दिलीप हत्या प्रकरणः सरकार गुहार्दै परिवार, अवैध उत्खनन र क्रसरको विरोध गर्दा मारिएका थिए दिलीप
२९ पौष २०७९
•
८ मिनेट पाठ
दिलीप हत्या प्रकरणः सरकार गुहार्दै परिवार, अवैध उत्खनन र क्रसरको विरोध गर्दा मारिएका थिए दिलीप
उपप्रधान एवं गृहमन्त्री रबी लामिछानेलाई ज्ञापन पत्र बुझाएपछि छोरा सम्झेर भक्कानिदै दिलीपकी आमा चन्द्रकलादेवी। तस्बिर: नागरिक
२०७६ पुस २५ गते बिहान ४ बजे धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित औरही खोलामा ओमप्रकाश महतो ‘दिलीप’ को हत्या भयो। त्यो घटना सम्झिँदा अहिले पनि यहाँका स्थानीयको मन सिरिंग हुन्छ।




तर छोराका हत्यारालाई सजाय र परिवारलाई न्यायका लागि संघर्ष गरिरहेका रामजीवन आजित भैसकेका छन्। कारण १८ पटक पेशी चढेको दिलीप हत्या सम्बन्धी मुद्दा ९ पटक स्थगित भैसकेको छ। छिटो न्याय दिलाएर परिवारलाई राहत उपलब्ध गराउन भन्दै शुक्रबार महतो परिवार उपप्रधान एवं गृहमन्त्री रबी लामिछानेलाई भेटेर ज्ञापन पत्र बुझाएका छन्।

जिल्ला आदालत धनुषाले मुद्दा सुनवाइमा ढिलाई गरेको, खोलाको अबैध उत्खन्न नरोकिएको भन्दै दिलीप महतोकी आमा चन्द्रकला देवी महतो, बुबा रामजीवन महतो, दिदीबहिनी सविता, लक्ष्मीले गृहमन्त्रीलाई पाँच बुँदे ज्ञापन पत्र बुझाएका छन्।

दिलीप महतोलाई नेपालको पहिलो पर्यावरण शहीद घोषणा गर्नु पर्ने, घटनाका दोषीलाई कानूनी कारबाही हुनुपर्ने, घटनाको छानविन गर्न उच्चस्तरीय न्यायीक छानविन समिति गठन गर्नुपर्ने, अबैध खोला उत्खन्न तथा क्रसर बन्द गरिनु पर्ने, चुरे संरक्षण गर्न ऐन बनाउनु पर्ने र पीडित परिवारलाई क्षतिपुर्ती दिनु पर्ने माग पीडित परिवारको छ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री लामिछाने पीडित परिवारका माग पूरा गराउने आश्वासन दिएका छन्। ‘अदालतमा मुद्दा चलिरहेको छ। अदालतले न्याय दिन्छ भनेर विश्वास गर्नुस् गृहमन्त्री लामिछानेको भनाइ उद्धृत गर्दै रामजीवनले नागरिकसँग भने,‘घटनाका दोषीलाई कानूनी कारबाही गर्न तत्काल काम थाल्छु। अवैध क्रसर बन्द गर्न निर्देशन दिइसकेको छु। काम भइरहेको छ।’  

दिलीप हत्याको तीन वर्ष

घरनजिकैको औरही खोलामा बर्सेनि आउने बाढी र त्यसले मच्चाउने पीडादायी वितण्डाबाट आफ्नो गाउँसमाजलाई जोगाउन संघर्षरत थिए, दिलीप। मेकानिकल इन्जिनियरिङमा स्नातक गरिरहेका उनी प्रकृति संरक्षणप्रति अत्यन्तै संवेदनशील थिए। अनियन्त्रित दोहन र कानुनविपरीत सञ्चालित क्रसरलाई रोकेर गाउँलाई सम्भावित विपद्बाट जोगाउन संगठित अभियान चलाएका थिए उनले।

जसका कारण समाजको आँखाका ज्योति बनिसकेका थिए उनी। तर खोला दोहन गर्ने र क्रसर माफियाको आँखाका लागि भने उनी कसिंगर बनेका थिए। ज्यान मार्ने धम्की तथा मुख बन्द राख्न देखाइएका लोभलालचको कत्ति पनि प्रभावमा नपरी अवैध धन्दा रोक्ने अभियानलाई निरन्तरता दिएका दिलीपको हठी स्वाभावले खोला तथा क्रसर माफियाहरू आक्रोशित बनिसकेका थिए। माफियाहरूबाट भइरहेको अवैध उत्खननलाई निरीह दर्शक बनेर हेरिरहेका राज्य निकायलाई समेत दिलीपको अभियानले ऐना देखाउँदै थियो।

माफियाले आफ्नो बाटो छेक्ने दिलीपलाई नसल्टाई धन्दा नफस्टाउने सोची उनको हत्याको योजना बनाएको उनका बुबा रामजीवन बताउँछन्। औरही खोलामा अवैध उत्खनन हुँदैछ भन्ने सूचना दिई बोलाउन लगाएर २०७६ पुस २५ गते बिहान ४ बजे दिलीपको हत्या गरिएको थियो। सूचना पाएर दिलीप औरही खोलामा भइरहेको अवैध दोहन रोक्न पुगेका थिए। तर त्यो दिन उनले दोहन रोक्न सकेनन्, दोहनकारीले घेरा हालेर उनको आवाज र अभियानलाई सधैंका लागि रोकिदिए।

जुन अवैध उत्खनन र गैरकानुनी रूपमा सञ्चालित क्रसरलाई रोक्न संघर्ष गर्दा दिलीप मारिए, त्यो क्रसर र अवैध उत्खनन आजसम्म बन्द भएको छैन। मिथिला नगरपालिका –५ (औरही खोलाको डिलमा) चुरियामाई बालुवा प्रशोधन उद्योग (क्रसर) अझै संचालनमा छ। यो उद्योग ०७५ कातिक ३ मा विपिनकुमार महतोको नाममा दर्ता भएको घरेलु तथा सना उद्योग कार्यालय धनुषाले जनाएको छ। क्रसरसँग औरही खोमलामा उपकरण प्रयोग गरेर अवैध उत्खनन अझै चलिरहेको छ। ‘यो अवैध धन्दा चलिरहँदा यस्तो लाग्छ, राज्यसत्ता र शक्ति केन्द्रको हातबाट दिलीपको दिनहुँ हत्या भइरहेको छ,’ दिलीपका बुबा रामजीवनले नागरिकसँग भने, ‘सरकारी तह इमानदार नहुँदाको अमिट पीडा मैले छोरा गुमाएर भोग्दैछु। राज्यका खातिर हाँसीहाँसी ज्यान फाल्ने दिलीपलाई न्याय दिलाउन राज्यको उदासीनता देख्दा लाग्छ, राज्य सञ्चालनको चाबी धन हुने माफियाकै खल्तीमा छ।’

‘पीडित हामी हौं। छोरा हाम्रो मारिए। राज्यबाट न्याय हामीले पाउनुपर्ने हो। तर यहाँ उल्टो छ, ‘रामजीवन भन्छन्, ‘उल्टै हामीमाथि मुद्दा हालेर पीडा थपिएको छ। अभियुक्तहरू निष्फिक्री घुम्दैछन्, हामी भने डराउन बाध्य छौं। कारण, अभियुक्तहरू तारेख र धरौटीमा छुटेपछि घरअगाडिबाटै ओहोरदोहोर गर्छन्।’

एक महिनाको अनुसन्धानपछि २०७६ माघ २२ गते जिल्ला अदालतमा मुद्दा दर्ता भयो। अभियोग पत्रमा दिलीपलाई यातना दिई क्रुुरतापूर्वक मारेको भन्दै सातजनालाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिम जीवित रहेसम्म कैद सजाय माग गरिएको छ। तर जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेले उद्योग सञ्चालक विपिनकुमार महतो तथा उनका कर्मचारी मुनीन्द्र र रञ्जितलाई मात्रै मुद्दाको फैसला नहुन्जेल थुनामा राख्न आदेश दिए। रोशनकुमार, सत्यनारायण र शत्रुधन भने २५ हजार रुपैयाँ धरौटीमा छुटे।

एक वर्ष फरार रहेर अदालतमा हाजिर भएका उद्योगका अर्का सञ्चालक विनोदले साधारण तारेखमा बसे हुनेगरी २०७७ असोज २६ मा जिल्ला अदालतबाटै अनुमति पाए। मुख्य अभियुक्त नै धरौटी र तारेखमा बसे पुग्ने भन्दै आएको आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालय जनकपुर उच्च अदालत पुग्यो। यसअघि नै थुनामा बसिरहेका तीनजनाले पनि साधारण तारेखमा बस्न पाउनुपर्ने मागसहित उच्च अदालतमा निवेदन दिए। उच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रमेश ढकालले २०७७ पुस २ गते जिल्ला अदालतका सबै आदेशलाई सदर गरिदिए।

पेसी सरेको सर्‍यै

दिलीपको हत्यासम्बन्धी मुद्दामा धनुषा जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीले सुनुवाइ सुरु गरे। जिल्ला अदालत धनुषाको अभिलेखमा उक्त मुद्दा २०७७ चैत ३१ गते पेसीमा चढेको थियो। तर सुनुवाइ नभई स्थगित भयो। कारण थियो, न्यायाधीश बिदामा बस्नु। त्यसपछि त्यो मुद्दा २०७९ पुष २९ गतेसम्म १८ पटक पेसीमा चढेको छ।

जसमा दुईपटक मात्रै सुनुवाइ भएको छ। सुनुवाइ भएको २०७७ असोज ७ गते न्यायाधीश धु्रवराज कार्कीले साक्षी बुझ्ने आदेश गरेका थिए। दोस्रो पटक २०७८ फागुन १५ गते न्यायाधीश तीर्थराज केसीले साक्षी बस्ने आदेश गरेका थिए। मुद्दाको प्रक्रिया त्यहाँभन्दा अगाडि बढ्न सकेको छैन।

दिलीपको मनशायपूर्वक हत्यासम्बन्धी मुद्दा ६ पटक न्यायाधीश कार्कीको इजलासमा चढेको अभिलेखबाट देखिन्छ। जसमा एकपटक बार एकाइको पत्रले हटेको बाहेक इजलास नबस्दा र न्यायाधीश बिदामा बस्दा सुनवाइ नभएको देखिन्छ। २०७९ जेठ ९ गते न्यायाधीश भीष्मराज प्रसाईंको इजलासमा मुद्दाको पेसी चढ्यो। जसमा पक्षबाट स्थगित भएको देखिन्छ। त्यसपछि यो मुद्दाको पेसी ९ पटक स्थगित भएको छ।

‘न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/८१)’ ले जिल्ला अदालतमा दर्ता भएका मुद्दा दुई वर्षमा टुंगो लगाउने लक्ष्य राखेको छ। अदालतले नै निर्धारण गरेको मितिमा सुनुवाइ भएको भए चुरिया माई बालुवा प्रशोधन उद्योग सञ्चालक मिथिला नगरपालिका–५ का विपीनकुमार महतो, उनका दाइ विनोद महतो, उद्योगमा कार्यरत मिथिला–९ का मुनीन्द्र महतो, महोत्तरी बर्दिबास नगरपालिका–२ का जितेन्द्रकुमार महतो, गणेशमान चारनाथ नगरपालिका–२ का सत्यनारायण महतो, सर्लाही लालबन्दी नगरपालिका–१७ का शत्रुधन महतो तथा दिलीपका साथी मिथिला–५ का रोशनकुमार यादवविरुद्धको मुद्दा टुंगो लागिसकेको हुने थियो। धनुषा जिल्ला अदालतको अभिलेखअनुसार दिलीपको मनशायपूर्वक हत्यासम्बन्धी मुद्दा २०७६ माघ २३ गते दर्ता भएको हो।

दुःख दिने मनशाय

साधारण तारेखमा बसे हुने भनी अदालतको आदेशपछि दिलीप हत्याका प्रतिवादी विनोद महतोले २०७७ चैत २० गते जनकपुर उच्च अदालतमा दिलीपका बुवा रामजीवन, आमा चन्द्रकला, दुई बहिनी संगमकुमारी र लक्ष्मीलाई विपक्षी बनाएर मुद्दा दर्ता गराए। मुद्दामा उनले दिलीपका परिवारमाथि आफ्नो चुरिया माई बालुवा प्रशोधन उद्योगमा हस्तक्षेप गरेको अभियोग लगाए।

घरेलु तथा साना उद्योग कार्यालय धनुषामा विनोदका भाइ विपीनका नाममा दर्ता छ। दिलीप हत्या अभियोगमा विपीन जेल परेका थिए भने विनोद फरार भएपछि उद्योग बन्द थियो। यता मुद्दा दर्ता भएलगत्तै न्यायाधीश उज्ज्वल शुक्लले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरे। उनले अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई २०७७ चैत ३१ गते बोलाए।

छोरा हत्याका आरोपितले हालेको मुद्दाले रामजीवनलाई आपत् थपिदियो। ‘छोराको न्यायका लागि धाउने कि आफ्नो बचाउमा प्रमाण पेस गर्ने?’ रामजीवन भन्छन्, ‘लिखित जबाफ पेस गर्न वकिल नै खोज्नुप¥यो।’  ‘छोराको मुद्दामा न्याय पाउन भौंतारिँदै थिएँ,’ उनले थपे, ‘उता छोराको हत्या आरोपितले परिवारका सबैलाई मुद्दा लगाएर दुःख दिए।’

अदालतले लिखित जबाफका लागि उपलब्ध गराएको १५ दिनभित्र वकिल खोजेर रामजीवनले उच्च अदालतलाई जवाफ पठाए, ‘निवेदक विनोदकुमार महतो एक वर्षदेखि फरार थिए। र, उपस्थित भएर तारेखमा छुटेपछि मुद्दा हालेर हामीलाई दुःख दिएका हुन्। उनीहरू आफैंले उद्योग बन्द गरी लुक्दैभाग्दै हिँडेका थिए। हामीले कुनै बाधाविरोध गरेका थिएनौं । सञ्चालन गर्न रोकेका थिएनौं।’

न्यायाधीशद्वय लेखनाथ घिमिरे र रमेश ढकालले २०७७ चैत ३१ गते दिलीपको परिवारका नाममा अन्तरिम आदेश जारी गरे। आदेशमा भनिएको छ, ‘कानुनले नदिएको अधिकार प्रयोग गरी उद्योग सञ्चालनमा अनधिकृत हस्तक्षेप नगर्नू नगराउनू।’

दिलीप हत्याका प्रतिवादीको तर्फबाट दायर मुद्दा सुनुवाइमा अदालतबाट ११ दिनमै आदेश आयो। तर दिलीपको मनसायपूर्ण हत्या मुद्दाको सुनुवाइ निरन्तर स्थगित हुँदै आएकोप्रति उनको परिवार दुःखित छ।

दिलीपको हत्याविरुद्ध दायर भएको अभियोगपत्रमा अपराधमा प्रयोग गरिएको साधन तथा कसुरजन्य सम्पत्ति रोक्का राख्न तथा नियन्त्रण गरी जफत गर्न माग गरिएको छ। गैरकानुनी रूपमा उत्खनन गरिरहेको उद्योग परिसरमै दिलीपको हत्या भएकाले उक्त सम्पत्ति पनि रोक्का राख्न मुद्दामा माग गरिएको हो।

मुद्दा लड्दा ऋण चढ्यो

छोरा हत्याविरुद्ध मुद्दा लड्दा एक लाख रूपैयाँभन्दा बढी ऋण चढेको दिलीपका बुबा रामजीवनले बताए। कमाउने कोही छैन, खर्च मात्र भइरहेको छ। सम्पत्ति नै सकिए पनि न्यायको लडाइँ बीचमै छोडेर घर बस्ने पक्षमा छैनन् रामजीवन। ‘पाँच÷दस कट्ठा जग्गा नै बेच्नु परे पनि न्यायको लडाइँबाट पछि हट्दिनँ। मैले मिलापत्रको पक्षमा जाने सोचेकै छैन,’ उनले भने, ‘प्रतिवादीले त ठुलै रकमको लोभ देखाउँछन्। म छोराको न्यायलाई पैसासँग साट्दिनँ, अन्तिमसम्म लड्छु। ढिलै भए पनि सत्यको जित हुन्छ। म मुद्दा हार्दिनँ जित्छु।’

दिलीपकी आमा चन्द्रकलादेवी सरकारसँग जवाफ मागिरहेकि छिन्, ‘आखिर के थियो र मेरा छोराको गल्ती? बाढीबाट गाउँसमाजलाई जोगाउनु, हरियाली जोगाउनु छोराको गल्ती थियो त? गलत तरिकाले खोला खन्नु, क्रसर चलाउनु गल्ती हो कि रोक्नु गल्ती हो ? हाम्रो पीडाले पोल्छ कि पोल्दैन, सरकार?’
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस