पुनर्निर्माण दशक: कानुनले मात्र हुँदैन पुनर्निर्माण
१३ वैशाख २०८२
•
१० मिनेट पाठ
पुनर्निर्माण दशक: कानुनले मात्र हुँदैन पुनर्निर्माण
ठ्याक्कै १० वर्षअघि एक्कासि निकै जोडले धरती हल्लिँदा हल्लिने घर मात्र थिएनन्, हल्लिएको थियो विश्वास, हल्लिएका थिए सपनाहरू, हल्लिएको थियो संस्कृति र क्षणभरमै ध्वस्त भएका थिए जीवनका भरोसा। दिउँसो ११ बजेर ५६ मिनेटमा सात दशमलव ८ म्याग्निच्युडको भूकम्पले क्षणभरमै सब थोक उल्टियो।  




भूकम्प प्रभावित ३१ जिल्लामध्ये गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुरलगायत १४ जिल्ला अति प्रभावित बने। २०७२ साल वैशाख १२ गतेको कहाली लाग्दो त्यो क्षण इतिहासमा एउटा सम्झनलायक कालखण्ड थियो। तर, यो शक्तिशाली भूकम्प केवल भौगोलिक विपद् मात्र थिएन। त्यो त चेतावनी थियो। हामी कति सजग छौं, कति अबोध छौं, अनि कति कमजोर संरचना बनाएका छौं, उद्धार र पुनर्निर्माणमा कस्तो नीति लिएका छौं भन्ने कुराको परीक्षण पनि थियो।

१९९० सालको भूकम्पपछि २०७२ वैशाख १२ गते गोरखाको बारपाकनजिकै केन्द्रबिन्दु भएर गएको नेपालको पछिल्लो शक्तिशाली भूकम्पमा उद्धार र राहतमा निकै कठिन अवस्था आइपरेको थियो। एउटा निश्चित क्षेत्रलाई प्रभाव पार्ने सानातिना भूकम्प आइरहे पनि अबका दिनमा शक्तिशाली भूकम्प आउँदा कसरी उद्धार र राहत तथा पुनर्निर्माण गर्ने भन्ने विषय अझै चुनौतीपूर्ण नै छ। यसको पाठ सिक्दै संघ, प्रदेश र स्थानीय तहलाई बढी जिम्मेवार बनाउनुपर्ने अवस्था आएको छ।

मुख्य गरी भूकम्पमा मानिस आफैंले बनाएका संरचनाले नै पुरिएर बढी मानवीय क्षति भएकाले भूकम्पीय जोखिमलाई ध्यान दिएर भवनहरू बनाउनु पर्ने प्रमुख आवश्यकता छ। हामीले सुन्दर घर मात्र होइन, सुरक्षित घर बनाउने सोच ल्याउनुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्ने अवस्था छ।

हरेक पालिकामा जोखिम मुक्त नक्सा आवश्यक छ। प्रत्येक भवन निर्माणमा इन्जिनियरको अनुमोदन अनिवार्य बनाइनुपर्छ। विपद् सचेतना अभ्यासलाई स्कुल पाठ्यक्रममा समावेश गर्नुपर्छ। संघ, प्रदेश र स्थानीय तहमा विपद् कोष स्थापना गरी स्थानीय स्रोत प्रयोग हुनुपर्दछ। भूकम्प रोक्न सकिँदैन तर भूकम्पबाट मर्न रोक्न सकिन्छ भन्ने सोचका साथ सरकार अघि बढ्नुपर्ने देखिन्छ।

२०७२ को भूकम्पपछि बनाइएका भवनहरू, नयाँ स्कुल, घर र अस्पतालहरूले नयाँ आशा बोकेका छन्। २०७२ मा थामिन नसक्ने शोकको भारी बोकेको देश, बिस्तारै, तर मजबुत तरिकाले फेरि उठ्न थालेको छ। यसले एउटा आशा त जगाएको छ तर भूकम्प गएको  १० वर्ष पुग्दा पनि अझै हामी सोधिरहेका छौं, ‘अर्को चोटि आयो भने के हुन्छ?’

नेपाल अन्तर्राष्ट्रिय सन्धिसम्झौताहरूको हस्ताक्षरकर्ता त थियो, तर २०७२ सालको भूकम्पमा तयारी भने अधुरो, अधकल्चो देखियो। यसले यो देशको आपत्कालीन पूर्व तयारीको अधुरोपन पनि उजागर भयो। खोज, उद्धार र राहत यी तीन कुराले गाँसिएको आशाको डोरी कतै तन्कियो, कतै चुँडियो। मृत शरीरहरू पुरिएका थिए, बाँचेकाहरू आँसु पुछिरहेका थिए। राज्य त आफ्नै व्यवस्था मिलाउने कसरतमा अलमलिएको थियो।

राहत वितरण असमान, अनियमित र केही ठाउँमा त पूर्ण रूपले अनुपस्थित देखिन्थ्यो। कोही पाल मुनि बसिरहेका थिए, कोही खुला आकाशलाई नै छाना मानेर आश्रय मागिरहेका थिए। विभिन्न अध्ययन अनुसन्धानअनुसार भूकम्पको जोखिममा नेपाल विश्वको ११औं स्थानमा छ भनिरहँदा पनि राज्य भूकम्प प्रति बेखबर जस्तै बन्यो।

हामीलाई अबका दिनमा पनि ठुलो भूकम्पको धक्का दिने निश्चित छ। त्यसैले राज्यबाट फेरि पनि यस्तै कमजोर तयारी भएमा अझै ठुलो मानवीय क्षति हुने हुनाले पनि यहाँका जनता तथा स्थानीयवासीलाई भविष्यको सुरक्षाका लागि प्रभावकारी नीति र त्यसको कार्यान्वयनको आवश्यकता छ।

२०७२ सालको भूकम्पमा राहत वितरणमा मात्र समस्या भएन पुनर्निर्माण कसरी गर्ने ? कसले गर्ने ? कुन निकाय जिम्मेवार हुने जस्ता अन्योलले समय बितायो। यस्तो राज्यको दिशाहीनताले पीडालाई अझ गहिरो बनायो। यद्यपि, तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा राष्ट्रिय योजना आयोगले समयमै ‘भूकम्पोत्तर आवश्यकता पहिचान प्रतिवेदन’ तयार पार्‍यो, जुन आशाको किरण बनेर उदायो।

२०७२ असार १० गतेको दातृ सम्मेलन नेपालको इतिहासमै एउटा उल्लेखनीय क्षण बन्यो। जहाँ करिब ४ खर्ब ४० अर्ब रूपैयाँबराबरको वैदेशिक सहयोग प्रतिबद्धता प्राप्त भयो। तर, त्यो सहयोग पनि अलि ढिलो मात्र देशले अनुभूत गर्न सक्यो। जब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि कानुनी ढाँचा, संस्थागत संरचना र व्यवस्थापकीय संयन्त्रको प्रारम्भ भयो। २०७२ पुस २७ गते निर्देशक समिति गठन अनि २०७२ माघ २ गते सबै प्रमुख दलको साझा संकल्प पनि गरियो। यी सबै घटनाहरू पुनर्निर्माणको लयमा फर्काउने तर्फको पहिलो चाल थिए।

भूकम्पपछिको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (एनआरए) २०७२ पुस १० गते गठन गरियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएपछि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरियो। त्यसपछि राष्ट्रिय पुनर्निर्माण तथा पुनर्स्थापना नीति, २०७२ जारी गरी आफ्नो काम अघि बढायो। १९९० सालको महाभूकम्पपछि आएको यो विनाशकारी भूकम्पबाट अति प्रभावित १४ जिल्लासहित ३१ जिल्ला प्रत्यक्ष प्रभावित भएको औंल्याइयो।

