अराजकता फैलाउन हिंसाको सहारा
१६ चैत्र २०८१
•
७ मिनेट पाठ
अराजकता फैलाउन हिंसाको सहारा
तीनकुनेमा शुक्रबार भएको घटनाको निरीक्षण गर्दै गृहमन्त्री रमेश लेखक। तस्बिर: नागरिक
तत्कालीन राजा वीरेन्द्रको वंशनाशपछि राजा बनेका ज्ञानेन्द्र शाहमा फेरि राजा बन्ने महत्त्वाकांक्षा जाग्दा उनको पक्षमा शुक्रबार राजावादीले काठमाडौंमा प्रदर्शन गर्दा अराजकता र हिंसात्मक गतिविधि भयो। संघीय लोकतान्त्रिक गणतन्त्र सहितको नयाँ संविधानपछि जनताले मुलुकमा तीव्र आर्थिक विकासको अपेक्षा गरेका थिए। तर मुलुकको सीमित स्रोत साधन र संविधान निर्माणपछिका संरचना निर्माणमै सरकार र राजनीतिक दलहरूको ध्यान केन्द्रित हुँदा जनतामा असन्तुष्टि बढेको थियो। त्यसलाई व्यवस्थाप्रतिकै असन्तुष्टि बुझेर केही शक्ति केन्द्रहरूको उक्साहटमा फेरि राजा बन्ने महत्त्वाकांक्षा राखेका ज्ञानेन्द्रले देशमा फेरि अस्थिरता फैलाउने प्रयास गरेका छन्।




‘आफू सुन्ने मात्र होइन, देखिने राजा हुने’ बताएका ज्ञानेन्द्रले राजगद्दीमा बसेको केही समयमै २०५९ असोज १८ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षम घोषणा गरेका थिए। त्यसको केही दिनमा लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार बनाएका ज्ञानेन्द्रले सूर्यबहादुर थापा हुँदै फेरि देउवालाई नै प्रधानमन्त्री बनाएका थिए।

ज्ञानेन्द्रले देउवालाई २०६१ माघ १९ गते फेरि प्रधानमन्त्रीबाट हटाएर आफ्नै हातमा शासन लिएका थिए। बुबा राजा महेन्द्रकै पालाका सहयोगीलाई लिएर ज्ञानेन्द्रले मुलुकमा निरंकुशता चलाएका थिए।

माओवादीले सञ्चालन गरेको हिंसात्मक आन्दोलनलाई पनि सिरानी हालेर उनी संसद्वादी दलमाथि खनिएका थिए। त्यसविरुद्ध एकताबद्ध भएका सात राजनीतिक दलको आन्दोलनबाट तत्कालीन प्रतिनिधिसभा पुनःस्थापना हुँदै अन्तरिम संविधान र संविधानसभा निर्वाचनमार्फत देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको हो। ज्ञानेन्द्रकै कारण दुई सय ४० वर्ष लामो राजतन्त्रलाई संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ मा सधंैका लागि बिदा गरेका थियो।

उनलाई पूर्वराष्ट्राध्यक्षको हैसियतमा सरकारले अहिलेसम्म सेवासुविधा दिँदै आएको छ। ज्ञानेन्द्रको फेरि राजा बन्ने महŒवाकांक्षाले मुलुकमा अराजकता मात्र निम्ताउने होइन, राज्यबाट उनी र उनको परिवारले अहिलेसम्म पाएको सेवासुविधा र सम्मान पनि खोसिने अवस्था आउने विश्लेषण गर्न थालिएको छ।

माओवादी केन्द्रसहित समाजवादी मोर्चाले ज्ञानेन्द्रका सबै सेवासुविधा कटौती गरेर उनलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ। व्यवस्थामाथि नै प्रश्न उठाएर लामो समयदेखि विभिन्न तानाबाना बुनेका ज्ञानेन्द्र र राजावादीहरूले शुक्रबार हिंसाको सहारा लिए।

राजावादीले देशलाई फेरि अस्थिरता र प्रतिगमनतर्फ धकल्ने अराजक कार्य गर्न थालेको राजनीतिक दल र नेताहरूले बताएका छन्। प्रमुख राजनीतिक दलहरूले शुक्रबार साँझ नै संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्धता जनाउँदै अराजक कार्यलाई नियन्त्रणमा लिन सरकारसँग माग गरेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरणमा देखिएका कमजोरी सुधार्न लाग्ने पनि उनीहरूले जनाएका छन्।

कांग्रेसका प्रभावशाली नेताहरूले राजावादीले शुक्रबार काठमाडौंमा गरेको प्रदर्शन मुलुकलाई प्रतिगमनतर्फ धकल्न गरिएको अराजक कार्य भएको निष्कर्ष निकालेका छन्। कांग्रेसका नेता विमलेन्द्र निधिको निवासमा शनिबार बिहान कांग्रेसका ६ पूर्वपदाधिकारीले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्र भएको निष्कर्ष निकालेका छन्।

निधिसहित नेताहरू कृष्णप्रसाद सिटौला, शशांक कोइराला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विजय गच्छेदार सहभागी बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरणका लागि सक्रिय हुने निर्णय गरेको छ।

चैत १५ गते काठमाडौंमा भएको आगजनी र तोडफोडको निन्दा गर्दै उनीहरूले जनताको जिउधनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। संविधानले शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने अधिकार दिए पनि त्यसको दुरूपयोग गर्दै मुलुकमा अराजकता फैलाउने र व्यवस्थामाथि नै धावा बोलने प्रयास राजावादीले गरेको निष्कर्ष नेताहरूको छ। त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै नेता निधिले भने, ‘राजा संस्थाका नाममा भएको अराजनीतिक, आपराधिक घटना निन्दनीय र भत्र्सनायोग्य छ।’

तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो। प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईले प्रहरीलाई पेलेर सुरक्षा घेरा तोड्दै निषेधित क्षेत्रमा गाडी प्रवेश गराएका थिए। प्रदर्शनका क्रममा गरिएको मानवीय र भौतिक क्षतिका विषयमा छानबिन गरी तत्काल दोषीलाई कारबाहीको दायरामा ल्याउन उनीहरूले माग गरेका छन्।

राजासहित हिन्दु राज्यको माग गर्दै सडकमा आएका राजावादीहरू अराजक बन्दै लुटपाट, आगजनी र तोडफोडमा उत्रिएका थिए। प्रदर्शनकारी अराजक बनेपछि सरकारले अपराह्न तीनकुने आसपास क्षेत्रमा कफ्र्यु जारी गर्दै शान्तिसुरक्षा कायम गर्न सुरक्षाकर्मीलाई सडकमा उतारेको थियो।

तीनकुने, जडीबुटी क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो तैनाथी भए पनि राजसंस्था फर्काउने भन्दै सडकमा उत्रिएका प्रदर्शनकारीले निजी घर, सञ्चारगृह, सरकारी भवन र सवारीसाधनलाई समेत निसाना बनाएका थिए। संघीय लोकतान्त्रिक गणतन्त्रपछि पनि अवस्थामा सुधार नआएपछि राजनीतिक दल र नेताप्रति बढ्दै गएको असन्तुष्टिको मौका छोप्दै राजावादीहरूले व्यवस्थालाई नै चुनौती दिन थालेका छन्।

राजावादीले कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा लुटपाट मच्चाएका थिए। प्रदर्शनकारीले कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोस्टको कार्यालयमा तोडफोड र आगजनीको प्रयास गरेका थिए। उनीहरूले कोटेश्वरस्थित जडीबुटी कारखानामा आगो लगाएका थिए। त्यहाँ पार्किङ गरिएका कम्तीमा आधा दर्जन गाडीमा उनीहरूले आगो लगाएका थिए। राजावादीले नेकपा एसको मुख्यालयमा पनि आगो लगाएका थिए।

गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्री पाण्डेले शनिबार प्रदर्शनकारीले तोडफोड र आगजनी गरेको क्षेत्र निरीक्षण गरेका छन्। घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउँदै गृहमन्त्री लेखकले जनाताकोे जिउधनको सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन्।

आक्रमणकारीको निसानामा परेका सञ्चारगृहमा समेत पुगेका उनले निर्भयपूर्व सूचना संकलन र प्रसारणका लागि सरकारले सबै प्रबन्धसमेत मिलाउने जनाएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि नेकपा एकीकृत समाजवादीको कार्यालयमा शुक्रबार भएको आगजनीको निरीक्षण गरेका छन्। सरकार शान्ति सुव्यवस्था कायम गर्न चुकेको जनाउँदै दाहालले दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार तीनकुनेमा भएको घटना हिंसात्मक भएको बताए। देउवाले शनिबार लुम्बिनीमा नेपाल लेखक संघको आठौं अधिवेशनको उद्घाटनमा भने, ‘पूर्वराजाका नाममा हुलहुज्जत भयो, अराजक गतिविधि भए। अहिले नै यस्तो गर्छन् भने राजा भए के गर्लान्?’

संघीय लोकतान्त्रिक गणतन्त्र कुनै हालतमा नहट्ने दाबी गर्दै ज्ञानेन्द्र शाह अब कहिल्यै संवैधानिक राजा बन्न नसक्ने देउवाले बताए। ‘ज्ञानेन्द्रमा संवैधानिक राजा बन्ने कुनै नेचर छैन, सम्भावना पनि छैन,’ उनले भने, ‘गणतन्त्र कसैले चाहेर हट्ने होइन, अहिले देश एकढिक्का भएर अघि बढिरहेको छ।’

तत्कालीन राजा ज्ञानेन्द्रलाई नै कारबाहीको दायरामा ल्याउनुपर्ने आवाज बलियो हुँदै गएका बेला कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले तीनकुने क्षेत्रमा शुक्रबार भएको आगजनी र अराजकता बारे ज्ञानेन्द्रको धारणा माग गरेका छन्। बिपी चिन्तन प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिटौलाले भने, ‘हिजो (शुक्रबार) काठमाडौंको कोटेश्वर आसपासमा राजावादीहरूले जे हिंसात्मक र दुखद घटना गराए त्यसप्रति मेरो खेद छ। घटना पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा भएको हो वा होइन? हो भने उहाँले जिम्मेवारी लिनुपर्छ, होइन भने त्यसको जवाफ दिनुपर्छ।’

पत्रकार महासंघ आन्दोलित

नेपाल पत्रकार महासंघले पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ। प्रदर्शनकारीले षड्यन्त्रपूर्वक आगलागीमा पारी कार्यस्थलमा खटिएका पत्रकार रजकको हत्या गरेको भन्दै महासंघले सत्यतथ्य छानबिन गर्न, दोषीलाई कारबाही गर्न तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन आन्दोलनको घोषणा गरेको हो।

महासंघले ७०औं स्थापना दिवस पनि शुक्रबारको घटनाको विरोधमा शनिबार मनाएको छ। त्यसपछि बसेको महासंघ केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सुनियोजित रूपमा भएको पत्रकार हत्या, आक्रमण र मिडियामाथिको आक्रमण विरोधमा आइतबारदेखि तीन दिनका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

महासंघले पत्रकार हत्या र मिडियामाथिको आक्रमणका विषयमा अध्ययन गर्न उपाध्यक्ष उमिद बाग्चन्दको संयोजकत्वमा सा सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ। महासंघ केन्द्रले संघीय सरकारका गृहमन्त्रीलाई, प्रदेश समितिहरूले प्रदेशका गृहमन्त्री र जिल्ला शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत एकैसाथ सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको महासचिव रामप्रसाद दाहालले जानकारी दिए। घटनाका विषयमा मंगलबार सञ्चारगृहका सम्पादक र सरोकारवाला संघसंगठनका नेतासँग छलफल गर्ने कार्यक्रम महासघको छ।
अर्को समाचार
नेपाल सुपर लिगः विवादित खेलमा चितवनको जित
१८ चैत्र २०८१
•
५ मिनेट पाठ
नेपाल सुपर लिगः विवादित खेलमा चितवनको जित
पाेखराकाे आयुष घलान (बायाँ) र चितवनका सुमित श्रेष्ठ बलका लागि प्रतिस्पर्धा गर्दै। तस्वीर: नागरिक
श्रम स्विकृतिबिना नै खेलाडी मैदान उतारिएपछि विवाद सिर्जना भएको खेलमा एफसी चितवनले जित निकाल्दै नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा सुखद सुरुआत गरेको छ।




एफसी चितवनका पाँच र पोखरा थन्डर्सका एक खेलाडीको श्रम स्वीकृति नभएपछि दशरथ रंगशालामा सोमबार १८ मिनेट ढिला गरी खेल सुरु भएको थियो। जुन, विवादित र अव्यवस्थित खेलमा एफसी चितवनले पोखरालाई २–० ले सहजै हराउँदै एनएसएलको तेस्रो संस्करणमा सुखद सुरुआत गरेको हो।

नेपाली खेलकुदकै उत्कृष्ट फेन्चाइज प्रतिस्पर्धा मानिएको एनएसएल यस सिजन अव्यस्थित रूपमा सञ्चालन हुँदै आएको थियो। जुन, दृश्य सोमबार पोखरा र एफसी चितवनबीचको खेलमा प्रस्ट रूपमा नै देखिन पुग्यो। आयोजकले खेलाडीको श्रम स्वीकृति नहुँदा पनि खेल सञ्चालन गराएका थिए। सुरुमा पोखराले खेल्न अस्वीकार गरे पनि अन्ततः सहमत भयो।

पोखराका सिइओका सुगन तण्डुकारले खेल नै नहुने अवस्था रोक्नका लागि खेल्न सहमत भएको बताए। पोखराका स्टेफन बिनोङको पनि श्रम स्वीकृति बिना नै खेलाइएको आरोप लागेको थियो। त्यसबारे पोखराका प्रशिक्षक सुमन श्रेष्ठले पनि बिनोङको श्रम स्वीकृति नभएको हुँदा पहिलो हाफमा नखेलाइएको प्रतिक्रिया दिए। तर, एफसी चितवनले श्रम स्वीकृतिबिना नै पाँच खेलाडीलाई खेलाएपछि दोस्रो हाफमा बिनोङलाई मैदान प्रवेश गराएको बताए। यद्यपि, पोखराका प्रशिक्षक श्रेष्ठ र व्यवस्थापकबीचको कुरा नै फरक देखियो। पोखराका सिइओ तण्डुकारले भने बिनोङको श्रम स्वीकृति रहेको दाबी गरे।

‘प्रशिक्षक सुमनजीलाई थाहा नभएको होला। बिनोङको श्रम स्वीकृति छ। एफसी चितवनका पाँच खेलाडीको चाहिँ नभएको हो,’ पोखराका सिइओले भने,‘आजको खेल प्रभावित हुन नदिन खेल्न सहमत भयौं। तर, जुन माहोल सिर्जना भयो, त्यसले खेलाडीको मनोबलमा भने प्रभाव पर्‍यो।’

पोखराका प्रशिक्षक श्रेष्ठ र एफसी चितवनका प्रशिक्षक नवीन न्यौपानेले पनि नेपालकै राम्रो फुटबल प्रतियोगिताका रूपमा हेरिएको एनएसएलमा यस्तो घटना हुनु दुखद रहेको प्रतिक्रिया दिए। ‘आज जसरी खेल निर्धारित समयमा सुरु भएन। त्यो राम्रो पक्ष होइन। यो हुनु हुन्थेन। यसले नेपाली फुटबललाई नै प्रभाव पार्छ,’ चितवनका प्रशिक्षक न्यौपानले भने।

प्रशिक्षक न्यौपानले आफ्ना पाँच खेलाडीको श्रम स्वीकृतिको प्रक्रिया अगाडि बढेर रेसिभ आइसकेको तर पूर्ण रूपमा कागजात हात नपरेको उल्लेख गरेका थिए। त्यो घटनाका बावजुद खेल चितवनका लागि भने सुखद रह्यो। चितवनले एनएलएलको इतिहासमा आफ्नो तेस्रो जित निकाल्न सफल भयो। यो सफलता दिलाउन सोमबार एफसी चितवनका नोदिर माभलोनोभ र नीरज चौधरीले गोल गरे।

चितवनको अघिल्लो दुई सिजन नै प्लेअफमा पुग्न नसक्दा खराब रह्यो। पहिलो सिजनमा जितविहीन चितवनले दोस्रो सिजनमा भने दुई जित मात्र निकालेको थियो। यसपल्ट भने उसले जितबाट सुरुआत गरेको छ। जितसँगै चितवनले गत दुई सिजनमा पोखरासँग बेहोरेको हारको बदला पनि लियो।

पोखराले चितवनलाई पहिलो सिजनमा २–१ र दोस्रो सिजनमा १–० ले हराएको थियो। तेस्रो सिजनमा भने चितवन सुरुदेखि नै हाबी हुँदै जित निकाल्न सफल भयो। चितवनले खेलको १५औं मिनेटमा नै अग्रता लिएको थियो। नोदिर माभलोनोभको गोलबाट चितवनले अग्रता लिएको हो।

भिक्टोर मानसरेले राइट साइडबाट दिएको कट पासलाई नोभिरले पेनाल्टी बक्सबाहिरबाट दोस्रो बार च्याप्दै गरेको सट पोखराका गोलकिपर प्रिसोले रोक्नै सकेनन्। चार मिनेटपछि नै पोखराले फ्रिकिकबाट अवसर सिर्जना गरे पनि सफलता पाउन सकेन।

करिब ३१ यार्डबाट सुरजज्यू ठकुरीले गरेको फ्रिकिक दोस्रो बार नजिकैबाट बाहिरिन पुग्यो। ३१औं मिनेटमा चितवनका शिशिर लेखीको प्रहार सफल भएन। उनले करिब १२ यार्डबाट गरेको सशक्त प्रहार पोखराका गोलकिपर प्रिसोले पन्च गर्दै रोके।

त्यसपछि पनि दुवैतर्फबाट केही अवसर सिर्जना भए। तर, गोल निस्किएन र चितवनले १–० को अग्रता लियो। दोस्रो हाफको सुरुआतमा नै पोखराका जोए आइडुको महत्त्वाकांक्षी सट सफल भएन। ५३औं मिनेटमा आइडुले करिब ३५ यार्डबाट गरेको सट बारभन्दा केही माथिबाट बाहिरिन पुग्यो। पोखराको ५७औं मिनेटमा पनि गोल गर्ने प्रयास सफल भएन।

पोखराका स्टेफन बिनोङको हेडर चितवनका डिफेन्डरले क्लियर गर्दै संकट टारे। त्यसको दुई मिनेटपछि नै चितवनका भिक्टोरले अग्रता दोब्बर बनाउने अवसर खेर फाले। आठ यार्डबाट नै उनको सट पोखराका गोलकिपर प्रिसोले रोक्दै टोलीको संकट टारे। ७४औं मिनेटमा नवयुग श्रेष्ठले उत्कृष्ट प्रहार गरे पनि चितवनका गोलकिपर अमल नाइटले झन्डा उठाए।

तर, खेलका सहायक रेफ्रीले झन्डा उठाउँदै अफसाइडको निर्णय दिए। ८६औं मिनेटमा भिक्टोरले नजिकैको दूरीबाट वान टच गोल गर्न चुकेपछि चितवन अग्रता दोब्बर बनाउन असफल भयो। जोनाथन क्याम्बेलले लेफ्ट साइडबाट दिएको क्रसलाई उनले वन टच गरे पनि बारभन्दा केही माथिबाट बाहिरिन पुग्यो।

इन्जुरी समयमा काउन्टर अट्याकबाट चितवनले अग्रता दोब्बर बनायो। नीरज चौधरीले पेनाल्टी बक्सभित्रबाटै दोस्रो बार च्यापेको सट गोलमा परिणत भएको हो। काउन्टर अट्याकमा भिक्टोरको थ्रु बललाई नीरजले सदुपयोग गरेका हुन्। त्यसपछि थप गोल हुन सकेन र एफसी चितवनले पोखरालाई २–० ले हरायो। पोखराका प्रशिक्षक सुमनले तयारी गरेअनुरूप आयोजकबाट राम्रो व्यवस्थापन नहुँदा खेलमा असर परेको बताए।

‘केही व्यक्तिले आज यो खेलाडीले खेल्दैनन् भनेपछि मानसिक रूपमा पनि खेलमा असर प¥यो। खेल्नका लागि स्टेफन बिनोङको आवश्यक कागजात नहुँदा सुरुमा खेल्न पाएनन्। तर, दोस्रो हाफमा भने उनलाई खेलायौं। हामीले पनि राम्रो खेल्न सकेनौं,’ उनले भने,‘ मिडफिल्ड पनि चुक्यौं र आगामी खेलमा सुधार गर्नेछौं।’

एफसी चितवनका प्रशिक्षक न्यौपानेले पहिलो खेलमा अंक लिनु महत्त्वपूर्ण रहेको र त्यहीअनुसार रणनीति बनाएर खेल्दा सफल भएको बताए। चितवनका पाँच खेलाडीले श्रम स्वीकृतिबिना नै खेलायो भन्ने प्रश्नमा उनले प्रक्रिया पूरा भएको तर पूर्ण कागज भने नआएको स्विकारे। उनले यो अवस्था हुनु खराब पक्ष रहेको उल्लेख गरे। उनले यस सिजन चितवनले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेका छन्।

‘पछिल्ला सिजनमा हाम्रा लागि राम्रो हुन सकेन। तर, यसपल्ट राम्रो गर्छौं। टिममा राम्रो बोन्डिङ रहनु र बेन्च स्ट्रेन्थ पनि बलियो रहेकाले यसपल्ट राम्रो खेल्नेछौं भन्ने विश्वास छ,’उनले भने। यस संस्करणको एनएसलमा सात टोलीले मात्र प्रतिस्पर्धा गर्दै छन्। यस संस्करणमा वीरगन्ज युनाइटेड र स्पोर्टिङ इलाम एफसीले हात झिकेका हुन्। आगामी खेल वैशाख १३ गतेसम्म हुँदै छ।  
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस