मोहनापुल–अत्तरिया निर्माणाधीन ६ लेन सडकको एकतर्फी बाटो कालोपत्रे भइसकेको छ । धनगढी चौराहदेखि सुदूरपश्चिम प्रदेश सरकारले तोकेको प्रदेशको राजधानी अत्तरिया पुग्न अहिले केही बेर लाग्दैन । चिल्लो बाटोमा मोटर गुडाउँदै जब अत्तरिया चौराहमा पुगिन्छ, तब आइपुग्छ ‘खत्र्याङ खुत्रुङ’ सडक । चौकमै पुग्दा लाग्छ कुनै दुर्गम ग्रामीण क्षेत्रको ग्राभेल सडकमा सवारी सधान गुडिरहेको छ ।
यस्तै पूर्व पश्चिम राजमार्गबाट अत्तरियास्थित ट्राफिक पोष्ट नजिक पुग्दा गज्जबकै सडक निर्माण भएको भान हुन्छ । ट्राफिक पोष्टदेखि चौक नजिकसम्म आरसिसी ढलान गरी चाक्लो सडक बनाइएको छ । तर, आरसिसी सकिने वित्तिकै पुनः उस्तै ‘खत्र्याङ खुत्रुङ’ सडक ।
अत्तरिया चौक अर्थात् सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला तथा कैलाली सदरमुकाम धनगढी र कञ्चनपुर सदरमुकाम महेन्द्रनगर जाने प्रमुख प्रवेशद्वार हो । प्रवेशद्वारकै सडकको अवस्था नाजुक रहेको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा बताउँछन् ।
‘यो सडक महिनौदेखि बिग्रिएको अवस्थामा छ,’ उनले भने,‘अहिलेसम्म कसैले पनि बनाउने प्रयास गरेको छैन ।’ खाल्डाखुल्डी परेको ठाउँमा टाल्न नसके पनि ग्राभेल हालेर खाडल पुरिदिन पटक पटक स्थानीय तह र सडक डिभिजन कार्यालयलाई आग्रह गर्दा पनि कसैले नसुनिदिएको स्थानीय गुनासो गर्छन् ।
‘अगाडि पछाडि राम्रो सडक छ, अत्तरिया चौकैमुनि खाल्डाखुल्डी छन्,’ अर्का स्थानीय विपिनकुमार साउँद भन्छन्,‘चौकमा पुग्ने जो कोही अत्तरियाको सडकको अवस्था देख्दा चिन्तित हुन्छन् ।’ अगाडि पछाडिको चिप्लो सडक देखेर सवारी हुइँक्याउँदै आउनेहरू चौकमा पुगेपछि ब्रेक हान्दा दुर्घटना हुने भय बढेको बताउँदै उनले भने,‘खाल्डा खुल्डीले दैनिक दुर्घटना बढीरहेका हुन्छन् ।’ सामान्य वर्षा हुँदा समेत अत्तरिया चौकका खाल्डाखुल्डी भरिएर जलमग्न हुने गरेको उनले बताए ।
‘सडकमा परेका खाल्डाखुल्डीमा पानी जमेको हुन्छ, त्यसमैमा रफ्तारमा सवारी गुडाउँदा दुर्घटनाको भय उत्तिकै छ भने पैदल यात्रुलाई पानी छ्याप्ने समस्या पनि उस्तै छ ।’ सडकमा परेको दुर्घटनाका कारण पूर्वी दक्षिण लाइनमा ग्राहकहरू हिँडडुल गर्नै छोडेको उनी बताउँछन् । ‘खाल्डाखुल्डीकै कारण पैदल यात्रुहरू समेत अफ साइड हिँड्न थालेका छन्,’ उनले भने,‘अफ साइड हिँड्दा दुर्घटनाको भय पनि उत्तिकै हुन्छ ।’
अत्तरिया चौकमा खाल्डाखुल्डी भएका कारण पूर्वी लाइनमा जानै छोडेको बताउँदै अर्का स्थानीय योगेन्द्र रावलले भने,‘पूर्वी–दक्षिण चौकमा मोटरसाइकल लैजाँदा ‘खत्र्याङ खुत्रुङ’ सडकमा दुर्घटनाको त्रासले जानै छोडेको छु ।’ कामै परेपनि बाइपासको सडकबाट ओहोर दोहोर गर्ने गरेको उनले बताए ।
प्रदेशको राजधानी तोकिएको अत्तरिया मुख्य चौकको सडक व्यवस्थित बनाउनु पर्ने उनले बताए । ‘कमसेकम प्रदेशको राजधानी तोकिएको सहरको सडकको अवस्था प्रदेश सरकारले राम्रो बनाइदिनुपथ्र्यो,’ उनले भने । प्रदेशको मुख्य प्रवेशद्वार नै थोत्रो देखिएपछि त्यसले समग्र सुदूरपश्चिमको अवस्था देखाउने भएकाले यसलाई राम्रो बनाउनुपर्ने उनले सुझाव दिए ।
महिनौदेखि भत्किएको सडकलाई आउँदो आर्थिक वर्षमा पुनर्निर्माण गरिने सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इञ्जिनियर लक्ष्मणदत्त जोशीले बताए । उनले भने,‘अत्तरिया चौकको सडक टुटफुट भएको छ, त्यसलाई आगामी आर्थिक वर्षको बजेटमा समेटिएको छ ।’ अत्तरिया चौकमा परेका खाडललाई टेण्डर आह्वान गरेरै पूर्व–पश्चिम र उत्तरी सडकलाई चार लेनको बनाइने उनले बताए । ‘त्यसका लागि साउनपछि ठेक्का आह्वान गर्छौँ,’ उनले भने ।
सुदूरपश्चिम प्रदेशकै प्रमुख द्वारका रूपमा रहेको गोदावरी नगरपालिकाको एक मात्रै सहर अत्तरियाले अझै धुलोमैलोको सकसबाट मुक्ति पाउन सकेको छैन। दुई वर्षयता अत्तरिया चोक धुलाम्य हुनुका साथै नजिकै ढलको दुर्गन्धले ग्रसित छ। त्यसकारण सो बजारको शोभा घट्दै गएको छ। स्थानीयले पटकपटक सडक डिभिजन कार्यालय महेन्द्रनगर र प्रदेशस्थित मन्त्रालयमै गएर प्रदूषणमुक्त बजार निर्माणका लागि पहल गर्दा कुनै सुनुवाइ हुन सकेको छैन।
अत्तरिया चोक दुर्गन्धित हुनुका साथै धुलोधुवाँले पसलका सामान बिगार्ने हुँदा ग्राहक नै आउन नमानेको र व्यापार चौपट भइसक्दा पनि सम्बन्धित निकायले लामो समयदेखिको प्रदूषण हटाउन ध्यानै नदिएको भन्दै व्यापारीहरूले मंगलबार बिहान चक्काजामै गरे। दिनप्रतिदिन चोकको अवस्था झनै नाजुक बन्दै जान थालेपछि व्यापारी मात्र स्थानीयसमेत आक्रोशित छन्। चौकको चारैतिर खाल्डाखुल्डी पर्दा सडक अस्तव्यस्त बनेको देख्दादेख्दै सम्बन्धित निकाय कानमा तेल हालेर बसेपछि उनीहरू झकझक्याउन व्यापारीहरूले चक्काजाम गरेको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले बताए।
‘हामीले गोदावरी नगरपालिका तथा सडक डिभिजन कार्यालयलाई पटकपटक अनुरोध गर्यौं तर अहिलेसम्म बेवास्ता गरियो,’ उनले भने। चोकनजिकैका व्यपारीले झनै मार खेपिरहनुपरेको उनले बताए। ‘कोरोना महामारीपछि जनजीवन केही सामान्य भएका बेला व्यवसायीले अब व्यापार सुध्रन्छ कि भन्ने आशा राखेका बेला फेरि चोकको धुलोले निरास पारेको छ,’ अध्यक्ष देवकोटाले भने, ‘यसले गर्दा व्यापारीका सामान बिग्रनुका साथै धुलोले श्वासजन्य रोगसमेत लाग्न थालेको छ।’ चोकमा कालोपत्रे गर्नुका साथै ढल निकास हुनुपर्ने व्यापारीहरूको माग छ। साता दिनभित्र माग पूरा नभए थप सडक संघर्षका कार्यक्रम गर्ने उनीहरूले चेतावनी दिएका छन्। अत्तरिया बजारमा गरिने जथाभावी सवारी पार्किङ, फुटपाथ कब्जा, छाडा पशुचौपाया लगायतले पनि बजार कुरूप बनाउँदै लगेपछि उनीहरूले चिन्ता व्यक्त गरे।
अत्तरिया चोकमा पटपटी फुटेको सडकमा गुडिरहने गाडीले उडाउने धुलोले प्रदेशको स्थायी राजधानी अत्तरियालाई ‘गिज्याइरहेको’ स्थानीय लक्ष्मण कठायत बताउँछन्। ‘सुन्दर सुदूरपश्चिम भनेर आउने जोकोहीलाई अत्तरिया सोचेभन्दा फरक लाग्न सक्छ,’ उनले भने, ‘यहाँ दिनदिनै धुलो खाँदै ढलको दुर्गन्धको सामना गरेर हिँड्नुपर्ने बाध्यता छ।’ व्यवसायी र वाणिज्य संघले पटकपटक अत्तरिया चोकको फुटेको सडक टालिदिन र किनारमै खुला रूपमा बग्ने दुर्घन्धित नाला व्यवस्थित गरिदिन नगरपालिका, प्रदेश सरकार र सडक डिभिजन कार्यालय महेन्द्रनगरलाई अनुरोध गर्दा पनि सुनुवाइ नभएको उनी बताउँछन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...