विपद्पछिको आवश्यकता आकलन प्रतिवेदनमा सो भूकम्पमा परी आठ हजार ७९० जनाले ज्यान गुमाए भने २२ हजार तीन सय जना घाइते भएको र भौतिक क्षतिको हकमा चार लाख ९८ हजार ८५२ निजी घर र दुई हजार ६५६ सरकारी भवन पूर्ण रूपले क्षतिग्रस्त भएको उल्लेख गरियो। आंशिक रूपले दुई लाख ५६ हजार ६९७ निजी भवन र तीन हजार ६२२ सरकारी भवन क्षतिग्रस्त भएको प्रतिवेदनमा उल्लेख थियो।

विद्यालय भवनहरूका हकमा १९ हजारभन्दा बढी कक्षा कोठा पूर्ण रूपमा र ११ हजारभन्दा बढी कक्षा कोठा आंशिक रूपमा क्षति भएको उल्लेख थियो। एनआरएले आफ्नो कार्यकालमा सात लाख ५५ हजार निजी आवास, सात हजार पाँच सय शैक्षिक संस्था, ११ सय स्वास्थ्य संरचना, ९ सय सांस्कृतिक सम्पदा, चार सय सरकारी भवन, २१६ सुरक्षा निकाय भवन, आठ सय किलोमिटर सडक र १५ सय खानेपानी संरचना निर्माण गरेको छ।

एनआरएले आफ्नो काम अघि बढाउने क्रममा धेरै चुनौतीको सामना गर्नुपर्‍यो। बलियो घर तथा भवनको परिकल्पना गरिए पनि काममा सुस्तता देखियो। सरकार फेरिएसँगै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत फेरिने कार्यले पुनर्निर्माण असर पर्न पुग्यो।

यसबिच कोभिड–१९ को महामारीले पनि पुनर्निर्माण असर पर्‍यो। तैपनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो गतिमा काम गर्दै जाँदा २०७८ पुस ९ गतेसम्म आफ्नो जिम्मेवारीको काम गर्‍यो। ६ वर्षमा महत्त्वपूर्ण मानिएका धरहरा, रानी पोखरी, दरबार हाईस्कुललगायतको पुनर्निर्माण र सिंह दरबारको रिट्रोफिटिङको काम सकियो। अवधि सकिएपछि एनआरएले आफ्नो बाँकी काम सम्बन्धित मन्त्रालय र विभागलाई जिम्मा लगायो। जसमा शिक्षा मन्त्रालय, सहरी विकास मन्त्रालय पुरातत्त्व विभागले आ–आफ्नो क्षेत्रको काम अघि बढाउँदै लगे। अन्य पुनर्निर्माणको काम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) लाई सुम्पियो। केही पुनर्निर्माणको काम अझै बाँकी नै देखिन्छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ऐन २०७४ मा जारी भएको दुई वर्षपछि २०७६ कात्तिक २९ गते ‘एनडिआरआरएमए’  स्थापना भएको थियो। यो ऐनले पुरानो प्राकृतिक प्रकोप (नियन्त्रण) ऐन, २०३९ लाई प्रतिस्थापन गर्‍यो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (एनआरए) को अवधिसम्म  ‘एनडिआरआरएमए’  ले भूकम्पको पुनर्निर्माणको काम गरेको थिएन।  २०७९ मा डोटी, २०८० मा बझाङ, बाजुरा, २०८१ मा लमजुङमा गएको भूकम्पमा भने एनडिआरआरएमए मार्फत सहयोग वितरण, अनुदान प्रणाली, पुनर्निर्माण प्रक्रिया, पुनस्र्थापनालगायत कार्य अघि बढाइएको थियो। जब विपद् आउँछ उद्धार र राहतमा सरकार कति सफल र असफल भन्ने कुरा थाहा हुन्छ। यसो गर्दा राम्रो हुन्थ्यो होला भन्ने महसुस बल्ल हुन थाल्छ।

२०७२ सालको भूकम्पमा स्थानीय जनप्रतिनिधिको बढी अभाव महसुस भएको थियो। यही अनुभूतिसँगै, सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ र सो सम्बन्धित नियमावली, २०८१ मा संघ, प्रदेश र स्थानीय तहलाई शक्तिशाली बनाएको छ। अर्कोतर्फ सहरी विकास मन्त्रालयअन्तर्गत भवन विभागको भवन संहिता शाखाले २०७२ को भूकम्पपछि मात्रै कुन ठाउँमा घर बनाउने कस्तो घर बनाउँदा उपयुक्त हुने लगायत विषयमा क, ख, ग, घ गरी चार किसिमका घरको विषयमा स्पष्ट नीति बनाई संहितालाई संशोधन गने र नयाँ बनाउने काम गरेको छ।

अहिलेसम्म २३ वटा संहिताका भोलुम तयार पारिएको छ। पछिल्लो राष्ट्रिय भवन संहिता २०८१ जेठ २८ गते राजपत्रमा प्रकाशित भयो। अर्कोतर्फ भवन निर्माण कार्यविधि परिमार्जन गरी लागु गरिएको छ। अहिले उपत्यकाका सातवटा पालिकामा लागु गरिएको छ। भूकम्प संहिताले घरको डिजाइन र निर्माणको विषयमा मापदण्ड उल्लेख गरेको छ भने कार्यविधिमा घरधनी, नगरपालिका, निर्माण व्यवसायी र निगरानीकर्ता सबैले पालना गर्नुपर्ने नियमहरूलाई उल्लेख गरिएको छ।

काठमाडौंमा टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, ललितपुरमा ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, दक्षिणकाली नगरपालिका, बागमती गाउँपालिका र भक्तपुरमा सूर्यविनायक नगरपालिकामा कार्यविधि लागु भएको छ। अब यसलाई देशैभरी लागु गर्ने तयारीमा भवन विभाग रहेको छ। सुरक्षित भवनबारे सबै पालिकाहरूमा परिपत्र गर्नका लागि सामान्य प्रशासन मन्त्रालयमार्फत जानुपर्ने भए पनि सामान्य प्रशासन मन्त्रालयले यसबारे सहयोग नगरेको भवन विभागको गुनासो छ।

भूकम्पबारे घरधनी पनि आफैं सचेत छैनन्। सस्ता सामानबाट घर बनाउन खोज्ने कार्यले पनि सरकारी भवनभन्दा पनि निजी आवासका लागि समस्या परिरहेको छ। सरकारी भवनहरू प्राविधिकको रेखदेखमा निर्माण हुने भएकाले त्यति समस्या छैन तर निजी भवन धेरै नै जोखिममा रहेका छन्।

असुरक्षित घरहरूलाई एक पटकका लागि स्थानीयत तहमा अभिलेखीकरण गर्ने भनिए पनि नयाँ घरहरू बनाउने र पटकपटक अभिलेखीकरण गर्ने कार्य हुँदै आएको छ। यसमा स्थानीय सरकारले कडाइ गर्न सकेको छैन। जसबाट अभिलेखीकरण हुने घरहरूको वृद्धि हुँदै आएको छ। यस्तो कार्यले नयाँ घरहरू भूकम्पप्रतिरोधी बनिरहेका छैनन्। जसबाट ठूलो भूकम्प जानासाथ पुराना मात्र हैन नयाँ घरहरू पनि पूर्ण रूपमा क्षतविक्षत हुने देखिएको छ।

कतिपय ठुला नगरपालिकामा नक्सा पास गरेर घर बनाए पनि अनुगमन राम्रोसँग भइरहेको छैन। अनुगमन घर निर्माणको सुरुदेखि अन्त्यसम्म तीनपटक गर्नुपर्दछ। तर, घर ढलान भएपछि मात्रै अनुगमन हुने गरेको छ। जसबाट नक्सापास भइरहेका घरहरू पनि अनुगमनको कमजोरीका कारण निर्माण सकिँदा कमजोर नै देखिएका छन्। सबै पालिकामा इन्जिनियरहरू अनिवार्य हुनुपर्दछ। तर अझै पनि सबै पालिकामा इन्जिनियरहरू राखिएका पनि छैनन्।

भूकम्पप्रतिरोधी घरहरू बनाउन धेरै नै तालिमप्राप्त कालीगढको आवश्कता छ। तालिम दिएका डकर्मी, सिकर्मीलाई देशमा राख्न सकिएको छैन। स्थानीय तहमा प्रशासकीय अधिकृतलगायत कर्मचारीले पनि भूकम्पप्रतिरोधी घरहरू निर्माणका लागि भूमिका खेलिरहेका छैनन्। नगर र गाउँ पालिकाले आफ्नो महत्त्वपूर्ण कामका लागि तयार गरेको इन्डिकेटरमा भूकम्पको विषय राखिएको पाइँदैन।

सरकारले बनाएका ऐन, नियम र भवन संहिता कानुनी दस्तावेज मात्र होइनन्, बरु भविष्यलाई सुरक्षित बनाउने नक्सा हुन्। यी नीतिहरूले जोखिम सम्भावना कमको सन्देश बोकेका छन्। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ऐन आएपछि विपत् व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न प्रधानमन्त्रीको अध्यक्षतामा जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् गठनको व्यवस्था गरिएको छ। प्रत्येक प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश विपत् व्यवस्थापन समिति गठन भएको छ।

प्रत्येक स्थानीय तहमा गाउँपालिकाका अध्यक्ष तथा नगरपालिकाको प्रमुखको अध्यक्षतामा स्थानीय विपत् व्यवस्थापन समिति गठन गरिएको छ। प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको  जिल्ला विपत् व्यवस्थापन समिति गठन गरिएको छ। परिषद्बाट स्वीकृत नीति तथा योजनाको कार्यान्वयन गर्ने गराउने कामसमेतका लागि एक कार्यकारी समिति रहने व्यवस्था गरिएको छ। संघको गृहमन्त्री संयोजकत्वको कार्यकारी समिति रहने व्यवस्था गरिएको छ। प्रदेश गृहमन्त्रीको संयोजकत्वमा प्रदेश कार्यकारी समिति रहने व्यवस्था गरिएको छ।

२०७६ मंसिर २९ गते कार्यकारी प्रमुखको नियुक्तिसँगै जीवन पाएको एनडिआरआरएमएले अहिले सिंहदरबारमा अवस्थित छ, जहाँबाट यो मुलुकको सबै विपद् (जस्तै भूकम्प, डढेलो, बाढी पहिरो, चट्याङबाट हुने क्षति) न्यूनीकरणसम्बन्धी सबै नीतिगत सूत्रहरू बुन्छ। प्राधिकरणलाई आवश्यक परेमा अर्थ मन्त्रालयको सहमतिमा सरकारसँग अपुग रकमको माग गर्न सक्ने अधिकार दिइएको छ। त्यस्तै, विपद् व्यवस्थापनका लागि प्रदेश, जिल्ला र स्थानीय तहमा पृथक् कोषहरू स्थापना गरिएको छन्, जहाँबाट आवश्यक खर्च माग गर्न सकिने व्यवस्था छ।

भूकम्पबाहेक अरू  विपत्तिका लागि संघ, प्रदेश र स्थानीय तहबिच साझेदारी बनेको छ। यस साझेदारीमा केन्द्रीय कोषले ५० प्रतिशत, प्रदेशले ३० प्रतिशत र स्थानीय तहले २० प्रतिशतको अनुदान जुटाउनेछन्। तर, जब भूकम्पजस्तो भीषण विपद्का कारण आवास पूर्ण रूपमा ध्वस्त हुन्छ तब सम्पूर्ण जिम्मेवारी केन्द्रीय कोषले बहन गर्नुपर्नेछ।

यदि कुनै प्रदेश र स्थानीय तहले विपतका लागि छुट्याइएको रकम अपुग भएमा प्रमाणसहित केन्द्रमा रहेको राष्ट्रिय परिषद्को सिफारिसमा कार्यकारी समितिले त्यो अभाव पूर्ति गर्नेछ। यसरी, विपद् जोखिम न्यूनीकरण अब केवल प्रतिक्रिया दिने प्रक्रिया होइन, एक समर्पित दायित्व र भविष्यप्रति उत्तरदायित्व हो। कानुनको अक्षरभित्र लेखिएका यी कुराले अब व्यवहारमा प्रयोग गर्न राज्यले प्रभावकारी कदम भने चाल्नुपर्ने अवस्था आएको छ।  

पश्चिम क्षेत्रमा ५२० वर्षदेखि ठुलो भूकम्प गएको छैन। कुनै पनि बेला त्यसक्षेत्रमा ठुलो भूकम्प जानसक्ने खतरा रहँदै आएको भूकम्पविद्ले बताएका छन्। २०७२ सालको भूकम्पले ६ खर्व ३ अर्ब (जुन दुई बर्षको पुँजीगत खर्चसरह हो) रकम खर्च भएको थियो। अब पनि सोबराबरको हैसियतको भूकम्प गएमा त्योभन्दा बढी खर्च हुनजाने अनुमान छ।  
अर्को समाचार
पुनर्निर्माण दशक: एक नायक लक्ष्मण बस्नेत
१३ वैशाख २०८२
•
५ मिनेट पाठ
पुनर्निर्माण दशक: एक नायक लक्ष्मण बस्नेत
दश वर्षपहिले गएको कहालीलाग्दो भुइँचालोको डर धेरै नेपालीको मनमस्तिष्कबाट अझै हट्न सकेको छैन। शक्तिशाली भूकम्पले धेरैको ज्यान लियो, लाखौं नेपालीलाई महिनौं दिनसम्म बाहिर राख्यो। भूकम्प सुन्दैमा मानिसको मनमा एक प्रकारको त्रास उत्पन्न हुन थाल्यो। भूकम्पलाई बढी सम्झनाका लागि उद्धारमा खटिएका पात्रहरू नै पहिल्याउनुपर्ने हुन्छ। भूकम्पले थिचिएर सड्न सुरु गरेका शवमाथि मन बलियो बनाउँदै धेरैलाई जीवितै उद्धार गरेका त्यतिबेलाका धेरै नायक छन्।




२०७२ साल वैशाख १२ गते बिहान ११.५६ मा गएको ७.६ रेक्टरको भूकम्प र त्यसपछि १३ र २९ गते गएका शक्तिशाली पराकम्पका कारण देशका १४ जिल्ला अति प्रभावित भएका थिए। नेपाल सरकारले ती जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर आएको यो भूकम्पले राजधानी काठमाडौंसहित एक दर्जन जिल्लामा प्रभाव पारेको थियो। भूकम्पमा परी १० हजारभन्दा बढीको ज्यान गएको थियो।

सरकारले भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण गर्न पुनर्निर्माण प्राधिकरण गठन गरेको थियो। भूकम्पबाट सर्वसाधारणका घर, सरकारी भवन, स्कुल, स्वास्थ्य चौकी, प्रहरी चौकी, पुल, पुरातात्त्विक सम्पदालगायत पाँच लाखभन्दा बढी संख्यामा भौतिक संरचना भत्केका थिए। उद्धारका क्रममा केही साहसी नायकहरू रहेको देखाइदियो। तिनैमध्येका सशस्त्र प्रहरीका तत्कालीन निरीक्षक र हालका डिएसपी लक्ष्मण बस्नेत एक मुख्य पात्र हुन्। रौतहटको चन्द्रपुर नगरपालिका–१० सन्तपुरका स्थायी बासिन्दा लक्ष्मणबहादुर बस्नेत त्यति बेलाका साँच्चै नायक थिए ।

भूकम्प गएको पाँच दिनपछि अर्घाखाँचीका ऋषिराम खनाल र ६ दिनपछि नुवाकोटका पेम्बा लामालाई बस्नेतले सामान्य औजार प्रयोग गरेर जीवितै उद्धार गरेका थिए। ‘उद्धार कार्यमा म एक्लै थिइनँ, मेरो टिम थियो,’ तर उनी त्यसको जस आफू मात्र लिन खोज्दैनन्।

२०६४ साल असार ६ गतेदेखि सशस्त्र प्रहरीमा सेवामा प्रवेश गरेका बस्नेत अहिले पनि विपद् प्राधिकरणमा सशस्त्र प्रहरीको तर्फबाट विज्ञका रूपमा कार्यरत छन्। देशभर भूकम्पबाट सुरक्षित हुने विषंयमा प्रशिक्षण दिइरहेका छन् ।

डिएसपी बस्नेत यतिबेला अर्खाखाचीका ऋषिरा खनाल र नुवाकोटका पेम्बा लामा सम्झँदै भन्छन्– ‘भित्र कोही हुनुहुन्छ! हुनुहुन्छ भने प्लिज बोल्नुस्, हामी सशस्त्र प्रहरी हौं। हामी उद्धारकर्मी हौं। तपाईंलाई हामी जीवितै उद्धार गर्छौं भन्यौं तर कोही बोल्ने अवस्थामा थिएनन्। थिए भने पनि उनीहरूको मृत्यु भइसकेको थियो। निकै कहालीलाग्दो अवस्था थियो ।’ वैशाख १२ पछि सशस्त्र प्रहरीका तर्फबाट खटिएका तथा उद्धारका लागि खटिएका अन्य सुरक्षाकर्मीहरूले ठुलो जोखिमको पहिलो काम गर्नुपरेको उनको अनुभव छ।

जतिबेला उद्धारमा खटिएका सुरक्षाकर्मीहरू अप्ठ्यारोमा परेर जीवनमरणको अवस्थामा रहेका मानिस जीवित उद्धार गर्न पाए हुन्थ्यो भन्ने उनीहरूलाई लागिरहेको थियो। ‘भित्र कोही भएको थाहा पाउँदा आफूलाई कतिबेला उद्धार गरौं भन्ने हुटहुटी लागिरह्यो। सयौं घाइतेको उद्धार गरियो, अस्पताल पु¥याइयो। भत्किन लागेका संरचना सकुशल हटाइयो,’ उनले आफ्नो अनुभव सुनाए। त्यतिबेला सबैजसो सुरक्षाकर्मीहरूले  द्रूत गतिमा काम गरेका थिए। ‘सशस्त्र प्रहरी मात्र होइन, सेना, नेपाल प्रहरी र सर्वसाधारण उद्धारकर्मीहरू पनि यसमा खटिएका थिए। आफ्नो स्रोत साधनले भ्याएसम्म काम गरेका थिए,’ डिएसपी बस्नेतले त्यति बेलाको उद्धार कर्मबारे बताएका छन् ।

वैशाख १२ गते शनिबार गोरखा केन्द्रविन्दु भएर भूकम्प गएपछि उनकै  नेतृत्वमा खोज तथा उद्धारका लागि काठमाडौंमा खटिएको थियो। बस्नेतको टोलीले काठमाडौंको गोंगबु, नयाँ बसपार्क, मित्रनगर क्षेत्रमा खोजतलास गर्‍यो। उनका अनुसार टोलीमा उद्धार उपत्यका गण, विदेशबाट खटिएको उद्धार टोली साथमा थियो।

बढी प्रभावित जस्ता देखिएका  हिल्टन र सँगै जोडिएको दीपावली गेस्ट हाउसबाट खोजतलास र उद्धारमा खटिएको सम्झाना गर्दै उनले भने– ‘सात तलाको गेस्ट हाउसबाट १३ गते नै खोजी सुरु गरिएको थियो। त्यहींबाट हो जस्तो लाग्छ बालक जोन केसीलाई दुई दिनपछि १५ गते बिहान जीवितै उद्धार गरेका थियौं। ती बालकलाई उपचारका लागि भारत पठाएको थाहा छ। त्यसपछि उनको अवस्थाबारे मलाई जानकारी छैन।’

‘ती दिनलाई सम्झियो भने अहिले पनि अत्याश लाग्छ,’ उनी ती दिनबारे स्मरण पनि गर्न नपारोस् भन्छन्। ‘सुरक्षित हुने कुनै भरपर्दा साधन थिएनन्। जति थियो त्यति मात्र पर्याप्त थिएन। अहिले त केही स्रोत साधन सम्पन्न छन्,’ त्यतिबेलाको परिस्थिति सम्झँदै भने, ‘भूकम्प गएको तेस्रो चौथो दिनसम्म मानिसमा कोलाहल थियो, आत्तिएका थिए। त्यही क्रममा हाम्रो टोली गाेंगबुको सयपत्री गेस्ट हाउसमा पुग्यो। त्यहाँ मानिस पुरिएको हुनसक्ने आशंका थियो। काम सुरु गरेको केही घण्टापछि कोही जीवितै छ भन्ने संकेत पाएपछि अझ होसियारीपूर्वक काम थालियो।’

उनका अनुसार त्यहाँ भित्रबाट आवाज आउने अवस्था थिएन तर भित्रबाट ढकढक पारेको आवाज आएपछि झ्याल फोडेर ढलान काट्दै घरको माथिल्लो तलामा गएर झ्यालबाट तल झरेपछि २८ वर्षका ऋषि खनाललाई उद्धार गरिएको थियो। ‘उनलाई जीवितै निकाल्न सफल भयौं। अप्ठ्यारोमा फसेकालाई निकाल्न थालेको काम त्यतिकै छोड्न मिल्दैन। भोक तिर्खा भन्दा मानिसको ज्यान ठुलो हो भन्ने सम्झेर काम गर्नुपर्छ,’ डिएसपी बस्नेतले पुरानो सम्झना मानसपटलमा घुमाए। उनले गर्वसाथ भने, ‘आफ्नो ज्यानको बाजी लगाएर अरूको ज्यान बचाउनुजत्तिको आनन्द जीवनमा अरू कुनै आनन्द छैन ।’

उद्धारपछि पनि उनीहरू डिएसपी बस्नेतको सम्पर्कमा रहेका छन्। खनालसँग काठमाडौं आएका बेला कुराकानी हुने गरेको र अर्का पेम्बा लामासँग भने कहिलेकाहीं मात्र कुराकानी हुने गरेको बताउछन्। खनालको उद्धार गरेकै भोलिपल्ट नुवाकोटका पेम्बा लामाको पनि उद्धार गरिएको थियो। उनको उद्धार एक सय २० घण्टापछि बस्नेत नेतृत्वको टिमले गरेको थियो ।

त्यतिबेला सुरक्षाकर्मीले खेलेको भूमिकालाई लिएर सरकारी तथा सर्वसाधारणबाट मुक्त कण्ठले प्रशंसा गरिएको थियो। जनशक्तिको अभाव,  क्षमता अभिवृद्धि र साधनस्रोत अपुगजस्तो परिस्थितिमा पनि सुरक्षा अंगमा कार्यरत सबैले ज्यानको बाजी लगाएर काम गरेका थिए।

महाभूकम्पपछि कुनै पनि सुरक्षा निकायले बिदा लिएका थिएनन्। सुरक्षाकर्मी स्वयं घाइते हुँदासमेत उनीहरू उद्धारमा नै खटिइरहेका थिए। ‘हाम्रो तालिम, उपकरण र राज्यले दिएको दायित्व त्यहीं गएर सकिन्छ। हाम्रो जिम्मेवारी र औचित्य पुष्टि हुन्छ। हामीसँग उपकरण हुँदै नभएको होइन, तर कतिपय उपकरण यस्ता विपद्मा काम लाग्दैनन्। किनभने हाम्रा संरचना र उपकरणको तालमेल मिल्दैन। यहाँ साँघुरा गल्ली छन्, त्यहाँ कसरी ठुला साधन लैजाने भन्ने समस्या छ। एक हातले गर्नुपर्ने काममा गह्रौं उपकरण कसरी चलाउने समस्या नै छ,’ त्यसबेलाको अभावको विश्लेषण गर्दै डिएसपी बस्नेतले भने, ‘तर जे थिए, त्यसको उच्चतम प्रयोग भने गरेजस्तो लाग्छ। साधारण घरमा काठ र ढुंगा माटो हुन्छ। त्यसलाई हटाउन सजिलो हुन्छ। तर छड सिमेन्ट जोडिएका भवनमा काम गर्न निकै कठिन हुन्छ ।’
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस