सिमान्तकृति अल्पसंख्यक चेपाङ समुदायले छोनाम (न्वाङगी) पर्व मनाएका छन्। आज चितवनको भपतरपुरमा चितवन, मकवानपुर, धादिङ लगायतका जिल्लाका चेपाङहरु भेला भएर न्वाङगी मनाएका हुन्।
भदौ महिनालाई चेपाङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन्। तर, नेपाल चेपाङ संघले सात वर्षदेखि भदौ २२ गतेलाई नियमित रुपमा मनाउँदै छ। यस वर्ष वाग्मती प्रदेश सरकारले सार्वजनिक चार जिल्लामा सार्वजनिक बिदा दिएकामा उनीहरु खुशी समेत भएका छन्।
यसअघि राष्ट्रिय पर्वका रुपमा मनाउनका लागि उनिहरुले सरकारलाई पटक पटक दबाव दिएका थिए। २०५४ सालदेखि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई २२ बुँदे ज्ञापन पत्रसमेत बुझाएका थिए। तर, प्रत्येक सरकारले व्यवास्था गरेको नेपाल चेपाङ संघका पूर्व केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताए।
यो वर्ष फलेका नयाँ अन्न, फलफूलहरु पितृ तथा देवीदेवतालाई चढाएर मात्रै खाने प्रचलन रहेको छ। नेपाल चेपाङ संघले आयोजना गरेको कार्यक्रममा न्वाङगी पर्वमा फलाक्ने विधि र पर्व मनाउनेबारे चर्चा भएको थियो। समूह वा व्यक्तिगत रुपमा चेपाङहरुले भदौ पूर्णिमा आसपासमा न्वाङगी मनाउने गर्छन्।
पान्दे (पुरोहित) लाई बोलाएर राती फलाक्ने (झाँक्रि बस्ने) गरेपछि भोलिपल्ट भोजभतेर गरेर रमाइलो गर्ने प्रचलन छ। गोविन्दराम चेपाङले पान्देबाट आर्शिवाद लिने र नयाँ अन्न तथा फलफूलहरु चढाएर रमाइलो गरिने बताए। अहिले चेपाङ समुदायको भाषा संस्कृती लोप हुँदै गएकोमा प्रचारप्रसारका रुपमा नेपाल चेपाङसंघले यस पर्व मनाउन लागेको उनले बताए।
घैया धान, मकै, कोदो, पीडालु, कन्दमुल, घिरौला, फर्सि, निमुवा, वामरी लगायतका अन्न तथा फलफुलहरु जम्मा पारेर पान्देले ड्याङग्रो बजाउँदै पूजा गर्ने गर्छन्। कालिका–८ भोर्लेघारीका रामजीमाया चेपाङले ७ वर्ष यता पुरोहितको काम गर्दै आएको बताइन्।
उनका अनुसार दाजुभाई, आफन्तीहरु मिलेर न्वाङगी फलाक्ने र समूहगत रुपमै पर्व मनाउने प्रचलन रहेको छन्। ८ वर्षदेखि पुरोहितको काम गर्दै आएका भोर्लेघारीकै मानबहादुर चेपाङले नयाँ अन्न तथा फलफूलहरु नचढाई खान नहुने मान्यता रहेको बताए।
राप्ती–१० कोराकाका मिलन चेपाङले युवा पुस्ताहरु समेत चेपाङ संस्कृति जगेर्ना गर्न सक्रिय बन्नुपर्ने बताए। बागमती प्रदेश सरकारले न्वाङगी पर्वको अवसर पारेर आज (बुधबार) चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा दिएको थियो।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले चेपाङ समुदायको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन्। न्वाङगी पर्वको अवसरमा भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले चेपाङ समुदायमा शिक्षा, सीप विकास गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए।
नेपालमा चेपाङ समुदाय ७० हजारको हाराकारीमा छन्। त्यसमध्ये चितवनमा सबैभन्दा धेरै ३० हजार रहेका छन्। त्यस्तै मकवानपुरमा २६ हजार, धादिङमा २० हजार, र गोर्खामा १५ हजारको हाराहारीमा रहेको चेपाङ समुदाय रहेका छन्। अहिले भाषा संस्कृती लोप हुँदै गएकामा चेपाङ समुदाय चिन्ति छन्।
नेपालमा भएका चेपाङ मध्ये ८५ प्रतिशत धर्म परिर्वतन गरी क्रिश्चियन धर्ममा लागेको संविधान सभा सदस्य समेत रहेका गोविन्द राम चेपाङले बताए। उनले चेपाङ भाषा बोलिँदै आएको भएपनि लिपि नभएको उनले बताए। उनका अनुसार, चेपाङका ६४ वटा थर रहेका छन्।
सीमान्तकृत चेपाङ समुदायले ‘चेपाङ संरक्षित क्षेत्र’ घोषणा भए पनि कार्यान्वयन नभएको भन्दै कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्। चितवनको भरतपुरमा सम्पन्न नेपाल चेपाङ संघको केन्द्रीय सातौं राष्ट्रिय भेलामा सहभागी चेपाङ अगुवाले बागमती प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङलाई यसअघि नै संरक्षित क्षेत्र घोषणा गरे पनि कार्यान्यवनमा नआएको बताएका हुन्।
संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले भने, ‘बागमती प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गरेको छ। नाम मात्रको घोषणा भएको छ, हालसम्म कार्यन्वयनमा आउन सकको छैन।’ संरक्षित क्षेत्र घोषणा गरिए पनि कार्यक्रमसहित बजेट विनियोजन नहुँदा नाम मात्रको संरक्षित क्षेत्र भएको उनको भनाइ थियो।
घोषणा गरेर मात्र चेपाङ समुदायको समस्या समाधान नहुने भन्दै यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने कार्यक्रममा सहभागी बीलबहादुर चेपाङले बताए। उनले भने, ‘संरक्षित क्षेत्रमा विशेष कार्यक्रमसहित शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायत सेवा सुविधा निःशुल्क हुनुपर्छ भनेर माग गर्दै आएका छौं। अहिलेसम्म हाम्रो माग सुनुवाइ भएको छैन, बजेटसहितको कार्यक्रम आउन आवश्यक छ।’
बागमती प्रदेशका पूर्वराज्यमन्त्री सन्तबहादुर चेपाङले चेपाङ समुदायको अधिकारको संरक्षण गर्न तथा पहुँच विस्तार गर्न संरक्षित क्षेत्र वा स्वायत्तता क्षेत्रसहित बजेट विनियोजन गर्न राज्य अग्रसर हुनुपर्नेमा जोड दिए।
शुक्रबार र शनिबार दुई दिनसम्म सञ्चालन भएको भेलाले विभिन्न २५ बुँदे घोषणापत्र पारित गरेको छ। कक्षा १२ सम्म चेपाङ समुदायमा सञ्चालित माध्यमिक विद्यालयमा आवासीय छात्राबासको व्यवस्था, माडी नगरपालिका ९ कुसुमखोलामा बसोबास गर्ने चेपाङलाई स्थायी पुनर्वासको व्यवस्था, भोगचलन गरिआएको जग्गाजमिनलाई जग्गा धनी पुर्जाको व्यवस्था, निःशुल्क स्वास्थ्य बिमाका साथै निःशुल्क औषधि उपचारको व्यवस्थासहितका २५ बुँदे माग घोषणपत्रमा उल्लेख गरिएका छन्।
नेपालको संविधान, २०७२ को धारा ५६ ले व्यवस्था गरे अनुसार ‘संघीय कानुनबमोजिम सामाजिक सांस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष, संरक्षित वा स्वायत्त क्षेत्र कायम गर्न सकिने’ व्यवस्था भएकाले चपाङ समुदायको बसोबास रहेको क्षेत्रको संरक्षणमा केन्द्रीय, प्रदेश तथा स्थानीय सरकारले पहल गर्नुपर्ने संघका अध्यक्ष चेपाङले बताए। उनले चेपाङ समुदायको बसोबास रहेको क्षेत्रलाई विशेष संरक्षित क्षेत्रका रुपमा घोषणा गर्न सरकारसँग माग गरे।
साथै यो समुदायले परम्परागत रुपमा मनाइरहेको न्वागी (छोनाम ल्होसार) पर्वका दिन (भदौ २२) लाई राष्ट्रिय पर्वका रुपमा घोषणा गर्नुपर्ने आफूहरुको मुख्य माग रहेको अध्यक्ष चेपाङले बताए।
‘चेपाङ समुदायले प्रयोग गर्दै आएको परम्परागत वन क्षेत्रलाई कबुलियती वनमा बदली राष्ट्रियकरण गरिएकाले सो क्षेत्र खारेजी गरी परम्परागत वन अधिकार सुनिश्चित गर्न सरकारले तत्कालै पहल गर्नुपर्ने, चेपाङलगायत अन्य पिछडिएका जातिमाथि गरिएको विभेद्कारी कानुनखारेज हुनुपर्ने, अति सीमान्तकृत चेपाङ समुदायलाई सरकारले आर्थिक सहायता भन्दा पनि आर्थिक उपार्जन गर्ने सीपमूलक तालिमका साथै चेतना विस्तार गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने, जथाभावी ढुङ्गा खानीको अनुमति दिएर चेपाङको घरबास उठाउने कार्य भइरहेकाले यस कार्यले चेपाङको विस्थापन भई जमिनको अधिकारसमेत खोसिएको र यस कार्यलाई रोक्नुपर्नेलगायत मागसहित घोषणापत्र जारी गरेका छौं’, अध्यक्ष चेपाङले भने।
सरकारले सूचीकृत गरेको आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो। उनीहरु महाभारत पर्वत शुङ्खला वरिपरीको रैथाने बासिन्दा मानिन्छन्। मकवानपुरको पश्चिम, चितवनको उत्तर र धादिङको दक्षिणी भेगमा चेपाङहरूको घना बसोबास छ। गोरखा, तनहुँ र लमजुङमा पनि चेपाङ समुदायको बाक्लो बस्ती छ। २६ जिल्लामा चेपाङ जातिको बसोवास रहेको संघले जनाएको छ। नेपालमा विसं २०७८ को जनगणनाअनुसार चेपाङको ८४ हजार तीन सय ६४ जनसङ्ख्या रहेको छ। -रासस
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...