नेताहरुको कार्यविभाजनमा कुरा नमिलेपछि स्थगित भएको एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने नेताहरुले बताएका छन्।
आजको बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन टुंग्याउने दाबी गरिएको छ। अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलले तयार पारेको कार्यविभिाजनका प्रस्तावमा छलफल गरेर निर्णय गर्ने बैठकको तयारी छ ।
गत असारमा दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको सो पार्टीले अहिलेसम्म नेताहरूको कार्यविभाजन गर्न सकेको छैन। नेताहरूलाई पद पुर्याउन २४ सदस्यीय स्थायी कमिटीलाई ४१ सदस्यीय बनाउने गृहकार्य भएको छ। पार्टी भित्र नेताको व्यवस्थापन गर्न नेतृत्वलाई सकस भएको देखिन्छ।
शनिबार (आज) चितवन झरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकीकृत समाजवादीसँग एकताको आधार बन्दै गरेको दाबी गरे।
एकीकृत समाजवादीका स्थानीय नेतालाई पार्टी प्रवेश गराउँदै उनले भने, 'यो प्रवेशले माधवजीसँगको सम्बन्धलाई कुनै असर पर्ने छैन। उहाँहरूलाई भित्र्याउन मेरो कुनै भूमिका छैन। चितवनकै साथीहरूको भूमिका छ। अहिले माधवजी र हामी मिलेर समाजवादी मोर्चामा नयाँ ढङ्गले काम गर्न खोजिरहेका छौँ। अहिलेको पार्टी प्रवेशले माओवादी र एकीकृत समाजवादीबीचको पार्टी एकताको आधार बन्दैछ भन्ने मेरो बुझाइ छ।’
दाहालले यसो भनेपछि कतिपयले माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुन लागेको रूपमा अर्थ्याएका छन्। यसबारे एकीकृत समाजवादीका उपाध्यक्ष डा. वेदुराम भुसाल नागरिकसँग भन्छन्, 'एकता हुनुपर्छ भन्ने सैद्धान्तिक बुझाइ छ। तर, तत्कालै एकता भने सम्भव देखिँदैन।'
एकीकृत समाजवादीको बैठक।समाजवादी मोर्चामा सँगै रहेको उल्लेख गर्दै उनले थपे, 'अहिले पनि सहकार्य चलिरहेकै छ। समाजवादी मोर्चामा सँगै छौँ, मोर्चालाई थप सुदृढ गरेर लाने विषय छँदैछ। नेपालको कम्युनिष्ट आन्दोलनमा ध्रुवीकरणको आवश्यकता छ। यसको बोध हामीले मात्रै गरेर हुँदैन, माओवादीले मात्रै गरेर पनि हुँदैन। सबै कम्युनिष्टहरूले गर्नुपर्छ र अन्तत: एकतासम्म पुग्नैपर्छ।'
त्यसो त यसअघि नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुने कुरा थियो। त्यसबेला खासगरी एकीकृत समाजवादी नै 'ब्याक' भएको थियो। पार्टीका दोस्रो तहका नेताहरूले आफूभन्दा ठूला पार्टीसँग एकता गर्दा त्यो एकता नभइ विलय हुने र माओवादी केन्द्रसँग एकता भयो भने ठूलै सङ्ख्यामा नेताहरू एमालेमा समाहित हुने बताएपछि अध्यक्ष माधवकुमार नेपाल हच्किएका थिए।
अध्यक्ष नेपाल भने एकता नै भए पनि फरक नपर्ने बुझाइमा थिए। तर, रामकुमारी झाँक्री, किसान श्रेष्ठ, जीवनराम श्रेष्ठ, प्रेम आलेलगायतका नेताहरूले सहमति नजाएपछि उनी पछाडि हटेका थिए। अध्यक्ष नेपालले भने पहिले पनि एउटै पार्टीमा रहेकाले पुन: सँगै हुँदा फरक नपर्ने आशयका धारणा राख्थे।
त्यसपछि एकताको कुरा उसै हराएको थियो। तर, आज फेरि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यही विषय उधिनेका छन्।
उसो त माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता चलिरहेकै छ। यसबीचमा उनीहरूका बीचमा थुप्रैपटक 'वान् अन वान्' वार्तासमेत भएका छन्।
ती वार्ताहरूमा एकताको कुरा नछुट्ने माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटा बताउँछन्। उनले नागरिकसँग भने, 'उहाँहरूबीच वान् अन वान् वार्ताहरू भइरहेका छन्। ती वार्ताका क्रममा यस्तै यावत् विषयबारे पनि छलफल हुने गरेका छन्। एकताबारे पनि कुरा हुने गरेकै छन्।'
माओवादी केन्द्रको बैठक।प्रवक्ता सापकोटा पनि एकीकृत समाजवादीसँग एकताको आधार तयार भइरहेकै बताउँछन्। 'हाम्रो अध्यक्षले भन्नुभएकै कुरा साँचो हो। एकीकृत समाजवादीसँग एकताको आधार तयार हुँदैछ। अहिल्यै नहोला तर, केही समयपश्चात् एकता हुन्छ र हुनु पनि पर्छ।'
जसै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको धारणा भने अहिले पनि उही छ। पछिल्लो संसदीय निर्वाचनमा ३ प्रतिशतको थ्रेसहोल्डसमेत नकटाएको उनको दल सुदृढ हुँदै जानुको साटो विभाजनको डरमा छ। गत माघ १६ गते काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको विचारसभा सम्बोधन गर्ने क्रममा पनि उनले एकतामै जोड गरेका थिए।
तर, दोस्रो तथा तेस्रो तहका नेताहरूले सहमति नजनाउँदा उनलाई अप्ठ्यारो भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...