प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका साथै शान्ति, सुशासन, विकास र सामाजिक न्यायसहितका मुद्दामा संविधान पक्षधर दलहरू मिलेर अघि बढ्ने बताएका छन्।
बिपी कोइरालाले ४८ वर्ष अघि (२०३३ साल पुस १६ गते) राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्केका दिनको सम्झनामा नेपाली कांग्रेसले साेमबार आयोजना गरेको कार्यक्रममा कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी तथा राष्ट्रिय जनर्मोचा पार्टीका शीर्ष नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधानलाई अझ संवृद्ध बनाउँदै देश विकास गर्ने प्रतिबद्धता जनाएका हुन्। तानाशाही व्यवस्था आउन नदिने र त्यसकाविरुद्धमा प्रमुख दलहरू एक ठाउँमा उभिने जनाउँदै शीर्ष नेताहरूले कमी कमजोरीहरू सच्याउँदै देश विकासमा एकजुट भएर अघि बढ्ने पनि दाबी गरे।
नेताहरूले लोकतान्त्रिक शासन व्यवस्थामा दलहरूबिच वैचारिक र राजनीतिक रूपमा मतभेद र प्रतिस्पर्धा हुनुलाई स्वाभाविक भएको पनि बताए। तर, लोकतान्त्रिक, राष्ट्रियता, सामाजिक न्याय र आर्थिक समृद्धिका विषयहरूमा भने परिवर्तनकारी दलहरू एकताबद्ध हुने गरेको कांग्रेस सभापति शेरबहादुर देउवाले बताए।
विश्वका अन्य देशहरूमा नेपालमा जस्तो दलहरूबिच प्रतिस्पर्धा र सौहाद्धता नरहेको जनाउँदै देउवाले भने, ‘प्रतिस्पर्धाका बाबजुद एक अर्काप्रति हाम्रो सद्भाव र मेलमिलाप पनि छ। बोलीचालीको वातावरण, भाइचाराको वातावरण जो छ, यस्तो धेरै कम देशहरूमा मात्रै छ।’
मुलुकको आर्थिक विकास र समृद्धिमा पनि दलीय एकता र सहकार्यको आवश्यकता शीर्ष नेताहरूले औँल्याए। र, त्यसका लागि दलहरू मिलेर अघि बढ्ने जनाउँदै लोकतान्त्रिक गणतन्त्रको विकल्प समुन्नत र अझ सुदृढ लोकतान्त्रिक गणतन्त्र मात्र भएको बताए।
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रका पक्षधरहरूले जनतालाई गणतन्त्रको महत्त्व अनुभूति गराउन नसकेको बताए।
‘संसारमा मानव जातिले विकास गरेको सबैभन्दा उच्चतम राजनीतिक व्यवस्था भनेकै लोकतान्त्रिक गणतन्त्र हो। गणतन्त्रभन्दा राम्रो व्यवस्था अहिलेसम्म मानव जातिले विकास गरेकै छैन,’ दाहालले भने, ‘त्यसकारण लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउनु निरर्थक छ। लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो। लोकतन्त्रको विकल्प अझ विकसित लोकतन्त्र वा गणतन्त्र मात्रै हुनसक्छ।’
पछिल्ला एक वर्षमा केही राम्रा काम भएको र आगामी वर्ष अझै गर्ने प्रधानमन्त्री दाहालले प्रतिबद्धता जनाए। तर, ठुलो जोखीमसहित कांग्रेससँग सत्ता साझेदारी गरेको स्मरण गर्दै दाहालले भने,‘राम्रो कामको स्वामित्व लिन नहिचकिचाउनुस्।’
संविधानसभाबाट नयाँ संविधान जारी भएपछि जनअपेक्षा अनुसार काम हुन नसकेको शीर्ष नेताहरूले स्वीकार गरे। तर, जनतामा निराशा र अँध्यारो मात्र बाँड्ने राष्ट्रवादी हुनै नसक्ने दाबी पनि गरेका छन्। राजनीतिक नेतृत्वले जनतामा आशा र भरोसा बढाउनु पर्ने पनि तर्क गरेका छन्। तर, केही कमजोरीलाई देखिएर राजतन्त्र ल्याउने सपना पुरा नहुने र त्यो हुन नदिने दाबी गरे।
एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा राजतन्त्र फर्किन नदिने र गणतन्त्रलाई थप मजबुत बनाएर अघि बढ्ने विषयमा गणतन्त्रवादीहरू एकताबद्ध रहेको बताए।
‘राजतन्त्र अब इतिहास हो, बितिसकेको कुरा हो। यसबारे छलफल गर्नुको कुनै औचित्य छैन,’ उनले भने,‘राजतन्त्र फर्काउने बहस नै फाल्तु हो। हाम्रो कपाल त्यत्तिकै फुलेको हैन, हामी राजतन्त्र फर्किन दिँदैनौँ यो त खुलमखुला छ।’
संविधानसभाबाट जारी संविधानमा केही कमजोरी रहेको जनाउँदै त्यसलाई सुधार गर्नुपर्ने पनि तर्क गरेका छन्। उनीहरूले संविधानलाई पूर्णता दिँदै संविधानको पूर्ण कार्यान्वयनमा जोड दिएका छन्।तर, पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी अध्यक्ष बाबुराम भट्टराईले मुलुकमा देखिएको संकट टार्न सबै दलहरू मिलेर सरकार बनाउनुपर्ने धारणा राखे।
स्वीजरल्याण्डमा जस्तो पूर्ण समानुपातिक बनाउने वा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा गएर मात्रै स्थायी सरकार बनाउन नसकिने धारणा राख्दै उनले भने, ‘यसो नगरेसम्म देश बन्दैन, युवाहरू देश छोडेर हिँड्ने अनि हामीले लोकतन्त्रको डम्फू बजाएर मात्र हुन्छ ?’
तर अर्को पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको समस्या शासन प्रमालीको नभएर भ्रष्टाचार र सुशासनको अभाव रहेको दाबी गरे। समुन्नत संसदीय शासन प्रणालीको विकल्प नभएको जिकिर गर्दै नेपालले भने,‘बोलीमा एउटा व्यवहार अर्को काम गर्ने अनि भ्रष्टाचार नै अहिलेको मूल समस्या हो।’
एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै नेपालले गफले देशको विकास नहुने दाबी गर्दै भने, ‘कुराले चिउरा भिज्दैन, चिउरा भिजाउन दूध वा दही नै चाहिन्छ। गफाडीका गफले भए हुने भए सबै बनिसक्ने थियो।’
जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरत् सिंह भण्डारी र राष्ट्रिय जनर्मोचाका अध्यक्ष चित्रबहादुर केसीले परिवर्तनकारी शक्तिहरू एक ठाउँमा उभिएर जनताले अनुभूति गर्ने गरी आर्थिक विकास र सुशासनका पक्षमा काम गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा सहभागी नेताहरूले मेलमिलापका दिन नमिठो नमोल्ने बताए पनि एक अर्काप्रति आआफ्नै शैली र भावमा घोचपेच गर्न भने छाडेनन्।
कार्यक्रममा बोल्ने सबै नेताहरूले बिपी कोइरालाले तत्कालीन अवस्थामा राष्ट्रियतालाई केन्द्रमा राखेर निर्वासनबाट स्वदेश फर्केको स्मरण गरे। संविधानको कार्यान्वयन र रक्षाका लागि दलहरूबिचको एकता अहिले पनि उत्तिकै आवश्यकता रहेको औँल्याउँदै अहिलेका समकालीन नेताहरू बिपी कोइरालाकै स्कुलका विद्यार्थी भएको बताए।
उनकै स्कुलको वरिपरि घुमी रहेको भन्दै सहभागी नेताहरूले बिपीको प्रशंसा गरे। बिपी कोइराला मृत्यु दण्डसहितका आठ मुद्दा हुँदाहुँदै भारतको निर्वासित जीवन छाडेर २०३३ साल पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए। सोही दिनको सम्झनामा कांग्रेसले आइतबार देश भरी विभिन्न कार्यक्रम गरेको थियो।
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
देउवा समूहले चुनाव चिह्न रुख र चारतारे झण्डा प्रयोग गरेर महाधिवेशन गर्न लागेपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो। शनिबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले बैठकका निर्णय सार्वजनिक गरे।
पार्टीको नाम, लेटरप्याड, ब्यानर, चारतारे झण्डा तथा चुनाव चिह्न रुखको अनधिकृत प्रयोग गरी भेला र महाधिवेशनका नाममा गतिविधि सञ्चालन भइरहेकोप्रति केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण भएको पौडेलले बताए।
‘यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्याउनुका साथै आम नागरिक तथा नेपाली कांग्रेसप्रति आस्थावान् सदस्य एवं शुभेच्छुकहरूमा भ्रम सिर्जना भइरहेको छ,’ महामन्त्री पौडेलले भने।
पार्टीको आग्रह र अपिलविपरीत अनधिकृत गतिविधि सञ्चालन गरे विधान तथा प्रचलित कानुनबमोजिम कारबाही अगाडि बढाउने निर्णय बैठकले गरेको छ।
‘आग्रह र अपिलका बाबजुद त्यस्ता अनधिकृत गतिविधि सञ्चालन गर्ने, गराउने तथा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रूपमा भ्रामक ढंगले प्रस्तुत एवं प्रचारप्रसार गर्ने व्यक्ति वा समूहका विरुद्ध पार्टीको विधान तथा प्रचलित नेपाल कानुनबमोजिम आवश्यक कारबाही गर्न कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय यो बैठक गर्दछ,’ बैठकको निर्णयमा उल्लेख छ।
पौडेलका अनुसार बैठकले कांग्रेसको नाम, लेटरप्याड, झण्डा, चुनाव चिह्न तथा अन्य आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरी कुनै पनि गतिविधि सञ्चालन नगर्न-नगराउन र आधिकारिक गतिविधिका रूपमा प्रचारप्रसार नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।
देउवा समूहले भ्रमपूर्ण कार्य गरिरहेको भन्दै बैठकले त्यस्ता कार्यमा विश्वास नगर्न र त्यस्ता गतिविधिमा नलाग्न पार्टीका सबै सदस्य, तहगत समिति तथा शुभेच्छुकहरूमा हार्दिक अपिलसमेत गरेको छ
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...