बन्नुपर्ने कानुन र हुनुपर्ने विकास हुन सकेन: सांसद श्रेष्ठ (अन्तर्वार्ता)
०९ पौष २०८०
•
७ मिनेट पाठ
बन्नुपर्ने कानुन र हुनुपर्ने विकास हुन सकेन: सांसद श्रेष्ठ (अन्तर्वार्ता)
‘मेरो संसद् प्रवेशको एकबर्से कार्यकालमा जनतासँग बाचा गरेका योजना कार्यक्रम यति गरेँ भनेर म सन्तुष्ट छु भन्ने ठाउँ छैन’, सांसद शान्ति श्रेष्ठले भनिन्, ‘आफैंले आफैंलाई समीक्षा गर्नुपर्दा संसद्को वर्षदिनको अभ्यासमा मैले जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न सकिनँ, त्यसैले जनतासँग माफी माग्नैपर्छ।’




सांसद श्रेष्ठलाई जस्तै धेरै सांसदलाई यस्तो पछुतो लागेको छ। किनकि संघीय संसद्को एक वर्षको अवधिमा सांसदले जनतामाझ गरेका वाचा र मुलुकको आवश्यकताका खातिर गर्नुपर्ने काम, बन्नुपर्ने कानुन र हुनुपर्ने विकास निर्माणका काम सांसदकै भनाइमा हुन सकेका छैनन्। उनीहरूकै शब्दमा अतिआवश्यक ऐन, कानुन बन्न विलम्ब भएको छ। भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा आशातित परिणाम देखिएको छैन।  

यद्यपि, मुलुकको आर्थिक समृद्धि, सुशासन प्रवद्र्धन, भ्रष्टाचार नियन्त्रण र जनताको सेवालाई चुस्त र प्रभावकारी बनाउने महाभियानमा वर्तमान सरकार लागिपरेको छ। हुनतः जादुको छडी झैं चमत्कार भइहाल्छ भन्ने पनि छैन। सांसद श्रेष्ठले पनि हिम्मत हार्नुभएको छैन। मडारिएको बाँदलभित्र चाँदीको घेराझैं नेपालभित्र क्षितिजमा सम्भावना पनि प्रशस्तै छन्। चुनौतीका चाङलाई सामना गरेर समृद्धिको जनआकांक्षा पूरा गर्नेतर्फ लाग्नु सरकार, राजनीतिक दल, नेता र आमजनताको सामूहिक राष्ट्रिय दायित्व र अपरिहार्यता पनि हो। यिनै जिम्मेवारीबोधका साथ सांसदले आगामी दिनमा आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता रहेको सांसद श्रेष्ठले बताइन्।

नेकपा (एमाले) की नेत्री श्रेष्ठले भनिन्, ‘मेरो अनुभवमा सांसदको भूमिका कानुन निर्माणमा बढी ध्यान दिनुपर्ने रहेछ। तर, यो मुख्य दायित्वसँगै जनताका आवश्यकताअनुरूप विकास निर्माणमा पनि जोडिनैपर्ने बाध्यता छ।’

समानुपातिक सांसदको रूपमा संघीय संसद् प्रवेश गर्नुभएकी सांसद श्रेष्ठ काठमाडौं गोकर्णेश्वर वडा ६ की स्थायी बासिन्दा हुन्। उनी विसं २०५४ देखि राजनीतिमा सक्रिय छिन्। विसं २०४२ मा अखिल नेपाल महिला संघ सदस्य, विसं २०५४ को स्थानीय निर्वाचनमा गोकर्णेश्वर नपा वडा ३ को सदस्यमा निर्वाचित भइन्। 

विसं २०५७ मा अनेमको जिल्ला समिति सदस्य हुँदै अनेम संघको छैटौं काठमाडौं जिल्ला सम्मेलनबाट अध्यक्ष बनिन्। विसं २०६१ मा पार्टी जिल्ला कमिटी सदस्य, २०६३ मा पार्टीको महाधिवेशन प्रतिनिधि, २०७० मा राष्ट्रिय प्रतिनिधि परिषद् र २०७७ देखि प्रदेश बालअधिकार समिति सदस्यको जिम्मेवारी सम्हालिन्।

त्यस्तै, विभिन्न समयमा भएका महिला अधिकारसम्बन्धी आन्दोलन, विसं २०६२÷०६३ को जनआन्दोलनमा सक्रिय भूमिका खेल्नुभएकी नेत्री श्रेष्ठ पटक–पटक गिरफ्तार र थुनामा परिन्।

संघीय संसद्मा प्रतिनिधि भएको एक वर्ष पूरा हुँदै गर्दा संसदीय अभ्यासमा धेरै सांसद अलि कति आफ्नो कार्य क्षेत्रमा व्यस्त हुने, विकासका काममा बढी खट्ने गरेको सञ्चारमाध्यममा आउने गरेको छ। नेत्री श्रेष्ठ भन्छिन्, ‘कानुन बनाउन केन्द्रित हुनुपर्ने सांसद विकास निर्माणमा सक्रिय भए भन्ने जुन कुरा मिडियामा आएको छ, यो मलाई स्वभाविक लाग्छ। किनभने विकासको लागि पनि सांसदले घोषणापत्रअनुरूप बोलिरहेकी छन्। म तिम्रो यो काम गर्दिन्छु, त्यो काम गर्दिन्छु। सडक, खानेपानीलगायतका विषय सम्बोधन गर्छु भनेर मत मागिएको हुन्छ।’

उनले कानुन निर्माण र जनताको आकांक्षाअनुरूप काम गर्नु सांसदको प्रमुख दायित्व भएको उल्लेख गरिन्। ‘विभिन्न समुदाय र वर्गले उठाएका जायज मागलाई सम्बोधन गर्ने गरी कानुन निर्माण गर्नुपर्ने हाम्रो मूल दायित्व हो। तर अहिले संसदमा दर्ता भएका ४२ वटा विधेयकमध्ये एक मात्र विधेयक पारित भएको छ, र एउटा मात्र विधेयकले कानुनको रूप लिएको छ।’

सांसद श्रेष्ठले सांसदहरूको भूमिका सबैभन्दा बढी संसद् र संसदीय समिति नै हुनुपर्ने भन्दै कानुन निर्माण र संविधानमा व्यवस्था भएको जनताको मौलिक हकलाई कार्यान्वयन गर्न आफूहरू प्रतिबद्धताका साथ लाग्ने दृढता जनाइन्।

उनका अनुसार सांसदलाई जनताले निर्वाचित गरेर पठाएको पनि संसद्मा उपस्थित भएर जनसरोकारको विषय उठाउन र कानुन निर्माणमा जनताका कुरा घनिभूत छलफल गर्न जिम्मेवारी दिएको हो। ‘हामीले विशेष गरी सदन र समितिमै ध्यान दिनुपर्ने हो, म आफूचाहिँ सदन र समितिमा नै बढी समय व्यतीत गरिरहेकी छु। अबको दिनमा पनि जनताको पक्षमा आवश्यक कानुन बनाउन केन्द्रित हुनेछु‘, उनले भनिन्।

संघीय राजधानी काठमाडौंको जनप्रतिनिधि भएको नाताले पनि राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसम्बन्धी नयाँ कानुन निर्माणबारे हालैमात्र छलफल गरेको उनले स्मरण गरिन्। विसं २०२९ मा बनेको कानुनबाटै निकुञ्जको व्यवस्थापन भइरहेको भन्दै उनले पुरानो कानुनलाई परिस्कृत गर्न लागिएको उल्लेख गरिन्। उनले भनिन्, ‘कानुन परिस्कृत गर्न हामी सांसद लागिपरेका छौं। जनतालाई पनि प्रभावित पार्नुभएन। वन्यजन्तु पनि प्रभावित हुनुभएन। विधेयकमा म सहित धेरै सांसदको संशोधन परेको छ।’

देशलाई अहिलेको अवस्थाबाट अगाडि लैजान सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको सांसद श्रेष्ठको भनाइ छ। ‘सबै राजनीतिक दल मिलेर मात्रै देश बन्छ। अहिलेको परिस्थिति बेग्लै छ। जनमत पनि सबै मिलेर सरकार चलाउनु भन्ने छ। तर, त्यसो हुन सकेको छैन’, उनले भनिन्।

एमाले नेत्री श्रेष्ठले आफ्नो पार्टी प्रतिपक्षमा रहेको तर, जनताको पक्षमा निरन्तर बोलिरहेको दाबी गरिन्। उनले भनिन्, ‘एमाले प्रतिपक्षमा छ। जनताको पक्षमा बोलिरहेको छ, काम पनि गर्छ। मध्यपहाडी लोकमार्गलगायतको अधुरो काम पूरा गर्न र जनआकांक्षा पूरा गर्न सरकार र सबै राजनीतिक दल एकताबद्ध भएर जानुपर्ने टड्कारो आवश्यकता छ।’्

भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्न अघिल्लो सरकार र वर्तमान सरकारले नारा अघि बढाएकै छन्। सांसद श्रेष्ठको अनुभवमा राजनीतिक दलले भनेर मात्रै भ्रष्टाचार नियन्त्रण नहुने रहेछ। प्रशासनिक संयन्त्रले उत्तिकै सक्रियता जनाउन जरुरी छ।

मन्त्रालय र हरेक सरकारी निकायमा भ्रष्टाचार गर्दिनँ भन्ने सन्देश कार्यालय र कोठा चोटामा लेखिएको छ। तर, ती कर्मचारी संयन्त्रले भ्रष्टाचार न्यूनीकरणका लागि कति प्रयास गरेका छन् ? यो सोचनीय विषय हो। ‘जो कुर्सीमा बस्छ, त्यसले कार्यान्वयन गर्नुपर्छ। ‘ब्युरोक्रेसी’ मा राजनीतिक दलले मात्र भनेर नहुँदो रहेछ। नारामा कार्यालय, भ¥याङ, कोठा जहाँतहीँ नारा छन् तर भ्रष्टाचार मौलाइरहेको छ।’

श्रेष्ठका अनुसार भ्रष्टाचार मौलाउनुमा घुस दिने र लिने दुवै दोषी हुन्। आर्थिक क्षेत्र सुस्त छ, विकास निर्माणले गति लिएको छैन। जनताको करबाट तलब खाने राष्ट्रसेवक कर्मचारीले भ्रष्टाचारजस्तो अपराध र पाप कर्ममा प्रोत्साहन गर्न नहुने सांसद श्रेष्ठले बताउनुभयो। अहिले स्थानीय तहदेखि प्रदेश र संघमा पनि विभिन्न भ्रष्टाचारका विषय आइरहेको भन्दै राष्ट्रसेवकले जनताको पक्षमा काम गर्नुपर्ने धारणा राखिन्।  

सांसद श्रेष्ठले आर्थिक र गरिबीका कारण युवापुस्ता विदेश पलायन भइरहेको र धनी परिवार पनि सम्पत्ति बेचेर विदेश बस्ने प्रवृत्ति बढिरहेको भन्दै नागरिकलाई स्वदेशमै बसेर राष्ट्रको उत्थान र प्रवद्र्धनमा जुट्न प्रेरित गरिनुपर्ने खाँचो औंल्याइन्। उनले भनिन्, ‘विदेशिने लहर चलेको छ, कतिपय बाध्यता पनि छन्।

मेरो विचारमा नेपाली भएर जन्मिएपछि विदेश हैन स्वदेशमै सेवा गरौं राष्ट्रलाई माया गरौं भन्ने भावना आमनेपालीमा हुनुपर्छ। पढेलेखेका बुद्धिजीवी पनि विदेश पलायन भइरहेका छन्। आर्थिक अवस्थाका कारण श्रमका लागि खाडीमुलुकमा जानुपर्ने अर्को बाध्यता छँदै छ।’

सांसद श्रेष्ठको भनाइमा नेपालको सगरमाथासहितका हिमाल, अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधतायुक्त मुलुकलाई माया गर्नेको खाँचो छ। ‘पढेलेखेका मानिसले विदेश ताक्ने हैन स्वदेशमै बसेर राष्ट्र निर्माणमा जुट्नुपर्छ। विदेशमा हासिल गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउनसके भावी पुस्ता र सन्ततिलाई राम्रो हुन्छ’, उनले भनिन्।

सांसद श्रेष्ठले समृद्ध नेपाल सुखी नेपालीकोे लक्ष्य र सपनालाई साकार पार्न आम नेपाली सक्रिय भएर लाग्नुपर्ने बताइन्। सरकारले हालको अवस्थालाई सुधार गरेर नेपाली जनतालाई राहत दिनुपर्ने उनले सुझाइन्।

सांसद श्रेष्ठले एघार महिना संसदमा जनताका लागि उठाएका योजनाबारे बारम्बार कुरा उठाउँदा पनि पूरा हुन नसकेकामा आफैंलाई दुःख लागेको गुनासो गरिन्। उनले भनिन्, ‘जनताको काम गर्ने जोस र हुटहुटी थियो ममा। जनतालाई अलिकति सेवा दिनसके राहत मिल्छ। सहरको भएर पनि दुर्गम क्षेत्रमा केही उदाहरणीय काम गर्नुपर्छ भन्ने मेरो उद्देश्य र प्रतिबद्धता थियो। तर, त्यो पूरा हुन नसकेकामा आफैंलाई दुःख लागेको छ।’

सांसद श्रेष्ठले काठमाडौंको सुन्दरीजल राष्ट्रिय निकुञ्जमा सवारी साधन आवतजावत र नागरिकलाई सहजरूपमा हिँडडुलका लागि पहल गरिरहेको बताइन्। महिला सशक्तीकरण, साक्षरता अभियान, महिला विद्यालय र समाज सेवासम्बन्धी काम गरेकी सांसद श्रेष्ठले आगामी दिनमा महिला सशक्तीकरण, गरिबीको रेखामुनि रहेका महिलाको जीवनस्तर उकास्ने, शिक्षा प्रणालीको सुधारलगायत विषयमा काम गर्ने प्रतिबद्धता जनाइन्। –रासस
अर्को समाचार
अधिवेशनसँगको अपेक्षा
२३ माघ २०८०
•
३ मिनेट पाठ
अधिवेशनसँगको अपेक्षा
संघीय संसद्को हिउँदे अधिवेशन सोमबार सुरु भएको छ। अधिवेशन सुरू हुनु आफैंमा महत्त्वको घटना हो। त्यसमा पनि केही वर्षयता हाम्रो संसद प्रभावकारी हुन नसकेको अनुभव भएकाले सुधारको अपेक्षा स्वाभाविक हो। संसद भन्नाले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैलाई बुझ्ने गरिन्छ। यस सन्दर्भमा यो हिउँदे अधिवेशनका क्रममा सरकार र सांसदहरूले निर्वाह गर्ने भूमिकाको चौतर्फीरूपमा चासो बढेको छ। मुलुक जसरी बाटो बिराइरहेको छ, यस्तो अवस्थालाई सही ठाउँमा ल्याउन सक्ने/नसक्ने विषयसँग पनि जोडिएकाले यस्तो आमजिज्ञासा हुनु स्वाभाविक हुन्छ।




संसद् विधान बनाउने थलो हो। त्यसैले सांसदलाई विधायक भनिन्छ। उनीहरूले बनाउने विधान (कानुन) अनुसार नै मुलुक चल्ने भएकाले विधायन कार्यप्रयित सबैले ध्यान दिनु आवश्यक पनि छ। यस अर्थमा सांसद गम्भीर, अध्ययनशील र परिपक्व हुनु जरुरी छ। संसद्का अभिव्यक्ति, सांसदका गतिविधि र यसको समग्र सञ्चालनले यसको परिपक्वता दर्शाउँछ। आज संसद्ले सम्बोधन गर्नुपर्ने अनेकन विषय मुलुकमा छन्। देशको अर्थतन्त्रमा संकुचन छ, विकास निर्माणका कामले गति लिएको छैन, सुशासन कायम हुन पाएनजस्ता अनेकन समस्या देशमा छन्। त्यसैले पनि संसदीय व्यवस्था अपनाएका मुलुकमा संसद् अधिवेशन विशेष चर्चालायक हुने गर्छ।

नेपालको सन्दर्भमा अघिल्ला संसद् बैठकहरू प्रशंसालायक हुन नसकेका तीतो यथार्थ हामीबीच ताजै छ। संसद् बैठक प्रभावकारी भयो कि भएन भन्ने थाहा पाउन संसद् कति समय चल्यो, त्यसमा सांसदहरू कति सक्रिय भएर लागे, उनीहरूले उठाएका विषय कस्ता कस्ता थिए भन्नेतर्फ विश्लेषण गर्नु आवश्यक हुन्छ। जुन मूल्यांकनको आधार पनि हो र परिणामको मापन पनि।

सांसद सुविधा व्यवस्थापन शाखाको रेकर्डअनुसार पार्टी सभापति समेत रहेका नेपाली कांग्रेसका सांसद शेरबहादुर देउवा गत असोजमा ८ दिन चलेको प्रतिनिधि सभाको बैठकमा एक दिन पनि उपस्थित भएनन्। त्यसैगरी नेकपा एकिकृत समाजवादीका माधवकुमार नेपाल पनि एक दिन पनि उपस्थित भएनन्। यो त नेताहरूको मात्र कुरा हो। नेता नै यसरी लापरबाह देखिएपछि उनका कार्यकर्ता गए कि गएनन् भन्ने प्रश्नको खासै अर्थ रहँदैन। तर पनि विडम्बना त यो छ कि उपस्थिति नै नभए पनि तलव/भत्ता भने सबैले बुझ्ने गरेका छन्। जसका लागि मासिक करोडौँ रुपियाँ खर्च हुने गरेको छ।

एकातिर जे कामका लागि चुनिएको हो त्यही कामप्रति लापरबाही गर्ने अर्कोतर्फ गर्दै नगरेको कामबापतको तलब/भत्ता/सुविधाचाहिँ नछाड्ने प्रवृत्ति नेपालका सांसदमा हाबी छ। त्यति मात्र हैन, स्वकीय सचिवको सुविधा र राजधानीमा आफ्नै घर भएकाले समेत घर भाडाबापतको रकमसमेत बुझ्ने गरेका छन्। यसरी सुविधाचाहिँ मिल्ने/नमिल्ने सबै लिने तर संसद् बैठकमा उपस्थित भएर निर्वाह गर्नुपर्ने भूमिकामा चाहिँ चुक्ने सांसदको प्रवृत्ति नै संसद् बैठकहरू प्रभावी हुन नसक्नुको मुख्य कारण हो।

मुलुकमा यतिबेला विभिन्न कोणबाट गणतन्त्रमाथि प्रहार भइसकेको छ। यसका लागि सबैभन्दा जिम्मेवार राजनीतिक दलका नेता र सांसद देखिएका छन्। माओवादी हिंसाका कारण प्रभावितहरूका पीडा कानुन अभावमा अझै सुल्झिन सकेको छैन। प्रहरी ऐनलगायत दर्जनौँ ऐनले सार्थक रूप नपाउँदा मुलुकका ठूला संगठनहरू लथालिंग हुने क्रममा छन्। चेन अफ कमान्ड बिथोलिने अवस्थामा पुगेको छ तर पनि सांसदहरूले यसलाई गम्भीररूपमा लिन सकेका छैनन्। यही कारण सिर्जित असन्तुष्टिहरूसमेत विकेन्द्रित भइरहेका छन् अर्थात् प्रदेश सरकारहरूसमेत आन्दोलित हुने मनस्थितिमा पुगेका छन्।

पहिलो कुरा त सांसदहरू बैठकमै उपस्थित हुँदैनन्। भइहाले पनि तार्किक र तथ्यगत ढंगले प्रस्तुत हुँदैनन् किनकि यसका लागि आवश्यक पर्ने अध्ययनमा उनीहरूको रुचि देखिँदैन। अझ कतिपय विषयमा त दलको ह्विप वा निर्देशनअनुसार आँखा चिम्लेर समर्थन जनाउँछन्। यस्तो अवस्थामा सांसदको भूमिकामाथि प्रश्न उठ्नु स्वाभाविक हो। जसले संसद् अधिवेशनहरूको औचित्यमाथिसमेत प्रश्न सिर्जना गरेको छ। यस्तो अवस्थामा मुलुकमा थिति बसाल्ने हो, गणतन्त्रलाई दिगो तुल्याउने हो र संसदीय व्यवस्थालाई अमर बनाउने हो भने दलका नेता र सांसदले आफ्नो कार्यशैली यो अधिवेशनदेखि नै परिवर्तन गर्नुपर्छ। हैन भने यो अधिवेशन पनि पटके कर्मकाण्डभन्दा पृथक हुने छैन। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस