पूर्वाधार र प्रविधिमैत्री बन्दै तातोपानी कुण्ड
१३ भदौ २०८१
•
४ मिनेट पाठ
पूर्वाधार र प्रविधिमैत्री बन्दै तातोपानी कुण्ड
प्राकृतिक उपचार केन्द्रको रूपमा ख्याति प्राप्त म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित तातोपानी कुण्डलाई पूर्वाधार र प्रविधिमैत्री बनाउन थालिएको छ।




प्राकृतिक रूपमा निस्किने तातोपानीको मुहानलाई संरक्षण गरेर व्यविस्थत कुण्डसहित कार्यालय भवन, पहुँचमार्ग, पदमार्ग, बाहिरी कुण्डलगायतका पूर्वाधार निर्माण भइसकेका छन्। यहाँ उपचारका लागि भनेर आउने व्यक्तिको शुल्क, सहयोग तथा सरकारी बजेटबाट कुण्डलाई व्यवस्थित गरिएको र बिरामीको सहजकताका लागि प्रविधिमैत्री संरचना निर्माणको पहल थालिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए।

उनका अनुसार गत आवमा पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय पोखराको रु १५ लाख बजेट र समितिको रु तीन लाख लागत साझेदारीमा मुख्य कुण्डको प्रवेशद्वार निर्माण गरिएको छ।

भक्तपुरे इट्टाको प्रयोग गरेर निर्माण भएको प्रवेशद्वारले तातोपानी कुण्ड परिसरलाई आकर्षक र कलात्मक बनाइएको छ। गत वर्ष कुण्डमा स्नान गर्न आउनेका लागि कपडा फेर्ने भवन, मुख्य कुण्डको छानो पुनःनिर्माण, कुण्ड परिसरमा पदमार्ग, तातोपानीको चिनारी स्तम्भलगायतका पूर्वाधार निर्माण गरिएका छन्।  

कुण्ड परिसरमा थरिथरिका फूलका बिरुवा रोपेर सौन्दर्यकरण गरिएको छ। एक वर्षको अवधिमा पूर्वाधार निर्माण र सुविधा विस्तारमा आन्तरिक आम्दानीबाटै करिब रु ३० लाख लगानी गरेको कुण्ड व्यवस्थापन समितिले बाहिरी कुण्डमा जाने प्रवेशद्वार र टिकट काउण्टरसमेत कलात्मक शैलीमा निर्माण गरिरहेको छ भने नुहाउने पानीको लागि ३० वटा धारामा एकसाथ तातोपानी पुग्ने पूवार्धार बनाइरहेको छ।

पूर्वाधारलाई अपाङ्गतामैत्री र प्रविधिमैत्री बनाउनुका साथै कुण्डमा जानका लागि लिफ्ट जडान गर्ने र विद्युतीय ह्वील चियरको प्रबन्ध गर्ने तयारी भइरहेको अध्यक्ष खड्काले जानकारी दिए। ‘लिफ्ट प्रविधि जडानका लागि विज्ञ प्राविधिकको टोलीद्वारा स्थलगत अध्ययन गराइसकेका छौँ, अब टोलीको प्रतिवेदन र सुझावका आधारमा पूर्वाधार बनाउन आवश्यक पहल थालिने छ’, उनले भने, ‘कुण्डलाई जलचिकित्सासँग जोडेर फिजियो र मसाज थेपारीको सेवा सञ्चालन गर्ने गरी भौतिक पूर्वाधार र आवश्यक मेसिन उपकरणको बन्दोबस्त गरिएको छ।’

यहाँ सङ्घीय सरकारको रु ५० लाख र कुण्ड व्यवस्थापन समितिको रु तीन करोडभन्दा बढी लगानीमा जलचिकित्सा सेवाका लागि भवन निर्माण गरिएको र गण्डकी प्रदेश सरकारबाट रु ५० लाख बराबरको मेसिन उपकरण प्राप्त भइसकेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ।

कुण्डलाई प्राकृतिक चिकित्सालयका साथै धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास गर्न गत साउनदेखि हरेक साताको सोमबार सन्ध्याकालीन आरतीसमेत सुरु गरिएको कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले जानकारी दिए।

म्याग्दी नदीको किनारमा रहेको र कुण्ड परिसरमा शिवालय मन्दिर रहेकाले सन्ध्याकालीन आरती सुरु गरिएको र यसले धार्मिक र आध्यात्मिक पर्यटनको विकास गराउन सहयोग पुग्ने उनको भनाइ छ।

तातोपानीको मुख्य कुण्डमा एक सातासम्म बसेर प्राकृतिक उपचार गर्नका लागि वार्षिक करिब २० हजार मानिस आउने गरेका छन्। त्यसका लागि रु तीन सय शुल्क लिने गरिएको छ। आन्तरिक पर्यटकका लागि बाहिरी भागमा दुई वटा नयाँ कुण्ड निर्माण गरिएका छन्।

आर्थिक वर्ष २०८०/८१ मा उपचारका लागि मात्रै १९ हजार चार सय तीन जनाले स्नान गरेको कुण्ड व्यवस्थापन समितिका कर्मचारी रेशमबहादुर कार्कीले जानकारी दिए। गत आवमा स्नानका लागि आएका बिरामीको शुल्कबाट रु ६७ लाख ९१ हजार ५०, चन्दा सङ्कलनबाट रु ४५ लाख १० हजार, मन्दिरबाट रु छ लाख नौ हजार आठ सय ३२ र आजीवन सदस्यताबाट रु पाँच लाख १० हजार नौ सय ११ सङ्कलन भएको उनले बताए।

‘कुण्डमा आउने बिरामीले तिर्ने शुल्कबाट प्राप्त हुने रकमबाट सरकारलाई १३ प्रतिशत भ्याट कर तिर्ने र २५ प्रतिशत रकम बेनी नगरपालिकालाई बुझाउने गरिएको छ। अन्य रकम कुण्ड व्यवस्थापनमा परिचालन भएका कर्मचारीको तलब, स्थानीय सरस्वती माविका शिक्षकको तलबमा सहयोगका साथै कुण्डको पूर्वाधार निर्माणमा परिचालन हुने गरेको छ’, कार्कीले भने।

गन्धक र बिरेनुनको गन्ध आउने प्राकृतिक तातोपानीको कुण्डमा शरीरको बाहिरी भाग डुबाएर उपचार गरिन्छ। कुण्डमा डुबेर बाहिर निस्किएर कम्बल वा बाक्लो कपडा ओढेर पसिना बगाएपछि नजिकै बनाइएका तातोपानीका धारामा नुहाउने गरिन्छ। यहाँ नियमित नुहाउनाले ग्याष्ट्रिक, नसा, बाथरोग, ढाड दुख्ने, छालासम्बन्धी रोग, सुन्निएको, मर्किएको, पेट सुनिने, गलगाँडलगायतका रोग निको हुने विश्वास छ। रासस
अर्को समाचार
तिब्बती बाढी: भोटेकोसी–सुनकोसी किनार बासीको डर, छैन सरकारको भर
०२ साउन २०८२
•
५ मिनेट पाठ
तिब्बती बाढी: भोटेकोसी–सुनकोसी किनार बासीको डर, छैन सरकारको भर
भोटेकोसी गाउँपालिका–३ लार्चाका दीपक तामाङको परिवार त्यहाँ ८/९ पुस्तादेखि बस्दै आएको छ। उनको घर पहाडको भित्तामा अडिएको छ। तलतिर भोटेकोसी सुसाउँछ । घर छेउमै रहेको भैरव कुण्ड खहरे हरेक बर्खा याममा जोडतोडले उर्लन्छ। 




पहिरो, भोटेकोसी र भैरव कुण्डको घेराबन्दीले सिर्जित जोखिममा छ तामाङको घर। उनलाई आफ्नो घर जोखिममा छ भन्ने थाहा पनि छ, तर छोड्न सकेका छैनन्। 

‘घर जोखिममा छ भन्ने थाहा छ। मौसम खराब हुँदा डर पनि लाग्छ,’ तामाङ भन्छन्,‘तर, कहाँ जानु ! ओत लाग्ने एक यही त छ।’ उनको घर मात्र होइन, लार्चामा उनीजस्तै ७२ घर परिवार यसै गरी जोखिममा बसिरहेका छन्। ‘अहिले एक ठाउँमा खान्छौँ, दिनभर काम गर्छौँ, अनि सुत्न अर्कोतिर जान्छौँ,’ उनले भने। 

पछिल्लो समय बर्खामा राति ओत लाग्न सुरक्षित ठाउँमा टेन्ट गाडिएका छन्। त्यहाँ गएर सबै सुत्छन्। नजिकैको लार्चा बजारका सबैजसो बासिन्दा पनि उसै गरी टेन्टमा रात बिताउन आउँछन्। २०७७ सालमा आएको बाढीले पूरै लार्चा बस्तीमा क्षति पुर्‍याएको थियो। ‘त्यसयता हामी त्यसै गरी बसिरहेका छौँ,’ तामाङले सुनाए। 

उसो त ०७७ सालको बाढीपछि सबै ७२ घर स्थानान्तरणको कुरा उठेको थियो। ‘७२ घरको कागज बनाएर हामीले जिल्लामा लगेका थियौँ,’ तामाङले भने, ‘उहाँहरूले हामी फोन गर्छौँ भन्नुभएको थियो। तर अहिलेसम्म फोन आएको छैन।’  

त्यसयता लार्चाबासीले आफै थातथलो छाडेर बसाइ सर्न सकेका छैनन्। ‘छाडेर जाने पनि कहाँ? केही मेसो नै जुर्दैन। गए पनि घर मात्र बनाएरै बसे खाने के, लाउने के?’ तामाङले गुनासो पोखे। उनका अनुसार केही लार्चाबासी नजिकै गुम्बा डाँडा भन्ने ठाउँमा सरेका छन्। ‘त्यहाँ जग्गा किन्न आनाकै दुई लाख पर्छ रे ! घडेरी किन्नै ८/९ लाख लाग्ने। त्यत्रो पैसा कहाँबाट ल्याउने?,’ उनले प्रश्न गरे। 

उसो त लार्चाबासीले सरकारसमक्ष थप माग र गुनासो नराखेका पनि होइनन्। बरु भन्दाभन्दा थाकेका हुन्। तामाङ भन्छन्, ‘कति भन्नु हजुर । एक दुई पटक पो भन्नु। वडा, पालिका र जिल्ला धाउँदाधाउँदै वाक्क भइसक्यौँ।’ 

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जब ‘बाढी सूचना’ दिन्छ, बाह्रबिसे बजार बासी दुर्गाप्रसाद भण्डारीलाई चिन्ता सुरु हुन्छ। भोटेकोसी किनारको बाह्रबिसे बजारमा भण्डारी वर्षौँदेखि बस्दै आएका छन्। 

भण्डारीले बजार नजिकैको जुरे पहिरो र भूकम्पको कहरबाट विपद्को पाठ सिकेका छन्। जसले भोटेकोसीको सम्भावित बाढीको जोखिमको स्तर स्मरण पनि गराएका छन्। ‘अब भोटेकोसीमा बाढी आएर बस्ती नै लान्छ की भन्ने डर लागिरहन्छ,’ भण्डारी भन्छन्। 

भण्डारीको भय मेट्ने कुनै अर्को उपाय पनि छैन। ‘बस्ती नै जोखिममा छ भन्ने थाहा छ। अब जाने पनि कहाँ र ?,’ उनी भन्छन्, ‘घर छोड्ने भन्ने कुरा हुँदैन। अन्त गएर बस्ने ठाउँ छैन।’  

उसो त नगरपालिकाले विपद्का बारेमा जानकारी दिन भाइबर ग्रुप बनाएको छ। प्रशासनले बाढी सूचना निकाल्छ। सूचना आए लगत्तै भाइबरमा सूचना प्रवाह भइहाल्छ। तर, त्यो सूचना पाएपछि कहाँ जाने भन्ने द्विविधा स्थानीय बासीमा उत्पन्न हुन्छ। अत्यधिक जोखिमयुक्त घर भएकाहरू झरी परिरहेकै भए पनि ओतबिनै खुला र सुरक्षित स्थानतर्फ निस्किने गर्छन्। 

भण्डारीलाई जोखिमका बस्ती सरकारले स्थानान्तरण गरिदिए हुन्थ्यो भन्ने लाग्छ। ‘तर फेरी थोरै छैन बस्तीहरू धेरै छन्। सरकारले पनि लगेर पनि कहाँ–कहाँसम्म राखोस्। राखेकै ठाउँमा पनि बस्न सकिन्छ÷सकिन्न,’ उनी आफ्नो मनको अन्तर्द्वन्द्व बिसाउँछन्। 

उता सुनकोसी किनारको पर्यटकीय बजार सुकुटेमा होटेल व्यवसाय गर्ने अञ्जन खड्काको मनोदशा पनि तामाङ र भण्डारीको भन्दा कम छैन। उनले सुकुटेमा व्यवसाय गर्न थालेको १० वर्ष भयो। त्यही व्यवसायले उनको घरपरिवार धानेको छ। 

‘यही सुनकोसी नदी हेर्न पर्यटक आउँछन्। तीनै पर्यटकले व्यवसाय धानेको छ। घरै धानेको व्यवसाय पनि कसरी छाड्ने ?,’ खड्का सुनाउँछन्, ‘बरु सरकारले बाढी नियन्त्रणका उपाय गरिदिए सुरक्षित भइन्थ्यो। नभए घर धानेको नदीले जीवन लैजान्छ कि भन्ने चिन्ता लाग्छ।’

बर्खामा जीवन जोगाउन चनाखो त छन् नै उनी । ‘प्रशासनले सूचना जारी गरिहाले सपरिवारै निस्किन्छौँ। माथितिर खोला बढे तातोपानी, बाह्रबिसे, खाडिचौरका बासिन्दाले जानकारी पनि दिन्छन् । अनि त्यही अनुसार तयारी गर्छौँ’, खड्का भन्छन्। तर भौतिक सम्पत्तिको सुरक्षा भने यत्तिले मात्र सम्भव नहुने उनी बताउँछन्। 

यो विषयमा तीन तहकै सरकारले काम गरिदिनुपर्ने उनको आग्रह छ। ‘हामीले राज्यलाई कर तिरेर व्यवसाय गरेका छौँ। चार महिना बाढी आउँछ भन्दैमा अरू ८ महिना यसै बस्ने पनि हुँदैन,’ उनले भने, ‘त्यसैले सरकारले सुरक्षा दिनुपर्छ। बस्ती सुरक्षा योजना कार्यान्वयन गर्नुपर्छ। पूर्व सूचना दिने साइरन जडान गर्नुपर्छ।’ 

भोटेकोसी नदी चीनको तिब्बती क्षेत्रको न्यालम हुँदै नेपालतर्फ आउँछ। न्यालम क्षेत्रमा धेरै वर्षा हुँदा नेपालमा ठुलो बाढीको जोखिम हुन्छ। उता ठुलो वर्षा हुँदा चिनियाँ अधिकारीले नेपालतर्फ जानकारी गराउँदै आएका पनि छन्। सोही सूचनाका आधारमा सिन्धुपाल्चोक प्रशासनले भोटेकोसी र सुनकोसी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गर्छ।

जोखिममा २२ बस्ती र ८५० परिवार 

भोटेकोसी र सुनकोसी नदी किनारमा २२ वटा बस्ती र ८५० परिवार जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जसमा तातोपानी, कोदारी, लार्चा, हिन्दी, खुकण्डोल, लिपिङ, चाकु, बाह्रबिसे बजार, जम्बु, खागदल, बसेरी, सखुवा, जुरे, कल्लेरी, सुनकोरी, सुनकोसी, पाग्रेटार, खाडिचौर कोठे, बलेफी र सुकुटे बस्ती बाढीको जोखिममा छन्। 

नेपाल–चीनबिच दिनहुँ समन्वय 

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापा विपद्को पूर्वानुमान र क्षति न्यूनीकरणका लागि दुई देशका अधिकारीबिचमा दिनहुँ समन्वय हुने गरेको बताउँछन्। 

‘अहिले हामीले तातोपानी नाकाका साथीहरूसँग नियमित सम्पर्क र छलफल गरिरहेका छौँ,’ उनले भने, ‘नाकापारि चिनियाँ अधिकारीसँग पनि मैले दैनिक रूपमा नै सम्पर्क गरिरहेको हुन्छु। उहाँहरूले त्यहाँको मौसमको जानकारी हामीलाई गराउनुहुन्छ। त्यसपछि हामी यताको तयारी गर्छौँ।’ नेपालको मौसम पूर्वानुमान महाशाखाले सीमापारिको मौसम हेर्न नमिल्ने भएकाले दैनिक चिनियाँ अधिकारीसँग समन्वय गरिरहेको उनले बताए। 

चिनियाँ भूमिमा वर्षा भइरहेको सूचना पाउँदा यता नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने, सडक खाली गर्ने लगायतका काम हुने गरेका छन्। 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक(एसपी) रामेश्वर कार्कीले जिल्लाका प्रहरी इकाईहरूमा आवश्यक प्रतिकार्यका सामग्री राखिएको बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस