डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले फागुन १ गते ११ सदस्यीय पदाधिकारीसहित ९० केन्द्रीय सदस्य (नौ जना मनोनीत हुन्छन्) निर्वाचनमार्फत चयन गर्यो। जहाँ, २३ वर्षीय अमित खनाल पनि समेटिए।
रुपन्देहीको बुटवलमा जन्मिएका अमित अहिले भारतको महाराष्ट्र कोहलपुरमा इन्जिनियरिङ पढिरहेका छन्। उनी नयाँ शक्तिको महाधिवेशनकै लागि काठमाडौं आए।
१८ वर्षको हुँदादेखि विद्यार्थी राजनीतिमा जोडिएका अमितले नयाँ शक्तिको आइटी विभागमा समेत काम गरिसकेका छन्। केन्द्रीय सदस्य निर्वाचित भइसकेपछि हामीले उनलाई अबका योजना के छन् भनेर सोध्यौँ। उनले मुख्यत: दुईवटा योजना सुनाए। त्योभन्दा अगाडि उनले युवाहरूले पनि उच्च राजनीतिक चेत राख्दोरहेछन् भन्ने पुष्टि गर्न चाहेको बताए।
पाका नेताहरूले युवाहरू; त्यसमा पनि जे-जी पुस्ता अराजकता मच्चाउने, अध्ययन नगर्ने, अनुभव नभएको सोच्ने गरेको उल्लेख गर्दै उनले भने, 'उहाँहरूले हामीलाई कलिलै सोच्नुहुन्छ। सिद्धान्त थाहा छैन भनेर सोच्नुहुन्छ। तर, युवाहरू पनि अध्ययन गर्छन्। उनीहरूलाई पनि स्टालिन थाहा छ, स्टालिन प्रवृत्ति थाहा छ। अराजक छैनन्। उच्च राजनीतिक चेत राख्छन्। म यही पुष्टि गर्न चाहन्छु।'
यसपछि उनले आफ्ना मुख्य दुई योजना सुनाए। उनको पहिलो योजना छ- युवा तथा विद्यार्थीका समस्या सुन्ने, उनीहरूकै लागि राजनीति गर्ने। यो कसरी हुन्छ ? अमितले बेलिविस्तार गराए, 'इन्टर्याक्सन जेन-जी नामको कार्यक्रम बनाउँदै छु। महिना दुईपटक इन्टर्याक्सन हुन्छ। त्यहाँ विद्यार्थी तथा युवाहरू सहभागी हुनुहुन्छ र उहाँहरूले समस्या राख्नुहुन्छ। कस्ता समस्याहरू हुन्छन्, ती समस्याहरूको सम्बोधन गर्न प्रयास गर्ने हो। सबै सकिँदैन होला। तर, सक्दो गर्ने।'
उनी थप्छन्, 'युवाको समस्या युवाले नै बुझ्छन्। सबै दलहरूले युवाका लागि राजनीति गर्ने, काम गर्ने भन्छन्। तर, त्यो कागजमा मात्रै देखिन्छन्। अब नेसपाले चाहिँ गर्छ, मचाहिँ गर्छु।'
अमित खनाल।उनको दोस्रो योजनाचाहिँ पार्टीलाई डिजिटल्ली बलियो बनाउने हो। गठन भएको पाँच महिना नपुग्दै प्रतिनिधि सभामा २० सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदाहरण दिँदै उनी भन्छन्, 'रास्वपाको कार्यकर्ता छैनन्। कुनै जनवर्गीय सङ्गठनहरू छैनन्। तर, सोसल मिडियाहरूमा उनका मान्छेहरू छन्। एआईको दुनियाँ हो, त्यसमा पार्टीको सहभागिता दह्रो रहन्छ अब।'
भौतिक सङ्गठन मूलभूत कुरा भए पनि डिजिटल रूपमा पनि अब पार्टीहरूले विचार तथा कार्यक्रमहरू समप्रेषण गर्नुपर्ने बुझाइ अमितको छ। र, त्यसमा नयाँ शक्ति कमजोर नहुने उनले बताए।
अध्यक्षलाई सुझाव
अमित पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईलाई सरल भाषामा भाषण गर्न सुझाउँछन्। आफूलगायतका युवा पिँढीले बुझ्ने भए पनि पार्टी तथा बाहिर रहेका अघिल्लो पुस्ताका मान्छेलाई अध्यक्षको भाषण बुझ्न गाह्रो पर्ने उनको ठम्याइ छ।
बाबुराम भट्टराई।'उहाँले त देश विदेशमा पढ्नुभएको छ। उहाँले जसरी पनि बोल्न सक्नुहुन्छ, जेमा पनि बोल्न सक्नुहुन्छ, भाषण गर्न सक्नुहुन्छ। तर, पार्टीमै रहेका वा बाहिरै रहेका अघिल्लो पुस्ता, जसले पर्याप्त मात्रामा पढ्नुभएको छैन। देश विदेश घुम्नुभएको छैन, उहाँहरूलाई बुझ्न सहज हुँदैन।'
बाँकी बाबुरामको विज्ञता, जोश र अभुनव देखेर उनलाई खुसी लाग्छ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो निजी सचिवालयमा २३ वर्षीय अमित खनाललाई नियुक्त गरेका छन्। अध्यक्ष भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निजी सचिवालयमा प्रेस तथा आइटी विभागमा अमितलाई नियुक्त गरेको जानकारी दिएका हुन्।
भट्टराईले अमितलाई आफ्नो निजी सचिवालयमा प्रेस तथा आइटी विभाग हेर्ने गरी नियुक्ति गर्न पाउँदा खुसी लागेको बताएका छन्। उनले नाति पुस्तासँगको सहकार्य वैकल्पिक राजनीतिक अभियानलाई सार्थक परिणाममा पुर्याउन सहयोगी हुने अपेक्षा गरेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, 'युवा Mechatronics Engineer तथा Digital Creator अमित खनाललाई आफ्नो निजी सचिवालयमा प्रेस तथा IT विभाग हेर्ने गरी नियुक्ति गर्न पाउँदा खुसी छु। नाति पुस्तासँगको सहकार्य वैकल्पिक राजनीतिक अभियानलाई सार्थक परिणाममा पुर्याउन सहयोगी हुने अपेक्षा गरेको छु। सबैको सद्भाव र सहयोगका लागि हार्दिक आग्रह गर्दछु।'
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...