म हिँडौं कहाँ ?
२७ साउन २०७८
•
३ मिनेट पाठ
म हिँडौं कहाँ ?
शारीरिक रूपमा अशक्त खजुराका ३२ वर्षीय धुव्रराज चौधरी बुधबार चर्काे गर्मी छिचाल्दै गन्तव्यतिर हिँड्दै थिए। जब घस्रिँदै पुष्पलाल चोक नजिकै पुग्छन् अनि उनको यात्रा रोकिन्छ। कारण, ‘फुटपाथभरि यत्रतत्र छरिएका सामान र पार्किङ।’ फुटपाथभरि राखिएका सामान र पार्किङमा राखिएका मोटरसाइकल पार गर्न नसक्दा उनलाई असहजतामात्र भएन समयमै गन्तव्यमा पनि पुग्न सकेनन्। अरु कोही आएर त्यहीनेरबाट सारिदिएपछि खुसी हुँदै भन्छन्, ‘धन्यवाद सर।’ यो दृश्यले उनी मात्र होइन फुटपाथमा दैनिक आवतजावत गर्ने पैदलयात्रीको सास्तीलाई उजागर गर्छ।




उनका लागि यो समस्या कुनै नौलो होइन, जबजब उनी बजार निस्कन्छन् तबतब यो समस्या ठाउँठाउँमा दोहोरिन्छ। फुटपाथभरि दुई पांग्रे सवारीसाधन पार्किङ गर्दा, व्यापारीले सामान तथा निर्माण सामग्री मनलाग्दी राख्दा उनीजस्तै अपांगता भएका व्यक्ति र अन्य पैदलयात्रीलाई हिँड्डुलमा असहजतासँगै जोखिम पनि बढाएको छ।

यत्रतत्र राखिएका सामानले हैरानी खेप्नु परेको सर्वसाधारणहरुको गुनासो छ। ‘दुवै खुट्टा र एउटा हात नचल्दा म सधैँ फुटपाथमा आएर पैसा सहयोग माग्छु,’ धुव्रराजले भने, ‘कहिले कता कहिले कता बस्छु।’ हिँड्न नसक्दा आफू एक ठाउँबाट अर्काे ठाउँ घस्रिएरै जाने गरेको भन्दै उनले भने, ‘फुटपाथभरि सामान हुन्छन्। अनि मोटरसाइकल पार्किङ गरेर राखिएको हुन्छ। जसले सधैँ समस्या हुन्छ।’ सडकभरि गाडी र अव्यवस्थित पार्किङले घस्रिन नसकिने र फुटपाथ पनि आफू अनुकूल नभएको उनको भनाइ छ।  

नेपालगन्जमा बढ्दो सहरीकरणसँगै सर्वसाधारणको बाक्लो चहलपहल देखिन्छ। तर सरोकारवाला निकायले फुटपाथलाई व्यवस्थित गर्न सकेको देखिँदैन। ‘अपांगता भएका व्यक्तिलाई त ठूलो जोखिम छँदैछ,’ नेपालगन्जकी सावित्री खड्काले भनिन्, ‘सपांगलाई पनि फुटपाथमा आवतजावत गर्न जोखिम छ।’ सडकमा हिँडौं दुर्घटनाको जोखिम भएको भन्दै उनले भनिन्, ‘फुटपाथमा पनि हिँड्ने ठाउँ हुँदैन।’ नेपालगन्ज¬¬–सुर्खेत रोड, न्यूरोड, सदरलाइनलगायत नेपालगन्ज बजार क्षेत्रका अधिकांश फुटपाथमा पैदलयात्री सहजै हिँड्डुल गर्न सक्ने स्थिति नभएको उनले बताइन्।

‘फुटपाथ त हामी पैदलयात्रीका लागि हो, तर पार्किङ र व्यापारीको सामानले भरिभराउ हुन्छ,’ मञ्जुसिंह राठौरले भनिन्, ‘फुटपाथमै हिँडूँ बाटो छैन, सडक छेउमा हिँडूँ ठूलो गाडी कतिबेला हुइँकिएर आएर किचेर मार्ला भन्ने डर।’ ‘फुटपाथ कब्जा गरी नियम उल्लंघन गर्नेलाई कारबाही हुनुपर्ने,’ उनले भनिन्। ‘नियम उल्लघंन गर्नेलाई कारबाही नहुँदा फुटपाथ कब्जामा छ,’ उनी भन्छिन्, ‘यता पैदलयात्रु भने सडकबाटै हिँड्न बाध्य। सडकमा हिँड्दै गर्दा दुर्घटना भए कसले जिम्मा लिने?’ पैदलयात्रीहरूले यात्रा गर्दाका असहजता, जोखिमलाई प्रशासन र नगरले गम्भीरताका साथ लिनुपर्ने उनको भनाइ छ।

नेपालगन्ज उपमहानगरपालिकाले नगर प्रहरी नियुक्ति गरेपछि नेपालगन्जका फुटपाथ तथा सडक व्यवस्थित गरेको थियो। पछिल्लो समय नगर र प्रशासनको अनुगमन नहुँदा फुटपाथ पार्किङ तथा सामानले ओगट्दा पैदलयात्रीहरूलाई यात्रा गर्न झनै जोखिम बढाएको छ।

नेपाल सडक मापदण्ड २०७० ले पैदलयात्रुको चापअनुसार फुटपाथको चौडाइ निर्धारण गरेको छ। १५ मिनेटभित्र पाँच सयजनासम्म आवतजावत गर्ने फुटपाथमा १.५ मिटर, पाँच सयदेखि १५ सयजना हिँड्ने ठाउँमा दुई मिटर, १५ सयदेखि २५ सयजना हिँड्ने ठाउँमा २.५ मिटर र २५ सयदेखि ३५ सयजनासम्मको चाप भए तीन मिटर चौडाइको फुटपाथ बनाउनुपर्ने व्यवस्था छ।
अर्को समाचार
छाता
२८ फागुन २०७७
•
९ मिनेट पाठ
छाता
साँझको जूनले हल्का शीत ओकल्दै थियो । जुन शीतले मेरो शरीरमा मलमपट्टीको काम गरिरहेको थियो । बादलका आकृतिहरू तँछाडमछाड गर्दै जूनलाई घेरा हाल्दै थिए  । एकाएक कालो बादलले चम्किरहेको जून निल्यो । चारैतिर अँधेरो छायो । बादलले जति नै ढाके पनि त्यो अवश्य पग्लिएर झर्छ । जूनले पगालेरै छोड्छ र बादल छिचल्न सक्छ । मेरा बा र त्यो जून । कालरूपी बादल । सम्भावना छैन त्यो काल छिचोल्न । रत्तिभर आस छैन । 




मेरो शरीर भारी भएको थियो । जीउ झन्् – झन् झनाइरहेको थियो । यो झनाइ दुई वर्षभित्रमा दोस्रो पटक थियो । गलेको शरीर लिएर आँगनको डिलमा चकटी ओछ्याई बसेको थिएँ त्यही जून नियाँल्दै  । सेतो कोराको कछाडबाहेक शरीरमा कपडा थिएन । शिरको कपाल मुन्ड थियो । असार मास भएर होला बादलले छिनमै आकाश ढाक्थ्यो । पानी झमझम पर्दथ्यो । छिनमै छ्याङ्ग भएर उघ्रिन्थ्यो । यो त एउटा प्राकृतिक नियम न हो । जीवनमा आइपर्ने दुःखसुखजस्तै ।

म आँगनको डिलमा बसेर सिरसिरे बतासलाई मुडुलो टाउको र नाङ्गो शरीर निर्धक्क चुम्न दिइरहेको थिएँ । मन कतै टोलाइरहेको थियो । “बाबु प्रकाश” म झसङ्ग भए । तर्सिएर झन्डै आँगनको डिलबाट तल झरिनथेँ । मेरा आँखा एक्कासि फलैँचामा पुगे । फलैंचामा कोही थिएन । यो बोली फलैंचाबाटै आएको थियो । बाबु प्रकाश भनेर बाले नै बोलाउनुभएको भान भएथ्यो ।

सानी छोरी दौड्दै आई र काखमा बसी । मेरो मुडुलो टाउको सुम्सुम्याउँदै, “बाबाबाबा हाम्लो हजुलबुबा अब कहिले आउनुहुन्छ ?” बाको झल्कोले मेरा आँखा रसाएको थिए । छोरीको प्रश्नले गला अवरुद्ध हुँदै थिए तैपनि आफूलाई सम्हालेर भनी, “नानू, हजुरबुबा ऊमाथि आकाशका तारा भेट्न जानुभएको छ । भोलिपर्सि आइहाल्नुहुन्छ नि ।”

“मलाई पनि त्यो ताला भेत्न कस्तो मन लागेको छ । बाबा हामी पनि जाउन त्यो ताला भेत्न ।” बाह्र दिनसम्म मलाई छुन पनि नपाएकी छोरी न्याँस्रोले होला कहिले गाला सुम्सुम्याउँथी त कहिले शरीरलाई अँगालोले बेर्थी र छातीमा मुख जोड्थी । उसको प्रश्नको उपयुक्त उत्तर मसँग थिएन । मैले कुरा छल्दै भने, “पानी पर्छ ल अब आऊँ भित्र जाऊँ  ।” भन्दै छोरीलाई डोरयाउँदै भित्र गएँ म ।

उषाले पनि धन्दा सकिछन् । हामी सुत्न चोटातिर हिँड्यो । परम्पराअनुसार चारखुट्टे खाटमा सुत्न नहुने । उषाले बा सुत्ने खाटभन्दा मुनि खुला भुइँमा ओछ्यान लगाइन् । म ओछ्यानमा बसेँ । छोरी मेरै काखमा छुनुमुनु गर्दै थिई भुसुक्कै निदाई । छोरीलाई उषाले खाटमा सुताइदिइन् ।

ओछ्यानको सिरानमा बाको कन्तुर थियो । मेरा आँखा त्यही कन्तुरमा एकोहोरिएर हेर्न लागे । त्यो कन्तुरले एक वर्ष अघिदेखि मेरो मनमा खुलदुली मच्चाइरहेको थियो ।  

एक वर्ष अगाडि आमाको किरिया दान गर्दा बाले एउटा पुरानो छाता ठिक पार्नुभएको थियो । मैले त्योे छाता कहिल्यै देखेको थिइन । सायद त्यो छाता यही कन्तुरमा राखिएको थियो । मैले बालाई भनेको थिएँ, “यो पुरानो छाता दान नगरौं बा, मैले नयाँ छाता किनेर ल्याएको छु ।” बालाई पटकपटक नसम्झाएको हैन तर बाले मान्नुभएन । मैले बाको इच्छा पूरा गराउनु थियो । बालाई खुसी राख्नु थियो । त्यसैले पनि बाको खुसीलाई आफ्नो खुसी ठानँे ।  

मैले सोचेँ– बाले त्यो छाता दान गर्नुमा कुनै न कुनै रहस्य अवश्य हुनुपर्दछ ।

“धेरै दिनदेखिको निद्रा अब सुत्नुस् । शरीरलाई आराम भएन भने बिरामी परिन्छ ।” उषाले भन्दै थिइन् । मेरो मनले सुत्न मानिरहेको थिएन । 

मैले भनेँ, “उषा, हम्मर खोजेर ल्याऊ त ।” उषाले मेरो कुरा कहिल्यै नकार्दिनथिइन् न मैले उनको कुरा नकार्थे । तर, पनि मैले नसुतेर उनको कुरा नकार्दै थिएँ । कामधन्दा गरेर थाकेको शरीर तैपनि उनी उठेर गइन् र हम्मर खोजेर ल्याइन् । साँचो बाको जनैमा गाँठो परेर बसेको हुन्थ्यो । शोकमा डुबेको बखत साँचोको ख्याल कसलाई पो हुन्थ्यो र । हम्मरको सहयताले मैले कन्तुरको ताल्चा खोले ।

मेरा हात खोलिएको कन्तुरभित्र कुनाकानी दौडिन लागे । कन्तुरमा मेरा हातहरूले एउटा पुरानो रातो छाता भेट्यो । त्यो छाता मैले बाहिर निकाले । एक झुप्पो पोते, तीन हात जति लामो सेतो र पुरानो कपडा, पाँचओटा सुपारी, एउटा पुरानो चरेस थाल र एउटा ढलौटे कचौरा, चारपाँच सय हुँदो हो खुद्रा नोट र दुई पेज कापीका पन्ना कन्तुरबाट निकालेँ ।  कन्तुर रित्तियो ।            

उषाले पनि खुबै नियालेर हेर्दै थिइन् । “खै ! कन्तुरमा त खासै केही रहेनछ ।” भन्दै थिइन् उषाले । मलाई पनि त्यस्तै लागेथ्यो ।

मैले ती सामानलाई निकै गहिरिएर हेरेँ र कापीको पाना उठाए । कापीका पानामा बान्की परेका अक्षरले भरिएका थिए । मेरा आँखा कापीका पानामा हल्का दौडिन लागे । स्कुल शिक्षा धेरै नपढे पनि बाका अक्षर राम्रा थिए । तिनै राम्रा अक्षर लेख्ने बाका हातहरूले मेरा हात सामाएर लेख्न सिकाएका  थिए । मैले अनुमान लगाएँ यी अक्षर बाकै हुन ।

उषाले पनि आँखा लगाइन् । “के लेखिएको रहेछ अलि सुन्ने गरी पढ्नुस् न ।” उनले भनिन् ।  

म बाका सुन्दर अक्षरहरू गुनगुनाउन लागेँ ।

“मेरी प्यारी गंगा, यो तिम्रो सागरलाई एक्लै छाडेर गयौँ हैन ! म तिमीबाट छुट्टिनु पर्दाको पीडा भोग्दै छु प्रिय । संसारमा पतिपत्नी बीचको प्रेमजस्तो ठुलो केही रहेनछ । तिमीले छोडेका दिनदेखि ममा भोक, प्यास, निन्द्रा, अमनचयन केही छैन । म भित्रभित्रै रोएको छु,तड्पिएको छु, जलेको छु र गलेको छु । म शुद्ध हाड र छालामा सिङ्गो अस्तिपञ्जरस्वरूप मात्र यहाँ छु । मेरा तनमन, सपनाविपना सबै हराएकी तिमीलाई खोजिरहेका छन् । खोजिरहने छन् । बरु तिमीमा मप्रति दया छ भने छिट्टै लिन आऊ है । म यी सबै पीडा तिमीबाहेक अरू कसैसँग व्यक्त गर्न सक्तिन ।  

हाम्रो मायाको चिनो भगवान् जस्तै छ । मेरो रेखदेख स्याहारसम्हार र आदर सम्मानमा कुनै कमी हुन दिएको छैन । हाम्री बुहारी कति लक्षिणकी देवी छिन् त्यो त तिमीलाई थाहा नै छ । यस्ता छोराबुहारीलाई मैले कुनै पीरचिन्ता पार्नु हुँदैन । त्यसैले सबै दुःख –पीडा आपैmँभित्र लुकाएको छु प्रिय ।  

तिमीलाई थाहा छ, हामीले एक दिन गरेको सल्लाह के थियो, हामी दुई बीचको माया प्रेम बाँडिन सक्छ । त्यसैले एउटाभन्दा बढी सन्तान नजन्माउने भनेका थियौं नि ।

तिमीलाई यो पनि थाहा छ, हाम्रो पहिलो भेट कहिले र कुन अवस्थामा भएको थियो ?

म मेरो मामाको आग्रहमा तिम्रो हात माग्न गएको थिएँ । मामाले मलाई तिम्रो घरको नक्सा बताउँदै भन्नुभएको थियो, “म तिमीलाई उतै भेट्छु ।”  मामाले बताउनुभएको नक्साको आधारमा म तिम्रो माइती घर जाँदै थिएँ । त्यो वैशाख महिना थियो । घाम चर्को । नाकमा ठेस लाग्ने उकालो र जङ्गलको बाटो हिँड्दै थिएँ । एक्कासि बादल उठ्यो र पानी दर्कन लाग्यो । मसँग छाता भएकाले पानीको कुनै प्रवाह भएन । शीतलताले मेरा पाइला अगाडि लम्कन सहज बनाएको थियो । पानी जोडसँग पर्दै थियो । केहीमाथि पुगेपछि एक किशोरी भेट भएथ्यो । मैले उनलाई हेर्दै थिएँ । उनले पनि मलाई पिलिक्क हेरिन् । उनी चौबन्दी र गाउनमा सजिएकी थिइन् । दुई चुल्ठामा रातो रिवन पहाडमा फुलेको लालीगुराँस र लालुपातेजस्तै देखिन्थे । ठूलो निधार, बिरालोको जस्तो सुलुक्क परेको नाक, काला र बाटुला आँखा, साना र पतला गोल मिलेमा कान, कालो र लामो केस, सलक्क परेको जिउडाल । यस्ती किशोरी एक्लै लथाचुर्न भिजेर लुठुलुठु हिँडिरहेकी थिइन् । उनको हातमा झोला थियो । उनको बोकाइले गरुङ्गो झोलाको संकेत गर्दै थियो ।

मलाई उनीप्रति निकै दया लागेथ्यो । मेरो सफा मनले भन्दै थियो – उनको झोला सघाइदिऊँ र सँगै छाता ओडाएर हिँडौ । एकछिन भए पनि छहारीको राहत हुन्छ । अर्को मनले भन्दै थियो – अर्काकी चेलीबेटी, अन्धविश्वास र चियोचर्चोमा हुर्केको समाज । सेतो कपडामा लागेको दाग सितिमिति कहाँ जान्छ र ?

फेरि उनले मलाई पनि छाता ओडाउनुस्  भनेकी पनि त छैन नि भन्ठानेँ । सायद उनले पनि मैले जस्तै सोचिन् होला । उनका भिजेका गउनका फेरले उनलाई हिँड्न अल्झाइरहेको थियो । मैले सोचेँ यो बिजोग हेर्नुभन्दा अघि लाग्नु नै बेस । उनी मलाई टुलुटुलु हेर्दै थिइन् । पानीको गति बढ्दै थियो । मेरो हिँडाइको गति पनि बढ्दै थियो । केहीबेरको हिँडाइपछि म गन्तव्यमा पुगेथेँ ।

मामा अगाडि नै आइसक्नुभएछ । मलाई देखेर मामा र त्यसघरका आमाबुबा निकै खुसी देखिनु हुन्थ्यो  । सायद लायकको ज्वाइँ भेटियो भन्ठान्नु भएर हुनुपर्छ । मेरा मामा र त्यसघरका बुबा भलाकुसारी गर्दै हुनुहुन्थ्यो । म केही बोलिन । बिचमा बोल्ने र भलाकुसारी गर्ने मेरो आदत पनि थिएन । 

पानी परिरहेको थियो । केही समयपछि ती किशोरी त्यही घरको ढोकाबाट लुसुक्क भित्र पसिन् ओत लाग्न । मैले सोचेथेँ, “भिजेको शरीरले ओत लाग्नु के अर्थ हुन्छ  र । बरु घरमै पुगेर लुगा फेरे न्यानो त हुन्थ्यो ।”  

साँझ परिसकेको थियो । उनी त लुगा फेरेर दलानमा पो आइन् भान्छाको लागि करुवामा पानी लिएर  । म अलमलमा परेर उनलाई हेरिरहेँ ।  मलाई त्यसपछि निकै पछुतो भयो र लाज लागेथ्यो । दलानमा मधुरो बत्ती बलिरहेको थियो । उनको आगमनले बिहानीको उज्यालोमा घामको प्रकाश पदार्पण भएको महसुस गराएको थियो ।

तिम्रो बुबाले ती किशोरीलाई देखाउँदै भन्नुभयो, “बाबु, मेरी छोरी यिनै हुन् । तपाइँलाई मन पर्छ की पर्दैन ?” मलाई थोरै पछुतो भयो अगाडि नै चिनजान भएथ्यो त दर्के पानीमा भिज्न दिन्नँ थे । थोरै लाज पनि भयो । उनले के भन्ठान्दै थिइन् । कतै उनको मनले यस्तो त सोचेन ? “यस्ता नामर्दले के पाल्ला र दर्के पानीमा छाता ओडाउन त सकेन ।” अलिकति खुसी पनि लागेथ्यो उनको सच्चरित्र देखेर किनकि कठिन परिस्थितिमा पनि परपुरुषसँग दयाको भिख मागिनन् । यो उनको सच्चरित्र थियो । 

प्रिय त्यस दिन तिमीलाई छाता ओडाउन नपाएकोमा आजसम्म मलाई पछुतो छ । हुन त तिमीले यस विषयमा भनेकी थियौं, ”त्यस दिनको दर्के पानीमा तपाइँले मलाई छाता ओडाउनुभएको थियो भने  तपाइँ असल पुरुष हुनुहुन्छ भन्ने ठान्ने थिइनँ म ।

तिम्रो यस कुराले हर्षित थिएँ म । आफूले आफैलाई गौरव गरेको थिएँ किनकि तिम्रो त्यो हेराइमा र भनाइमा मेरो सत्पुरष चरित्र प्रमाणित भएथ्यो । 

तिम्रो यही भनाइले त्यो छाताले निकै महत्व पायो । मैले बिहेमा पनि त्यहि छाता ओडे र जोगाएर राखेको थिएँ । अनि तिम्रो क्रिया दानमा त्यो छाता दान गरेको थिएँ । मलाई विश्वास छ । त्यो छाता तिमीले अवस्य पाएकी छौ । प्रिय, मैले तिम्रो एक झुप्पो पोते, लगनगाँठो, माहुरको थाल कचौरा, तिमीले ओडेको छाता र सुपारी जोगाएर राखेको छु । मैले हाम्रो जीवन कथा, रमाइला प्रेमिल क्षणहरू कापीका पानाभरि लेखेको छु । हाम्रो जीवन कथा सायद शिव र पार्वती अनि राधा र कृष्णको प्रेमिल जीवन कथासँग मिल्न सक्छ । मर्यादा पुरुष श्रीराम र सच्चरित्र  सीताको जीवन चरित्रसँग मिल्न सक्छ ।  यी सबै कुरा तिमीलाई सुनाउनु छ । म सायद अब छिट्टै आउँछु । यी सबै सामान लिएर आउँछु । बाटोमा आउँदा घाम चर्कन सक्छ , पानी दर्कन सक्छ । मैले बोकेको झोला गरौं हुन सक्छ । छाता लिएर ओडाउन आऊ है । म तिम्रो प्रतिक्षा गरिरहने छु ।”

बाका अक्षरहरू अझै दुई पेज पढ्न बाँकी थियो । मैले यहाँभन्दा बढी पढ्न सकिन । उषा मेरो काखमा घोप्टो परेर सुक्सुकाउँदै थिइन् । मेरा आँसुले उनका कपाल छप्लक्क भिजेका थिए । पतिपत्नी बीचको प्रेमको परिभाषा मैले बल्ल बुझेँ । धन्य छ आमाबुबा । धन्य छ आमाबुबाको सच्चा प्रेम । आज त्यही प्रेमका कारण मैले जीवन पाएको छु । मैले घरी आमाबुबाको भित्तामा झुण्याइएको तस्विर हेरिरहेँ । घरी बाले सँगै लैजान ठिक पारेका सामान हेरिरहे र भित्री आँखाले बाले दान गरेको पुरानो छाता हेरी टोलाइरहेँ ।
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस