सुशासनका खातिर खबरदारी गर्नेहरू नै जिम्मेवारीमा
०७ असोज २०८२
•
८ मिनेट पाठ
सुशासनका खातिर खबरदारी गर्नेहरू नै जिम्मेवारीमा
जेन-जी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा चार मन्त्री थपिएका छन्। प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् आठ सदस्यीय भएको छ।  चार मन्त्रीले सोमबार शपथ लिए भने अरू तीन मन्त्रीले यसअघि नै जिम्मेवारी समालिसकेका छन्।  स्वास्थ्य तथा जनसंख्यामन्त्रीका लागि सिफारिस भएकी डा. संगीता कौशल मिश्रा भने विवाद आएपछि मन्त्री बन्न सकिनन्। 




प्रधानमन्त्री कार्कीले पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, सञ्चारकर्मी जगदीश खरेल र कृषि विज्ञ मदन परियारलाई मन्त्रीमा नियुक्ति गरेकी हुन्।  अख्तियारमा उजुरी रहेको, सचिव बन्न नपाउँदा ६ महिना बिदामा बसेको र अनुभवको सर्टिफिकेटसमेत विवादमा परेको हुँदा डा. मिश्रालाई मन्त्रीको सूचीबाट हटाइएको थियो।  मन्त्री बन्ने तय भएपछि उनले अतिरिक्त सचिवबाट समेत राजीनामा दिएकी थिइन्। 

अन्तरिम सरकारमा ११ सदस्यीय मन्त्रीमण्डल बनाउने बताएकी प्रधानमन्त्री कार्कीले अब तीन जना मन्त्री थप्नुपर्नेछ।  तर २२ मन्त्रालय रहेका कारण अरू मन्त्रीहरू थप्ने सुविधा पनि उनका लागि कायमै छ।  आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने म्यान्डेट पाएकी कार्की जेन-जी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्।  तर उनको क्याबिनेटमा जेन-जी आन्दोलनमा सहभागी भएकाबाट भने कोही पनि मन्त्री भएका छैनन्। 

कार्की नेतृत्वको सरकारमा सञ्चारकर्मी जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी लिएका छन्।  उनले जिम्मेवारी लिएपछि जेन-जी आन्दोलनको उद्गम बिन्दु सामाजिक सञ्जाल भएकाले नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्न सार्वजनिक स्थानमा नि:शुल्क इन्टरनेट उपलब्ध गराउने पहिलो निर्णय गरे।  उनले आगामी दुई महिनाभित्र काठमाडौं उपत्यकाभित्रका महत्वपूर्ण सार्वजनिक स्थानहरूमा नि:शुल्क इन्टरनेट उपलब्ध गराउने योजना रहेको बताए।  आगामी पाँच महिनाभित्र देशका १० वटा प्रमुख सार्वजनिक स्थानमा यो सुविधा विस्तार गर्ने खरेलको प्रतिबद्धता छ।  खरेल इमेज टेलिभिजनका समाचार सम्पादक थिए।  उनले इमेज टेलिभिजनमा ‘हट सिट’ नामक कार्यक्रम चलाउँदै आएका थिए।  खरेलको जन्म २०३९ साउन २२ गते दोलखामा भएको हो। 

कार्की क्याबिनेटमा वैज्ञानिक तथा सामाजिक अभियन्ता डा. महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन्।  पुन यसअघि कृषि औजार कारखाना सञ्चालनका लागि आफ्नो ‘आत्मकथा’ (पुस्तक) बेच्न देशदौडाहामा थिए।  २०११ माघ ९ गते म्याग्दीको नाङीमा जन्मेका पुनले कक्षा ७ सम्म गाउँकै स्कुलमा अध्ययन गरेका थिए।  कमजोर आर्थिक अवस्थाका कारण उनले कक्षा १२ सम्मको अध्ययन छात्रवृत्तिमै पूरा गरेका थिए।  

करिब १२ वर्षसम्म उनले विभिन्न विद्यालयमा पढाए।  पढाउने सिलसिलामा विभिन्न देशका विश्वविद्यालयहरूमा छात्रवृत्तिका लागि आवेदन दिएका पुनले अमेरिकाको ‘युनिभर्सिटी अफ नेब्रास्का एट कर्नी’मा आंशिक छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाए।  सोही विश्वविद्यालयबाट उनले स्नातक तह पूरा गरे।  २०४९ सालमा नेपाल फर्किएका उनी आफ्नो गाउँमा शिक्षा तथा प्रविधिको पहुँच विस्तार गर्ने काम सुरु गरी वायरलेस प्रविधिबाट ग्रामीण जनतालाई इन्टरनेट सेवा र सुविधा दिन सफल भए। 

राष्ट्रिय आविष्कार केन्द्रमा खर्च जुटाउन पुनले आफूले पाएका अवार्डसमेत लिलामीमा राखेका थिए।  सन् २००७ मा एसियाको नोबेल पुरस्कार भनेर चिनिने रोमन म्यागासेसे पुरस्कारसमेत पाएका पुनलाई नेपाल सरकारले २०७९ सालमा एक करोड रुपैयाँ राशिको भवन कीर्ति रत्न पुरस्कारबाट सम्मान गरेको थियो।  पुन ‘इन्टरनेट हल आफ फेम’, ‘समग्र सामाजिक नवीनता पुरस्कार’जस्ता पदबाट पनि सम्मानित भइसकेका छन्।  कृषि औजार कारखानाका लागि किताब बेच्न हिँड्दाहिँड्दै उनले मन्त्री बन्ने मौका पाएका हुन्।  राष्ट्रिय आविष्कार केन्द्रबाट सिंहदरबारको यात्रा तय गरेका मन्त्री पुनले पदभार ग्रहण गरेकै दिन कर्मचारीतन्त्रको परम्परागत कार्यशैलीलाई चुनौती दिँदै ‘वैज्ञानिकहरूको समिति गठन गर्ने’ प्रस्तावमा हस्ताक्षर गर्न आनाकानी गर्दै आर्थिक स्रोतको सुनिश्चितता खोजेका थिए। 

सोमबार केशरमहलस्थित मन्त्रालयमा पदभार ग्रहण गरेपछि कर्मचारीहरूले उनलाई ‘थिंक ट्यांक’को नयाँ समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गर्न आग्रह गरेका थिए।  ‘समिति त बन्छ, बनाऔंला।  समिति मात्रै बनाएर भएन।  पहिलो कुरा आर्थिक स्रोत खोज्नुपर्‍यो,’ मन्त्री पुनले कर्मचारीहरूसँग भने, ‘सधैं पैसा नै छैन भनेर अड्किएको हो।  पैसा कहाँबाट ल्याउने भनेर आर्थिक स्रोत त खोज्नुपर्‍यो नि !’ उनले समितिहरू केवल भिजिटिङ कार्डमा लेख्ने र दुई–चार पटक मिटिङ बस्ने काममा मात्र सीमित हुन नहुनेमा जोड दिए।  ‘बरु सानै होस्, ठोस काम होस्।  पहिला एउटाबाट सुरु गरौं अनि त्यो काम ठोस होस् भन्ने म चाहन्छु,’ मन्त्री पुनले भने।  उनले आफू मन्त्रालयमै सुत्ने–बस्ने बताउँदै एउटा खाट र भान्साकोठाको व्यवस्था गर्न निर्देशन दिएका छन्। 

डा. मदनप्रसाद परियारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।  कृषि क्षेत्रका स्थापित विज्ञका रूपमा चिनिएका उनले मन्त्री नियुक्तिपछि नेपाल र कोरियाबिच आलु र धान बालीमा अनुसन्धान गर्न यसअघि भएको सम्झौतालाई कार्यान्वयन गर्न समन्वय समिति गठन गर्ने प्रस्तावमा सही गरेका थिए।  मन्त्रालयका सचिवको नेतृत्वमा गठन हुने समितिले यसमा समन्वयको काम गर्ने जनाइएको छ।  पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री डा. परियारले निर्वाचनलाई प्राथमिकतामा राखेर कृषि क्षेत्रमा केही फरक काम गर्ने प्रतिबद्धता जनाए।  बेथिति रोकेर शासकीय सुधारमा सरकार लागिपर्ने उनको भनाइ थियो।  मन्त्री परियारले वर्तमान सरकारलाई प्राप्त शासकीय सुधार, बेथितिको अन्त्य एवं निर्वाचन गराउन प्राप्त ‘म्यान्डेट’ पूरा गर्न आफ्नो तर्फबाट सम्पूर्ण योगदान रहने प्रतिबद्धता व्यक्त गरे। 

सन् १९५१ अगस्ट २६ मा जन्मिएका परियार हाल नागार्जुन नगरपालिका–१० स्युचाटारमा बसोबास गर्दै आएका छन्।  सन् १९९४ मा थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट वातावरण, स्रोत तथा विकास विषयमा उनले ‘डक्टर अफ इन्जिनियरिङ’को उपाधि हासिल गरेका छन्।  सोही संस्थाबाट सन् १९८९ मा उनले मास्टर अफ इन्जिनियरिङको डिग्री लिएका थिए।  यसअघि सन् १९७३ मा भारतको इलाहाबाद एग्रिकल्चरल इन्स्टिच्युटबाट कृषि इन्जिनियरिङमा ब्याचलर अफ साइन्स र सन् १९६९ मा इन्टरमिडियट अफ साइन्स इन एग्रिकल्चर पूरा गरेका थिए।  

डा. परियारसँग नेपालसहित भारत, थाइल्यान्ड, श्रीलंकाका गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सरकारी निकायहरूमा ३० वर्षभन्दा बढीको कार्यानुभव छ।  उनलाई सन् १९९० र १९९८ मा ‘विद्या भूषण ‘क’ र ‘ख’बाट सम्मानित गरिएको थियो।  सन् १९८९ मा एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीले उत्कृष्ट शैक्षिक प्रदर्शनका लागि ‘जेम्स लिनन मेमोरियल प्राइज’ प्रदान गरेको थियो।  कार्की मन्त्रिपरिषद्का अर्का मन्त्री सर्वोच्च अदालतका पूर्व न्यायाधीश अनिलकुमार सिन्हा हुन्।  अन्तरिम सरकारमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी उनलाई दिइएको छ।  कानुनबाहेक सिन्हाले उद्योग र भूमि मन्त्रालयको समेत थप जिम्मेवारी पाएका छन्।  

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री सिन्हाले पदभार ग्रहणका क्रममा देशको वर्तमान अवस्था र आन्दोलनका सहिदहरूको स्मरण गरेका थिए।  सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार सम्हाल्दै उनले देशका लागि ज्यान गुमाएका सहिदहरूको बलिदान खेर जान नदिने र उनीहरूका सपना पूरा गर्न आफू प्रतिबद्ध रहने बताए।  

पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री सिन्हाले देश निकै अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको बताए।  ‘पूरा देश नै आक्रान्त छ,’ उनले भने, ‘हामी राजनीतिक स्थायित्वका लागि र जुन प्रयोजनका निमित्त आन्दोलन भएको थियो, त्यसका लागि काम गर्नेछौं। ’ आन्दोलनका क्रममा ज्यान गुमाएका ७० भन्दा बढी सहिद र घाइतेहरूको स्मरण गर्दा मन्त्री सिन्हाका आँखा रसाएका थिए। 

सिन्हा कानुनी क्षेत्रमा काबिल मानिन्छन्।  प्रशासनिक जागिरको समेत अनुभव सँगालेका उनले नेपाल ल क्याम्पसबाट २०३९ सालमा स्नातक उत्तीर्ण गरेपछि २०७३ सालसम्म निरन्तर वकालत गरे।  २०३८ सालमा बिएल पास भएपछि उनले २०३९ सालमा कानुन व्यवसायीको लाइसेन्स पाएका थिए।  २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश भएका सिन्हाले २०८० कात्तिक १५ गते अनिवार्य अवकाश पाएका थिए।  कर्पोरेट वकिल भएर वकालत गरिरहेका अनिलले सर्वोच्चमा न्यायाधीश भएसँगै पहिलो दिन इजलासमा फौजदारी मुद्दा हेरेका थिए। 

कार्की क्याबिनेटमा पहिलो चरणमा पूर्वसचिव रामेश्वर खनालले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्।  उनले मुलुकको अर्थतन्त्रलाई सही दिशामा ल्याउने प्रतिबद्धतासहित काम थालिसकेका छन्।  साथै उनले निजी क्षेत्रका उद्योगी–व्यवसायीसँग छलफलसमेत गरिरहेका छन्।  अर्थ मन्त्रालयको जिम्मेवारी पाएका खनाल अर्थसचिव भएर काम गरिसकेका प्रशासक हुन्।  उनले दोस्रो पटकको मन्त्रिपरिषद् विस्तारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी पाएका छन्। 

भ्रष्टाचारविरोधी अभियानमा चर्चा कमाएका अधिवक्ता ओमप्रकाश अर्यालले गृह मन्त्रालय सम्हालिरहेका छन्।  उनले सुरक्षा निकायलाई बलियो बनाउने बताइसकेका छन्।  उनको काम हेर्न बाँकी छ।  त्यस्तै ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका घिसिङ केही महिनाअघि मात्रै नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका थिए।  ऊर्जासहित घिसिङले तत्काललाई जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी पाएका छन्।  उनी आफैं फिल्डमा खटिएर समस्या समाधानमा लागेका छन्। 

कार्की मन्त्रिपरिषद्मा रहेका अधिकांश सदस्य सुशासनमाथि प्रश्न उठाउनेहरूले जिम्मेवारी पाएका छन्।  विगतमा उनीहरूले उठाएको प्रश्नको जवाफ आफैंले दिनुपर्ने तहमा उनीहरू पुगेका हुन्।  यो उनीहरूका लागि अग्निपरीक्षा हो।  जनताको मन जित्ने गरी काम गर्नैपर्ने अवस्थामा उनीहरू छन्। 
अर्को समाचार
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
१५ मिनेट अघि
•
१ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
काठमाडौं। बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आफ्नै जन्मभूमि झुप्रा खोलामा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई लिएर पुगेकी छन्।




शनिबार बेलुका आफ्नो बाल्यकालका पीडा, अभाव र सङ्घर्षसँग जोडिएको बस्तीमा पुगेर मन्त्री बादीले स्थानीय समुदायले भोगिरहेका समस्या र आवश्यकताबारे शिक्षामन्त्रीलाई प्रत्यक्ष जानकारी गराएकी हुन्।

कुनै समय जीवन गुजार्न बालुवा–गिट्टी कुटेको त्यही ठाउँमा मन्त्रीका रूपमा फर्किएकी बादीले स्थानीय दाजुभाइ तथा दिदीबहिनीसँग भेटघाट गर्दै उनीहरूका समस्या र अपेक्षा सुनिन्। उनले यो भ्रमण जन्मभूमि पुग्ने औपचारिक कार्यक्रम मात्र नभई आफूले भोगेका सङ्घर्ष र स्थानीयले अहिले पनि भोगिरहेका कठिनाइ राज्यका जिम्मेवार निकायसमक्ष पुर्‍याउने अवसर भएको बताइन्।

छलफलका क्रममा विद्युत्, खानेपानी, शिक्षा, रोजगारी, बस्ती व्यवस्थापन र आधारभूत पूर्वाधारका समस्या प्रमुखताका साथ उठेका थिए। खोलाको किनारमा जोखिमपूर्ण अवस्थामा रहेको बस्तीका नागरिकले वर्षौंदेखि आधारभूत सेवाको अभाव र आर्थिक कठिनाइ भोग्दै आएको बताएका थिए।

पुस्तौँदेखि जीविकोपार्जनको आधार बनेको बालुवा–गिट्टी कुट्ने पेसा बन्द भएपछि धेरै परिवारको आम्दानीको मुख्य स्रोत गुमेको र वैकल्पिक रोजगारी नहुँदा दैनिक जीवनयापनसमेत कठिन बनेको स्थानीयले सुनाएका थिए।

भेटघाटमा बादी समुदायका बालबालिकाको शिक्षामा पहुँचको विषयले विशेष प्राथमिकता पाएको थियो। जन्मदर्ता नहुँदा १५ जना बालबालिका शिक्षाको अवसरबाट प्रभावित भइरहेको विषयमा मन्त्री बादीले शिक्षामन्त्री पोखरेलको ध्यानाकर्षण गराए। त्यसप्रति चासो व्यक्त गर्दै शिक्षामन्त्री पोखरेलले ती बालबालिकाको शिक्षामा सहज पहुँच सुनिश्चित गर्न आवश्यक सहजीकरण र पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी, स्थानीय महिलाको आर्थिक अवस्था सुधार र आत्मनिर्भरताका लागि सीप विकास तथा रोजगारीका अवसर सिर्जना गर्नुपर्ने विषय पनि उठेको थियो। मन्त्री बादीले झुप्रा खोलाका महिलालाई लक्षित गरी छिट्टै सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए। तालिमलाई व्यावहारिक सीप, स्वरोजगार र दिगो आयआर्जनसँग जोडेर महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उनको भनाइ थियो।

आफ्नै विगत र जन्मभूमिको अवस्थालाई स्मरण गर्दै मन्त्री बादीले सत्ता र जिम्मेवारीको वास्तविक अर्थ जनताको जीवनसँग जोडिँदा मात्र सार्थक हुने बताइन्। आफ्नो विगत कहिल्यै नबिर्सी त्यही सङ्घर्षबाट सिकेको अनुभवलाई सामाजिक परिवर्तनको शक्तिमा बदल्ने उनको प्रतिबद्धता थियो। झुप्रा खोलाका हरेक बालबालिकाले शिक्षा पाउने, महिलाले आत्मनिर्भर बन्ने अवसर प्राप्त गर्ने र प्रत्येक परिवारले सम्मानपूर्वक बाँच्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिइन्।

शिक्षा, रोजगारी, आधारभूत पूर्वाधार र जीविकोपार्जनसँग जोडिएका स्थानीयका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय र आवश्यक पहल गर्ने मन्त्री बादीले बताइन्। बाल्यकालमा अभाव र सङ्घर्ष भोगेको बस्तीमा फर्केर स्थानीयका समस्या समाधानका लागि दुई मन्त्रीबीच प्रत्यक्ष छलफल र समन्वय गराउने उनको यो पहल जन्मभूमिप्रतिको जिम्मेवारीसँग जोडिएको छ।

भ्रमणमा प्रधानमन्त्रीका मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र प्रतिनिधिसभा सदस्य तारा विश्वकर्माको समेत उपस्थिति रहेको थियो।
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
 छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कविहरू निर्मोही व्...
Whatsapp
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
यो पनि पढौँ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस