विधान मस्यौदाः एमालेमा ओलीलाई सहज अरुलाई असहज
११ असोज २०७८
•
७ मिनेट पाठ
विधान मस्यौदाः एमालेमा ओलीलाई सहज अरुलाई असहज
नेकपा एमालेको दसाैँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीका लागि पुनः नेतृत्वमा दोहोरिन सहज हुने देखिएको छ। पार्टीमा नेतृत्वका लागि ओलीको बलियो प्रतिस्पर्धी नभएको अवस्था र विधान संशोधनलगायत विषयले उनलाई अध्यक्षमा दोहोरिन सहज हुने भएको हो। नेतृत्वका लागि आकांक्षी देखिएका महासचिव ईश्वर पोखरेल र सुवास नेम्वाङका लागि भने अवस्था असहज हुने देखिएको छ।




विधानमा एउटै पदमा दुई कार्यकालभन्दा बढी रहन नपाइने उल्लेख भएपछि महासचिव पोखरेलका लागि अब उपाध्यक्षबाहेक अर्को विकल्प देखिएको छैन भने सुवास नेम्वाङ पनि उपाध्यक्षमै थन्किनुपर्ने अवस्था आएको छ। 

६९ वर्ष टेक्न लागेका पोखरेलका लागि पार्टीको नेतृत्व गर्ने अवसर दसाैँ महाधिवेशन मात्रै हो। तर मंसिरमा महाधिवेशन हुँदा फागुनमा ७० वर्ष पुग्ने ओली आफैंले अध्यक्ष हुने इच्छा व्यक्त गरेमा पोखरेलका लागि अध्यक्ष हुने ढोका बन्द हुनेछ। त्यस्तै पार्टी नेतृत्वका लागि चाहना राखेका नेम्वाङ पनि अध्यक्ष हुनबाट वञ्चित हुने देखिएको छ। 

अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल पनि दसौं महाधिवेशनबाट उपाध्यक्षमै थन्किनुपर्ने बाध्यता देखिएको छ। माओवादीबाट एमालेमा आएका रामबहादुर थापाका लागि पनि पार्टीमा अर्को पद छैन।

‘अहिलेसम्मको अवस्था हेर्दा फेरि एकपटक नेतृत्वका लागि ओलीलाई नै सहज हुने देखिएको छ। दसांै महाधिवेशनमा पनि ओलीले अध्यक्षका लागि उम्मेदवारी दिनेछन् तर फागुनपछि के गर्ने भन्नेबारे पार्टीले निर्णय गर्ला’, ओली निकट एक नेताले भने। केन्द्रीय कमिटीको आइतबारको बैठकमा ओलीले नेताहरूको व्यवस्थापनका लागि सात उपाध्यक्षको प्रस्तावलाई सकारात्मक रुपमा लिएको जानकारी दिएका थिए।

अहिलेको अवस्था हेर्दा ७० वर्षे उमेरहद कायम राखेर विधान महाधिवेशन हुने भएको छ। विधान महाधिवेशनअघि तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा बहुमत केन्द्रीय सदस्यले ७० वर्षे उमेरहदलाई कायम राख्नुपर्ने सुझाव दिएका छन्। 

विधान महाधिवेशनमा यही व्यवस्थासहितको प्रस्ताव पेस हुनेछ। ‘अहिले अध्यक्षको नेतृत्वमा सचिवालय रहने र ७० वर्षे उमेरहद कायम राखिएको छ। विधान महाधिवेशनमा यो प्रस्ताव प्रस्तुत हुनेछ’, प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने। केन्द्रीय कमिटीले पास गरेपछि विधान महाधिवेशनले पनि त्यसलाई उल्ट्याउने सम्भावना न्यून हुन्छ।

पार्टीको नेतृत्व दोस्रो पुस्तामा आउने गरी तयार पारिएको विधान मस्यौदामाथिको छलफलमा अधिकांश केन्द्रीय सदस्यले ७० वर्षे उमेरहदको प्रावधान कायमै राख्नुपर्ने अडान राखेका थिए। केही केन्द्रीय सदस्यले ७० वर्षे उमेरहद हटाउन माग गरेका थिए। तर उनीहरूको मागलाई बहुमत केन्द्रीय सदस्यले अस्वीकृत गरेपछि केन्द्रीय कमिटीले यो विषयलाई जस्ताको तस्तै पास गरेको हो। ‘सात उपाध्यक्ष बनाउने विषयमा अध्यक्षले जवाफ दिँदा सकारात्मक भएको बताउनुभयो।

यसरी पद बढाउँदा कमिटीमा के प्रभाव पर्न सक्छ भन्ने विषयलाई समेत ध्यान दिएर विधान महाधिवेशनमा प्रस्ताव आउनेछ। उपाध्यक्ष पाँच वा सात बनाउने भन्ने कुरा पनि आएको छ। यसमा समूहगत सुझावलाई ध्यान दिन्छौं’, ओलीलाई उद्धृत गर्दै भट्टराईले भने।

संगठन विभाग प्रमुखसमेत रहेका उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान मस्यौदामा उपाध्यक्षको संख्या ५ बाट घटाएर ३ बनाउने भनिएको थियो। पछि त्यसमा संशोधन गरी पाँच बनाउने प्रस्ताव गरियो। त्यसपछि फेरि सात प्रदेश हेर्नेगरी सात  

उपाध्यक्ष र सात सचिवको प्रस्ताव गरिएको छ। अध्यक्ष ओली फागुन १० गते ७० वर्ष पुग्छन्। तर मंसिरमै महाधिवेशन हुँदा उनलाई उमेरहद नलाग्ने भएकाले यति बेला यो विषयमा ओली चुपचाप छन्। ओली चुपचाप बसेपछि महासचिव पोखरेललगायतका नेतालाई नेतृत्वमा पुग्न सकस भएको स्रोतको दाबी छ। 

महासचिव पोखरेलले यसअघि नै अध्यक्ष पदका लागि आफू योग्य रहेको बताइसकेका छन्। तर विधानमै ७० वर्षे उमेरहद आएपछि उनका लागि पार्टीको कार्यकारी हुने अवसर प्राप्त नहुने देखिएको छ। ‘विधानको ७० वर्षे उमेरहद प्रावधान र अध्यक्षमा ओली नै दोहोरिने अवस्थामा त्यसको प्रत्यक्ष असर हालका केही उपाध्यक्ष र महासचिवलाई पर्नेछ। एमालेमा अहिले ओलीपछिका सबैभन्दा सिनियर ईश्वर पोखरेल हुन्। 

अध्यक्षमा ओली दोहोरिँदा दोस्रो पुस्ता भनिएका तर उमेर र राजनीतिक योगदानका  आधारमा पहिलो पुस्ताकै नेता रहेका पोखरेल, नेम्बाङ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र रामबहादुर थापालाई असर पर्ने देखिन्छ। उमेरहद हटाउने विषयमा अब उनीहरूको पनि कुनै जोड चल्ने देखिँदैन’, स्थायी कमिटीका एक सदस्यले भने। ती सदस्यका अनुसार ११आंै महाधिवेशन आउँदासम्म पोखरेल, नेम्वाङ, शाक्य, रावल, ज्ञवाली र थापा पार्टी कमिटीबाट बिदा हुनेछन्।

बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव पौडेलको विधान संशोधनसम्बन्धी प्रस्तावमाथि समूहगत छलफल भएको थियो। छलफलको निष्कर्ष सुनाउँदै १० वटै समूहका नेताले पदाधिकारी संख्या बढाउनुपर्ने र ७० वर्षे उमेरहद कायम राख्नुपर्ने बताएका थिए। 

‘केन्द्रीय कमिटी बैठकमा ७० वर्षे उमेरहदको विषय उठेको थियो। यसलाई कायम राखेर जानुपर्छ भन्नेमा सबै साथी सहमत हुनुहुन्छ। केन्द्रीय कमिटी बैठकबाट यो उमेरहद कायम भएर विधान महाधिवेशनमा जान्छ। यो नवौं महाधिवेशनको निरन्तरता हो’, प्रचार विभाग प्रमुख भट्टराईले भने।

७० वर्षे उमेरहदले ओलीलाई दसौं महाधिवेशनबाट पुनः अध्यक्ष हुन रोक्दैन। मंसिरमा महाधिवेशन भए उनी फेरि अध्यक्ष हुन पाउँछन्। ‘ओली अध्यक्षमा पुनः निर्वाचित भए फागुनमा स्थानीय तहको निर्वाचन र अर्को वर्षको मंसिरमा संघीय संसद्को निर्वाचन हुने भएकाले एमालेले उनकै नेतृत्वमा निर्वाचनमा भाग लिनेछ’, ओलीनिकट एक नेताले भने।

पाँच हजार प्रतिनिधिले भाग लिने

एमालेले पहिलोपटक विधान महाधिवेशनमा गर्न लागेको छ। महाधिवेशनमा नीतिभन्दा पनि नेतृत्व चयनले बढी प्राथमिकता पाउने भएकाले एमालेले विधानमा छलफल गर्न  पहिलोपटक विधान महाधिवेशन गर्न लागेको हो। यही असोजमा हुने विधान महाधिवेशनबाटै एमालेको संगठनात्मक स्वरूप निर्धारण हुनेछ। विधान महाधिवेशनमा ५ हजार प्रतिनिधिले भाग लिने छन्।

केन्द्रीय कमिटीको आइतबारको बैठकले विधान महाधिवेशनका लागि प्रतिनिधिको मापदण्ड तय गरेको छ। एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रवासका समेत गरी ५ हजार प्रतिनिधिले भाग लिने जानकारी दिए। विधान महाधिवेशनमा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै पदाधिकारी र सदस्यले भाग लिनेछन्। 

केन्द्रीय निकायमा निर्वाचन आयोग, अनुशासन आयोग, लेखा आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्च पर्छन्। त्यस्तै, केन्द्रीय विभागबाट सचिवसहित ५ जना सदस्यले भाग लिनेछन्। जिल्ला कमिटीका पदाधिकारीसहित निर्वाचन क्षेत्रबाट एक महिला र कम्तीमा एक दलितले प्रतिनिधित्व गर्नेछन्। घोषित जनसंगठनबाट पदाधिकारीसहित वरिष्ठ १० जना सदस्यले सहभागी हुन पाउने भट्टाईले बताए।

यसबाहेक प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले विधान महाधिवेशनमा भाग लिनेछन्। विधान महाधिवेशन यही असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने निर्धारण गरिएको छ।

राजनीतिक प्रतिवेदनमा भुसालको फरक मत

केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि घनश्याम भुसालले तीनबुँदे फरक मत राखेका छन्। अध्यक्ष ओलीले आइतबार आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिइसकेपछि उपमहासचिवसमेत रहेका भुसालले तीनबुँदे फरक मत राखेका हुन्। 

भुसालले अध्यक्षको राजनीतिक प्रतिवेदन जबज (जनताको बहुदलीय जनवाद), प्रतिनिधिसभा विघटन र समाजवादबारे प्रस्ट नभएको भन्दै फरक मत राखेका हुन्। उनले प्रतिनिधिसभा विघटन भूल भएको बताउँदैै स्पष्ट दृष्टिकोण आउनुुपर्ने धारणा राखेका थिए।

१० बुँदेमा छलफल गर्न आज स्थायी कमिटी बैठक

तीन दिनदेखि चलेको केन्द्रीय कमिटी बैठकमा आन्तरिक विवाद निरूपणका लागि गरिएको १०बुँदे सहमति कार्यान्वयन नभएको भन्दै केही केन्द्रीय सदस्यले असन्तुष्टि पोखेका छन्। यस विषयमा अध्यक्ष ओलीले स्थायी कमिटीको बैठकबाट निरूपण गर्ने आश्वसन दिएका छन्।

सोही आश्वासनअनुसार ओलीले सोमबारका लागि स्थायी कमिटी बैठक बोलाएका छन्। सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्यहरूले यस विषयमा असन्तुष्टि जनाएका थिए। उपाध्यक्ष भीम रावल, भानुभक्त जोशी, झपट रावल, सुरेन्द्र मानन्धर, प्रकाश शाहलगायतले प्रश्न उठाएपछि ओलीले स्थायी कमिटी बैठकबाट निरूपण गर्ने बताएका थिए।

यस विषयमा सोमबारको बैठकमा छलफल हुने बताइएको छ। केन्द्रीय कमिटी बैठकपछि प्रचार विभाग प्रमुख भट्टराईले १२ गतेसम्म विधान महाधिवेशनका लागि प्रतिनिधि छनोट हुने भएकाले विवाद निरूपण भैसक्ने बताए।
अर्को समाचार
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
१२ मिनेट अघि
•
१ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
ताप्लेजुङ । नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्चालनतर्फ उन्मुख रहेको दाबी गरेका छन्।




नेपाल बार एसोसिएसन जिल्ला अदालत इकाइ, ताप्लेजुङको नवनिर्मित बार भवनको उद्घाटन कार्यक्रममा शनिबार फुङलिङमा सम्बोधन गर्दै मिश्रले सरकारले न्यायालयमा सुधार गर्नुपर्ने विषयमा यथाशीघ्र श्वेतपत्र जारी गर्नुपर्ने खाँचोसमेत औँल्याए।

वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको मिश्रको आरोप थियो।

‘विधि र प्रक्रियाभन्दा पनि चयनमुखी नीतिमार्फत सरकारले न्याय प्रशासनलाई सत्ताको स्वार्थअनुकूल अघि बढाउन खोजिरहेको छ,’ मिश्रले भने।

उनले वर्तमान सरकारले सत्ताको छायामा गरिने अनुसन्धानलाई बढावा दिइरहेको दाबीसमेत गरे। सत्ताका पात्र परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको बताउँदै मिश्रले फौजदारी न्याय प्रशासनलाई संरक्षण गर्नुपर्ने सरकारले आफ्नै उद्देश्य परिपूर्ति गर्ने व्यक्तिहरू छनोट गरी न्याय प्रशासनलाई सत्ताको छायामा पार्ने प्रयास गरिरहेको बताए।

‘विगतका सरकारले न्यायालयमा आफ्ना मान्छे भर्ती गरेको आरोप लाग्ने गरेको थियो। अहिलेको सरकारले देखिजानी आफ्नू अनुकूलको न्याय सम्पादन गराउने बदनियत राखेर चयनमुखी प्रक्रिया अपनाएको छ,’ मिश्रले भने।

उनले फौजदारी न्याय प्रशासन सोसल मिडियाको ट्रायलबाट प्रताडित र आक्रान्त भएको पनि बताए। पुलिङ र अल्गोरिदमबाट वकिल तथा न्यायालय डराउन नहुने उनको भनाइ थियो।

फौजदारी न्याय प्रशासन घुसखोरी, भ्रष्टाचारीकरण र दलालीकरणबाट पूर्ण रूपमा प्रभावित भएकोसमेत मिश्रले बताए। वर्तमान सरकारबाट न्याय क्षेत्रमा गरिएको सुधारको अपेक्षा सरकारले चयनमुखी प्रणाली र बिचौलियासहितका व्यक्तिको संरक्षणजस्ता कारणले गुमाइसकेको उनको भनाइ थियो।

भ्रष्टाचार र दलालीकरणविरुद्धका अभियानमा नेपाल बार सधैँ सरकारको साथमा रहेको, तर बिचौलियाको प्रभावका कारण वर्तमान सरकार बाहिर जान नसकेको पनि मिश्रले बताए।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य खगेन्द्रसिं हाङ्गाम, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश बनेमसहित नेपाल बारका केन्द्रीय तथा प्रादेशिक पदाधिकारीहरू र विभिन्न जिल्लाका बार अध्यक्षहरूले सम्बोधन गरेका थिए।

जिल्ला अदालतको हाताभित्र ८० लाख रुपैयाँको लागतमा निर्माण गरिएको बार भवनको निर्माण कार्य पूरा भएसँगै अब बारको दैनिक कामकाज नवनिर्मित भवनबाटै सञ्चालन हुने बार ताप्लेजुङका अध्यक्ष बलराम भट्टराईले जानकारी दिए।

कार्यक्रममार्फत बार भवन निर्माणका लागि सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई ताप्लेजुङ बारले कदरपत्रद्वारा प्रशंसा गरेको ताप्लेजुङ बारका सचिव सन्तोष प्रसाईंले बताए।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ९ सेकेन्ड अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
यो पनि पढौँ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस