विराटनगर । कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका छन्।
कोशी प्रदेश अधिवेशनबारे जानकारी दिन शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो बताएका हुन्।
राईले राणा र पञ्चायतले चारतारे झण्डा र रुख चिन्ह बोक्न रोक्न नसकेको बताउँदै थापाले आफूहरूलाई रोक्न नसक्ने दाबी गरेका हुन्। नेता राईले भने, ‘राणा र पञ्चायतले रोक्दा त बरु जेल गयौं तर, चारतारे झण्डा र रुख चिन्ह बोक्न छाडेनौं, गगन थापाले रोकेर रोकिदैनौं।’ राईले नियमित महाधिवेशन पक्षधर नै आधिकारिक कांग्रेस भएकाले रुख चिन्ह र चारतारे झण्डा आफूहरूकै भएको दाबीसमेत गरे।
उनले गगन थापाप्रति कटाक्ष गर्दै रुख चिन्हबाट चुनाव जितेका आफूहरूलाई चुनाव हारेकाहरूले हटाउने विषय आफैँमा हास्यास्पद रहेको बताए। ‘रुख चिन्हबाट चुनाव जितेका हामीहरूलाई चुनाव हारेकाहरूले हटाउने भन्ने विषय गलत हो’, राईले भने, ‘उहाँले यसलाई विशेष महाधिवेशन ठान्नुभएको भए त्यो भ्रमबाट मुक्त हुनुहोस्।’ राईले नेपाली कांग्रेस कोशी प्रदेशको अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुने जानकारी दिए।
उनले अधिवेशनको तयारी धमाधम भइरहेको बताउँदै कोशी प्रदेशका १४ वटै जिल्लाबाट अधिवेशनमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए। अधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेर तयारीलाई तीव्र पारिएको राईले बताए। अधिवेशनको उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालालगायत केन्द्रीय नेताहरू सहभागी हुने नेता राईले जानकारी दिए।
१६ मिनेट अघि
•
१ मिनेट पाठ