विपद्पीडितको गुनासो: राहत लिएर कोही किन आउँदैनन् ?
१७ असोज २०८१
•
७ मिनेट पाठ
विपद्पीडितको गुनासो: राहत लिएर कोही किन आउँदैनन् ?
'तपाईंहरु हामीलाई राहत दिन आउनुभएको हो ?' बाढीपीडितको अवस्थाबारे स्थलगत रिपोर्टिङ गर्न जाँदा ललितपुर महानगरपालिका–२५ फूलबारीमार्ग बस्ने सविता माझीको प्रश्न थियो।




'होइन नी हामी त तपाईंहरुको अवस्थाबारे रिपोर्टिङ गर्न आएको।' यो जवाफले एक्कासी अध्याँरो मुहार लगाएर माझीले भनिन्, 'ए, म त खानेकुरा दिन कोही आएछ कि भनेर नी।' काखमा छ महिनाकी दूधेबालक च्यापेर कोही राहत दिन आएको हो की भन्ने आशाले बाटो निहालिरहेकी रहिछिन उनी। तर हामी राहत बाँड्ने मान्छे नभएको थाहा पाएपछि भनिन्, 'अरु पनि आउँछन् यसरी नै। सोधेर जान्छन्। तर कोही राहत लिएर आउँदैनन्।'

सात दिनदेखि राम्रोसँग खानसमेत नपाएपछि शरीर कमजोर भएको उनको गुनासो छ। 'आफूले खान नपाएर दूध नआएपछि छ महिने छोरी पनि भोकले रोहिरहन्छिन्', माझी भन्छिन्, 'अर्को पनि बच्चा छ, उसलाई के खुवाउनु ? आफू त भोकै पनि केही समय बिताउन सकिएला, यी बच्चाहरु मान्दैनन् । रुन्छन् । के गर्नु ?' बाढीले बस्ने बासै उठाएको पनि साता दिन हुन लाग्यो । न बासको ठेगान छ, न गासको भन्दै टिलपिल टिलपिल आँखाभरि आँसु लिएर उनले भनिन्, 'बाढीले त बचायो, भोगले पो मरिन्छ कि क्या हो ।'

सोही स्थानका चर्तुमान माझीलाई पनि कोही नयाँ मान्छे आएको देख्दा राहत नै आयो की भन्ने आशा लाग्दोरहेछ। अहिले कसैले केही दिए साँझ के खाएर गुजारा टार्ने होला ? भन्ने चिन्ताले सताउने गरेको दुखेसो सुनाउछिन उनी। 'अहिले त न बस्ने बास छ, न खानका लागि गास छ, लगाउन त बरु यही शरीरमा भएको एकसरो लुगाले केही दिन कटाउन सकिएला। तर मुख्य खानेकुरै भएन', उनी भन्छिन्, 'नखाएर कति दिन बिताउन सकिएला ?'

अहिले बस्नका लागि आवास र खानका लागि मात्रै व्यवस्था भए पनि हुन्थ्यो नी झैँ लाग्छ, उनलाई। 'अरु ठूलो आशा र सपना पनि छैन, त्यही खान पाए र बस्न बासको माग गरेका त छौँ नी', माझी भन्छिन्, 'पछि त दुःख गरेर पनि कमाइएला र ऋण पनि तिरौँला। बाँच्न त बाँचियो भन्ने लागेर ऋण पनि खोजेँ तर कसैले पत्याएनन्।' कोठा भाडा तिरेर बस्छु भन्नेहरुका लागि कतै कोठा नभएको उनी सुनाउछिन। 'भए पनि एक्कासी महँगो बनाएका छन्', माझी भन्छिन्।

सोही टोलमा बस्ने सविता माझी बाढीको भेलले थुपारेको हिलोमा केही त भेटिन्छ कि भन्ने आशामा हिलो माटो खोतल्दै थिइन्। केही थान भाँडा भेटिएछ। अरु त सबै भेलसँगै बगाएर लगेछ। 'कसैले राहत दिएमा यही भाँडामा पकाउन पाइन्छ नि,' उनी भन्छिन्, 'सबै लग्यो बाढीले । धन्न ज्यान त बच्यो।'

माझी पनि राहत आउला कि भन्ने आशामा बसिरहेकी छिन्। 'बाढीले ज्यान त बचायो। खान नपाएर मर्न चाहिँ नपरोस्', उनी भन्छिन्, 'बच्चा छ । भोकाउँछन्, रोइहाल्छन् । के गर्नु ।' आमाको गुनासो सकिन नपाउँदै छेवैमा रहेकी सात वर्षीय छोरी खुसी माझी मलिन मुहारमा भन्दै थिइन्, 'पत्रकार अन्टी हाम्रो त घरै बगायो । मेरो किताब, कापी, लुगा सबै बगायो नी।'

फूलबारीमार्गकै नदी किनारामा बस्दै आएकी छिन्, गङ्गा थापा पनि । उनले यस्तो किसिमको विपद् आउला भनेर कहिल्यै कल्पनासमेत गरेकी थिइनन्। 'रातको ३ बजेको थियो, शौचलालय जान भनेर ब्युँझिएछु, पानी त भुइँभरि रहेछ । तीन छोराछोरी र श्रीमान्लाई पनि ब्युँझाए । भागाभाग भयो', थापा भन्छिन्, 'एकैछिनमा त आँखै अगाडि बस्ने बासै बगायो नी । धन्न भाग्यले बाँचियो।'

मानिसबाहेक सबै चिजहरु बगाएर लगेपछि उनलाई पनि खान, लाउन र बस्न धौधौ भइरहेको छ। अरुको घरमा भाडा माझेर जीवन गुजारा चलाउँदै आएकी थापाको लागि यतिबेला मानिस बाँच्नका लागि एकदमै आधारभूत आवश्यक वस्तु गास, बास र कपासकै जोहो गर्न गाहे भइरहेको गुनासो सुनाइन्। उनको परिवारले अहिले छिमेकीसँग मागेर खाइरहेको र डोलेश्वर स्कुलको पेटीमा बास बसेको उनको भनाइ छ। 'यस्तो आपत्त आइपर्ला भन्ने कहिल्यै कल्पना पनि गरेको थिइन। नसोचेकै भयो,' थापा भन्छिन्, 'जे भयो भयो । अब बाँच्नेलाई मुख्य त खाने र बस्ने व्यवस्था मिले हुन्थ्यो।'

वडा नं २५ नै बस्ने सीता थापामगरलाई आजभोलि कोही मानिस आएर राहत दिए पनि हुने झैँ लाग्छ। 'हामी भएको ठाउँमा कोही नआउन् । रित्तो हात त कोही पनि नआए नी हुन्थ्यो झैँ लाग्छ । राहत लिएर चाहिँ कोही किन आउँदैनन् ?' इन्दिरा सिञ्जाली मगर पनि खानेकुरा, पिउने पानी, बस्ने बासको अभावले जीवन नै कष्टकर बन्दै गएको गुनासो गर्छिन्। 'सोमबार वडा कार्यालायले भात खुवाउने भन्ने सुनेर गयौँ । जाँदा त खाने कुरा नै सकिएको रहेछ । अनि भोकभोकै फर्किनुप¥यो', उनले भनिन्, 'आज यही स्थानीय क्लबले खुवाएको थियो । कत्ति खुसी लाग्यो । खान नपाउँदाको पीडा नपाउनेलाई मात्रै थाहा हुन रहेछ।'

ललितपुरस्थित नख्खुको मेडिसिटी हस्पिटलको बायाँपट्टी साइडमा टेकमाया श्रेष्ठको घर छ। शुक्रबार रातको २ बजेतिर हल्लाखल्ला मच्चियो। के भएको रहेछ भनेर उठेर हेर्दा टोलैभरि नख्खु खोला छिरिसकेछ। भागेर बाहिर जान ठाउँसमेत नभएपछि सबै जम्मा भएर छतमा बसेको उनी सुनाउँछिन्। 'यत्ति धेरै क्षति हुन्छ भन्ने साचेको पनि थिएनौँ । डुङ्गाले उद्धार गरेपछि हामी भक्तपुर छोरीको घरमा गयौँ,' उनी भन्छिन्, 'तर खाइनखाइ १० वर्ष अगाडि जोडेको यो घरको ऋण तिर्न पाएको छैन, दुई दिनसम्म त घरै बगायो कि भन्ने चिन्ताले सतायो । धन्न बाँकी रहेछ ।' माथि उल्लेख गरेका पात्रहरुको भन्दा उनको माग फरक छ, 'सरकारले यो हिलो सबै छिटो सफा गरिदियोस् र हामीलाई पानी उपलब्ध गराइदियोस्।'

ललितपुरका यी क्षेत्रहरु मात्रै होइन, गोदावारी नगरपालिकामा पनि असर पुगेको छ। नगरपालिकाको उपप्रमुख मुना अधिकारीलाई पिडितहरुले गरेको फोन उठाउन आजभोलि भ्याइनभ्याइ छ। 'कतै हाम्रो मान्छे हराएको छ, खोजिदिनुस्, कतै मान्छे पुरिएको छ, शव निकालिनुस्, कतै पानी आएन त कतै राहत आएन भन्ने सर्वसाधारणको गुनासो हुन्छ, फोन आइरहन्छ', उनी भन्छिन्, 'हाम्रो क्षेत्र पनि ठूलो छ नी छ त, हामी बस्तीबस्ती हिँडिरहेका छौँ, सबै ठाउँमा पुग्नै भ्याइएको छैन।'

उनका अनुसार गोेदावारी नगरपालिकामा मात्रै हालसम्म गत शुक्रबार र शनिबारको मनसुनी विपद्बाट २३ जानाको मृत्यु भएको छ भने बेपत्ता भएका पाँच जनाको खोजीकार्य जारी छ। 'यहाँ कति क्षति भयो भन्ने कुरा आँकलन गरिरहेका छौँ', उनले भनिन्, 'पीडितलाई तत्काल राहतका लागि जिल्ला प्रशासन कार्यालय तथा विभिन्न सङ्घसंस्थाहरु र समाजसेवीहरुसँग राहतका लागि आग्रह नै गरिसकेका छौँ।'

उपप्रमुख अधिकारीले विपद्पछिको उद्धार तथा राहतका लागि स्थानीय तहले सक्दो प्रयास गरिरहेको बताइन्। 'चाँडोभन्दा चाँडो राहत व्यवस्थापनका लागि लागि हामीले समन्वय गरिरहेका छौँ, सर्वसाधारणको गुनासा सम्बोधनका गर्न लागिपरेका छौँ,' उनले भनिन्।

दक्षिण ललितपुरको महाँकाल गाउँपालिकाको गोटीखेल मानिखेललगायतका क्षेत्रहरुलाई पनि  बाढी पहिरोकै कारण तहसनहस बनाएको छ। हराबरा क्षेत्र एक्कासी बगरमा परिणत भएको छ । बाढी, पहिरोका कारण बाटो नै पुरिदिएपछि उक्त क्षेत्रमा राहत तथा उद्धारका लागि जान समेत नसकिने अवस्था भएको बताउँछिन्, ललितपुरस्थित महाङ्ककाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्ट। 'न बाटो छ, न सम्पर्क छ,' उनले भने, 'यहाँ त राहत व्यवस्थापनका लागि पनि निकै गाह्रो भइरहेको छ।'

युवा अभियन्ता तथा इन्जिनीयर लक्षुमनप्रसाद घिमिरेले ललितपुरको दक्षिण भेगका पिडितहरुलाई राहतका लागि सामाजिक सञ्जालमार्फत सहयोगका लागि अभियान नै चलाएका छन्। तर बाटोको कारण त्यहाँको अवस्थासमेत थाहा नहुँदा अत्यासै लाग्ने गरेको समेत बताउँछन् उनी। 'राहत लिएर जान बाटो नै छैन, त्यहाँ सम्पर्क समेत कोहीसँग हुन सकिरहेको छैन,' उनी भन्छन्, 'पहल भइरहेको छ, बाटो सहज भएपछि राहत लिएर जानेछौँ।'

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले राहत विरणका काम सुरु भइसकेको जानकारी दिए। 'हामीले पहिरोको कारण यातायात सञ्चालन हुन नसकेको क्षेत्रहरु ललितपुरको दक्षिण भेगका महाङ्ककाल र बागमती गाउँपालिकामा हेलिकप्टरमार्फत राहत वितरण गरेका छौँ,' उनले भने, 'स्थानीय तहसँगको समन्वयमा धमाधम राहत वितरणको काम भइरहेको छ।'

समयमा नै खाद्यान्न तथा स्वच्छ खानेपानी पिडितले नपाउँदा जनस्वास्थ्यमा समेत गम्भीर असर पर्नसक्ने बताउँछन्, जनस्वास्थ्यविद् डा.समिर अधिकारी। 'कतिजनाले खानापछि खाने औषधि प्रयोग गर्न सक्नुहुन्छ, खानै नपाए औषधि कसरी खाने रु सुत्केरी तथा बिरामीलाई अझै शरीरमा पौष्टिक तत्व नपुगेर असर परिरहेको हुनसक्छ', उनी भन्छन्, 'लामो समय खाली पेट बस्दा ग्यास्ट्रिक हुने, शरीर कमजोरी बन्दै जाने, रक्तचाप कम हुनेलगायतका समस्या आउने र मानिसको ज्यानै पनि जान सक्छ।'

वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठी पनि नागरिकको मौलिक हकका रुपमा रहेको गास, बास र कपासको आवश्यकता तत्काल पूरा नगरे उनीहरुको नैसर्गिक अधिकार हनन् हुने बताउँछन्। 'समयमा नै राज्यले नागरिकलाई बचाउनका लागि राहत र उद्धार गर्नुपर्छ, बाँच्न पाउने हक नागरिकको मौलिक हक हो', उनले भने, 'कोही राहत नपाएर भोकै मर्नुपर्ने अवस्था नआओस्। यसतर्फ सरकार र नागरिक सबैले गम्भीर हुनुपर्छ।'
अर्को समाचार
बाढीले निर्माणाधीन ‘एसियन हाइवे’का तीन डाइभर्सन बगायो
१७ जेष्ठ २०८२
•
३ मिनेट पाठ
बाढीले निर्माणाधीन ‘एसियन हाइवे’का तीन डाइभर्सन बगायो
स्तरोन्नति भइरहेको पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा गए रातिको अविरल वर्षापछिको बाढीले निर्माणाधीन ‘एसियन हाइवे’ का तीन वटा डाइभर्सन बगाएको छ।




बाढीले बगाएका तीनवटै डाइभर्सन मेचीनगर नगरपालिका क्षेत्रका हुन्। काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) का आयोजना प्रमुख इञ्जिनियर सुनिलबाबु पन्तका अनुसार मेचीनगरको काँकडभिट्टास्थित कालीखोला, धुलाबारीको ढुकुरे खोला र चारआलीको ‘एनिमल अन्डरपास’ को डाइभर्सन बाढीले बगाएको हो।

डाइभर्सन बगेपछि आज बिहानदेखि पूर्वपश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको थियो। बिहान ११ बजेसम्ममा चारआलीको ‘एनिमल अन्डरपास’ बाहेक कालीखोला र ढुकुरे खोलाको डाइभर्सन मर्मत सम्भार गरेर यातायात चल्न सक्ने बनाइएको उनले जानकारी दिए।

'एनिमल अन्डरपासको डाइभर्सनमा धमाधम मर्मत सम्भारको काम भइरहेको छ,' उनले भने, 'काँकडभिट्टा र धुलाबारीको डाइभर्सन मर्मत सम्भार गरिसकिएको छ, डाइभर्सन माथिबाटै गाडी चल्न थालिसकेका छन्।' कालीखोलामा पुरानो पुल भत्काएर पक्की पुल निर्माण भइरहेको थियो। ढुकुरे खोलाको पुरानो कल्भर्टलाई विस्थापित गर्दै नयाँ कल्भर्ट बनिरहेको थियो। चारआलीको जङ्गल क्षेत्रमा वन्यजन्तु ओहोरदोहोरका लागि उपयुक्त हुने ‘एनिमल अन्डरपास’ निर्माणाधीन अवस्थामा रहेको छ।

तीनै स्थानमा साँघुरो डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएको थियो। राजमार्गमा यातायात अवरुद्ध भएपछि ट्राफिक प्रहरीले राजमार्गसँग जोडिएका सहायक सडकमा घुमाएर लामो तथा छोटो दूरीको यातायात सञ्चालनको व्यवस्था मिलाएको थियो। यस वर्ष मनसुनी वर्षा अनुमान गरिएभन्दा १५ दिन अगावै सुरु भएकाले पूर्वयोजना अनुरुप डाइभर्सनलाई सुदृढ बनाउन नभ्याइएको आयोजना प्रमुख पन्त बताउँछन्।

'बाढीले आवतजावतमा अवरोध नपुर्‍याओस् भनेर निर्माणको ठेक्का लिएको कम्पनीलाई छिटो कल्भर्टको काम सक्नुपर्‍यो र पुल निर्माणाधीन रहेको स्थानमा बलियो डाइभर्सन बनाउन पर्यो भनेर धेरै पहिलेदेखि हामीले निर्देशन र परिपत्र दिदै आएका थियौँ,' उनले भने, 'तर, सोचेभन्दा अगावै मनसुन सुरु भयो, बाढीको पानी थेग्न सक्ने डाइभर्सन बनाउने योजना पूरा नगर्दै ठूलो पानी परिहाल्यो।'

उनले आजै सबैतिर सहज यातायात सञ्चालन हुने गरी डाइभर्सनको मर्मत सम्भार गरिने र आगामी १५ दिनभित्र सबै कल्भर्टमाथि दुई लेनबाट गाडी गुड्ने वातावरण बनाइने बताए। कालीखोला र भालुखोलाको पुरानो पक्की पुल भत्काइएको हुँदा त्यसस्थानमा नयाँ पुल बनाइसक्न समय लाग्ने देखिएको छ। ती स्थानमा तीन तहको ह्यूमपाइप हालेर जुनसुकै बाढी थेग्नसक्ने बलियो डाइभर्सन बनाइने उनको भनाइ छ।

एसियाली विकास बैंकको सहयोगमा रु १० अर्बको लगानीमा एसियन हाइवेको पूर्वीखण्डको स्तरोन्नतिको कार्य भइरहेको छ। निर्माणसम्बन्धी ठेक्का लिएको एभ्रास्कन कालिका जेभीले लिएको छ। नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले राजमार्ग स्तरोन्नतिमा ढिलासुस्ती भएका कारण यसपालिको बर्खामा राजमार्ग क्षेत्रमै बाढीजन्य विपद् निम्तिने एक साता अघि नै चेतावनी दिए।

काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकका आयोजना प्रमुख पन्तले वर्षातको अवधिमा राजमार्ग क्षेत्रमा कुनै समस्या आएमा र्‍यापिड रेस्पोन्स टोलीमार्फत तत्काल समस्याको निरुपण गर्ने तयारी रहेको बताए। रासस
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस