राष्ट्रपति रामचन्द्र पौडेलले जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै भएको बताएका छन्।
राष्ट्रपति पौडेलले श्री कृष्ण प्रणामी धर्मशाला निर्माण समितिबाट धरानमा निर्मित धर्मशाला उद्घाटनपछि आयोजित समारोहलाई शुक्रबार यहाँ सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन्।
'जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै हो, हरेक धर्म, सम्प्रदायलाई यही रुपमा बुझ्नसके यसले समाजमा सहिष्णुता बढाउन मद्धत पुग्छ भन्ने म ठान्दछु', उनले भने।
राष्ट्रपति पौडेलले हाम्रा धर्मशास्त्रहरूले पनि सेवालाई अत्यधिक महत्व र प्रधानता दिएको बताए। उनले भने,'वेदव्यासले पनि अठार पुराण रचना गरिसकेपछि यही निष्कर्ष दिनुभएको छ कि “परोपकार पुण्याय, पापाय परपिडनम ।'
हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिने उनको भनाइ थियो । राष्ट्रपति पौडेलले यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्धत गर्न सक्नुपर्नै पनि बताए।
'यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ, आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महशुस वर्तमान विश्वले गरिरहेको छ, आज मान्छे भौतिक विकासभित्र सुख र शान्तिको लागि भौंतारिहेको यहि कारण हो', राष्ट्रपति पौडेलले भने।
विश्वमा चरम भौतिक विकासको चाहना र होडवाजी बढेको र यसका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कदा रहेको उनको भनाइ थियो । 'यो कुरा हामीले हाम्रै समाजमा पनि अनुभव गरिरहेका छौं, यस्तो अवस्थामा नेपालमा निजानन्द सम्प्रदायले चलाएको आध्यात्मिक जागरण र मानव सेवा अभियानले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण योगदान पुरयाउनेछ भन्ने मैले विश्वास लिएको छु', राष्ट्रपति पौडेलले भने।
राष्ट्रपति पौडेलले हाम्रो वैदिक सनातन हिन्दू धर्म प्राचीनकालदेखि चलिरहेको धर्म भएको र यो धर्मको विराटस्वरुपका कारण यसअन्तर्गत विभिन्न संप्रदायहरूको सृजना हुनु स्वभाविक नै मान्न सकिने पनि बताए। उनले यस धर्मशाला भवनलाई मानवीय सेवा र भावनाले अभिप्रेरित एउटा अर्कै मन्दिरको स्वरुपमा खडा भएको आफूले अनुभूति गरेको पनि उल्लेख गरे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेतमा यही शनिबार र आइतबार तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण आयोजना गरिनेछ।
अन्य प्रदेशमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने उनले बताए।
कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्नेछन्। कार्यक्रममा पार्टी उपसभापति सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्यलगायत पदाधिकारी तथा नेताहरू सहभागी हुनेछन्।
दुईदिने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, मूल्यमान्यता, अनुशासन र राजनीतिक संस्कारबारे प्रशिक्षण दिइनेछ।
साथै, क्यान्डिडेट क्लब तथा लिडरसिप एकेडेमीको अवधारणा र कार्यदिशा, पार्टी संगठनको सशक्तीकरण, परिचालन, विस्तार तथा संरचनागत सुदृढीकरणका विषयमा छलफल हुनेछ।
प्रशिक्षणको पहिलो दिन जिल्ला तथा पालिका तहका पार्टी नेतृत्वसँग संगठनको अवस्था, चुनौती, सम्भावना, व्यवस्थापन, आर्थिक पारदर्शिता र निर्वाचन तयारीबारे केन्द्रीय नेतृत्वले छलफल गर्ने कार्यक्रम छ।
दोस्रो दिन स्थानीय तथा प्रदेश निर्वाचनको रणनीति, पार्टीको भूमिका, वाचापत्र तथा प्रतिबद्धताको कार्यान्वयन, नीति, कार्ययोजना र परिणाममुखी कार्यसम्पादनका विषयमा प्रशिक्षण दिइनेछ।
त्यसैगरी, पार्टीको ब्रान्डिङ, प्रचारप्रसार तथा सामाजिक सञ्जालको प्रयोगबारे पनि प्रशिक्षण दिइने प्रवक्ता खरेलले जानकारी दिए।
कार्यक्रमको अन्तिम सत्रमा सभापति लामिछानेले पार्टीको राजनीतिक कार्यदिशा, प्राथमिकता र रणनीतिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...