बझाङको अन्तिम गाउँ धुली अर्थात् साइपाल गाउँपालिका–४ का कन्जु भण्डारी आँगनबाटै तिब्बत जाने सडक सर्भे हुँदा निकै खुसी थिए। गाउँमा फल्ने अन्नपात, फलफूल तथा जडीबुटीले राम्रो मूल्य पाउने र घर खर्च सहजै चल्ने सपना बुन्दै थिए।
तर, विगत आठ वर्षदेखि उनको त्यो सपना सपनामै सीमित छ। सदरमुकाम चैनपुरको भोपुरदेखि ताक्लाकोटसम्मको १ सय १७ किलोमिटर सडक निर्माणका लागि २०७३ असार २८ गते सम्झौता भएको थियो। सम्झौताको आठ वर्ष बितिसक्दा पनि अहिलेसम्म ४१ किलोमिटर सडकको मात्रै ट्र्याक खुलेको छ। बाँकी सडक सर्भे कागजमै सीमित छ।
बाटो खुल्छ, गाउँमा गाडी पुग्छ भनेर आशै आशमा बस्दा बस्दै वर्षौँ बितेको बताउँदै उनले भने, ‘केन्द्रले खासै चासो नदिने र स्थानीय तहको बजेटले नभ्याउने भएकाले पनि गाउँमा आउने बाटो कुर्दाकुर्दै वर्षौँ बित्यो, आशा निराशामा परिणत हुन थाल्यो।’
गाउँमा बाटो खुलेमा दैनिक उपभोग्य सामान पनि सस्तोमा किन्न पाइने सपना गाउँका किसानले लिएको उनी बताउँछन्। अहिले नेपाल सरकारको खाद्य संस्थानले सहुलियतमा कोटा अनुसार चामल र नुन दिने भएपनि कोटाको चामल तथा नुन सकिएको बेला चामल प्रति केजी १ सय ५० रुपैयाँ र नुन प्रतिकेजी १ सय २० रुपैयाँमा किनेर खानुपर्ने बाध्यता रहेको उनले सुनाए।
उनले भने, ‘कमसेकम बाटो खुलिदिएको भए सस्तोमा खाद्यान्न त पाउँथ्यौँ।’ सदरमुकाम चैनपुरदेखि (उरै भञ्ज्याङ) ताक्लाकोट सडकखण्ड निर्माण भए धनगढी भन्दा छोटो दुरीमा चिनको स्वाशासित क्षेत्र तिब्बत पुग्न सकिने उनी बताउँछन्।
तिब्बतको ताक्लाकोटबाट सस्तोमा सामान ल्याउन तथा यहाँ फलेका फलफूल र जडीबुटी बेचेरै स्थानीयले राम्रै आम्दानी गर्न सक्ने उनी बताउँछन्। ‘यहाँ फलेका फलफूल तथा जडीबुटी त्यसै कुहिँदै छन्,’ उनले भने,‘ बाटो मात्रै भइदिएको भए फलफूल र जडीबुटी बेचेरै यहाँका किसानको अर्थतन्त्र मजबुत हुन्थ्यो, जसले गर्दा चौकीदारीका लागि भारत धाउनु त पर्दैन थ्यो।’
हिन्दुहरूको पवित्र धार्मिक स्थल मानसरोवर जाने छोटो बाटो पनि चैनपुर–ताक्लाकोट सडक खण्ड नै हो। ‘यो सडक निर्माण भएमा बझाङी नागरिकका लागि सुखका दिन खोज्दै हिँड्नु पर्ने थिएन,’ उनले भने।
सेती राजमार्ग (उत्तर खण्ड) चैनपुर–ताक्लाकोटको पहुँच पुग्ने बित्तिकै जिल्लाका कुना कन्दारमा पनि दैनिक उपभोग्य सामानको समस्या नपर्ने स्थानीय पत्रकार ललित सिंह बताउँछन्।
‘यो सडक बझाङको मात्र नभई समग्र सुदूरपश्चिमको समृद्धिको आधार हो,’ उनले भने, ‘सेती राजमार्ग (उत्तर खण्ड) निर्माणमा संघीय र प्रदेश सरकारले चासोका साथ हेर्नुपर्छ।’
यो सडकको ट्र्याक मात्रै चाँडो खोलिए व्यापार व्यवसाय फस्टाउने उनी बताउँछन्। बझाङ र ताक्लाकोटको व्यापार सम्बन्ध वर्षौँ पुरानो भएको पनि उनी बताउँछन्। वि.सं. २०३७ सालदेखि बझाङी नागरिकले जिल्ला प्रशासन कार्यालयबाट अनुमति पत्र लिएर ताक्लाकोट बजार आउजाउ गर्दै आएका छन्। त्यो भन्दा अघि पनि बिना कागजात आउजाउ गर्ने गरिएको उनी बताउँछन्।
‘प्रशासन कार्यालयले २०३७ सालदेखि तिब्बती भूमिमा व्यापार व्यवसाय आयात निर्यातका लागि वैधानिक रूपमा पास बनाउन सुरु गरेको हो,’ उनले भने। यसबाट पनि के प्रष्ट हुन्छ भने बझाङको व्यापार सम्बन्ध तिब्बतसँग वर्षौँ पुरानो हो। सडक निर्माण भइदिए त्यसले यहाँको अर्थतन्त्र अझै मजबुत हुने कुरामा सिंह विश्वस्त छन्।
बझाङको उत्तरी क्षेत्रका नागरिक पेट्रोलियम पदार्थबाहेक अन्य दैनिक उपभोग्य सामान तिब्बती बजारबाटै ल्याउने गरेका छन्। दैनिक उपभोग्य सामानका साथै लत्ताकपडासमेत तिब्बती बजारबाटै ल्याउने गरेको उनी बताउँछन्। हिउँ पर्ने भएकाले पनि नाका वर्षमा ७ महिना खुला हुने गरेको छ। चैतदेखि असोजसम्म बझाङका काँडा, धमेना, दौलीचौर, मेलबिसौना र दातोलाका नागरिक तिब्बतको पुराङ्ग कन्ट्री ताक्लाकोट बजारमा निर्भर छन्। उनीहरू ताक्लाकोटबाट बाँकी पाँच महिनाका लागि पुग्ने खाद्यान्न, लत्ताकपडा जोहो गरेर राख्ने गरेको स्थानीय बताउँछन्।
सेती राजमार्ग (उत्तर खण्ड) चैनपुर–ताक्लाकोट सडक चाँडै खुले पश्चिम नेपालको व्यापार समृद्धिका लागि उपयुक्त हुने बझाङका कांग्रेस नेता अभिषेकबहादुर सिंह बताउँछन्।
उनले भने, ‘तिब्बती सीमा नाकाको व्यापार भनेको परम्परागत व्यापार हो।’ उनले पुर्खौंदेखि यिनै नाका सञ्चालनमा आइरहेको बताए। भारतले नाकाबन्दी गर्छ भन्ने कुरा मात्र नभई आफ्ना उत्पादन तिब्बतसम्म पुर्याउन पनि उत्तरी नाका सञ्चालनमा ल्याउनु पर्ने उनी बताउँछन्।
उनले उत्तरी नाका आपत्कालीन नाकाका रूपमा समेत प्रयोगमा ल्याउन सकिने बताए। तराईका जिल्लाबाट तिब्बती नाकाका बासिन्दालाई सामान पुर्याउँदा महँगो र समय धेरै लाग्ने भएकाले उत्तरी नाकालाई सहज बनाउन पहल गरिनुपर्नेमा उनी जोड दिन्छन्।
कूटनीतिक पहल गरेर तिब्बती सीमा नाकालाई सहज पारे महँगी सस्तिने आशा पनि उनले गरे। यही समस्यालाई मध्यनजर गरेर भर्खरै मात्र आफूले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई ज्ञापन पत्र बुझाएको बताए।
‘चैनपुर–ताक्लाकोट सडक खण्डलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्नुपर्ने र उरै भञ्ज्याङ–ताक्लाकोट नाकालाई पूर्णरुपमा सुचारु गर्नुपर्ने माग राख्दै ज्ञापन बुझाएको छु,’ उनले भने, ‘अहिलेको सरकारले कूटनीतिक पहल गरेर तिब्बती सीमा नाकालाई सहज बनाउँदै सडक पनि यथाशक्य पुगाउनुपर्छ, जसले गर्दा बझाङी जनताको आय स्तरमा वृद्धि हुने थियो।’
गत आर्थिक वर्षमा ७५ करोड ९२ लाख बजेट छुट्याएको संघीय सरकारले चालू आर्थिक वर्षका लागि भने २४ करोड बजेट विनियोजन गरेको छ।
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।
भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।
अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।
पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।
अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।
पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...