सत्ता गठबन्धनको निष्कर्षः ‘नीतिगत निर्णयमा अदालत प्रवेश अमान्य’
३० साउन २०८०
•
५ मिनेट पाठ
सत्ता गठबन्धनको निष्कर्षः ‘नीतिगत निर्णयमा अदालत प्रवेश अमान्य’
सत्तारूढ प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले मुलुकमा विद्यमान चुनौतीहरूको सामना गर्दै वर्तमान गठबन्धनलाई अघि बढाउने निष्कर्ष निकालेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा शीर्ष नेताहरूले पछिल्लो घटनाक्रमले गठबन्धनभित्र आशंका उत्पन्न गराउने प्रयत्नबाट सचेत रहनुपर्ने निष्कर्ष निकालेका हुन्।




‘विभिन्न विषय र काण्डलाई लिएर गठबन्धन भत्काउन सकिन्छ कि भन्ने प्रयत्न भइरहेको छ,’ बैठकमा सहभागी एक शीर्ष नेताले भने, ‘अहिलेको सरकार र गठबन्धन टिकाउँदै देशमा विद्यमान चुनौतीहरूको सामना गर्नुपर्छ भन्नेमा सबैको एक मत छ।’ अहिलेको गठबन्धन भत्काउन र त्यसबाट बाहिर जानेमा सत्तारूढ नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जनता समाजवादी पार्टी (जसपा) पनि नभएको जनाउँदै सहभागी एक नेताले भने, ‘सतहमा आएका विषयमा छलफल भएका छन्। तर गठबन्धन तलमाथि गर्ने भन्नेमा कुनै दलका नेताहरू हुनुहुन्न।’

बैठकमा विमानस्थलबाट समातिएको सुन, विपक्षी एमालेले त्यसको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनका लागि गरेको मागका साथै ललिता निवाससँग जोडिएर सर्वोच्च अदालतबाट आएको आदेशका साथै गौर हत्याकाण्डका विषयमा शीर्ष नेताहरूले छलफल गरेका थिए। बैठकमा सुन तस्करी प्रकरणमा जोडिएका कसैलाई पनि नछाडिने र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले त्यसको अनुसन्धान गरिरहेको भन्दै त्यसलाई नै विश्वास गर्ने सत्तारूढ दलहरूबीच समझदारी बनेको छ।  

विपक्षी दलले सुन तस्करी प्रकरणको अनुसन्धान डाइभर्ट गर्न खोजेको आरोप लगाउँदै बैठकमा सहभागी नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘उच्चस्तरीय समिति आवश्यक छैन। जुन निकायले छानबिन गरिरहेको छ, त्यसलाई नै विश्वास गर्नुपर्छ।’ बैठकमा सहभागी नेताहरूले माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासहितका नाम जोडिएका विषयमा पनि चासो राखेका थिए। उपप्रधान तथा महरासहित नाम जोडिएका नेताहरूका विषयमा अनुसन्धान भइरहेको जनाउँदै गृहमन्त्री नारायणकाजी श्रेष्ठले केही समयपछि मात्र त्यसबारे केही भन्न सकिने जनाएको स्रोतको दाबी छ।

प्रमुख प्रतिपक्षी एमालेले माग गरेअनुसार उच्चस्तरीय छानबिन समिति गठनको विपक्षमा सत्ता गठबन्धनका नेताहरू एक ठाउँमा उभिएका छन् । साथै संघीय संसदको जारी अवरोध कसरी खुलाउने भन्ने विषयमा नेताहरूबीच छलफल भएको छ । 
बैठकमा प्रमुख प्रतिपक्षी एमालेले माग गरेअनुसार उच्चस्तरीय छानबिन समिति गठनको विपक्षमा सत्ता गठबन्धनका नेताहरू एक ठाउँमा उभिएका छन्। तर संघीय संसदको जारी अवरोध कसरी खुलाउने भन्ने विषयमा नेताहरूबीच छलफल भएको छ। ‘शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुँदा पनि एमालेका कारण संघीय संसद् राम्रोसँग चल्न सकेन, अहिले पनि फेरि संसद् चल्न नदिने अवस्था आयो,’ बैठकमा सहभागी एक नेताले भने, ‘जनताको सर्वोच्च थलो संसद् चल्न नदिने र नचलाउने जुन प्रयास भइरहेको छ, त्योचाहिँ चिन्ताको विषय बनेको छ।’ संसद् सुचारु गर्ने विभिन्न विकल्पमा छलफल भए पनि निष्कर्षमा पुग्न बाँकी रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए। त्यस्तै गौर हत्याकाण्डबारे पनि बैठकमा छलफल भएको छ। सत्तारूढ जसपाले गृह मन्त्रालयले गरेको पछिल्लो सहमतिप्रति असन्तुष्टि जनाउँदै सरकारले आफूहरूलाई टार्गेट गर्न लागेको त होइन भन्ने आशंका व्यक्त गर्दै आएको छ।  

गौर काण्डका पीडितहरूले उठाएका मागहरूलाई सरकारले यसअघि नै सम्बोधन गरिसकेको धारणा राखिएको थियो। सहभागी नेताहरूले त्यस विषयमा मानवअधिकार आयोगका सहित चार प्रतिवेदन रहेको भन्दै कुन प्रतिवेदनलाई आधार बनाएर सरकारले कारबाही अघि बढाउने हो भनी प्रश्न गरेका थिए।

गौर काण्डमा मारिएकाका परिवारलाई जनही १० हजारका दरले यसअघि नै राहत प्रदान गरेको, मृतकलाई सहिद घोषणा गरिसकेको र केहीलाई सहिद घोषणा गर्ने क्रममा रहेकोलगायत कुरा उठेका थिए। सहिद घोषणा हुन बाँकी रहेकालाई तत्काल घोषणा गरेर उक्त विषयलाई बन्द गर्ने शीर्ष नेताहरूबीच समझदारी बनेको छ। बैठकमा सहभागी नेकपा एसका उपाध्यक्ष पाण्डेले मारिएकाका परिवारले क्षतिपूर्ति पाइसकेको र मारिनेहरू सहिद घोषणा भइसकेका तथा बाँकीको पनि सहिद घोषणा गर्ने क्रममा रहेकाले थप समस्या नरहेको बताए। ‘घटनास्थलमा नै नरहेका उपेन्द्र यादवलाई तान्नुको औचित्य छैन,’ उनले भने।

बैठकमा सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा जोडेर दिएको आदेशप्रति शीर्ष नेताहरूले चासो राखेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले लिने नीतिगत निर्णयमा अदालतले बोल्दै जाने कुरा उपयुक्त नभएको निष्कर्ष बैठकले निकालेको छ। त्यस विषयमा अझ थप छलफल गर्नुपर्ने भन्दै सर्वोच्च अदालत नीतिगत निर्णयमा प्रश्न उठाउने हो भने देश सञ्चालन गर्न नसकिने शीर्ष नेताहरूको बुझाइ छ।

नीतिगत निर्णयमा छानबिन गर्दै जाने हो भने सबै प्रधानमन्त्री र मन्त्रीका विषयमा केही न केही निर्णय भएको भन्दै सहभागी नेताहरूले सर्वोच्चको आदेशका विषयमा महान्यायाधिवक्तासहित अन्य कानुन व्यवसायीहरूसँग थप छलफल गर्नुपर्ने निष्कर्ष निकालेका छन्। यदि सर्वोच्चको आदेश नीतिगत निर्णय लिने मन्त्री र प्रधानमन्त्रीलाई छानबिनको दायरामा ल्याउन खोजिएको हो भने त्यसको कानुनी उपचार खोज्नुपर्ने तर्क पनि नेताहरूले गरेका छन्।  

ललिता निवास प्रकरणमा नाम जोडिएका तत्कालीन प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सरकारले त्यसबेला आफूले नीगित निर्णय मात्र लिएको धारणा राखेका थिए। कुन जग्गा विवादित छ भन्ने कुरा आफूलाई थाहा नहुने र गुरुयोजनाका आधारमा सरकारले निर्णय गरेको धारणा राख्दै नेपालले बैठकमा भनेको थिए, ‘के जग्गा कस्तो जग्गा भन्ने कुरा प्रधानमन्त्रीलाई थाहा हुने कुरा होइन। त्यो जग्गा कस्तो भन्ने कुरा मुख्यसचिवलाई थाहा हुने विषय हो।’

बैठकमा सहभागी अन्य शीर्ष नेताहरूले पनि नेपालको कुनै दोष नरहेको जनाउँदै नीतिगत निर्णयमा अदालत प्रवेश गर्न नहुने धारणा राखेका थिए। साथै सरकारले असल नियतका साथ काम गरेको भन्दै किर्ते जग्गा हो कि होइन भन्ने प्रधानमन्त्रीलाई जानकारी हुने विषय नभएको धारणा राख्दै एक नेताले ‘माधव नेपालले त्यो जग्गा किर्ते गरेका भए कति जग्गा लगे? के आधारमा दोषी ठर्हछ?’ भन्ने प्रश्न गरेका थिए। अदालतको आदेशको गलत व्याख्या भएको जनाउँदै बैठकमा सहभागी महान्यायाधिवक्ता दीनमणि पोखरेलले पूर्वप्रधानमन्त्रीहरूलाई लक्षित गर्दै आदेश दिन मिल्ने र नमिल्ने विषयमा आफ्नो धारणा राखेका थिए।
अर्को समाचार
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
११ मिनेट अघि
•
१ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।

देउवा समूहले चुनाव चिह्न रुख र चारतारे झण्डा प्रयोग गरेर महाधिवेशन गर्न लागेपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो। शनिबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले बैठकका निर्णय सार्वजनिक गरे।

पार्टीको नाम, लेटरप्याड, ब्यानर, चारतारे झण्डा तथा चुनाव चिह्न रुखको अनधिकृत प्रयोग गरी भेला र महाधिवेशनका नाममा गतिविधि सञ्चालन भइरहेकोप्रति केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण भएको पौडेलले बताए।

‘यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्‍याउनुका साथै आम नागरिक तथा नेपाली कांग्रेसप्रति आस्थावान् सदस्य एवं शुभेच्छुकहरूमा भ्रम सिर्जना भइरहेको छ,’ महामन्त्री पौडेलले भने।

पार्टीको आग्रह र अपिलविपरीत अनधिकृत गतिविधि सञ्चालन गरे विधान तथा प्रचलित कानुनबमोजिम कारबाही अगाडि बढाउने निर्णय बैठकले गरेको छ।

‘आग्रह र अपिलका बाबजुद त्यस्ता अनधिकृत गतिविधि सञ्चालन गर्ने, गराउने तथा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रूपमा भ्रामक ढंगले प्रस्तुत एवं प्रचारप्रसार गर्ने व्यक्ति वा समूहका विरुद्ध पार्टीको विधान तथा प्रचलित नेपाल कानुनबमोजिम आवश्यक कारबाही गर्न कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय यो बैठक गर्दछ,’ बैठकको निर्णयमा उल्लेख छ।

पौडेलका अनुसार बैठकले कांग्रेसको नाम, लेटरप्याड, झण्डा, चुनाव चिह्न तथा अन्य आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरी कुनै पनि गतिविधि सञ्चालन नगर्न-नगराउन र आधिकारिक गतिविधिका रूपमा प्रचारप्रसार नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

देउवा समूहले भ्रमपूर्ण कार्य गरिरहेको भन्दै बैठकले त्यस्ता कार्यमा विश्वास नगर्न र त्यस्ता गतिविधिमा नलाग्न पार्टीका सबै सदस्य, तहगत समिति तथा शुभेच्छुकहरूमा हार्दिक अपिलसमेत गरेको छ



देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
यो पनि पढौँ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस