सशस्त्र द्वन्द्वका पीडित भन्छन्: हामीलाई सरकारले बिर्सिसक्यो
२६ वैशाख २०८१
•
४ मिनेट पाठ
सशस्त्र द्वन्द्वका पीडित भन्छन्: हामीलाई सरकारले बिर्सिसक्यो
सशस्त्र द्वन्द्व समाप्त भइ देश शान्तिप्रक्रियामा प्रवेश गरेको दुई दशक बित्नलाग्दा पनि द्वन्द्वपीडित न्यायको आसमै छन्। तर, देशमा पटक–पटक द्वन्द्वरत पक्षकै नेतृत्वमा सरकार बनेपनि आफूलाई ‘भँजाएर’ सत्ता हत्याउनेबाहेक उनीहरूबाट कुनैखाले आस गर्नु व्यर्थ भइरहेको पीडितको गुनासो छ।




सशस्त्र द्वन्द्वका बेला भएका घटना छानबिन गर्न सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग बने। तर, दुवै आयोग ‘राजनीतिक कोपभाजन’मा परेपछि आफूहरू सधैं पीडित हुनुपरेको द्वन्द्वपीडितको गुनासो छ। उनीहरू आफूहरूलाई न्याय दिनेगरी कानुनै नबनेकामा, बनेका कानुन कार्यान्वयन नभएकामा र छानबिन समितिहरूले पनि काम गर्न नसक्दा चिन्तामा छन्। न्याय खोज्ने पुस्ता नै समाप्त पारेर सरकारले द्वन्द्वको पीडा बिर्साउन खोजेको पीडितको भनाइ छ।

अहिले संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधनको चर्चा भइरहेको छ। तर, दलहरूले त्यही विधेयकलाई राजनीतिक स्वार्थको ‘हतियार’ बनाइरहेकामा पीडित झन् दुःखी छन्। द्वन्द्व सकिएर देशमा गणतन्त्र आइसक्दा, तीन तहका सरकार बनिसक्दा पनि पीडितले उचित क्षतिपूर्ति पाउन नसकेका हुन्। कतिपय पीडित कानुनले न्यान नदिने भन्दै राजनीतिक सहमतिको बाटो अँगाल्न दलहरूलाई सुझावसमेत दिइरहेका छन्।

इलामको देउमाई नगरपालिकाका द्वन्द्वपीडित राम राईले तीनै तहका सरकारले द्वन्द्वपीडितको घाउको पीडा बुझ्न नसकेको बताए। ‘अहिले पनि म शरीरमा बन्दुकको गोली बोकेर हिँडिरहेको छु, देश शान्त भएका तीन दशक भयो, मैले न्याय पाउने कहिले हो ?’ उनले भने, ‘तीन तहका सरकार कसका लागि बनेका हुन् ? कि द्वन्द्वपीडित यो देशका नागरिक होइनन् ?’

राज्य पक्षबाट पीडित राईले संक्रमणकालीन न्यायलाई दलहरूले आफ्नो अस्तित्वसँग जोडेर हेर्नेगरेको बताए। ‘तीन तहका सरकारले द्वन्द्वपीडित को हुन् भन्ने चिनेका छैनन्,’ उनले भने, ‘नीति निर्माण गर्ने ठाउँमा द्वन्द्वपीडितलाई छेकिएको छ।’ उनले राजनीतिबाटै समस्या सुरु भएकाले यसको समाधान पनि राजनीतिबाटै हुनुपर्ने बताए।

द्वन्द्वपीडित तेजमाया गुरुङ सरकारी र गैरसरकारी निकायले कहिले वर्षदिन र कहिले दुई वर्षको अन्तरमा आफूहरूका पीडा बल्झाउनेगरेको बताउँछिन्। ‘द्वन्द्वको पीडा सम्झिँदा अहिले पनि भक्कानो फुटेर आउँछ, समय बित्दैजाँदा बिर्सिनलागेको घाउ बेला–बेला द्वन्द्वपीडितसम्बन्धी कार्यक्रम गरेर बल्झाउनेबाहेक केही हुन सकेको छैन,’ उनले भनिन्, ‘कि बिर्सिसकेको घाउ नबल्झाऊ, कि न्याय देऊ।’

उनले कुनै पनि दल र तिनको नेतृत्वमा बनेका सरकारले द्वन्द्वपीडितले आफूहरूका लागि गरेको योगदान चिन्न नसकेको बताइन्। ‘देशका लागि यिनीहरूले आफ्ना परिवारका सदस्य गुमाएका, यातना सहेका छन् भनेर कसैले सम्झेनन्,’ उनले भनिन्, ‘तत्कालीन राज्य र विद्रोही दुवै पक्ष पटक–पटक सरकारमा गए तर हामीले खेपेको पीडा बिर्सिए।’

तत्कालीन द्वन्द्वरत दलहरू नै अहिले पीडितलाई झुलाएर समय बिताउने योजनामा देखिएको पीडितको भनाइ छ। कतिपयले भने संक्रमणकालीन न्यायसम्बन्धी कानुन शतप्रतिशत कार्यान्वयन गर्दा देशमा पुनः द्वन्द्व निम्तिनसक्नेतिर पनि सचेत गराएका छन्।

फाकफोकथुम गाउँपालिकाका पीडित टठबहादुर निरौला अहिले न्याय खोजिरहेको पुस्तालाई गलाउने र त्यसपछि ती घटना नै बिर्साउने रणनीतिमा दलहरू देखिएको बताउँछन्। ‘न्याय खोजेको ३० वर्ष भइसक्यो, अब केही वर्ष हामीलाई झुलाएर सरकार हाम्रो पीडा सामसुम पार्ने रणनीतिमा छ,’ उनी भन्छन्, ‘यो रणनीति निकै घातक हुनेछ सरकारका लागि।’

द्वन्द्वपीडित समाज अध्यक्ष दामोदर चापागाईं द्वन्द्वपछिको समस्या समाधान गर्न अन्योल बढिरहेको बताउँछन्। ‘सर्वोच्च अदातलको आदेश, सरकार र द्वन्द्वपीडित त्रि–पक्षीय अन्योल छ,’ उनले भने, परिपूरण, न्याय र सत्यको विषय एकसाथ लैजाँदामात्र समस्या समाधान हुन्छ, सरकारका दल आफ्ना नेता–कार्यकर्ता जोगाउनेतिर छन्, स्थानीय सरकारले द्वन्द्वपीडित बुझ्दैन, कानुनी प्रक्रिया खोज्छ। यस्तो अवस्थामा हामीले न्याय पाउने आशा कस्तो होला ?’

वरिष्ठ अधिवक्ता जसबहादुर लुङ्गेली राजनीतिक दलबीचको सहमतिबाटे यो समस्याको समाधान निस्किने बताउँछन्। ‘नेपालमा पूर्ण रूपमा निराकरणको कानुन आउँछजस्तो लाग्दैन, आइहाले पनि कार्यान्वयनको अवस्था देखिएकै हो,’ उनले भने, ‘त्यसैले यसको समाधानको बाटो राजनीति नै हुनसक्छ।’ उनले यो समस्या समाधान गरिहाल्नुपर्ने नत्र अर्काे द्वन्द्वको खतरा रहने पनि बताउँछन्।

एड्भोकेसी फोरमका विकास बस्नेतले नेपाल अन्तर्राष्ट्रिय कानुनको पक्षराष्ट्र भएकाले कुनै पनि बहानामा व्यक्तिको हत्या गर्न, बेपत्ता पार्न नपाइने अवस्था रहेको बताए। गम्भीर मानवअधिकार उल्लंघनका घटनामा कारबाहीको व्यवस्था हुने भएपनि कस्ता घटना गम्भीर हुन् र कस्ता होइनन् भन्नेमा द्वन्द्वपीडित सचेत हुनुपर्ने उनले जनाए।
अर्को समाचार
शान्ति सम्झौताको १८ वर्ष : न्यायको प्रतीक्षामा पीडित
०५ मंसिर २०८१
•
६ मिनेट पाठ
शान्ति सम्झौताको १८ वर्ष : न्यायको प्रतीक्षामा पीडित
द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ।




सम्झौताअनुसार सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्नका लागि मानवताविरुद्धको अपराधमा संलग्नको सत्य अन्वेषण गरी दोषीलाई कारबाही गर्ने उद्देश्य राखिएको थियो।

लामो राजनीतिक रस्साकस्सीका बीच सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ माघ २७ गते गठन गर्‍यो। सरकार र द्वन्द्वरत पक्षबीच सम्झौता भएको साढे आठ वर्षपछि यी दुई आयोग बनेका थिए। दुवै आयोगले पीडितहरुको निवेदन लिने र क्षतिपूर्तिको सामान्य काम गरेपनि अरु प्रक्रिया अगाडि बढाउन सकेन। राजनीतिक दलबीच मतैक्य नहुँदा लामो समयसम्म शान्ति प्रक्रियाका बाँकी काम पूरा हुन नसकेको गुनासो व्याप्त छ  

विसं २०५२ फागुन १ गतेदेखि चलेको १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति यात्रामा ल्याउन २०६३ मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच १२ बुँदे विस्तृत शान्ति सम्झौता भएको थियो।

सोही सम्झौताका आधारमा अन्तरिम संविधान, दुई पटक संविधानसभाको निर्वाचन, संविधान निर्माणलगायतका काम पूरा भए। नेपालको विशेषतामा अगाडि बढेको शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको पीडितलाई राहत, क्षतिपूर्ति तथा परिपूरण गर्ने र द्वन्द्वका कारणहरुको खोजी गरेर आगामी दिनमा दोहोरिन नदिन आवश्यक पहल जरुरी छ।

सम्झौतापछि देशमा राजनीतिक परिवर्तन भयो। जनताका प्रतिनिधिले लेखेको संविधान जारी भयो। नेपाली नागरिक खास अर्थमा सार्वभौम भए। यस्तै, हतियार व्यवस्थापन तथा तत्कालीन माओवादीका लडाकु व्यवस्थापनजस्ता महत्वपूर्ण काम पूरा भएपनि द्वन्द्वपीडितले न्याय पाउन नसक्दा समाजमा असन्तुस्टि कायमै छ। आफन्त बेपत्ता भएका नागरिकको व्यग्र प्रतिक्षाले कहिले पूर्णता पाउने हो प्रश्नहरु कायम छ।

बेपत्ता नागरिकको सत्यतथ्य सार्वजनिक गर्ने, घाइतेको उपचार र क्षतिपूर्ति, पीडित परिवारको जीविका, स्वास्थ्य, शिक्षालगायतका विषयमा अपेक्षित काम हुन नसकेको गुनासो व्याप्त छ। सरकारले पछिल्लो पटक २०८० साल चैत ३० गते सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिवारका व्यक्तिको छानबिन आयोगमा आयोगमा पदाधिकारी सिफारिस गर्न लागि ‘सिफारिस समिति गठन’ गरेर आवश्यक प्रक्रिया अगाडि बढाएको छ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समितिले दुई आयोगका पदाधिकारी सिफारिस गर्नेछ। हाल आवेदनको प्रक्रिया चलीरहेको छ। द्वन्द्वपीडितलाई न्याय दिन ढिलाइ गर्नु हुँदैन भन्ने सरकार र सम्वद्ध राजनीतिक दलको समान मत भएपनि कानुन निर्माणमा नै एक दशक लाग्दा केही आशङ्का भने कायमै थियो। पछिल्लो पटक राजनीतिक सहमतिका आधारमा संक्रमणकालीन न्यायसम्बन्धी ऐन निर्माण भएकाले अब भने पीडितले न्याय पाउने आधार तय भएको छ।

शान्ति सम्झौताअनुरुप नै दुवै पक्ष सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्नका लागि प्रविद्ध रहेको उल्लेख थियो। सोही उद्देश्यका साथ सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको २०७१ माघ २७ गते गठन गरेपनि काम पूरा नभई आयोग पदाधिकारीविहिन हुन पुग्यो।

दुई वर्षभित्र सम्पूर्ण काम सक्ने भनेर गठन गरिएका यी दुई आयोगमा पहिलो पदाधिकारीले चार वर्षसम्म जिम्मेवारी पूरा गरे। पछिल्लो पटक २०७९ साउन १ गतेदेखि आयोग पदाधिकारीबिहीन छ। सत्यनिरुपण तथा मेलमिलाप आयोगमा हालसम्म ६३ हजार सात सय १८ उजुरी दर्ता भएको छ। तीमध्ये तीन हजारलाई आयोगले तामेलीमा राख्ने निर्णय गरेको थियो। आयोगले द्वन्द्वपीडित परिचयपत्र उपलब्ध गराउने र पीडितलाई परिपूरणको फाराम भराउने र परिपूरणको सिफारिस गर्ने काम गरे पनि पदाधिकारी नहुँदा काम अघि बढ्न सकेन।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा तीन हजार दुई सय ४३ उजुरीमध्ये दुई सय ३७ उजुरी सत्यनिरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित भएकाले त्यहाँ पठाएको छ। दुई हजार चार सय ९६ उजुरीमा विस्तृत छानबिन भइरहेको छ।      

लामो प्रयासपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (तेस्रो संशोधन), २०८१ राष्ट्रपतिबाट प्रमाणीकरण भइ कार्यान्वयनमा आइसकेको छ। ऐनमा दुई आयोगका सिफारिस समिति गठन भएको बढीमा दुई महिनाभित्र अध्यक्ष तथा सदस्यको नाम सिफारिस गरिसक्नुपर्ने र पदाधिकारीको पदावधि नियुक्ति भएको मितिले चार वर्षको हुने व्यवस्था छ। ऐनले गरेको व्यवस्थाअनुसार सरकारले आयोगको कामलाई तीव्रता दिन जरुरी छ।  पीडितले न्याय पाएको अनुभूति हुने गरी आयोगले काम गर्नुपर्ने धेरैको मत छ।

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे वर्गीय, जातीय, लिङ्गिय, सांस्कृतिक उत्पिडनविरुद्ध आफूहरुले ‘जनयुद्ध’ लडेको स्मरण गर्दै मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तनको मूल विषयका आधारमा सबै सरोकारवाला पक्ष अगाडि बढ्नुपर्ने बताउँछन्।  

शान्ति प्रक्रिया टुङ्गो लगाउनका लागि सहमति अनुसार समयसीमा निर्धारण भइ छ महिनामा टुङ्गो लगाउने भनिएपनि विविध कारणका कारणले अगाडि बढन नसकेको उनको भनाइ छ। राजनीतिक परिवर्तन अनुरुप नेपाली जनताको आर्थिक विकास प्रक्रिया अगाडि बढ्न नसकेको तथा संविधान निर्माणमै लामो समय लाग्ने जस्ता कारण यसबीचमा देखा परेको तर्क उनले गरे। सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन बनेको सन्दर्भमा विगतका कमी कमजोरी तथा सकारात्मक दुवै पक्षलाई ध्यान दिएर अब प्रक्रिया अगाडि बढ्ने उनको कथन छ।

बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजनिक हुन नसक्ने विषयले सबैभन्दा बढी पीडा दिएको उल्लेख गर्दै उनले भने, “शहादत हुनेले त देशका लागि बलिदान गरे भनेर चित्त बुझाउन सक्छ। तर, बेपत्ता नागरिकको अवस्था सार्वजनिक हुन नसक्नु दु:खद् छ ।”

देशलाई अगाडि बढाउन कमी कमजोरी सुधार गरेर, नपुगेका काम पूरा गर्दै जानुपर्ने छ। ऐनमा भएको व्यवस्थाअनुसार, अब शान्ति प्रक्रियाको बाँकी काम पूरा हुने नेता पाण्डेले विश्वास व्यक्त गरे।  

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल मुलुकको हित हेरेर शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्ने बताउँछन्। भ्रष्टाचारको नियन्त्रण, उद्योग धन्दाको प्रवद्र्धन, राष्ट्रियताको प्रवद्र्धनलगायतका काम गरिएमात्रै वास्तविक अर्थमा शान्ति कायम हुन सक्ने उनको मत छ।  

कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया शान्ति प्रक्रियाको बाँकी रहेको काम शीघ्र निष्कर्षका पुर्‍याउने गरी सरकारले काम गरिरहेको बताए। “विस्तृत शान्ति सम्झौताको धेरै काम सकिए पनि सत्य अन्वेषण गरी पीडितलाई न्याय दिने काम पूरा हुन सकेको छैन”, मन्त्री चौरसियाले भने, “सङ्क्रमणकालीन न्यायको काम अघि बढिसकेको छ, अब जतिसक्दो छिटो पीडितले न्याय पाउनेछन्।”    

पीडितले पूर्ण रुपमा न्याय पाएको अनुभूति हुने गरी सङ्क्रमणकालीन न्यायको काम अगाडि बढाउन सरकार, सम्वद्ध पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने साझा मत रहँदै आएको छ। राजनीतिक सहमतिका आधारमा ऐन निर्माण भएको, आयोगका पदाधिकारी छनौटको प्रक्रिया सुरु भएको सन्दर्भमा पछिल्ला दिनमा पीडितले न्याय पाउने आशा भने बढेर गएको अनुभव गर्न सकिन्छ। रमेश लम्साल/रासस
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस