‘जोरायली बासमती धान’ डोटीको पहिचान
०५ कार्तिक २०८१
•
४ मिनेट पाठ
‘जोरायली बासमती धान’ डोटीको पहिचान
डोटीको दक्षिणी क्षेत्रमा पर्ने जोरायल क्षेत्र मसिनो बास्नादार बासमती धान फल्ने ठाउँका लागि चर्चित छ। नेपालमा अन्यत्र कतै उत्पादन नहुने परम्परागत (रैथाने) जातको ‘जोरायली बासमती’का खेतको  धान काटेर भित्र्याउन भ्याइनभ्याई छ।




कर्मनासा नदीको वरिपरि देखिने धानका फाँटसहितको वरिपरिको प्राकृतिक दृश्य रमणीय छ। जोरायल गाउँपालिकामा पर्ने जोरायल क्षेत्रको भूबनोट वरिपरि पहाड र बीचमा समथर भू–भाग रहेको छ। प्राकृतिक रूपमा मनोरम यो क्षेत्र समुद्र सतहदेखि अनुमानित एक हजार आठ सय मिटरको उचाइमा रहेको छ।

अढाइ दशकदेखि सडक सञ्जाललगायत विकासका पूर्वाधार पुगेपछि सो क्षेत्रको समग्र विकासमा टेवा पुगिरहेको स्थानीयवासीको अनुभव छ। ‘सडक नहुँदा जोरायल क्षेत्रमा मालसामान ढुवानी गर्न र आवागमन गर्न समस्या थियो’, स्थानीय मदनराज जोशीले भने, ‘अहिले सडक पूर्वाधार पुग्दा किसानले आफ्नो कृषि उपज सहज रूपमा बजारसम्म पुर्याउन पाएको मात्र नभई आवागमन गर्न निकै सहज बनेको छ।’

कैलालीको सीमासँग जोडिएको जोरायल क्षेत्रले रैथाने जातको मासिनो बास्नादार बासमती धान उत्पादनका लागि सदियौँदेखि छुट्टै पहिचान बनाएको छ। खानामा स्वादिलो, नरम र बास्नादार हुने विशेषताका कारण ‘जोरायली बासमती’ले यो क्षेत्रको पहिचान बनाएको हो। बासमती चामलको माग सबैतिर हुन थालेसँगै कतिपय स्थानीय युवाहरू यसको कारोबार गरेर आम्दानी गर्न आकर्षित भइरहेका छन्।

पछिल्ला वर्षमा यो धानको व्यावसायिक खेती सुरु भएसँगै स्थानीय किसानको आयआर्जन वृद्धि भइरहेको स्थानीय युवा भक्तराज जोशीले बताए। उनले भने, ‘व्यावसायिक रूपमा यसको खेती सुरु भएसँगै धान उत्पादन गर्ने किसानमात्र नभएर धानबाट चामल बनाएर कारोबार गर्दा भइरहेको आम्दानीले युवाहरू आकर्षित भएका छन्।’

स्थानीय किसानले आफ्नो घरायसी उपभोगका लागि मात्र खेती गर्ने गरेकामा पछिल्लो दशकमा व्यावसायिक रूपमा समेत यसको खेती गर्न थालिएको छ। यो धानले खेतीयोग्य अधिकांश जग्गा ओगट्न थालेपछि मार्सी, सलौज, थापाचिनीजस्ता रैथाने जातका धानखेती गरिने क्षेत्रफल भने घट्दै गएको जनाइएको छ।

खेतका फाँट छेउ हुँदै बग्ने कर्नासी, गोगनी, सैगडालगायत नदीको पानीले खेतका फाँट सिञ्चित गर्न सहज भइरहेको छ। अग्लो ठाउँको  र पाखो जग्गामा भने सिँचाइ पुर्याउन सकिएको छैन। सिँचाइ नपुगेको जग्गामा अन्य जातका धानखेती हुने गर्छ।

यो क्षेत्रको समथर जग्गाको नदी छेउका फाँटको हावापानीमा बासमती जातको धान उत्पादनका लागि उर्वरभूमि मानिन्छ। धनगढी, अत्तरियालगायत सहरी क्षेत्रमा बासमती चामलको भात खाने बानी परेका सौखिनहरू यसको चामल खोज्दै हिंँडेको भेटिन्छन्। टोलको कुनै घरमा यो चामलको भात पाक्दै गर्दा पूरै टोलभरी पाक्दै गरेको भातको सुगन्ध फैलिन्छ।

तत्कालीन राजा महेन्द्रले गरेको जोरायल भ्रमणका क्रममा ‘जोरायली बासमती’ चामलको भातको प्रशंसा गरेको स्थानीय वयोबृद्धको भनाइ छ। पछिल्ला दशकमा यो धानको बीउ हराउने हो कि भन्ने चिन्ता स्थानीयमा बढेपछि गाउँपालिका र किसानको संयुक्त पहलमा यसको रैथाने बीउ संरक्षणको पहल पनि भइरहेको छ।

रासायनिक मलको प्रयोग नगरी गोबर कम्पोष्ट मलको प्रयोगले मात्र खेती गर्दा पनि यो धानको उत्पादकत्व राम्रो हुने गरेको स्थानीय किसानको अनुभव छ। पछिल्ला वर्षमा भने यसको खेती गर्दा रासायनिक मलको पनि प्रयोग गर्न थालिएको छ।

चाडपर्वका समयमा पकाइने मिठोमसिनो खानाको परिकारका रूपमा बासमती चालमको भातलाई लिने गरिन्छ। चाडपर्वका दिन छरछिमेकीसंँग पैंँचो मागेर भए पनि यो चामलको भात हरेकका घरमा पाक्ने गर्छ।

मिठोमसिनो हुने भएकाले यो चामल स्थानीय बजारमा पाइने चामलभन्दा बढी मूल्यमा खरिद बिक्री हुने गरेको छ। उत्पादन क्षेत्रमा बासमती धानको थोक मूल्य प्रतिकिलो रु ७० पर्छ। मिलमा कुटानी गरेको यो धानको चामल प्रतिकिलो रु एक सय २० पर्दा ढिकी कुटेको चामल भने प्रतिकिलो रु एक सय ४० पर्ने गरेको छ। धनगढीलगायतका क्षेत्रमा भने यसको चामलको मूल्य प्रतिकिलो रु एक सय ५० सम्ममा कारोबार भइरहेको छ।

जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा गाउँपालिकाले यो धानको बीउ संरक्षण, खेती विस्तार र उत्पादित धानको बजारीकण, प्राविधिक सहयोगलगायतका काममा किसानलाई सहयोग गरिरहेको बताउँछन्। ओझाले भने, ‘जोरायलका किसानको मुख्य आम्दानी स्रोत यो धान देखिएको छ, यसको कारोबार थप क्षेत्रमा विस्तार गर्नसके किसानको आम्दानी बढ्ने देखिन्छ।’

यसको माग बढेसँगै व्यापार गर्दा आम्दानी गर्न सकिने भएपछि बासमती धान दाइँ गर्ने मौसममा व्यापारीहरू धानखेतमै पुग्ने गरेका छन्। जोरायल क्षेत्रको धन्नास, बगडीगाउँ, चनकट्टे, सिलम्बाग, सुगाँल, राउतकट्टेलगायतका गाउँको एक हजारभन्दा बढी हेक्टर क्षेत्रफलको ओसिलो जग्गामा यो धानको खेती हुने गर्छ।

मसिनो तथा बास्नादार धानको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्ने प्रदेश सरकारको नीतिबमोेजिम रैथाने जातका अन्नबाली, मसिनो तथा बास्नादार धान उत्पादन कार्यक्रम संरक्षण सवंर्द्धनमा सहयोग गर्दै आएको छ। यद्यपि ठूलो क्षेत्रफलमा मसिनो तथा बास्नादार धानखेतीको क्षेत्रफल अपेक्षित रूपमा बढ्न नसक्दा प्रदेशका अधिकांश जिल्लामा खपत हुने मसिनो धान बाहिरी जिल्लाबाट आपूर्ति गर्नुपर्ने अवस्था छ।

बाहुन, क्षेत्री, दलित, ठकुरी, मगरलगायत समुदायको बसोबास रहेको यो क्षेत्रमा सडक, विद्युत्, सञ्चारलगायत विकासका आधारभूत पूर्वाधार जुटिसकेका छन्। अवसरको खोजीमा आफ्नो पुख्र्यौली थलो छाडेर वर्षौँअघि अन्यत्र बसाइँसराइ गरेका जोरायलवासी अहिले त्यहाँ भइरहेका सडकलगायत विकासका कामले पुनः आफ्नै जन्मथलोमा फर्किने हो कि भनेर सोच्न थालेका छन्। रासस
अर्को समाचार
डोटीमा किबीखेती विस्तार गरिँदै
१० कार्तिक २०८१
•
३ मिनेट पाठ
डोटीमा किबीखेती विस्तार गरिँदै
डोटी जिल्लास्थित कृषि ज्ञान केन्द्रले बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा ‘किबी क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार गर्न थालेको छ। दिपायल सिलगढी नगरपालिका तथा आदर्श र बोगटान फुड्सिल गाउँपालिकामा ‘हिउँदे फलफूल क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार थालिएको हो।




किबीका बोटबाट २५ वर्षभन्दा लामो समयसम्म आम्दानी लिन सकिने भएकाले यहाँका किसानलाई यसतर्फ आकर्षित गर्न ‘किबी क्षेत्र’ र ‘हिउँदे फलफूल क्षेत्र’ विस्तार कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख गङ्गादत्त अवस्थीले जानकारी दिए।

दिपायल सिलगढी नगरपालिका–६ का हेमबहादुर मल्लले नौ वर्ष पहिले नौ वटा किबीका बोट लगाएका थिए।तत्कालीन समयमा हालको कृषि ज्ञान केन्द्रको सहयोगमा किबीखेतीको सुरुआत गरेको उनले बताए। दुई रोपनी क्षेत्रफलमा नौ बोट लगाएर खेती सुरु गरेको बताउँदै उनले अहिले खेती विस्तार गरी ४० बोट पुर्‍याएको जानकारी दिए।

सुरुका चार वर्ष किबी हुर्काउन समय लागेको भन्दै मल्लले त्यसपछि दिन सुरु भएको बताए। हाल किबी बिक्रीबाट सबै खर्च कटाएर वार्षिक दुई लाखभन्दा बढी आम्दानी हुन थालेको उनले जानकारी दिए।

सुरुमा लगाएका प्रतिबोटमा वार्षिक  ३० देखि ४० हजारको किबी फल्ने गरेको मल्लले बताए। “जिल्लामा पहिलो पटक किबीखेती गरेकोले बजारको समस्या थियो। बिक्री गर्नु पहिले एक÷दुई दाना चखाएपछि मात्र खरिद गर्नुहुन्थ्यो”, उनले भने, “अहिले भने माग बाहिरी जिल्लाबाट पनि आउने गरेको छ । उपभोक्ताले घरमै आएर खरिद गर्ने भएकाले बजारको समस्या छैन।”

किबीखेती गर्दा काँटछाँट र मलजलमा बढी ध्यान दिनुपर्ने मल्लले उल्लेख गरे । काँटछाँटसम्बन्धी ज्ञान नभएमा उत्पादनमा कमी आउने भन्दै ज्ञान केन्द्रले यससम्बन्धी तालिम दिनुका साथै आवश्यक समन्वय गरिरहेकाले किसानलाई खेती गर्न सहज भएको उनको बुझाइ छ। आगामी दिनमा एक सय बोट थप गर्ने योजना रहेको उनले जानकारी दिए।

जोरायल गाउँपालिका–१ गैराका भास्कर भट्टले पाँच सयबढी बोट लगाएर किबीखेती गरिरहेका छन। सात वर्ष पहिले सामाजिक सञ्जाल युट्युबमा  भिडियो हेरेर किबीखेतीप्रति आकर्षित भएको बताउँदै उनले ६५ बोटबाट खेती सुरु गरेको जानकारी दिए।

तत्कालीन समयमा कृषि ज्ञान केन्द्रको सहयोगमा ५५ बोट र बाँकी आफ्नो लगानीमा खेती गर्न थालेको भट्टले अनुभव सुनाए । यस वर्षदेखि किबी बिक्री हुने उनले बताए। उनले भने, “बारीमा चार क्विन्टल किबी छ, बिक्रीका लागि धनगढीस्थित भाटभटेनीसँग समन्वय भएको छ। यहाँबाट पनि १०/१५ किलोका दरमा माग भइरहेकाले बिक्रीमा समस्या नहुने विश्वास लिएको छु।”

अर्को वर्षदेखि ५०–६० क्विन्टल किबी फल्ने भट्टले बताए। उनले किबीखेती गरिएको क्षेत्रभित्र विभिन्न किसिमका तरकारी पनि फलाए।

मल्ल र भट्ट जस्तै डोटीमा किबीखेती गर्ने किसानको सङ्ख्या पछिल्लो समय बढ्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ। जिल्लामा एक हजारभन्दा बढी किबीकाबोट रहेका भन्दै चारवटा फार्म सञ्चालन भइरहेका केन्द्रका प्रमुख अवस्थीले जानकारी दिए।  

जिल्लामा उत्पादित किबीका लागि बजारको समस्या नभएको बताउँदै भण्डारण गर्नुपर्ने अवस्था आएमा डडेल्धुरामा रहेको चिस्यान केन्द्रमा राखिने उनले उल्लेख गरे । केन्द्रले किसानलाई बिरुवा काँटछाँटसम्बन्धी तालिम दिने, औजार उपलब्ध गराउने, बजारीकरणमा समन्वयनलगायत सहयोग गरिरहेको छ। राष्ट्रिय समाचार समिति (रासस)
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १३ सेकेन्ड अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस