्रेसबाटै प्रमुख र उपप्रमुख निर्वाचित हुँदा पनि बेलाबेला खटपट हुने गरेको थियो। यस्तै वडा अध्यक्षलगायत अन्य जनप्रतिनिधिहरूका बिचमा पनि यो कार्यकालमा खासै खटपट देखिएन। सबै पक्षबाट सहयोग पाउँदा पनि उल्लेख्य काम हुन नसक्दा भने नगरवासी निराश बनेका छन्।

विराटनगरका सामाजिक अभियन्ता पारुल क्षेत्री महानगरपालिकाका पदाधिकारीहरूले पाँच वर्षको अवधिमा गौरव गर्न लायक कुनै पनि काम गर्न नसकेको बताए। उनले चुनावमा आफैले गरेको संकल्पका अधिकांश बुँदा कार्यान्वयनमा ल्याउन नसक्नु विडम्बना भएको बताए। ‘केही पनि काम भएन भन्ने कुरा त होइन तर महानगरपालिकाको स्रोत र सामर्थले गर्न सक्ने जति काम पनि नभएकाले पाँच वर्षे कार्यकालको कामप्रति सन्तुष्ट हुने अवस्था छैन,’ क्षेत्रीले भने, ‘धाराको पानी ढुक्कसँगले पिउने बनाउने मुख्य वाचा गरेका नगरप्रमुखको कार्यकाल सकिनै लाग्दासम्म महानगरपालिकाका विद्यार्थीहरूले विद्यालय जाँदा घरबाटै खोनेपानीको बोतल बोकेर जानुपर्ने अवस्था अन्त्य नहुनुले के भनियो र के गरियो भन्ने स्पष्ट हुन्छ।’

रोजगारी सिर्जना र नगरवासीको आर्थिक अवस्था सुधारका विषयमा त कुनै पनि काम नभएको क्षेत्रीले बताए। महानगरपालिकाको विकासका लागि गुरुयोजना नबनाउनु महानगरपालिकाका जनप्रतिनिधिहरू चुक्नुको प्रमुख कारण भएको प्राध्यापक डा. भेषप्रसाद धमला बताउँछन्। उनका अनुसार आफूले पटकपटक गुरुयोजना बनाएर विकासका गतिविधिहरू सञ्चालन गर्न आग्रह गरेको भए पनि जनप्रतिनिधिहरूले ध्यान नदिएको गुनासो गरे। ‘के बनाउने, कसरी बनाउने, कस्तो बनाउने भन्ने नै स्पष्ट नभएपछि विकासका काम व्यवस्थित नभएको हो,’ धमलाले भने।

महानगरपालिकाको न्यून स्रोत सधान रहेको, साधारण खर्च धेरै रहेको र उपलब्ध स्रोतसाधनलाई पनि परिचालन गर्ने असमर्थ हुँदा नगरवासीको अपेक्षा र महानगरपालिकाको काम गराईबिच तालमेल नमिलेको उनी बताउँछन्। महानगरपालिकाका जनप्रतिनिधिले पछिल्लो कार्यकालमा आम्दानी बढाउने सम्भावना हुँदाहुँदै पनि आम्दानी बढाउन नसकेको र खर्च पनि घटाउन नसकेको धमला बताउँछन्।

महानगरपालिकाले गुरुयोजना बनाएर गुरुयोजनाअनुसार विकास निर्माण गर्ने, राजस्व संकलन बढाउने र साधारण खर्च घटाउनेतर्फ ध्यान दिन आवश्यक रहेको उनको सुझाव छ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस