गृहमन्त्री सुदन गुरुङ र संयुक्त हिन्दु मोर्चाबिच १३ बुँदे मागपत्रमा सहमति भएको छ। शनिबार जिल्ला प्रशासन कार्यालय धनुषाको परिसरमा भएको वार्तामा मोर्चाले अघि सारेका १३ बुँदा माग पूरा गर्ने प्रतिबद्धा गृहमन्त्री गुरुङले जनाएसँगै आन्दोलन स्थगितसहितका विषयमा सहमति भएको हो।
हिन्दु राष्ट्र कायम गर्न तीन महिनाभित्र सर्वदलीय बैठकमार्फत प्रक्रिया अगाडि बढाउने र आन्दोलनरत संयुक्त हिन्दु मोर्चाले आन्दोलन स्थगित गर्ने सहमति दुई पक्षबीच भएको छ।
आन्दोलनरत हिन्दु मोर्चाले गृहमन्त्री गुरुङसमक्ष १३ बुँदे प्रस्ताव राखेको थियो।
संयुक्त हिन्दु मोर्चाको माग पत्रका १३ बुँदाहरू
१. दिगो शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा धार्मिक सहअस्तित्वको प्रवर्द्धनका लागि किराँत, बौद्ध, सहित ८१ प्रतिशत हिन्दुहरूको बहूल्यता भएको नेपाल राष्ट्रलाई हिन्दु राष्ट्र कायम गर्ने विषयमा स्पष्ट समयसीमा तोकी सर्वदलीय बैठकमार्फत छलफल प्रक्रिया अगाडि बढाउने (तीन महिनाभित्र)।
२. जुनसुकै धर्म, सम्प्रदाय वा समुदायले मनाउने चाडपर्व तथा धार्मिक अवसरहरूमा हातहतियार प्रदर्शन गर्ने कार्यलाई नियन्त्रण गर्ने। यस्तो कार्य गर्ने व्यक्ति वा समूहलाई कानुनबमोजिम कारबाही गर्ने।
३. मठ, मन्दिर, मस्जिद, मदरसा, गुम्बा र चर्चलगायत धार्मिक स्थलमा जडान गरिएका बाहिरी हर्न (लाउडस्पिकर) तथा ध्वनि विस्तारक उपकरणको प्रयोगलाई नियन्त्रण गर्ने। आवश्यक धार्मिक गतिविधिका लागि परिसरभित्र मात्र सीमित ध्वनि प्रयोग गर्ने व्यवस्था मिलाउने।
४. मन्दिर, मस्जिद, गुम्बा, चर्च तथा अन्य धार्मिक स्थलमा बसोबास गर्ने सम्पूर्ण व्यक्तिहरूको अभिलेखिकरण र पहिचान खुलाउने तथा विदेशी नागरिक भए सो को अभिलेख सम्बन्धित निकायले राखी निगरानी र व्यवस्थापन गर्ने।
५. सामाजिक सञ्जाल वा अन्य माध्यमबाट धार्मिक, साम्प्रदायिक, जातीय हिंसा, द्वेष, चरित्र हत्या वा अतिवादी सोच फैलाउने व्यक्तिहरूको पहिचान गरी प्रचलित कानुनअनुसार कारबाही गर्ने।
६. सुनसरी देवानगञ्ज घटनापछि भएको आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूमाथि दर्ता भएका मुद्दाहरूको पुनरावलोकन गरी आवश्यक निर्णय लिने तथा सम्बन्धित व्यक्तिहरूलाई कानुनी प्रक्रियाअनुसार रिहा गर्ने।
७. आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा आवश्यक स्वास्थ्य सेवाको व्यवस्था गर्ने।
८. धार्मिक आयोगहरूको औचित्य आवश्यकता र कानुनी आधारहरूको पुनरावलोकन गरी आवश्यक प्रक्रिया अगाडि बढाउने।
९. आन्दोलनमा सहभागी नागरिकहरूको सुरक्षा तथा शान्ति सुरक्षाको प्रत्याभूति नेपाल सरकारले गर्ने।
१०. २०६२/२०६३ सालदेखि हालसम्म प्रदान गरिएको नेपाली नागरिकताको सम्बन्धमा छानबिन गरी विदेशी नागरिकहरूको सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने।
११. मदरसा, मस्जिद तथा अन्य धार्मिक संस्थाहरूमा विभिन्न फन्डहरूको छानबिन गरी अनुगमन र नियमन गरी तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउनु पर्ने।
१२. १२ वर्षीय आनन्द दासको घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गरी पीडितलाई क्षतिपूर्ति समेत दिने।
१३. संयुक्त हिन्दु मोर्चाले आन्दोलनका सबै कार्यक्रम आजैको मितिबाट तत्काल स्थगित गर्ने।
माग पत्र हेर्नुस्
यसअघि राखिएको समाचारमा माग-पत्रमा सहमति हुनु पर्नेमा अन्यथा भएकोमा सच्याइएको छ- सम्पादक ।
काठमाडौं। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको चिसोपना बढेका बेला सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबिच बिहीबार पाँच घण्टा लामो छलफल भएको छ।
पाँच घन्टा के के विषयमा छलफल भयो भन्ने दुवैले खुलाएका छैनन्। तर सरकारको कामप्रति रास्वपा सभापति लामिछाने सन्तुष्ट छैनन्। प्रधानमन्त्री शाह पनि सरकारको कामलाई सहयोग गर्नुको साटो पार्टीबाटै अवरोध भएको बुझाइमा रहेको निकटहरूको दाबी छ।
सरकारका कामलाई प्रभावकारी बनाउन भन्दै मन्त्रिपरिषद्ले विभिन्न अध्यादेश सिफारिस गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्यादेश तत्काल जारी नगरी रोकेका छन्। रास्वपा सभापति लामिछाने पनि अध्यादेशको विपक्षमा रहेको निकटहरूको दाबी छ।
यसअघि मन्त्रिपरिषद्ले अध्यादेश सिफारिस गरेको भोलिपल्टै रास्वपा सभापति लामिछानेले केही निकटलाई प्रेस काउन्सिल अध्यादेश जारी नहुने आश्वासन दिएको स्रोतको दाबी छ।
लामिछानेले राष्ट्रपतिमार्फत अध्यादेश रोकिने धारणा निकटसँग राखेको सूचना पाएपछि प्रधानमन्त्री शाह असन्तुष्ट बनेको स्रोतको दाबी छ।
राष्ट्रपतिले अध्यादेश रोकेकै बेला लामिछाने र शाहबिच बिहीबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म छलफल भएको थियो। भेट लामिछाने निवासमा भएको हो। भेटका क्रममा मन्त्रिपरिषद्ले सिफारिस गरेका अध्यादेश, संघीय संसद्को बैठक, प्रधानमन्त्रीको भारत भ्रमण, पार्टीको आन्तरिक राजनीतिलगायत विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।
छलफल भएकै भोलिपल्ट शुक्रबार रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाह राष्ट्रपति कार्यालय शीतलनिवास एक्लाएक्लै पुगेका छन्।
भारतको दुईदिने राजकीय भ्रमणमा निस्कनुपूर्व राष्ट्रपतिसँग शिष्टाचार भेटसमेत नगरेका प्रधानमन्त्री शाहले शुक्रबार शीतलनिवासमा करिब २० मिनेट बिताएका छन्। राष्ट्रपतिसँग प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी गराउनुका साथै अध्यादेशका विषयमा चासो राखेको स्रोतले दाबी छ।
प्रधानमन्त्री शाहले सिफारिस अध्यादेशमा कुनै आपत्तिजनक विषय नभएको र संसदीय प्रक्रियाबाट जाँदा ढिलाइ हुने भएकाले अध्यादेशको बाटो रोजिएको स्पष्ट पारेका थिए। उनले संसद्प्रति आफ्नो पूर्ण सम्मान रहेको बताउँदै उनले चाँडै अध्यादेश जारी भएमा सहज हुने धारणा राखेका थिए।
प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएका छन्।
राष्ट्रपति पौडेलले प्रेस काउन्सिल (पहिलो संशोधन) अध्यादेश, २०८३ फिर्ता पठाउने संकेत गरेका छन्। मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्ययनका क्रममा रहेको जनाउँदै राष्ट्रपति पौडेलले मौलिक हकसँग जोडिने विषयका कानुन संसदबाट नआई अध्यादेशबाट आउँदा त्यसले पार्ने असरप्रति चासो देखाएको स्रोतले बतायो। प्रधानमन्त्री शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई भेटेका थिए।
शीतलनिवासमा पनि पार्टी सभापति र प्रधानमन्त्री एकैदिन अलग–अलग पुग्नुले दुवै पक्षले राष्ट्रपतिसँग आआफ्नो कुरा राख्न खोजेको देखिन्छ। राष्ट्रपतिसँगको सम्बन्धमा शिष्टाचारको प्रश्न छ। विदेश भ्रमणअघि राष्ट्रपतिलाई जानकारी गराउने विगतको चलन प्रधानमन्त्रीले यस पटक तोडेका छन्।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...