सरकारका निर्णयमाथि अदालतको अंकुश
०५ असार २०७८
•
७ मिनेट पाठ
सरकारका निर्णयमाथि अदालतको अंकुश
केपी शर्मा ओली नेतृत्व सरकारले लिएका निर्णयमाथि सर्वोच्च अदालतले एकपछि अर्को गर्दै रोक लगाएको छ। दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेका बेला सरकारले लिएका अन्य निर्णयलाई अदालतले एकपछि अर्को गर्दै रोक लागाएको हो।  




प्रतिनिधिसभा विघटनपछि राजनीतिक स्वार्थ पूरा गर्न सरकारले नागरिकतासम्बन्धी अध्यादेशलगायत विभिन्न निर्णय गरेको थियो। सरकारी निर्णयको विपक्षी राजनीतिक दलमात्र होइन, नागरिक समाजसहितका पक्षले आलोचना गरिरहेका बेला सर्वोच्च अदालतले शुक्रबार दुईवटा निर्णयविरुद्ध आदेश दिएको छ। ढुंगा, गिटी, बालुवा निकासीसम्बन्धी घोषणा र राजदूत नियुक्तिसम्बन्धी विवादास्पद निर्णय कार्यान्वयन नगर्न/नगराउन सर्वोच्चले आदेश दिएको हो।

सर्वोच्चले बजेट वक्तव्यमा रहेको बुँदा नम्बर १९९ कार्यान्वयन नगर्न/नगराउन शुक्रबार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको १९९ नम्बर बुँदा कार्यान्वयन गर्दा दूरगामी वातावरणीय असर पर्न सक्ने भन्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ मा अध्यादेशमार्फत ल्याइएको बजेट सार्वजनिक गर्दै खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने घोषणा गरेका थिए। यसबाट वातावरणीय विनाश हुने दाबीसहित कार्यान्वयनमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा सातवटा छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपल्ट प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध परेका मुद्दामा सुनुवाइ जारी रहेका बेला सर्वोच्च अदालतले एकपछि अर्को गर्दै सरकारका विभिन्न निर्णय कार्यान्वयनमा रोक लगाएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले सरकारको उक्त घोषणा÷निर्णय कार्यान्वयन नगर्न÷नगराउन अन्तरिम आदेश जारी गरेको हो।

ढुंगा, बालुवा, गिटीजस्तो प्राकृतिक स्रोत उत्खनन गरी निकासी गर्दा वातावरणीय प्रभाव, वन्यजन्तु, पशुपक्षी, वनस्पतिसमेतका जैविक विविधतामा असर पुग्ने आदेशमा उल्लेख छ। यस विषयमा संसद्बाट कुनै ऐन नबनेकाले अध्यादेशमार्फत यस्तो व्यवस्था गर्नु संविधानविपरीत भएको भन्दै सर्वोच्चले रोक लगाएको हो। प्रतिनिधिसभा विघटन गरी सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको बुँदा नम्बर १९९ मा ‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ। निकासी गरिने खानीजन्य निर्माण सामग्रीको पारवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोपवे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था मिलाएको छु’ भन्ने उल्लेख छ।

संविधानको धारा ५१ (६) मा प्राकृतिक स्रोतको संरक्षण, संवद्र्धन र वातावरण दिगो रूपमा उपयोग गर्नेलगायत विभिन्न नीतिको व्यवस्था गरिएको छ। अदालतले यसअघि पनि प्राकृतिक स्रोत साधन उपयोगका सम्बन्धमा विभिन्न आदेश जारी गरिसकेको छ।

‘खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गर्नुपर्ने कारण सम्बन्धमा बजेटको बुँदा १९९ मा व्यापार घाटा कम गर्ने उद्देश्य लिएको देखिन्छ’, शुक्रबार सर्वोच्च अदालतबाट जारी आदेशमा छ, ‘राष्ट्रको प्राकृतिक स्रोतको उपयोगमा अन्तरपुस्ता समन्वय र वातावरणीय अनुकूलतालाई महत्वका साथ हेरिनुपर्छ।’ आदेशमा अगाडि भनिएको छ, ‘ढुंगा, बालुवा, गिटीजस्तो प्राकृतिक स्रोत साधन उत्खनन गरी निकासी गर्ने कार्यबाट राष्ट्रको प्राकृतिक स्रोत, वातावरणीय प्रभाव, वन्यजन्तु, पशुपक्षी, वनस्पतिसमेतका जैविक विविधतामा असर पुगी दूरगामी असर पर्नेछ। 

प्राकृतिक साधनमा स्थायी सार्वभौम अधिकारजस्तो आत्मनिर्णयको अधिकार राष्ट्रमा हुने वा उपयोगको विषयमा संसद्बाट कुनै ऐन नबनेको स्थितिमा अध्यादेशबाट उक्त बुँदा १९९ को व्यवस्था गरेको देखियो।’ संविधानको धारा ११४ को व्यवस्थाअनुसार तत्काल केही गर्न आवश्यक परेमा अध्यादेश जारी गर्न सकिने आदेशमा उल्लेख छ। ‘दूरगामी असर पार्ने प्राकृतिक स्रोत साधनजस्तो दीर्घकालीन महत्वको विषयमा अध्यादेशबाट कार्य गरिँदा विधायिकाको अधिकार र प्रभावकारितामा हस्तक्षेप हुन जाने सन्दर्भ तथा सुविधा सन्तुलनका दृष्टिले अहिले नै कार्यान्वयन गर्न उपयुक्त देखिएन। रिट निवेदनको किनारा नलागेसम्म कार्यान्वयन नगर्नू÷नगराउनू भनी अन्तरिम आदेश जारी गरिदिएको छ।’

रिट निवेदकहरूले सरकारको निर्णयले चुरे क्षेत्रमा वातावरण विनाश हुने भएकाले रोक्न माग गरेका थिए। त्यसैगरी, जैविक विविधता, प्राकृतिक सम्पदा, जल भण्डारण संरक्षणका लागि दीर्घकालीन बृहत् कार्ययोजना निर्माणमा विशेषज्ञहरूको एक समिति गठन गर्नसमेत रिट निवेदनमा माग गरिएको छ। ‘चुरे क्षेत्रको दिगो एव वातावरणीय मैत्रीपूर्ण विकास सुनिश्चित गर्न शक्ति सम्पन्न प्राधिकरण निर्माण गर्ने आदेश पाऊँ’, रिट निवेदनमा भनिएको छ, ‘प्राकृतिक सम्पदा जैविक विविधताले भरिपूर्ण र परिस्थितीय प्रणालीको दृष्टिकोणले अत्यन्त महत्वपूर्ण, जलस्रोतको जीवनदायिनीका रूपमा रहेको चुरे क्षेत्रमा अपूरणीय क्षति हुने भएकाले रोक्नुपर्छ।’  

वरिष्ठ अविधक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू शैलेन्द्रप्रसाद अम्बेडकर, रामबहादुर शाही, पुण्यप्रसाद खतिवडालगायतले छुट्टाछुट्टै ७ वटा रिट निवेदनमा सरकारको उक्त निर्णय तत्काल रोक्न माग गरेका छन्। सर्वोच्चले रिट निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गरेको हो।

सर्वोच्चले सरकारले गरेको राजदूतका लागि शैक्षिक योग्यता महत्वपूर्ण भन्दै त्यससम्बन्धी निर्देशिका संशोधन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अर्को आदेश पनि शुक्रबार नै दिएको छ। निकट व्यक्तिहरूलाई राजदूत बनाउने गरी सरकारले पूर्वमन्त्रीलाई राजदूत बनाउन कुनै योग्यता नचाहिनेगरी गत वैशाख २५ मा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गरेको थियो।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले राजदूत हुनका लागि पूर्वमन्त्रीलाई कुनै योग्यता नचाहिने गरी गरिएको निर्देशिका संशोधन कार्यान्वयन नगर्न/नगराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। निर्देशिकामा कुनै पनि देशको राजदूत बन्न ३५ वर्ष उमेर पूरा भएको र स्नातक तह उत्तीर्ण हुनुपर्ने व्यवस्था थियो। तर सरकारले गत वैशाख २५ गते राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ संशोधन गरी मन्त्री भइसकेका व्यक्तिका हकमा शैक्षिक योग्यता आवश्यक नपर्ने प्रावधान राखेको थियो।

सरकारको उक्त निर्णयविरुद्ध अधिवक्ता अनुराग सुवेदीलगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए। सरकारले निर्देशिका संशोधन गरी आफ्ना नजिकका व्यक्तिलाई राजदूतमा नियुक्तिका लागि सिफारिस गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएका थिए। मन्त्री भएका व्यक्तिको हकमा राजदूत बन्न स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता आवश्यक नपर्ने भन्ने निर्णय औचित्यपूर्ण र आधारयुक्त नदेखिएको परिप्रेक्ष्यमा राज्यको प्रतिनिधित्व गर्ने शैक्षिक योग्यतालाई उपेक्षा गर्दा कूटनीतिक क्षेत्रमा दूरगामी असर पर्ने आदेशमा उल्लेख छ।

‘सरकारको मन्त्रीको रूपमा सेवा गरिसकेका व्यक्तिको हकमा यो लागू हुनेछैन भन्ने प्रतिबन्धात्मक वाक्यांशसम्म सम्बन्धित निर्णय नगर्नू/नगराउनू’, आदेशमा छ।

यसअघि सर्वोच्च अदालतले मञ्जु मरासिनीविरुद्ध राष्ट्रपतिको कार्यालयसमेतको परमादेश मुद्दामा आवश्यक शैक्षिक योग्यता, उच्च नैतिक चरित्र, फौजदारी कसुरमा सजाय नपाएको, कालो सूचीमा नपरेको, भियना कन्भेन्सनलगायत सम्बद्ध सन्धिसम्झौताको ज्ञान हासिल हुने कुरासमेत समावेश गरी मापदण्ड बनाएर राजदूत नियुक्त गर्नुपर्ने नजिर स्थापित गरिसकेको छ। नजिरमा राजदूत नियुक्त गर्दा शैक्षिक योग्यताको मापदण्डमा अत्यन्त महत्व दिएको पाइन्छ। राजदूत नियुक्तिका लागि मापदण्ड बनाउन सर्वोच्चले दिएको परमादेशअनुसार २०७५ सालमा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका बनाइएको थियो।

यसअघि नै अदालतले सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न जेठ २७ गते आदेश दिएको थियो। सोही दिन कर्णाली प्रदेशमा फ्लोर क्रस गरेपछि नेकपा एमालेको कारबाहीमा परेका सदस्यको पद पुनर्बहाली गर्दै अन्तरिम आदेश जारी गरेको थियो। त्यतिमात्र होइन, नेकपा एमाले दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको २०७८ वैशाख १० मा बसेको दोस्रो बैठकको निर्णय भनी उल्लेख गरेकोलाई मान्यता दिन पनि अदालतले अस्वीकार गरेको छ।
अर्को समाचार
सरकारका निर्णय धमाधम अवैध ठहर
०९ असार २०७८
•
३ मिनेट पाठ
सरकारका निर्णय धमाधम अवैध ठहर
प्रधानमन्त्री केपी ओली राजनीतिक र कानुनी संकटमा फस्दै गएका छन्। संसद् विघटनपछि प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले अस्वीकार गरेपछि उनी राजनीतिक र कानुनी संकटमा फसेका हुन्।  आन्तरिक विवादले एमाले विभाजनउन्मुख भएका बेला सो दलको अध्यक्षसमेत रहेका ओलीलाई सर्वोच्च अदालतका एकपछि अर्को गर्दै आएका आदेशले झड्का दिएका छन्। ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ–राजेन्द्र पक्षलाई सहभागी गराएर विस्तार गरेको मन्त्रिपरिषद्लाई सर्वाेच्च अदालतले मंगलबार अन्तरिम आदेशमार्फत अस्वीकार गरिदिएको छ।




संसद् विघटन गरेर निर्वाचन मिति घोषणा गरेका प्रधानमन्त्रीले दुई चरणमा २० जना मन्त्री थपी मन्त्रिपरिषद् विस्तार गरेका थिए। उनले मन्त्रिपरिषद् विस्तार गर्न पाउने/नपाउने विषयमा बहस थियो। मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले संसद् विघटनपछि नियुक्त भएका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई काम नगर्नू, गर्न नदिनू, नदिलाउनू भनी अन्तरिम आदेश जारी गरेको छ।

संविधानको धारा ७७ (३) को उपधारा १ मा प्रधानमन्त्रीको पद रिक्त भएमा अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने व्यवस्था उल्लेख भएको भन्दै सर्वोच्चले मन्त्रिपरिषद् विस्तारको अधिकार अहिलेका प्रधानमन्त्रीमा नदेखिने आदेश दिएको हो। यससँगै ओलीलाई सरकारमा रहिरहन नैतिक संकट पनि देखा परेको छ।  

यसअघि अदालतले ओलीका पाँचवटा निर्णयलाई गैरकानुनी ठहर गर्दै रद्द गरिदिएको छ। सर्वोच्चले कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमालेका चार सांसदको पुनर्बहाली हुने र दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई एमालेको आधिकारिक संरचना नमान्ने निर्णय सुनाएको थियो। यसबाट एमालेभित्र माधवकुमार नेपाल समूहले उठाउँदै आएको माग सम्बोधन गर्नुपर्ने अवस्था सिर्जना हुँदा ओली पार्टीभित्र राजनीतिक संकटमा थिए। 

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कारबाही गरिएका चार सांसदलाई पुनर्बहाली गर्ने आदेशमात्रै दिएन, फागुन २३ को अदालतको फैसलापछि ओलीले एकलौटी रुपमा पार्टीको नवौं महाधिवेशनको संरचना खारेज गरेर बनाएको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई नै अवैध ठहर गरेको थियो। त्यसविरुद्ध ओली समूहले भ्याकेट निवेदन दर्ता गरेपछि त्यसको सुनुवाइका क्रममा अन्तरिम आदेश नदिई दुवै पक्षलाई छलफलका लागि झिकाउने आदेश आएको छ। यसले पनि प्रधानमन्त्री ओलीका लागि अवस्था असहज बन्न पुगेको छ।

यसअघि संसद् छलेर अध्यादेशबाट सरकार चलाउँदै आएका ओलीले नागरिकता अध्यादेश जारी गरे। नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट दर्ता भयो। जेठ ९ गते सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएको अध्यादेशलाई जेठ २७ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो।  

राजदूत नियुक्ति प्रकृयामा सरकारी मापदण्ड मिचेर गरिएका निर्णयमा पनि सरकारलाई सर्वोच्चले अगाडि बढ्न दिएन। तीन वर्षअगाडि आफैंले बनाएको राजदूत नियुक्ति मापदण्ड मिच्दा सर्वोच्चमा रिट परेको थियो। वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ को दफा ३ को उपदफा (६) मा रहेको योग्यतासम्बन्धी व्यवस्था संशोधन गर्ने निर्णय गरेको थियो। त्यसलाई पनि सर्वोच्चले अमान्य ठहर गरेको छ। त्यसअघि तत्कालीन गृहमन्त्री रामबहादुर थापासहित सात मन्त्रीलाई सर्वोच्च अदालतले पदमुक्त गरेको थियो।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस