उत्तरी गोरखामा बाक्लो हिमपात भएको छ । बिहीबार रातीदेखि परेको हिउँ शुक्रवार दिउँसोसम्म रोकिएको छैन। चुमनुब्री गाउँपालिको छेकम्पार, सामागाउँ, ल्हो, बिही, प्रोकमा बाक्लो हिउँ परेको छ। धार्चे गाउँपालिकाको पनि अधिकांश ठाउँमा हिमपात भएको छ।
लाप्राकको गुप्सिपाखा हिउँले ढपक्कै ढाकेको वडाअध्यक्ष राज गुरुङले बताए। गुप्सीपाखामा दुईफिट बाक्लो हिउँ जमेको छ। योपटक लाप्राकबेसीमा पनि हिउँ परेको उनले बताए । चुमनुब्री र धार्चेको लाप्राक हिउँ परिरहने ठाउँ हो। धार्चेको काशिगाउँ, केरौँजा, उहिया लगायत ठाउँमा पनि हिमपात भएको छ।
बारपाक सुलिकोट गाउँपालिकाको बारपाक गाउँमा पनि बाक्लो हिउँ परेको स्थानीय जितबहादुर घलेले बताए। ‘शुक्रवार बिहानैदेखि हिउँ परेको र घरको छानामा हिउँ जमेको,’ उनले भने। यस्तै अजिरकोट गाउँपालिकाको भच्चेक, नम्कीमा पनि हिउँ परेको छ । शुक्रवार बिहानै देखि हिउँ परेको स्वास्थ्यकर्मी सुमना श्रेष्ठले बताईन्।
सिरानचोक गाउँपालिका–७ श्रीनाथकोटमा पनि हिउँ परेको छ। ‘पहिले पहिले कोटतिर हिउँ पथ्र्यो भन्ने सुनेको हो,’ वडा अध्यक्ष सुरज ढकालले भने ‘तर मैले यहाँ हिउँ परेको थाहा पाएको थिईन, अहिले हिउँले श्रीनाथमण्डली डाँडा सेताम्मै छ।’
गोरखाको बिभिन्न ठाउँमा हिउँ परेको फोटो, भिडियो सामाजिक सञ्जालमा छपक्कै आउन थालेको छ। तल्लो क्षेत्रमा समान्य हिउँ परेकाले स्थानीयले रमाईलो मान्दै सामाजिक सञ्जालमा राखेका छन् भने उत्तरी गोरखामा चिसो अत्याधिक बढेको छ। ‘बिहीबारदेखि अहिलेसम्म हिउँ परेको छ, चिसो धेरै बढ्यो’ चुमनुब्री ७ छेकम्पारका वडा अध्यक्ष पासाङ लामाले भने ‘मानिहरु घर भित्रै बसिरहेका छन्।’
गोरखा सदरमुकाम लगायत आसपासको क्षेत्रमा पनि शुक्रवार बिहानै देखि वर्षा भएको छ। उत्तरी क्षेत्रमा हिमपात भएपछि तल्लो क्षेत्रमा चिसो हावा चलिरहेकाले अन्य दिन भन्दा जाडो महसुस गरिएको छ। बजार क्षेत्रमा पनि मानिसको चहलपहल शुक्रवार कम देखिएको छ।
असोजको दोश्रो सातामै गोरखाको माथिल्लो भेगमा भारी हिमपात भएको छ। चुमनुब्री गाउँपालिका–१ साम्दो क्षेत्रमा भारी हिमपात भएको सशस्त्र प्रहरीले बताएको छ। भारी हिमपातका कारण चिसो बढेको छ भने पदयात्राका लागि गएका विदेशी पर्यटक रोकिएको प्रहरीको भनाई छ। मनास्लु क्षेत्रको उक्त पदमार्गमा यो बेला पदयात्रीको भीडभाड हुने गर्छ।
साम्दोस्थित ३८७५ मिटर उचाईमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (बिओपी)का प्रमुख प्रहरी निरिक्षक विश्व त्रिपाठीका अनुसार हिमपातले गर्दा करिब ३० जना विदेशी पर्यटक साम्दोमै रोकिएका छन्। ती पर्यटक धर्मशाला हुँदै लार्केपास गर्ने तयारीमा थिए। त्रिपाठीका अनुसार उक्त क्षेत्रमा एकदेखि पाँच फिटसम्म बाक्लो हिउँ जमेको छ। तापक्रम पनि माइनस ६ डिग्र्रीमा झरेको उनले बताए।
उनका अनुसार हिमपातले हिडडुल प्रभावित भएपछि सशस्त्र प्रहरीको टोलीले पदमार्गको हिउँ हटाएको थियो। ‘शुक्रबार बेलुकीदेखि हिउँ पर्न थालेको थियो। रातभर हिमपात भयो। शनिबार दिउँसोसम्म पनि हिमपात जारी छ,’ उनले भने। उनका अनुसार चिसो र हिमपातका कारण त्यहाँको जनजीवन प्रभावित भएको उनले बताए।
उनका अनुसार ३५ सय मिटरको सामागाउ भन्दा माथिल्लो भेगमा हिमपात छ। सामागाउँमा एकफिटसम्म हिउँ जमेको छ। त्रिपाठीका अनुसार लार्केपास गर्न भनेर गएका विदेशी पर्यटक अहिले साम्दोमै रोकिएका छन्। उनीहरुको शनिबार नै लार्केपास गर्ने योजना थियो। तर, हिमपातले गर्दा बीचमै रोकिएका छन्।
‘आइतबार मौसम खुल्यो र हिडडुल सहज भयो भने विदेशीहरु लार्केपास गर्न जानेछन्। नत्र साम्दोबाट गोरखातर्फ फर्किनेछन,’ उनले भने। चुमनुब्रीका साम्दो, सामागाउँ, धर्मशाला लगायतका क्षेत्रका बासिन्दा बढी प्रभावित भएका छन्। हिमपातको सिजन नभएपनि हिउँ परेपछि जनजीवन केही प्रभावित भएपनि पदयात्राका विदेशी पर्यटक भने रमाएको उनले बताए।
स्थानीय वीरबहादुर लामाका अनुसार मनास्लु हिमाल आरोहण गर्न गएका विदेशी पर्यटकको आरोहण भने हिमपातले प्रभावित भएको छ। ‘आधारशिविरमा २ फिट बाक्लो हिउँ परेको छ। हिउँ पर्दा हिडडुल भने सहज छैन,’ उनले भने, ‘हिमपातले रोकिएको आरोहण मौसम सहज हुनासाथ सुरुवात भईहाल्छ।’ अक्टोवर पहिलो सातासम्म मनास्लु आरोहण गर्न उपयुक्त मौसम भएकोले अहिले पनि आधारशिविरमा आरोही रहेको उनले बताए।
मनास्लु हिमाल (८,१६३मि) आरोहणका लागि यो बेला आधारशिविरमा आरोहीको भीडभाड रहेको छ। यो सिजनमा सबैभन्दा बढी आरोही मनास्लुमा आएको पर्यटन विभागको भनाई छ। पर्यटन विभागका अनुसार यो सिजनमा मनास्लु आरोहणका लागि २८ टिमले स्वीकृति लिएका छन्। ती टिममा २ सय २६ जना पुरुष र ८२ जना महिला छन्। सबैगरि यो वर्ष ३ सय ८ जनाले यो सिजनमा मनास्लु आरोहणका लागि स्वीकृति लिएको विभागको भनाई छ। यो सिजनमा विभिन्न १६ वटा हिमाल आरोहणका लागि विदेशी आरोहीले अनुमति लिएकोमा सबैभन्दा बढी मनास्लुका लागि छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...