रातभर फलाकेर मनाए प्रकृति पुजक चेपाङले ‘न्वागी’
२२ भदौ २०८०
•
४ मिनेट पाठ
रातभर फलाकेर मनाए प्रकृति पुजक चेपाङले ‘न्वागी’
गलामा रुद्राक्षको माला, त्यसैमाथि घण्टी। छालाले मोहोरिएको एकपाखे ढ्याङ्ग्रोमा पनि घण्टी र घलामहरू झुन्ड्याइएको छ। गाउँभरिका मानिस एकैठाउँमा जम्मा भएर चेपाङ झाँक्री न्वागी फलाक्दै थिए। जति रात छिप्पिँदै गयो ढ्याङ्ग्रो, घण्टी र घलामबाट आवाज चर्किँदै थिए। मन्द आवाजमा केही फलाकेजस्तो त कोही गुनगुनाएजस्तो आवाज वरपर पनि गुन्जायमान थिए। त्यही ढ्याङ्ग्रो ठोकेर फलाक्नेमध्येका एक हुनुहुन्थ्यो धादिङ गजुरी गाउँपालिका–५ बरभञ्ज्याङका राजकुमार चेपाङ।  




नेपालका सीमान्तकृत चेपाङ समुदायले मनाउने न्वागी पर्व निकै रमाइलो र चाखलाग्दो छ। चेपाङ अर्थात् प्रजा समुदायले मनाउने यो ‘न्वागी’ उनीहरुको मुख्य पर्व पनि हो। चेपाङ भाषामा ‘न्वागी’ भनेको ‘छोनाम’ हो। पितृ बुझाउने र भूमि पूजा गर्ने पर्वका रूपमा परिचित यो पर्वमा आफ्ना कूलभरिमा मानिस मूल झाँक्रीको घरमा जम्मा भएर झाँक्री फलाक्ने गर्दछन्। यो पर्वमा विशेषगरी घैया धान, गाभा, निबुवा, घिरौलालगायत कन्दमूल र तरकारी पितृलाई बुझाएर अन्न फलाउने भूमिलाई पूजा गर्ने प्रचलन रहिआएको छ।

‘नयाँ बाली पाकेपछि पितृलाई नबुझाई खाँदा पितृ रिसाउने, अनिष्ट हुने भन्ने जनविश्वास रहेकाले झाँक्रीहरूले रातभर फलाकेर पितृ बुझाउने र अन्न फलाउने भूमिलाई धन्यवाद दिने गरिन्छ’, झाँक्री राजकुमार चेपाङले भने, ‘नयाँ बाली पितृलाई नबुझाई र अन्न फलेको भूमिको पूजा नगरी खायो भने कूल रिसाउँछ, मानिस बिरामी पर्छ, अनिष्ट भएरै छोड्छ।’

चेपाङ समुदायले आफ्नो प्रमुख चाडका रूपमा हरेक वर्ष भदौ २२ गते न्वागी पर्व मनाउँछन्। भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि पूजा गर्ने परम्परा रहेको छ, यसका लागि चेपाङ झाँक्री (पान्दे)हरूले एकपाखे ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउने प्रचलन पनि रहिआएको छ।

‘पितृ नबुझाई र अन्न उत्पादन गराइदिएकामा भूमिलाई धन्यवाद नदिई नयाँ बाली खाएमा अनिष्ट हुन्छ, अशुभ हुन्छ, पितृ रिसाउँछ भन्ने धार्मिक विश्वास रहिआएको छ’, नेपाल चेपाङ सङ्घका अध्यक्ष गोविन्दराम चेपाङले भने, ‘यो पर्वमा झाँक्री बसेर रातभर सिमेभुमे फलाकेरमात्रै खानुपर्छ भन्ने मान्यता परापूर्वकालदेखि नै चलिआएको हो।’

छरछिमेकी, नाताकुटुम्व आमन्त्रण गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुख–दुःख साट्ने गर्छन्। ठाउँ र कूलअनुसार पनि न्वागी मनाउने चलन फरक–फरक छ। चेपाङले न्वागी पर्वलाई ‘पान्देइ घ्यासा’ चाड पनि भन्छन्। भेला भएर ढ्याङ्ग्रो बजाउने, टीका लगाएर आपसमा आशीर्वाद थाप्ने गरिन्छ। न्वागीको दिनलाई चेपाङहरूले वारनाको रूपमा मनाउने नेपाल चेपाङ सङ्घका केन्द्रीय सचिव एवं धादिङको गजुरी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष सुरेन्द्र चेपाङले बताए।

वारनामा कोही चेपाङ काममा निस्कँदैनन्। यो वर्ष पनि वर्षभरि मृत्युवरण गरेका परिवारका सदस्य र आफन्तको नाममा गयराति (बिहीवार) रातभर ढ्याङ्ग्रोमा फलाकेर आज (शुक्रवार) बिहान न्वागी पूजा गर्ने चलन छ। चेपाङ समुदायले पर्वका रूपमा हरेक वर्ष भदौ २२ गतेलाई मनाउने भए पनि आ–आफ्नो कूलभित्र भने भदौ महिना लागेदेखि फलाक्न सुरु गर्छन्। कूल र भूगोलअनुसार साना–साना समूहमा पनि झाँक्री फलाक्ने र न्वागी मनाउने चलन छ।

प्रकृति पूजकका रूपमा पनि चेपाङ जातिलाई चिनिन्छन्। सिमेभुमेलाई बुझाएर मात्रै पाकेका अन्नबाली खाने गर्छन्। जल, जङ्गल र जमिन चेपाङ जातिको जीविकोपार्जनको मुख्य स्रोत हो। जमिनमा खोरिया खन्ने, जङ्गलमा सिकार गर्ने र जलमा बल्छी र जाल हानेर माछा मारी जीविका धान्ने चेपाङको परम्परागत विशेषता हो।

सार्वजनिक बिदा    

चेपाङ सङ्घले हरेक वर्ष कहिले चितवन, कहिले धादिङ त कहिले मकवानपुरको चेपाङ बहुल्य क्षेत्रमा न्वागी मनाउँदै आएका छन्। अघिल्लो वर्ष चितवनमा सामूहिकरूपमा मनाएकामा यो वर्ष धादिङमा मनाइरहेका छन्। न्वागी मनाउन धादिङ, चितवन र मकवानपुरमा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। चितवन र मकवानपुर, गोरखालगायत जिल्लाका चेपाङ बिहीवारदेखि नै धादिङको गजुरी–५ च्याङ्लीमा जम्मा भएका छन्। न्वागी मनाउन सरकारले सार्वजनिक बिदा दिएको यो दोसो वर्ष हो।

सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो। महाभारत पर्वत शृङ्खला वरिपरिको रैथाने बासिन्दा मानिन्छन्। मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङको घना बसोबास छ। चेपाङ समुदायको जनसङ्ख्या सबैभन्दा धेरै चितवन, मकवानपुर र धादिङमा बाहुल्यता छ। गोरखा, तनहुँ र लम्जुङमा पनि चेपाङ समुदायको बाक्लो बसोबास छ। इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, बारा, पर्सा, ललितपुर, काठमाडौँ, कास्की, गुल्मी, नवलपरासी, रूपन्देही, दाङ, बाँके र बर्दिया गरी २६ जिल्लामा चेपाङ जातिको बसोबास रहेको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए।

चेपाङ भाषाबाटै ‘धादिङ’को नाम    

धादिङ जिल्लाको नाम पनि चेपाङ भाषाबाटै राखिएको भन्ने कथन छ  चेपाङले ‘धा’ भनेको ‘आगोको ज्वाला’ र ‘दिङ’ भनेको ‘देवी–देउता चथौत माटो’ हो, यसैलाई मिलाएर धादिङ नाम बसेको हो’, चेपाङ सङ्घ धादिङका अध्यक्ष भीमबहादुर चेपाङले भने।

न्वागीलाई माटो पूजाका रूपमा पनि लिएका छन्। चेपाङ समुदायको थातथलो नै महाभारत क्षेत्र हो। चेपाङहरू पहिलादेखि नै धादिङ, चितवन र मकवानपुरको सिमाना महाभारत शृङ्खलामा बसोबास गरेको र उनीहरूले पूजा गर्ने ज्वालामुखी देवीको मन्दिर पनि धादिङ जिल्लामा रहेकाले चेपाङ भाषाबाट नै जिल्लाको नाम ‘धादिङ’ रहन गएको हो भन्ने जनश्रुतिले यहाँ जनसमर्थन पाएको छ।

चेपाङ जातिलाई भौगोलिक सिमानाभन्दा सामाजिक तथा सांस्कृतिक सिमानाले बाँधेको छ। जन्मदेखि मृत्युसम्मको संस्कार भूमिसँग सम्बन्धित छ। रासस
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
२२ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस