राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्देशन दिएका छन्।
शनिबार सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रशिक्षण अवधिभर मोबाइल प्रयोग नगर्न र अनुशासन पालना गर्न निर्देशन दिएका हुन्।
लामिछानेले प्रशिक्षणको सबैभन्दा महत्त्वपूर्ण पक्ष अनुशासन भएको बताए। पार्टीमा अनुशासन नभए राजनीतिक जीवनलाई व्यवस्थित रूपमा अघि बढाउन नसकिने उनको भनाइ छ।
उनले प्रशिक्षण अवधिभर सहभागीले मोबाइल फोन बन्द गर्नुपर्ने र आयोजकले अनुमति दिएको समयबाहेक पार्टीका अन्य बैठकमा पनि मोबाइल प्रयोग गर्न नपाइने बताए।
‘यो पुरै सेसनभरि हामी अहिले तपाईंले उठाइरहनुभएको टेलिफोन प्रयोग गर्दैनौँ। अहिले मात्र होइन, रास्वपाको कुनै पनि कार्यक्रममा आयोजक कमिटीले अनुमति दिएकोबाहेक बैठकमा हामी टेलिफोन प्रयोग गर्दैनौँ,’ उनले भने।
उनले सहभागीलाई फोन बन्द गरेर प्रशिक्षणमा ध्यान दिन आग्रह गरे। फोन चलाउने, अनावश्यक कुराकानी गर्ने र बारम्बार आवतजावत गर्ने गतिविधि रोक्नुपर्ने उनको निर्देशन थियो।
लामिछानेले अनुशासन पालना नगर्ने सहभागीको पार्टीले रेकर्ड राख्ने र त्यसको मूल्यांकन हुने चेतावनीसमेत दिए।
‘जसले यो सामान्य अनुशासन पालना गर्दैन, पार्टीले त्यस्ता साथीहरूको रेकर्ड राख्छ र त्यसको कुनै न कुनै ढंगले मूल्यांकन अवश्य पनि हुनेछ,’ उनले भने।
उनले प्रशिक्षणमा सिकेका विषयलाई राम्रोसँग बुझेर आफ्नो क्षेत्र र टोलमा गएर अरूलाई सिकाउन पनि सहभागीलाई निर्देशन दिए।
प्रशिक्षण कार्यक्रममा सहभागीले मोबाइलको सट्टा फाइलमा आवश्यक विषय टिपोट गर्नुपर्ने र प्रश्न तथा जिज्ञासा राख्दा हात उठाएर पालैपालो बोल्ने अभ्यास गर्नुपर्ने उनले बताए।
१० मिनेट अघि
•
१ मिनेट पाठ