राजनीतिक चक्रव्यूहमा वीरेन्द्र विद्यामन्दिर
२० मंसिर २०८०
•
८ मिनेट पाठ
राजनीतिक चक्रव्यूहमा वीरेन्द्र विद्यामन्दिर
वीरेन्द्र विद्यामन्दिर मावि भवन। तस्बिर: योगेश रावल।
कैलालीको टीकापुरस्थित वीरेन्द्र विद्यामन्दिर मावि कुनै बेला गौरव गर्ने संस्थाका रुपमा चिनिन्थ्यो। यसैका कारण टीकापुरलाई शैक्षिक नगरीको उपमा पनि दिइएको थियो। तर यतिबेला त्यही गौरव गर्न लायक संस्था राजनीतिक हस्तक्षेपका कारण धराशायी बन्न पुगेको छ।




राजनीतिक हस्तक्षेपका कारण विद्यालय भर्ती केन्द्र बनाइयो। विद्यालयमा हाल स्थायी, अस्थायी, करार र आंशिक गरेर ७२ जना शिक्षक कर्मचारी कार्यरत छन्। ती मध्ये अधिकांश बिना विज्ञापन भर्ती गरिएका छन्।

कसैलाई विद्यालय व्यवस्थापन समितिको निर्णयका आधारमा नियुक्ति दिइएको छ भने कसैकसैको नियुक्ति पत्रमा समितिका अध्यक्षको तोकादेश भनेर समेत उल्लेख गरिएको छ। 

विद्यालयमा शिक्षक कर्मचारी भर्ती गर्ने क्रम अझै रोकिएको छैन। पछिल्लो घटनाक्रम अनुसार तीन जना विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले आफ्ना श्रीमती र बुहारीलाई जागिर लगाए पछि विद्यालय विवादमा तानिएको छ। सदस्यहरु चेतमान खत्रीले श्रीमती सुशीला पण्डित, प्रकाश खड्काले श्रीमती दिव्या गिरी र अर्जुनबहादुर ठकुल्लाले बुहारी समीक्षा ओलीलाई जागिर लगाएका छन्।

शिक्षक कर्मचारीलाई आन्तरिक बढुवा गर्दा समेत विभेद गरिन्छ। खुल्ला प्रतिस्पर्धाबाट क्षमताका आधारमा जागिर खाएकालाई भन्दा तोकादेशमा भर्ती गरिएकाहरुलाई बढुवा गर्दा प्राथमिकतामा राखेको पाइएको छ।

कतिपय प्रावि तहको सहायकमा नियुक्ति पाएकाहरु अहिले मावि तहमा पुगेका छन् भने कतिपय लामो समय देखी जुन पदमा नियुक्ति लिएका हुन सोही पदमा कार्यरत रहेको स्रोतले बताएको छ।

‘चाकरी गर्नेहरु अघि बढेका छन्’ स्रोतले भन्यो –‘चाकरी नगर्नेहरु अहिले पनि जहाँको त्यहीँ काम गरिरहेका छन्।’
विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका आसेपासेहरुलाई जागिर लगाउने थलो बनेको विद्यालयको आर्थिक र शैक्षिक अवस्था दयनीय बन्न पुगेको छ।

विद्यालयमा विद्यार्थी संख्या विगतको तुलनामा घटेको छ। हाल मावि तह (कक्षा १०) सम्म १ हजार ७११ विद्यार्थी अध्ययनरत छन्। अघिल्लो वर्ष कक्षा ११ मा ४४७ विद्यार्थी भर्ना भएकोमा यस वर्ष अहिलेसम्म २१६ जना मात्रै भर्ना भएका छन्। कक्षा ११ को भर्ना अभियान जारी छ। 

‘भर्ना अभियान जारी रहेकाले यो संख्या बढ्न सक्छ’ प्रधानाध्यापक फणेन्द्रराज रेग्मीले भने –‘तर अघिल्लो वर्षको भन्दा विद्यार्थी संख्या निक्कै घटेको छ।’
कुनै बेला विद्यालयमा विद्यार्थी संख्या तीन हजारको हाराहारीमा हुन्थ्यो। विद्यालयमा आफ्ना छोराछोरी भर्नाका लागि अभिभावकले भनसुन गर्नु पर्थ्यो। पश्चिम नेपालका सुदूर तथा मध्यपश्चिमका अधिकांश जिल्लाबाट विद्यार्थी पढ्नका लागि आउँथे। ती बाहेकका जिल्लाबाट पनि विद्यार्थी पढ्न आएको इतिहास छ।

काठमाण्डौंका नाम चलेका विद्यालय छोडेर अध्ययनका लागि वीरेन्द्र विद्यामन्दिर रोज्ने पनि थिए। टीकापुर नगरपालिका–१ का उत्तमराज अधिकारीका तीनजना दाजुभाइलाई अभिभावकले काठमाण्डौंको सिद्धार्थ वनस्थली छोड्न लगाएका थिए। उनी हाल सोही विद्यालयमा अध्यापनरत छन्।

‘हामी जस्ता थुप्रै विद्यार्थी अन्यत्र छोडेर आएका थियौँ’ उनले भने –‘त्यतिबेला वीरेन्द्र विद्यामन्दिरको क्रेज नै बेग्लै थियो।’
यो विद्यालय २०३१ सालमा स्थापना भएको हो। यसको तत्कालीन नाम टीकापुर आवासीय माध्यमिक विद्यालय थियो। २०४४ साल जेठ ५ गते तत्कालीन राजदरबारबाट विद्यालयको नाम वीरेन्द्र विद्यामन्दिर राख्न पत्राचार गरियो। सोही पत्रमा विद्यालयसँगैको छात्रावासको नाम ऐश्वर्य छात्रावास राख्न निर्देशन दिइएको थियो।

तत्कालीन टीकापुर विकास समितिले विद्यालयको स्थापना गरेको हो। समितिले सुरुवातमै विद्यालयका नाममा ५० विगाह जमिन उपलब्ध गराएको थियो। सो मध्येको २४ विगाह जमिन विद्यालयले स्थानीय विनोद साहलाई भाडामा दिएको छ। जसबाट वार्षिक १२ लाख ३ हजार ६२४ रुपैयाँ आम्दानी हुन्छ।

विद्यालयको थप १५ विगाह जमिन २०६६ सालमा बिक्री गरियो। विद्यालय आर्थिक रुपमा धराशायी भएको हवाला दिँदै जग्गा बिक्री गरिएको थियो। विद्यालयले जग्गा बिक्री गर्न नमिल्ने भएपछि केही व्यक्तिहरुले सार्वजनिक शैक्षिक गुठी स्थापना गरेर जग्गा बिक्री गरे। हाल सो जमिन व्यक्तिका नाममा दर्ता भएर बस्ती बनेको छ। ५० विगाह मध्ये बिक्री र भाडामा दिएर बचेको जमिनमा विद्यालय, छात्रावास र खेलमैदान रहेको छ।

तत्कालीन समितिले विद्यालयलाई थप ५० विगाह जमिन भोगाधिकार दिएको छ। सो जमिन मध्ये १० विगाह विद्यालयले प्राकृतिक स्रोत कलेजलाई निःशुल्क दिएको छ भने ५ विगाह प्यारागन एग्रो हव एण्ड रिसर्च सेन्टरलाई भाडामा दिएको छ।

विद्यालयले भाडा वापत वार्षिक १ लाख ५० हजार रुपैयाँ आम्दानी गर्छ। भोगाधिकार प्राप्त ५० विगाह मध्येको ३५ विगाह जमिन भने २०६४ सालदेखी बाढी पीडितले कब्जा गरेका छन्। 

विद्यालयले १५ विगाह जमिन बेचेर ९ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको थियो। जसमध्ये तीनवटा छुट्टाछुट्टै अक्षयकोष निर्माण गरेको तत्कालीन प्राचार्य किर्तिसिँह बमले जानकारी दिए।

उनका अनुसार ५ करोडको अक्षयकोष उच्च मावि (हाल मावि) का नाममा, २ करोडको अक्षयकोष क्याम्पसका नाममा र २ करोड ३६ लाखको संवृद्धि कोष स्थापना गरिएको थियो। संवृद्धि कोषबाट ऋण लिएर विद्यालयले २० जना शिक्षक कर्मचारीलाई उपदान सहित अवकास दिएको थियो।

आर्थिक भार बढेको भन्दै जग्गा बेचेर शिक्षक कर्मचारीलाई अवकाश दिएको विद्यालयले लगत्तै सोही हाराहारीमा शिक्षक कर्मचारी भर्ती गरेको थियो। त्यस यता शिक्षक कर्मचारी भर्ती गर्ने प्रतिस्पर्धा सुरु भएको देखिन्छ।

विद्यालय व्यवस्थापन समितिमा पुग्ने र टीकापुरमा अग्रमोर्चामा राजनीति गर्ने अधिकांशले आफ्ना आसेपासेलाई विद्यालयमा जागिर खुवाएको पाइन्छ। सो क्रम वर्तमान समितिका सदस्यहरुले समेत निरन्तरता दिएका छन्।

आर्थिक रुपमा ओरालो लागेको विद्यालयमा शिक्षक कर्मचारी भर्ना गर्ने क्रम नरोकिए पछि स्थानीयले विरोध गर्दै आएका छन्। स्थानीयले विकृतिको विरोध गरेपनि कहीँ कतैबाट सुनुवाइ भने हुन सकेको छैन। हाल नौ सदस्यीय विद्यालय व्यवस्थापन समितिको अध्यक्ष शिक्षा विकास तथा समन्वय ईकाई कैलालीका प्रमुख वैकुण्ठ सुवेदी रहेका छन्।

समितिको सदस्यहरुमा नगरप्रमुख, विद्यालय निरीक्षक, शिक्षक प्रतिनिधि र चारजना पार्टीका प्रतिनिधि रहेका छन्। समितिमा चार ठूला दलले एक/एक सदस्य भागबण्डा गरेका छन्। जसमा नेपाली कांग्रेसका खत्री, नागरिक उन्मुक्तिका ठकुल्ला, नेकपा एमालेका खड्का र नेकपा माओवादीका कमला कोइराला छन्। समितिको सदस्य सचिवमा प्रधानाध्यापक रेग्मी छन्।

विद्यालयले करिब २ विगाह जग्गा दिएर २०६३ सालमा वीरेन्द्र विद्यामन्दिर क्याम्पस स्थापना गरियो। क्याम्पसमा हाल स्नातकोत्तर तहसम्मको अध्ययन हुन्छ। क्याम्पसको छुट्टै व्यवस्थापन समिति रहेको छ। जसको अध्यक्ष महेन्द्रसिँह बम छन्।

क्याम्पस र विद्यालयको एक छाता संस्था पनि रहेको छ। जसको नाम वीरेन्द्र विद्यामन्दिर सार्वजनिक शैक्षिक गुठी हो। १३ सदस्यीय गुठीमा विभिन्न व्यक्ति र संस्थाको प्रतिनिधित्व रहने व्यवस्था छ। गुठीलाई कुनै कार्यकारी अधिकार भने छैन। गुठीको वैधानिकता माथि समेत प्रश्न उठ्ने गरेको छ।

विद्यालय विद्यार्थीको मासिक शुल्कबाट चलेको छ। सो विद्यालयमा ८० प्रतिशत विद्यार्थी निम्न आय भएका परिवारका बालबालिका छन्। विद्यालयलाई भर्तीकेन्द्र बनाउँदा त्यसको असर निम्न आय भएका परिवारमा पर्ने गरेको छ। उनीहरु निःशुल्क पढ्न पाउनुपर्ने ठाउँमा मासिक शुल्क तिरेर पढ्न बाध्य छन्। यस्तो अवस्थामा विद्यालयलाई भर्तीकेन्द्र बनाइनु न्यायोचित नहुने स्थानीयको भनाई छ।

शिक्षक कर्मचारीहरुले असोज महिनादेखी तलब पाउन सकेका छैनन्। उनीहरुले दसैँ तिहार जस्ता चाडपर्वमा समेत तलब पाउन नसकेको दुःखेसो पोखे।

प्रधानाध्यापक रेग्मीले मासिक शुल्क संकलन नभएकाले तलब दिन नसकेको बताए। उनले १ करोड रुपैयाँ भन्दा धेरै शुल्क संकलन हुन बाँकी रहेको जानकारी दिए। उनका अनुसार कक्षा ११ र १२ मा करिब ६० लाख ५८ हजार ३८० र कक्षा १० सम्म ४६ लाख ३१ हजार ५०० रुपैयाँ शुल्क संकलन हुन सकेको छैन।

‘आर्थिक अवस्था भने जस्तो नाजुक छैन’ रेग्मीले भने –‘मासिक रुपमा तलब दिने गरेका छौं। यो पटक मात्रै केही समय ढिलो भएको हो।’ उनले मासिक २५ देखी २८ लाख रुपैयाँ सम्म तलबमा खर्च हुने बताए।

विकास समिति ऐन २०१३ अन्तर्गत गठन भएको टीकापुर विकास समिति २०६५ मा विघटन भयो। ऐनको दफा ८ को उपदफा २ (क) मा समितिको विघटन पश्चात् सबै हक, दायित्व र ऋण नेपाल सरकारको हुने उल्लेख छ।

सोही अनुसार टीकापुर अस्पताल, बसपार्क, बिक्री हुन बाँकी रहेको जग्गा र चल अचल सम्पत्ति सम्बन्धित निकायमा हस्तान्तरण समेत गरियो। समितिको मातहतमा रहेको विद्यालयलाई भने अलपत्र छोडियो।

समिति विघटन भए पश्चात् भौतिक योजना तथा निर्माण मन्त्रालय राज्यमन्त्री स्तरबाट निर्णय गरेर विद्यालय सरकारीकरणका लागि २०६५ वैशाख २६ गते शिक्षा तथा खेलकुद मन्त्रालयमा अनुरोध गरिएको थियो। भर्तीकेन्द्र बनेको विद्यालयलाई जिम्मा लिन सरकारी पक्षबाट सुनुवाइ भएन।

विद्यालय व्यवस्थापन समितिको संस्थापक अध्यक्ष ज्ञान बहादुर सिंह थापा हुन। उनी छोटो समय अध्यक्ष रहे। २०३२ देखी २०४६ सम्म ज्ञानराज शाही अध्यक्ष बने। २०४८ सम्म विद्यालय व्यवस्थापन समिति अध्यक्ष विहीन रह्यो। त्यसपछि समितिकै अध्यक्ष विद्यालयको अध्यक्ष रहने व्यवस्था गरियो।

२०६६ देखी २०७३ सम्म कैलालीको प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने व्यवस्था भयो। त्यस यता भने साविक जिल्ला शिक्षा कार्यालयको प्रमुख अध्यक्ष रहने व्यवस्था रहेको छ।

स्थापनाकालदेखी नै सरकारको लगानी र संलग्नता रहेको विद्यालय अहिलेसम्म सरकारी बन्न सकेन। विघटनको बेला समितिको नेतृत्वमा रहेकाले समेत विद्यालयलाई बेवारिसे अवस्थामा छोडे। जसको परिणाम सरकारी लगानी र संलग्नता रहेको विद्यालय अहिले निजी विद्यालय सरह सञ्चालन भइरहेको छ। यस विद्यालयबाट उत्तीर्ण निम्न आय भएका परिवारका विद्यार्थीहरुले सरकारी विद्यालयबाट उत्तीर्ण विद्यार्थी सरहको सेवा सुविधाबाट वञ्चित हुनुपरेको छ।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
३९ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस