राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेतमा यही शनिबार र आइतबार तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण आयोजना गरिनेछ।
अन्य प्रदेशमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने उनले बताए।
कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्नेछन्। कार्यक्रममा पार्टी उपसभापति सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्यलगायत पदाधिकारी तथा नेताहरू सहभागी हुनेछन्।
दुईदिने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, मूल्यमान्यता, अनुशासन र राजनीतिक संस्कारबारे प्रशिक्षण दिइनेछ।
साथै, क्यान्डिडेट क्लब तथा लिडरसिप एकेडेमीको अवधारणा र कार्यदिशा, पार्टी संगठनको सशक्तीकरण, परिचालन, विस्तार तथा संरचनागत सुदृढीकरणका विषयमा छलफल हुनेछ।
प्रशिक्षणको पहिलो दिन जिल्ला तथा पालिका तहका पार्टी नेतृत्वसँग संगठनको अवस्था, चुनौती, सम्भावना, व्यवस्थापन, आर्थिक पारदर्शिता र निर्वाचन तयारीबारे केन्द्रीय नेतृत्वले छलफल गर्ने कार्यक्रम छ।
दोस्रो दिन स्थानीय तथा प्रदेश निर्वाचनको रणनीति, पार्टीको भूमिका, वाचापत्र तथा प्रतिबद्धताको कार्यान्वयन, नीति, कार्ययोजना र परिणाममुखी कार्यसम्पादनका विषयमा प्रशिक्षण दिइनेछ।
त्यसैगरी, पार्टीको ब्रान्डिङ, प्रचारप्रसार तथा सामाजिक सञ्जालको प्रयोगबारे पनि प्रशिक्षण दिइने प्रवक्ता खरेलले जानकारी दिए।
कार्यक्रमको अन्तिम सत्रमा सभापति लामिछानेले पार्टीको राजनीतिक कार्यदिशा, प्राथमिकता र रणनीतिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।
७ घण्टा अघि
•
१ मिनेट पाठ