अन्योलमा कांग्रेस महाधिवेशन
०९ असोज २०७८
•
५ मिनेट पाठ
अन्योलमा कांग्रेस महाधिवेशन
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार पाँच दर्जन जिल्लामा पालिका तहको अधिवेशन हुने भएको छ। पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा अधिवेशन भएका अधिकांश जिल्लामा पालिका तहको अधिवेशन हुन लागेको हो। एक दर्जन जिल्लामा क्रियाशील सदस्यताको टुंगो लाग्न नसक्दा कांग्रेसको १४औं महाधिवेशन भने पुनः अन्योलमा पर्न गएको छ।




सिंहदरबारमा शुक्रबार बसेको पदाधिकारी बैठकमा सदस्यता टुंगो लाग्न बाँकी रहेका जिल्लाको विवाद तत्काल टुंगो लगाउने र दसैंअघि सबै जिल्लाको वडा र पालिका तहको अधिवेशन गर्ने समझदारी बनेको छ। संस्थापन पक्षले हिमाली २१ जिल्लाका सबै तहको अधिवेशन दसैंअघि नै सम्पन्न गर्ने र अन्य जिल्लामा तिहारपछि मात्र अधिवेशन गर्ने प्रस्ताव राखेको छ।  

तल्लो तहका अधिवेशन प्रभावित हुँदा महाधिवेशन तोकिएको मितिमा गर्न नसकिने भन्दै आगामी केन्द्रीय समितिको बैठकबाट नयाँ मिति तोक्ने तयारी छ। सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष सकेसम्म फागुन, नभए पनि पुससम्म महाधिवेशन सार्ने पक्षमा देखिएको छ।  

हिमाली जिल्लाका तल्लो तहका सबै अधिवेशन दसैंअघि नै सक्ने निर्णय भएको जानकारी दिँदै सहमहामन्त्री प्रकाशशरण महतले अन्य जिल्लाको अधिवेशन भने दसैंपछि मात्र हुने बताए। बाँकी जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन दसैंपछाडि मात्र हुँदा त्योभन्दा माथिको कार्यतालिका पनि प्रभावित हुनसक्ने बताउँदै महतले भने, ‘प्रदेश अधिवेशन त अब तिहारको पछाडि पुग्ने नै भयो। केन्द्रीय महाधिवेशन माघ/फागुन होइन, कति समय आवश्यक पर्छ, हेरेर सर्न सक्छ।’  

सबै जिल्लामा एकै साथ अधिवेशनको प्रक्रिया अघि बढाउनुपर्ने पक्षमा आफूहरू रहेको उनले बताए। ‘महाधिवेशनको गाडी अघि बढिसक्यो। अब रोकिँदैन। तर तल्लो तहका अधिवेशन समयमा हुन नसक्दा केही समय अपुग भयो भने त्यति नै समय लिन सकिन्छ’, उनले भने। संस्थापन इतरका नेताहरूले सभापति देउवासहित संस्थापन पक्ष विभिन्न बहानामा महाधिवेशन सार्ने पक्षमा रहेको आरोप लगाएका छन्।

उनीहरूले क्रियाशील सदस्यतामा व्यापक धाँधली गरिएको भन्दै त्यसको तत्काल निष्पक्ष छानबिन गरेर तोकिएकै मितिमा महाधिवेशन सक्नुपर्नेमा जोड दिएका छन्। फेरि महाधिवेशन सार्ने बहानाबाजी गर्न थालिएको भन्दै नेता रामचन्द्र पौडेलले थपे, ‘तोकिएको मितिमा महाधिवेशन गर्नुपर्छ। 

अब कुनै पनि हालतमा महाधिवेशन सारिनु हुन्न।’ महाधिवेशन सार्दै जाने कुराले पार्टी दुर्घटनामा पर्नसक्ने पौडेलको बुझाइ छ। सभापति देउवाले पार्टीलाई संकटमा धकेल्न लागेको आरोप पौडेलको छ। उनले भने, ‘तत्काल सदस्यता विवाद टुंगो लगाउनुपर्छ र महाधिवेशन गर्नुपर्छ।’

पाँचौं पटक फेरिएको कार्यतालिकाअनुसार कांग्रेसले भदौ १८ गते देशभरिका ६ हजार सात सय ४३ वडामा एकै दिन अधिवेशन गर्ने जनाएको थियो। तर अहिलेसम्म प्रदेश नम्बर २ का आठ जिल्लासहित १३ जिल्लामा क्रियाशील सदस्यता विवाद टुंगो लाग्न सकेको छैन। 

सदस्यता विवाद तत्काल समाधान गर्न भन्दै सभापति देउवाले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यद्वय मीनेन्द्र रिजाल तथा रमेश लेखकलाई काठमाडौं बोलाएका छन्। लेखक नेतृत्वको समितिले टुंगो लगाउन नसकेका विषय समाधान गर्न सिटौला नेतृत्वमा अर्को समिति बनाइएको थियो। उक्त समितिले विवाद समाधानका लागि सैद्धान्तिक सहमति निर्माण गरे पनि त्यसमा समेत विवाद देखिएको छ।  

सदस्यता विवाद समाधान भएका ६४ जिल्लामा वडा अधिवेशन भएको छ। वडा अधिवेशन भएको सभापति देउवाकै गृह जिल्ला डडेलधुरा विवादमा जन्मिएको छ। त्यहाँ जिल्ला सभापतिसहितको एउटा समूह वडा अधिवेशनमा सहभागी भएको छैन। डडेलधुरा, सिन्धुपाल्चोक र काठमाडौंबाहेकका जिल्लामा शनिबार नै पालिका तहको अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ।  

कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले क्रियाशील सदस्यता सार्वजनिक भएर वडा अधिवेशन सकेका हिमाली जिल्लामा पहिले र बाँकीमा पछि अधिवेशन गर्नुपर्नाको कारण माग गरेका छन्। सँगैको जिल्लामा गर्ने, छिमेकी जिल्लामा नगर्ने भन्ने पनि हुन्छ भन्ने प्रश्न गर्दै कोइरालाले पदाधिकारी बैठकमा केन्द्रीय महाधिवेशनको मिति सार्ने विषयले प्रवेश पायो भन्ने सुन्नमा आएको उल्लेख गरेका छन्। 

महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीलाई कसले दियो भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पदाधिकारीहरूले कांग्रेसलाई कहाँ पुर्‍याउन खोजेको ? कतै पदाधिकारी र पूर्वपदाधिकारीले नै महाधिवेशन नचाहेको त होइन ?’

२०७२ फागुनमा १३औं महाधिवेशन गरेको कांग्रेसले ०७७ फागुन ७–१०, २०७८ भदौ ७–१०, फेरि भदौ १६–१९ र पछिल्लो पटक मंसिर ९–१३ गतेसम्म १४औं महाधिवेशन गर्ने निर्णय गरेको छ। तर अहिलेसम्म १३ जिल्लाको सदस्यता टुंगो नलाग्दा पछिल्लो मिति पनि प्रभावित हुने देखिएको छ।

फेरि जुटे तीन नेता  

कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औं महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने निष्कर्ष निकालेका छन्। १४औं महाधिवेशनमा तीन नेता मिलेर साझा उम्मेदवारी दिने भन्दै केही समयअघि चरणबद्ध छलफलमा जुटेका तीन नेताबीच शुक्रबार साँझ महामन्त्री शशांकको निवासमा भएको भेटले महाधिवेशन मिति सार्न नहुने निष्कर्ष निकालेको हो।  

महाधिवेशनको मिति सार्दै जाँदा पार्टी गम्भीर संकटमा फस्न सक्ने भन्दै कार्यतालिकाअनुसारै महाधिवेशनका काम अघि बढाउने निष्कर्ष निकालेको सिंहका प्रेस सहयोगी यूपी लामिछानेले जानकारी दिए। क्रियाशील सदस्यता टुंगो लाग्न बाँकी रहेका जिल्लाको काम तत्काल समाधान गरेर अधिवेशनको प्रक्रिया सुरु गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्। 

१४औं महाधिवेशनमा तीनजनाबीच सहकार्य गरेर अघि बढ्ने विषयमा पनि उनीहरूबीच कुरा भएको छ। आगामी दिनमा छलफललाई निरन्तरता दिने बताउँदै उनीहरूले तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। उपसभापति निधि महेन्द्रनारायण निधि, महामन्त्री शशांक बिपी कोइराला र पूर्वमहामन्त्री सिंह गणेशमान सिंहका पुत्र हुन्।
अर्को समाचार
अप्ठेरोमा कांग्रेसः अन्योलमा महाधिवेशन
०२ फागुन २०७७
•
५ मिनेट पाठ
अप्ठेरोमा कांग्रेसः अन्योलमा महाधिवेशन
पूर्वर्निधारित मितिअनुसार नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन अब पाँच दिनमात्र बाँकी छ। केन्द्रीय समितिको एक वर्षअघिको निर्णयअनुसार पाँच दिनपछि अर्थात् यही फागुन ७ देखि १० गतेसम्म कांग्रेस १४औं महाधिवेशन काठमाडौं हुनुपर्ने हो। त्यसअनुसार अहिलेसम्म सम्पूर्ण तयारी सकेर पार्टीको आगामी नीति र नेता कस्तो हुनुपर्छ भन्ने छलफलमा कांग्रेस जुट्नुपर्ने हो। तर महाधिवेशन फागुन ७ देखि त सुरु हुँदै छैन नै कहिले हुन्छ भन्ने पनि निश्चित छैन।




महाधिवेशनको पूर्वाधारका रुपमा रहेको क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सुरु भएको एक वर्ष भयो। त्यसको टुंगो लाग्नु त परको कुरा भयो, अहिलेसम्म एक तिहाइ सदस्यता नवीकरण र वितरणको काम पनि सकिएको छैन। अन्तिम भन्दै पटकपटक म्याद थपिए पनि काम हुन सकेको छैन। पछिल्लोपटक सकिएको सदस्यता वितरण र नवीकरण म्यादको सीमा पनि शुक्रबार सकिएको छ। पार्टीका अनुसार शनिबार बिहानसम्म ४५ जिल्लाका ५७ निर्वाचन क्षेत्रबाट जम्मा १ लाख ४० हजार सदस्यता नवीकरण र नयाँ फारम वितरण अभिलेख केन्द्रीय सफ्टवेयमा इन्ट्री भएको छ। अर्घाखाँची, पाल्पा, गुल्मी, लम्जुङ, कालिकोट र पाँचथर जिल्लाले करिबकरिब सदस्यता नवीकरण र वितरणको काम पूरा गरे पनि कतिपय जिल्लामा वितरण सुरु नै भएको छैन। झन्डै पाँच लाख क्रियाशील सदस्य रहेको कांग्रेसले त्यति नै संख्यामा नयाँ सदस्यता वितरण गर्ने निर्णय गरेको छ। कांग्रेस महाधिवेशनको सबैभन्दा पेचिलो विषय नै सदस्यता वितरण र त्यसको टुंगो लगाउनु हो।

त्यतिमात्र होइन अन्य पार्टीबाट प्रवेश गरेकाको समायोजन पनि कांग्रेसले गर्न सकेको छैन। २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मुखमा कांग्रेससँग एकीकरण गरेको तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको समायोजन विवाद अझै चार जिल्लामा मिल्न बाँकी छ। अखण्ड नेपाल पार्टी, अखण्ड नेपाल पार्टी समानान्तरसँगको समायोजन सकिए पनि सुनिल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेस प्रवेश गरेका नेताकार्यकर्ताको समायोजन पनि सकिएको छैन। समायोजन विवाद हुँदा सप्तरी, बारा र सिन्धुपाल्चोक जिल्लामा क्रियाशील सदस्यता फारम अहिलेसम्म पुगेको छैन।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले ती जिल्लाको विवाद मिलाउन केन्द्रीय कार्य समितिलाई भनेको थियो। तर केन्द्रीय समितिले फेरि निर्वाचन समितिलाई नै विवाद टुंगो लगाउने अधिकार दिएको छ। निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले विवाद पेचिलो बने पनि टुंगो लगाउने प्रयास जारी रहेको बताए।

१३औं महाधिवेशनअघि टुंगो लाग्न बाँकी क्रियाशील सदस्यताका विषयमा पनि कांग्रेसले अहिलेसम्म निर्णय लिएको छैन। पार्टीका तल्लो निकायलाई छलेर वा समय घर्केपछि आएका र विवादका कारण इलाम, भक्तपुर, बाँके, कैलाली, नुवाकोट, पर्सा र सिन्धुपाल्चोक–२ को सदस्यता टुंगो लाग्न सकेको थिएन। पहिलेकै टुंगो लाग्न बाँकी र अहिले वितरण भइरहेको सदस्यता विषयमा निर्णय गर्न महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू मीनेन्द्र रिजाल, रमेश लेखक र जीवन परियार रहेको अनौपचारिक समिति कांग्रेसमा सक्रिय छ।

प्रक्रिया नपुगेकालाई प्रक्रिया पुर्‍याएर सदस्यता दिने निर्णय भएको जानकारी दिँदै केन्द्रीय सदस्य लेखकले भने, ‘तत्कालीन छानबिन समितिले त्यतिबेला जे निर्णय गरेको छ, त्यसअनुसार नै सदस्यता दिने हो।’

कांग्रेसको १४औं महाधिवेशन अन्योलमा परेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीभित्रको आन्तरिक विवादले प्रतिनिधिसभा विघटन गरेका छन्। उक्त विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन रहे पनि कांग्रेसका लागि आमनिर्वाचन तयारीमा जुट्ने कि महाधिवेशनमा भन्ने प्रश्न अर्को चुनौती बनेको छ। अदालतले प्रतिनिधिसभा विघटन सदर गरे कांग्रेसका लागि महाधिवेशनभन्दा आमनिर्वाचन प्राथमिकतामा पर्ने देखिन्छ।

२०७४ सालको निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रले गठबन्धन गरेपछि संसदमा कांग्रेसको उपस्थिति कमजोर छ। अदालतले प्रतिनिधिसभा विघटन सदर गरी निर्वाचनका पक्षमा निर्णय दिए त्यसलाई पार्टीको अवस्था र छवि सुधार गर्ने अवसरका रुपमा उपयोग गर्ने संस्थापन पक्षको तयारी देखिन्छ। तर संस्थापन इतर पक्षका केही नेताले भने संसद् पुनःस्थापना र महाधिवेशनलाई जोड दिइरहेका छन्। संस्थापन र इतर पक्षका नेताहरू फरक दुई धारमा उभिनुलाई आगामी दिनमा सत्तामा पुग्ने र टिक्ने रणनीतिका रुपमा हेरिएको छ।  

सभापति देउवासहित संस्थापन पक्ष महाधिवेशनअघि आमनिर्वाचन हुँदा पार्टीको अवस्थामा आमूल सुधार हुने विश्लेषणमा छ।  

संस्थापन इतर पक्ष भने आमनिर्वाचनअघि नै महाधिवेशन गराएर नेतृत्वमा पुग्न चाहन्छ। इतर पक्ष पार्टी नेतृत्वमा पुग्न आमनिर्वाचनअघि नै सहज हुने आकलनमा छ। देउवाको नेतृत्वमा आमनिर्वाचनमा जाने अवस्था आए प्रतिनिधिसभाको टिकट वितरणदेखि सबै ठाउँमा संस्थापन पक्ष हाबी हुने र निर्वाचनबाट थप शक्तिशाली भएर आउने इतर पक्षको बुझाइ छ।

अदालतले संसद् पुनस्र्थापना गरिदियो भने कांग्रेसले सम्पूर्ण ध्यान १४औं महाधिवेशनमा केन्द्रित गर्न सक्छ। तर पुनस्र्थापना पनि नहुने र वैशाख १७ र २७ का लागि तय भएको निर्वाचन मिति केही साता वा केही महिना पर सरेको अवस्थामा कांग्रेसका लागि थप चुनौती खडा हुनेछ। केन्द्रीय कार्य समितिले केही दिनभित्र पार्टी विधानले दिएको पाँच वर्षे (अतिरिक्त एक वर्षसमेत) कार्यकाल गुजार्दैछ। त्यसपछि पार्टीको वैधानिकता जोगाउन उसले संवैधानिक व्यवस्थाको सहारा लिनुपर्नेछ। महाधिवेशन भएको साढे पाँच वर्षभित्र अर्को महाधिवेशन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। त्यसअनुसार पनि कांग्रेसले भदौभित्र महाधिवेशन गर्नुपर्ने हुन्छ। उक्त समयभित्र महाधिवेशन गर्न नसके पार्टीको वैधतालाई जोगाउन उसले संविधान र कानुनका अन्य छिद्रहरूको सहारा लिनुपर्ने हुन्छ।

फागुन ३ गते प्रतिनिधिसभा विघटनको विरोधमा सबै जिल्लामा प्रदर्शनलगत्तै ४ गते पदाधिकारी, पूर्वपदाधिकारीसहितको बैठक राख्ने तयारी कांग्रेसले गरेको छ। उक्त बैठकले अहिलेसम्म भएका विरोधका कार्यक्रमको समीक्षा गर्नेछ। ७ गतेअघि नै केन्द्रीय समितिको बैठक राखेर विरोधका थप कार्यक्रम सार्वजनिक गर्ने तयारी छ। फागुन ३ गतेको विरोध प्रदर्शनलगत्तै पार्टी पदाधिकारीसहितका नेताहरूको बैठक बस्ने जानकारी दिँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘त्यसपछि बस्ने केन्द्रीय समितिको बैठकले आन्दोलनसहितका सबै विषयमा जे गर्नुपर्ने हो त्यो गर्नेछ।’

केन्द्रीय समिति बैठकले फागुन ७ देखि तय भएको १४औं महाधिवेशन सरेको निर्णय पनि गर्नेछ। तर बैठकले महाधिवेशनको नयाँ मिति भने तय गर्ने छैन। ‘अदालतमा विचाराधीन मुद्दाका विषयमा पनि पदाधिकारी बैठकमा समीक्षा हुनेछ। तर महाधिवेशनको नयाँ मिति आगामी केन्द्रीय समिति बैठकबाट आउँदैन,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘संसद् पुनस्र्थापना भएन भने हाम्रो प्राथमिकता महाधिवेशनभन्दा निर्वाचन हुन्छ। पुनस्र्थापना भयो भने पनि अब महाधिवेशन भदौमै हुने हो।’
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस