नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले माओवादी जनयुद्धको स्कूलिङबाट आएका नेताहरूका बीचमा एकता आजको आवश्यकता रहेको बताएका छन् ।
शुक्रबार साँझ नेपाल समाजवादी पार्टी (नेसपा) का नेता गंगानारायण श्रेष्ठ चन्द भेट्न उनकै निवास हरिसिद्धि पुगेका थिए ।
त्यस क्रममा चन्दले यस्तो बताएका हुन् । चन्दलाई उद्धृत गर्दै नेता श्रेष्ठले भने, 'माओवादी जनयुद्धको स्कूलिङबाट आएका नेताहरूका बीचमा एकता हुनु आजको आवश्यकता हो ।'
नेता श्रेष्ठले आफ्नो निष्कर्ष पनि यही रहेको बताए । अझ सबै कम्युनिष्टहरूका बीचमा सहकार्य र एकता नै हुनुपर्ने भनाइ उनको छ ।
'सबै कम्युनिष्टहरूका बारेमा सहकार्य र एकता हुनुपर्छ भन्ने कुरा हामी सबैको हो,' उनले भने, 'आज पनि हामीले यही कुराकानी गर्यौँ ।'
हरेक निर्वाचन बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अब भने त्यसको उपयोग गर्ने आधिकारिक निर्णय गरेको छ। यसअघि बसेको ६औं केन्द्रीय समितिको पूर्ण बैठकका निर्णय सुनाउँदै मङ्गलबार महासचिव चन्दले भने, 'निर्वाचनको उपयोग गरेर अगाडि बढ्छौँ।'
पार्टी शान्ति प्रक्रियामा समेटिएपछि दश वर्षे माओवादी सशस्त्र युद्धका 'फ्रन्टलाइनर' चन्द एकीकृत जनक्रान्तिको नाममा बाहिरिए। २०६९ सालमा मोहन वैद्यको नेतृत्वमा पार्टीबाट बाहिरिएका चन्दले २०७१ सालमा आफैँले छुट्टै पार्टी बनाए। त्यसबेला उनलाई साथ दिएका धर्मेन्द्र बाँस्तोला, हेमन्तप्रकाश वलीहरूले फेरि नेकपा बहुमत नामको पार्टी गठन गरेर फरक धार समातिसकेका छन् ।
आफैँले पार्टी बनाएदेखि नै ध्वंसात्मक गतिविधिमा उत्रिन थालेका चन्द विद्यमान संसद्लाई दलाली गर्ने ठाउँका रूपमा करार गर्थे। तर, अहिले आएर उनी आफैँ निर्वाचनको बाटो हुँदै संसद्सम्म पुग्न खोजिरहेका छन्।
यस्तो किन ? चन्दको जवाफ छ, 'निर्वाचनको प्रयोग क्रान्तिकै एउटा मोर्चा हो तर, सबथोक होइन। नेपालमा नेपाली विशेषताको समाजवाद ल्याउन विभिन्न बाटाहरू छन्। संविधान संशोधन, जनमत संग्रह र सडक संघर्ष। त्यसैको एउटा रूप निर्वाचनको उपयोग पनि हो।’
निर्वाचन बहिष्कारमा लाखौं जनता सहभागी भए पनि पछि पार्टी र जनताको सम्बन्ध टुटदै गएको अनुभव चन्दको छ। उनको निष्कर्ष छ, 'निर्वाचन बहिष्कार मात्रै गरेर पनि केही हुँदैन। त्यसैले निर्वाचनमार्फत अगाडि बढ्नुपर्ने निष्कर्ष निस्क्यो।'
'महापतन' प्रसङ्ग
रोचकचाहिँ के भने चन्द आफैँले 'महापतन' पुस्तक प्रकाशन गरेका छन्, जहाँ उनको सटिक कथन छ, 'संसद्वादी दलसँग एउटै कित्तामा उभिनु महापतनको बाटोमा जानु हो।'
तर, अहिले आएर उनी ठीक त्यही बाटोमा उभिन पुगेका छन्। निर्वाचनलाई उपयोग गरेर संसद्सम्म पुग्नुपर्ने निष्कर्ष चन्दको एक वर्षअगाडिकै हो।
यो निष्कर्ष निकालेपछि नै उनी संसद्वादी दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाललगायतका दलहरूसँग सलिढली बसे। अहिले पनि उनको दल नेपाल कम्युनिष्ट पार्टी समाजवादी मोर्चामा छँदैछ। जहाँ माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरू सहभागी छन्। यसलाई उनीहरूले कार्यगत एकता भनेका छन्।
नेत्रविक्रम चन्द र पुष्पकमल दाहाल।कार्यगत एकता मात्रै होइन, माओवादी केन्द्रसँग त पार्टी एकता नै गर्ने तयारी चन्दको छ। र, माओवादी केन्द्र त्यही पार्टी हो, जसलाई उनले एकीकृत जनक्रान्ति गर्न नसकी महापतनतिर गएको पार्टीका रूपमा अर्थ्याएका थिए।
यसरी हेर्दा उनी आफैँका अनुसार चन्द महापनतिर लम्किएका छन्। यसको जवाफ उनले कहीँ न कहीँ दिनुपर्नेछ।
प्रधानमन्त्रीतिर नजर !
रुपन्देहीको बुटवलमा आयोजित ‘वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद’ विषयको अन्तर्क्रियामा चन्दले प्रधानमन्त्री हुने रहर व्यक्त गरेका थिए।
‘एकपटक सरकारको नेतृत्वमा पुगेर गोरुझैँ जोतिएर ५ वर्ष काम गरी देशलाई परिवर्तन गर्ने असाध्यै हुटहुटी छ। जनमत संग्रह, निर्वाचन वा संविधान संशोधन जेबाट भए पनि जनताबाट चुनिएर सरकारको नेतृत्वमा जाने कुरामा हाम्रो विमति छैन तर, त्यसो गर्दा स्थिरता हुनुपर्छ।किसान र मजदुर वर्गको प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ,' चन्दले भनेका थिए।
यही संसदीय व्यवस्थामार्फत नै भए पनि कार्यकारी पद (प्रधानमन्त्री)मा पुग्ने र आफूले चाहेअनुरूप सरकारको नेतृत्व गरेर देशलाई समाजवादतिर लाने चाहना चन्दको रहेको नेपाल कम्युनिष्ट पार्टीका एक नेता बताउँछन्।
नेत्रविक्रम चन्द।'राजनीति गरिसकेपछि मन्त्री वा प्रधानमन्त्री भएर काम गर्छु भन्ने कुराको चाहना राख्नु अनौठो भएन। तर, उहाँमा देश परिवर्तनको अत्यन्तै ठूलो हुटहुटी छ। उहाँ त्यसका लागि प्रयासरत त हुनुहुन्छ। त्यसकै लागि हाम्रो पार्टीले निर्वाचनका लागि खुला हुने निर्णय गरेको हो,' ती नेता भन्छन्।
माओवादी केन्द्रसँगको एकता पनि त्यसका लागि एउटा खुड्किलो हुने भनाइ ती नेता बताउँछन्। 'सधैँ प्रतिपक्षमा बसेर, सधैँ सत्ताको विरोध गरेर पनि केही नहुने रहेछ भन्ने कुरा अस्ति हाम्रो बैठकमा उठेको थियो। अब जुन बाटोबाट भए पनि परिवर्तन गर्न सकिने ठाउँमा पुग्नुपर्यो भन्ने हाम्रो निष्कर्ष छ,' ती नेता भन्छन्।
किन भयो चन्दको 'यूटर्न'?
चन्द तिनै नेता हुन्, जसले विद्यमान संसदीय व्यवस्थलाई पुँजीवादीहरूले दलाली गर्ने व्यवस्थाका रूपमा करार गर्थे। र, निर्वाचनमार्फत आफू त्यहाँ नपुग्ने बताउँथे। तर, यहाँसम्म आइपुग्दा स्वयम् उनको यूटर्न भएको छ। अहिले त उनी आफैँ भन्दैछन्, 'निर्वाचनको उपयोग गरेर जाने। सकियो भने प्रधानमन्त्री नै हुने।'
राजनीतिक विश्लेषकहरू चन्दको यूटर्नलाई ठूलो रूपमा लिँदैनन्। वाम विश्लेषक झलक सुवेदीको भाषामा आन्दोलनमा कहिलेकाहीँ यस्तो हुन्छ। सुवेदी भन्छन्, 'ढिलै भए पनि उहाँले राम्रो गर्नुभयो। पहिल्यै अनुभूत हुनुपर्थ्यो त्यो कुरा, अहिले आएर हुनु पनि राम्रै हो।'
झलक सुवेदी र मुमाराम खनाल।अर्को कारणमा चाहिँ चन्दमा शक्तिको आकाङ्क्षा बढ्दै गएको सुवेदी बताउँछन्। 'फेरि त्यो स्वाभाविक पनि हो। राजनीतिमा लागिसकेपछि त्यो अन्यथा पनि होइन। उहाँमा पनि केही न केही शक्तिको आकाङ्क्षा पलाएको छ,' उनले भने।
अर्का राजनीतिक विश्लेषक मुमाराम खनाल प्रकारान्तरले नेताहरू संसदीय व्यवस्थामा नै आउने बताउँछन्। कम्युनिष्टहरूमा हिंसा गरेर 'स्पेस' खोज्ने परम्परा रहेको उल्लेख गर्दै विश्लेषक खनाल भन्छन्, 'हिंसात्मक बाटो लिएपछि कि त राज्यले सकाउनुपर्यो, कि त संसदीय व्यवस्थामै आउनुपर्यो। बाटो त्यही दुईवटा हो । उहाँ यता आउनुभयो। यो अनौठो होइन।'
विश्लेषक खनाल पहिले पुष्पकमल दाहाललाई छाड्नु र अहिले फेरि मिल्न खोज्नुलाई भने बढी नाटकीय मान्छन्। 'पहिले किन दाहाललाई छाड्नु अनि अहिले किन मिल्नु। त्यसमा के के भयो उहाँहरू जान्नुहुन्छ तर, यो अलिक बढी नाटकीय भयो,' उनी भन्छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...