अस्थायी राजधानी धनगढीका सडक सामान्य पानी पर्दा हिलाम्य हुन्छन् भने घाम लाग्दा धुलाम्य हुने गरेका छन् । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी, जहाँ प्रदेश प्रमुखदेखि मन्त्री तथा प्रदेश सांसदहरुको बसोबास छ । हरेक दिन धनगढीकै सडक प्रयोग गरेर यहाँका प्रदेश प्रमुखदेखि मन्त्री तथा सांसद हुइँकिन्छन् । तर, तिनै ठाउँठाउँ खाल्डाखुल्डी परेका सडकमा उपमहानगरपालिकाले ग्राभेल तथा माटो हालेपछि पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने गरेका हुन् ।
ठाउँठाउँमा फुटेको सडकमा धनगढी उप–महानगरपालिकाले ग्राभेल तथा माटो हाल्दा सामान्य वर्षात्मा हिलो र घाम लाग्दा धुलो उड्ने गरेको स्थानीय व्यापारी जनक जोशीले बताए । उनले भने,‘सामान्य वर्षात् हुँदा उसै त डुब्ने धनगढीका सडकमा माटो र ग्राभेल हालिँदा हिलो हुनुका साथै घाम लागेपछि भने धुलो उड्ने गरेको छ ।’ पानी पर्दा हिलोमा मोटरसाइकल चिप्लनुका साथै घाम लाग्दा आँखै टालिनेगरी धुलो उडेपछि दुर्घटनाको जोखिम बढेको उनले बताए । उनले भने,‘विकासका नाममा तमामौ बजेट रहेको धनगढीमा किन राम्रो सडक बनाइँदैन ।’
धनगढीको मुख्य बजार कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक १५ वर्षदेखि मर्मत सम्भार हुन नसकेको बताउँदै अर्का स्थानीय गजेन्द्र चौधरीले भने,‘करिव डेढ दसकदेखि सडक मर्मत सम्भार नहुँदा टुटेका सडकमाथि सवारी गुडाउनै मुस्किल हुन्छ ।’
साविकको धनगढी नगरपालिकाका १४ वडाका कुनै पनि सडक मर्मत सम्भार हुन नसकेको बताउँदै उनले भने,‘साविकको धनगढी नगरपालिकाका १४ वटै वडाका सडकम सामान्य पानी पर्दा हिलाम्य हुनुका साथै घाम लाग्दा धुलाम्य हुने गरेको छ ।’ धनगढीका पुराना वडामा कालोपत्रे भत्केका सडक रहेको बताउँदै उनले भने,‘यसलाई मर्मत सम्भार गर्न तथा नयाँ कालोपत्रे गर्न अहिलेसम्म कसैले चासो देखाएको छैन ।’
नगरको सडक मर्मत तथा निर्माण गर्ने जिम्मा स्थानीय तहकै भएको बताउँदै धनगढी उप–महानगरपालिकाका इञ्जिनियर दीजराज भट्टले भने,‘तर, प्राविधिक कारणले गर्दा हामीले साविकको धनगढी नगरपालिकाको सडक मर्मत सम्भार गर्न सकेका छैनौं ।’ १४ वटा वडा भएको साविकको धनगढी नगरपालिकाका सडकको अवस्था झन दयनीय हुँदै गएको बताउँदै उनले भने, ‘समय समयमा मर्मत त गरेका हौँ, तर पछिल्लो समयमा भने मर्मत सम्भार गर्न सकिएको छैन ।’
घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य हुँदा पहिलो पटक धनगढी आउने जो कोहीलाई सरकारको काम गराउने हैसियत छर्लङ्ग देखाउने गरेको बताउँदै स्थानीय हरिलाल चौधरी भन्छन्,‘यो सडकले धनगढीलाई मात्रै नभएर सरकारलाई पनि जिस्काइरहेको छ ।’ वर्षात होस् या घाम लाग्दा धनगढीका सडकमा यात्रा गर्ने यात्रुले कष्टकरण यात्रा गर्नुपर्ने बाध्यता रहेको बताउँदै उनले भने, ‘धुले र हिले सडकलाई चाँडै निर्माण नगरिदिएकै कारण यात्रुलाई समस्या छ, त्यसका लागि अब सबैले दबाब दिन जरुरी छ ।’
धनगढीका सडकमा घाम लाग्दा धुलो उड्ने भएपछि व्यापार व्यवसाय गरेर बसेका व्यापारीलाई झनै मर्का पर्ने गरेको उद्योग वाणिज्य संघका महासचिव ओम बिष्टले बताए । उनले भने, ‘फुटेका सडकमा माटो र ग्राभेल हालिँदा घाम लागेपछि उडेको धुलोले व्यापारीको सामान विग्रने गरेको छ, जसले गर्दा व्यापारीले घाटा व्यहोर्नु परेको छ ।’ उनले धुले सडकलाई चाँडै स्तरोउन्नति गर्नुपर्ने बताउँदै भने, ‘सडक राम्रो भएको भए कमसेकम व्यापारीका सामान त बिग्रने थिएनन् ।’
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।
भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।
अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।
पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।
अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।
पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...