‘पुनर्स्थापना भए अस्थिरता’
०४ असार २०७८
•
६ मिनेट पाठ
‘पुनर्स्थापना भए अस्थिरता’
प्रतिनिधिसभा फेरि पुनर्स्थापना भएमा मुलुकमा थप अन्योल, अस्थिरता र राजनीतिक अराजकता बढ्ने दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसहितले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन्। दोस्रोपटक गरिएको विघटनविरुद्ध परेको रिट निवेदनमाथि सुनुवाइका क्रममा सर्वोच्चबाट माग भएबमोजिम बिहीबार पेस गरिएको लिखित जवाफमा बहुमतको सरकार बनाउन नसकेपछि संविधानबमोजिम नै प्रतिनिधिसभा विघटन गर्नुपरेको दाबी गरिएको छ।  




रिटमा विपक्षी बनाइएका राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट लिखित जवाफ पेस भएको हो। राष्ट्रपति कार्यालयले एउटा पार्टीका सांसदले अर्को पार्टीलाई समर्थन गरेको, दुवैतर्फ नाम जुधेकाले प्रधानमन्त्री बन्न कसैको पनि दाबी नपुगेकाले प्रतिनिधिसभा विघटन गरी चुनाव तोकिएको जिकिर गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासले विघटनको कारण सोध्दै ७ दिनभित्र लिखित जवाफ पेस गर्न राष्ट्रपतिको कार्यालयलगायतलाई आदेश गरेको थियो।  

‘राष्ट्रपतिसमक्ष पेस गरिएका निवेदनहरूमध्ये शेरबहादुर देउवाको दाबीमा संलग्न कागजातमा दुईवटा दलको मात्र निर्णय साथ राखी पेस भएको, अन्य दलको पत्र संलग्न नभएको, हस्ताक्षरको सिलसिला नमिलेको, प्रतिनिधिसभा सदस्यको दलीय हैसियत नखुलेको,’ राष्ट्रपतिको कार्यालयद्वारा पेस गरिएको जवाफमा भनिएको छ, ‘अर्का दाबीकर्ता केपी शर्मा ओलीले आफूलाई समर्थन छ भनी पेस गरेका दलका सदस्यले अर्का दाबीकर्तालाई समर्थन गरेको देखिएको छ।’ यसरी दुवै दाबी दलको मान्यता एवं सदस्य दलले पालना गर्नुपर्ने अनुशासन तथा राजनीतिक नैतिकता अनुकूल नदेखिएकाले दुवै दाबीमा संवैधानिक तवरले विश्वासको मत पाउने विश्वसनीय आधार नभएको राष्ट्रपतिको कार्यालयले उल्लेख गरेको छ।  

संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र निर्वाचन हुनेगरी मिति तोकिएको जवाफमा स्पष्ट पारिएको छ। राष्ट्रपतिले संविधानले सुम्पेको जिम्मेवारी पूरा गरेको दाबीसहित अमुक व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्न भन्न अदालतले नमिल्ने भन्दै रिट खारेजीको माग गरिएको छ।  

यसैगरी प्रधानमन्त्री ओलीले आफू पुस ५ मा गरेको विघटनमा दृढ रहेको जिकिर गर्दै सर्वाेच्चबाट प्रतिनिधिसभा पुनर्स्थापनापछिको अवस्थाले स्थिर सरकार निर्माणका लागि निर्वाचन हुनुपर्छ भन्ने थप पुष्टि भएको दाबी गरेका छन्। ‘पुनस्र्थापित प्रतिनिधिसभा बैठक बसेको पहिलो दिनबाटै भूमिकामा असफल भयो। अन्ततः प्रतिनिधिसभा धारा ७६ (५) बमोजिम वैकल्पिक सरकार बनाउन पनि असफल भयो। विघटन अनिवार्य संवैधानिक परिघटना हुनपुग्यो। अब पनि प्रतिनिधिसभाको पुनर्स्थापनाको कुरा गर्नु मुलुकलाई थप अन्योल, अस्थिरता र राजनीतिक अराजकतामा धकेल्नु हो’, प्रधानमन्त्रीको जवाफमा भनिएको छ। दलीय अनुशासन उल्लंघन गर्ने छुट सांसदलाई नभएको दाबी उनले गरेका छन्। आफ्नो दलको नेताले प्रधानमन्त्रीमा दाबी पेस गरेको बेला विपक्षी दलको नेतालाई प्रधानमन्त्रीका रूपमा समर्थन गर्नु गलत भएको ओलीको जवाफमा उल्लेख छ।

ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने जिकिर पनि गरेका छन्। ‘विपक्षी शेरबहादुर देउवाले माग दाबी पेस गर्दा आफूलाई प्रधानमन्त्री नियुक्त गर्न समेत माग गर्नुभएको रहेछ। अदालतले संविधान र कानुनको व्याख्या गर्ने हो। अदालतले व्यवस्थापिका वा कार्यपालिकाको भूमिका निर्वाह गर्न सक्दैन। यो नितान्त राजनीतिक र कार्यपालिकी प्रक्रिया हो।’  

कुनै व्यक्तिले प्रतिनिधिसभामा विश्वासको मत पाउने अवस्था थियो वा थिएन भनी परीक्षण प्रतिनिधिसभा वा अदालतमा हुने परिकल्पना संविधानले नगरेको दाबीसमेत ओलीको छ। ‘कथंकदाचित रिट निवेदकको मागबमोजिम देउवा प्रधानमन्त्री भएमा निवेदकमध्येका नेकपा एमाले र जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य कुन दलको हुनुहुन्छ ? मैले नेतृत्व गरेको सत्तापक्ष हुन्छ कि प्रतिपक्ष ? किनभने देउवा त एमालेकै प्रतिनिधिसभा सदस्यको समर्थनमा प्रधानमन्त्री बनेको अवस्था हुनेछ। एउटै दल सत्तापक्ष र प्रतिपक्ष दुवै हुन सक्दैन’, ओलीले उल्लेख गरेका छन्।

आफूले प्रधानमन्त्री पदमा नियुक्त हुने वैधानिक अपेक्षा राखेर १५३ जनाको समर्थनसहितको पत्र राष्ट्रपतिसमक्ष पेस गरेको दाबी ओलीले गरेका छन्। वैकल्पिक सरकार गठन हुनसक्ने अवस्था नभएको जिकिर गर्दै उनले भनेका छन्, ‘प्रतिनिधिसभाका सदस्यहरूको दलीय आबद्धता र समर्थनको आधारमा कुनै पनि सरकारले बहुमत प्राप्त गर्न सक्ने अवस्था थिएन।’  

प्रधानमन्त्रीले धारा ७६ (४) बमोजिम विश्वासको मत लिनैपर्ने र सो नभई धारा ७६ (५) को प्रक्रिया क्रियाशील नहुने भन्ने दाबी गलत भएको तर्क गरेका छन्। ‘विश्वासको मत प्रधानमन्त्रीले पदमा रहिरहन लिने हो। मैले धारा ७६ (३) को प्रधानमन्त्रीको रूपमा विश्वासको मत नपाउने स्पष्ट थियो। मैले विश्वासको मत लिने नाममा थप केही दिन सरकार चलाउन सक्ने अवस्था हुन्थ्यो। त्यसो गर्नु मुलुकको हितमा हुँदैनथ्यो। त्यसैले धारा ७६ (५) बमोजिमको सरकार निर्माणका लागि मार्गप्रशस्त गरेको हुँ।’  

राजनीतिक स्थिरताका लागि निर्वाचन अनिवार्य  

२०७७ पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गर्दा उल्लेख गरेका राजनीतिक कारण अहिले पनि विद्यमान भएको प्रधानमन्त्रीको जिकिर छ। राजनीतिक हिसाबले कुनै परिणाम दिनै नसक्ने अवस्थाको प्रतिनिधिसभाको निरन्तरता निरर्थक रहेको उनको दाबी छ। ‘इतिहासमा पुर्नस्थापना भएका कुनै पनि प्रतिनिधिसभाले राजनीतिक परिणाम हासिल गर्न सकेका छैनन्। कार्यकाल थपिएको संविधानसभाले पनि संविधान जारी गर्न नसकेको, २०५२ सालमा प्रतिनिधिसभा पुनस्र्थापनापछि उत्पन्न राजनीतिक अस्थिरताले देशमा १० वर्षे सशस्त्र द्वन्द्व जन्माएको, चरम राजनीतिक विसंगति देखिएको, सरकारको गठन र विघटनमा गैरसंसदीय अभ्यास मौलाएको दाबी उनको छ।

निर्वाचन सबैभन्दा अग्रगामी र लोकतान्त्रिक विधि भएको तर्क ओलीले गरेका छन्। दोस्रोपटकको विघटन सर्वोच्चको आदेशअनुरूप भएको दाबीसमेत उनले गरेका छन्। प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने विषय नितान्त राजनीतिक भएको उनले दोहोर्‍याएका छन्। कोभिड संक्रमणको समयमै व्यवस्थापन गरी निर्वाचन गर्ने, संक्रमणलाई नियन्त्रणबाहिर जान नदिन खोपको व्यवस्था गर्न सबै किसिमका प्रक्रिया र कारबाही अघि बढाएको प्रधानमन्त्रीको दाबी छ। सबै नागरिकलाई खोप लगाउने प्रतिबद्धतासहित खरिद प्रक्रिया सुरु भइसकेको जवाफमा उल्लेख छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट मुख्यसचिव शंकरदास बैरागीले पेस गरेको जबाफमा पनि कुनै पनि दलले बहुमत दाबी गर्न नसकेका कारण विघटन गरी चुनाव घोषणा गर्नुपरेको उल्लेख छ। ‘दाबीकर्ता दुवै सदस्यका समर्थनकर्ता भनिएका एकअर्कामा दोहोरो परेका, दलको निर्णयविपरीत एकले अर्कोलाई समर्थन गरेकोसमेत देखिएको र सम्बन्धित दलको मान्यता नदिन लेखी आएकाले संविधानको धारा ८९ (ङ) समेत आकर्षित हुनसक्ने, राजनीतिक दलसम्बन्धी ऐनसमेतलाई ध्यान दिँदै दुवै सदस्यले धारा ७६ (५) बमोजिम विश्वासको मत प्राप्त गर्नसक्ने ठास आधार नदेखिएकाले प्रधानमन्त्रीमा नियुक्ति गर्न मिलेन’, जवाफमा भनिएको छ।
अर्को समाचार
संसद् पुनर्स्थापना, सत्ता समीकरण र वर्ग अन्तरविरोध
२५ फागुन २०७७
•
६ मिनेट पाठ
संसद् पुनर्स्थापना, सत्ता समीकरण र वर्ग अन्तरविरोध
करिब ७० वर्षदेखि अहिलेसम्म राजनीतिक स्थिरता भएको कुनै पनि सरकार ५ वर्ष टिक्न सकेन। यही राजनीतिक अस्थिरता चिर्न स्थायी सरकार बनाएर देशमा सुशासन, समृद्धि र समाजवादी नेपाल निर्माण गर्न एमाले माओवादी केन्द्रको नेकपाको वामपन्थी एकताको सरकार स्थापना भएको थियो। जसमा जनताले विश्वास गरेर करिब दुईतिहाइ नजिकको मत दिएर नेकपाले विगत ३ वर्षसम्म शासनसत्ता चलाएको थियो। यो वामपन्थी सरकारले देशको गरिबी, विपन्नता भ्रष्टाचार, अन्याय, उत्पीडन समाप्त गर्छ भन्ने उद्देश्यले जनताले यति ठूलो समर्थन गरेका थिए। देशको विकास र समृद्धि गर्छु भन्ने नारा यो शासक वर्गले दियो। प्रधानमन्त्री केपी शर्मा ओलीले घर–घरमा ग्यास, पूर्व–पश्चिम रेल र पानीजहाज ल्याउँछु भने। त्यो अहिले झुटो अव्यावहारिक नारा सावित भयो। यो वर्तमान सत्ताको चालक शासक वर्गले जनताको स्वाधीनता, सार्वभौमिकता, भौतिक विकासमा ध्यान दिएन। असंख्य भ्रष्टाचार काण्ड अराजक, अस्थिर फाँसीवादी, भस्मासुर प्रवृत्ति सरकारको चरित्रका रूपमा समाजमा छताछुल्ल भयो।  




शासक वर्गको यो भ्रष्ट फाँसीवादी चरित्रले पूरा देशलाई नै तहसनहस बनाउन कोसिस गर्‍यो। प्रधानमन्त्री केपी ओलीले आफूलाई काम गर्न दिएनन् भनेर पुस ५ गते संसद् विघटन गरे। देशमा ठूलो आतंक फैलाए। तर अहिले यही फागुन ११ गते सर्वोच्च अदालतले सरकारको संसद् विघटनलाई बदर गरी संसद् पुनस्र्थापना गरेर देशको रक्षा गर्‍यो। केपी ओलीले गरेका गैरसंवैधानिक संसद् विघटन सर्वोच्च अदालतले बदर गरे तापनि प्रधानमन्त्री केपी ओलीले सहज राजीनामा दिएर राजनीतिक निकास दिनुपर्नेमा संसद्मा अविश्वासको प्रस्ताव सामना गर्ने भन्दै अडिग लिएर लोकतन्त्रविरुद्ध चुनौती दिएका छन्।  

अहिले ओलीले दुई नीति लिएका छन्– एक, विपक्षले प्रस्तुत गर्ने अविश्वासको प्रस्ताव विफल पार्ने। दुई, जसरी पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रचण्ड–माधवसँग मिलेर सरकार बनाउने वातावरण असफल बनाउने। उनले तत्काल पार्टी पनि नफुटाउने र राजीनामा पनि नदिने विचारमा अडान लिएर बसेका छन। उनले काँग्रेससँग सहमति गरेर अर्को सरकार बन्ने अवस्था आउनै नदिने र आफैँ फेरि चुनाव गराउने बाटो खोजिरहेका छन्। यसमा प्रचण्ड–माधव समूहका अध्यक्ष माधव नेपाल भन्छन्– ‘अब सत्ताको नयाँ समीकरण प्रतिगमन विरोधी आन्दोलनमा सहभागी दलहरूलाई साथमा लिएर संयुक्त सरकार बनाउने हो। अब केपी ओलीसँग एकता गरेर मिलिजुली सरकार बनाउने परिकल्पनासमेत गरिँदैन। केपी ओलीले देश र जनताका लागि गम्भीर धोका दिएका छन्। उनी नेपाली समाजको क्रान्तिकारी विचारबाट स्खलित भइसकेका छन्। विचारविहीन क्रान्तिकारी विचार दर्शनको धारबाट स्खलित भएका प्रतिक्रियावादी सोच बोकेकासँग हाम्रो एकता हुने सवाल आउँदैन।’ माधव नेपाल भन्छन्– प्रतिगमन विरोधी हाम्रो संयुक्त लडाइँबाट अहिले प्रतिनिधिसभा मात्र पुनस्र्थापना भएको छ। हामीले एउटा लडाइँमात्र जितेको अवस्था छ। अब हामीले प्रतिगमनकारी सत्तालाई सरकारबाट च्युत गरेर सिंगो लडाइँ जित्न बाँकी छ।

सर्वोच्च अदालतको फैसलापछि नैतिकरूपले केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएका छैनन्। यो स्वाभाविक हो– सर्वोच्च अदालतद्वारा ससंद् पुनस्र्थापना गर्दा ओली सरकारको कानुनी वैधता समाप्त भयो। तर ओलीको आफ्नो दम्भ, अहंकार फाँसीवादी चरित्रद्वारा सत्ताबाट अवसान हुँदा पनि उनले सर्वोच्च अदालतको फैसला सामान्य हो भन्छन्। संसद्को अविश्वासको प्रस्ताव पारित गरेर देखाऊ भनेर बारम्बार ठूलो चुनौती दिएका छन्। सारमा सर्वोच्च अदालतले गरेको फैसलाले प्रतिनिधिसभाको विघटन असंवैधानिक, राजनीतिक र नैतिकरूपले अनुचित रहेको प्रमाणित गरेको छ। अब केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर आफूभित्र रहेको दुस्साहसवाद छाड्नु अनिवार्य भएको छ।  

एमाले–माओवादी केन्द्रको यो वाम एकताको महान् अभियानमा निर्माण भएको वामपन्थी सरकारले लाखाैँ जनताको न्यायको मनोभावनाको प्रतिनिधित्व गर्नेछ, लोकतन्त्र जनवादको उच्च विकास गर्नेछ भन्ने थियो तर अहिले केपी ओलीको फाँसीवादी चरित्रको बुटले लोकतन्त्र कुल्चिरहेको छ। यो जनवादी सत्ताको कम्युनिस्ट एकताले आमजनताको मुक्तिको सन्देश बोकेर एउटा नयाँ युग सुरु गर्ने परिस्थित तयार गर्छ होला भन्ने थियो। तर १० वर्षको माओवादी जनयुद्ध तथा १९ दिने विद्रोहद्वारा निर्माण भएको नर्या संविधानका उल्लिखित उच्च उपलब्धि बढार्ने, विघटन गर्ने, तहसनहस गर्ने काम गरेको छ। वर्तमान केपी ओलीको सरकारले संवैधनिक सुनुवाइबेगर संवैधानिक आयोगका ३२ जनालाई आफूखुसी असंवैधानिक नियुक्ति गर्‍यो। तर त्यसलाई सर्वोच्च अदालतको प्रतिनिधिसभा विघटनको बदरको ऐतिहासिक फैसलाले छोएको देखिएन। केपी ओलीले आफ्नो असंवैधानिक मुद्दा अदालतले अवैधानिक घोषण गर्दा पनि नैतिकरूपले राजीनामा नदिइ आफनो निरंकुश शक्तिले अरूलाई कुल्चँदैछन्। लोकतन्त्रलाई आफ्नो तानाशाही व्यवहारले ध्वस्त गर्दैछन्।  

अहिले सहिदले हिँडेको बाटोबाट हिँड्दै हामीले क्रान्तिको बाँकी कार्यभार पूरा गर्न एकताबद्ध हुनुपर्ने थियो। हामी नेपाली कम्युनिस्ट क्रान्तिकारीहरूको एकीकृत साँचो कम्युनिस्ट पार्टी निर्माणका लागि क्रान्तिको माक्र्सवादी सचेत धार बोकेर जनताप्रति समर्पित हुने बेला थियो। आमजनताको मुक्तिको क्रान्तिकारी राजनीतिक दर्शन माक्र्सवाद, लेनिनवाद र माओवाद भन्दा फरक धार समातेर प्रतिक्रान्तिकारी चिन्तनबाट बढेर तानाशाही बाटो रोजेको देखियो। देश निर्माण र विकासमा प्रधान सवाल भनेको क्रान्तिकारी विचार हो। क्रान्तिकारी विचारशक्तिले निर्देशित भएर मात्र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा जनताको मुक्तियुद्धमा लाग्ने हो। यो साँचो हो, राज्यसत्ताको बलले शक्तिशाली बनेर एकक्षत्र रजाइँ गर्ने फरक धार र सोच राख्नेउपर चुनौती दिने, जनतामा उत्पीडन थोपर्ने कार्य गर्ने कुनै पनि तानाशाह लामो समयसम्म टिक्न सक्दैन।  

जनताको मुक्तिका लागि चालेको महान् कदमले नै साँचो स्वाधीनता प्राप्तिको काम गर्न सक्छ। अहिले वाम एकता हुन नदिने सवालमा देशी, विदेशी प्रतिक्रियावादी शक्तिले नकरात्मक भूमिका खेल्न सक्छन्, खेलेका छन्। अब त्यसमा हामी सचेत हुनुपर्छ। आफ्नो वर्ग स्वार्थ भन्दा फरकखालको राजनीतिक ताकत नयाँ अवस्थाबाट उदाउन लागेको देखेर प्रतिक्रियावादी वर्गले यसलाई दबाउन, विस्थापित गर्न विभाजित गर्ने पहल त गर्छन नै। तर हामी यस्ता दुश्मनका प्रतिक्रियावादी क्रियाकलापविरुद्ध सचेत हुनु अनिवार्य हुन्छ। हो, क्रान्ति, आन्दोलन र रूपान्तरणविरुद्ध विरोधी शक्तिले लोभलालच, डर, धम्की सबैखाले निरकुंश व्यवहार देखाउँछ। वाम एकतालाई विस्थापित पार्ने पहल गर्नु त प्रतिक्रियावादी शक्तिको आफ्नो वर्गचरित्र नै हो। हामी त्यसका विरुद्ध निरन्तर सामना गर्ने हैसियतबाट अघि बढ्नुपर्छ। प्रचण्ड–माधवको वामएकताको नयाँ धारलाई महान् क्रान्तिकारी धारमा बदल्दै अग्रगमनकारी कार्यदिशाबाट उठ्न जरुरी छ।

अवसरवादका दुई धार, घोर दक्षिणपन्थी र उग्रवामपन्थी धार हो। क्रान्तिकारी धारमा रुसी अक्टोबर क्रान्तिको धार र चिनिया नौलो जनवादी दीर्घकालीन जनयुद्धको क्रान्तिकारी बाटो हो। माओले विदेशी सोभियत संघको खुश्चेभी आधुनिक संशोधनवादी धारका विरुद्ध क्रान्तिकारी विचारले संघर्षलाई तेज पारे। अर्कोतर्फ आन्तरिकरूपमा चिनिया कम्युनिस्ट पार्टीमा रहेको लिन प्याओ र देङ सियाओ पिङको संशोधनवादी धारविरुद्ध लड्न माओले सन् १९६६ देखि १९७६ सम्म भीषण सांस्कृतिक क्रान्ति सम्पन्न गरे। अर्कोतर्फ नेपालमा आत्मसमर्पणवादी र विर्सजनवादी, भ्रष्ट काण्डैकाण्डबाट पोतिएको दक्षिणपन्थी संशोधनवादी धार बोकेर हिँडेको केपी ओलीको नेतृत्वको सरकार छ। त्यसविरुद्ध लड्न प्रचण्ड–माधव समूहको क्रान्तिकारी धार बलियो बनाउँदै जानु अनिवार्य छ। अहिले केपी ओली सरकारले विप्लवसँग वार्ता गरी हिंसाको राजनीति त्याग्ने बनाएको छ। विप्लव भने बाँकी नेपाली क्रान्ति सम्पन्न गर्न मालेमावादको क्रान्तिकारी विचारले लैस भएर बुर्जवा दलाल संसद्वादी राज्यसत्ता पराजित गर्छु भन्ने महान् लक्ष्य लिएर लडेको भन्छन्। उनले वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्ने विकल्प खोज्दै लडेको भन्दै आएका छन्। अब विप्लव समूह मूलधारे राजनीतिमा आएपछि यो यथास्थितिवादी संसदीय राज्यसत्तामा कुन वैचारिक लाइनसाथ अघि बढ्लान् हेर्न बाँकी छ।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस