नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्रश्न उठाएको छ।
शनिबार, कांग्रेस केन्द्रीय कार्यसमिति बैठकपछि बोल्दै महामन्त्री प्रदीप पौडेलले भारत सरकारले प्रधानमन्त्रीलाई दिएको स्वागत र राजकीय सम्मानलाई दुई देशबिचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धको प्रतिबिम्बका रूपमा व्याख्या गरिएको जानकारी गराएका हुन्।
भ्रमणका क्रममा भएका केही महत्त्वपूर्ण सहमति र विगतका सहकार्यले निरन्तरता पाएको विषयलाई कांग्रेसले सकारात्मक रूपमा लिएको उनले बताए।
उनका अनुसार विशेषगरी भैरहवा हुँदै प्रवेश गर्ने काठमाडौं-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न भएको सहमतिलाई कांग्रेसले स्वागत गरेको छ। यो विषय कांग्रेसले सन् २०७४ देखि उठाउँदै आएको पनि उनले स्मरण गराए।
त्यस्तै, भोटेकोशी र त्रिशूली क्षेत्रमा बाढीपछिको पुनर्निर्माण तथा विकासका लागि भारतले घोषणा गरेको २४० अर्ब रुपैयाँ बराबरको सहयोग प्याकेजलाई पनि कांग्रेसले महत्त्वपूर्ण मानेको छ। यसमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको छ।
तर नेपाल-भारतबिच लामो समयदेखि समाधान हुन नसकेको सीमा विवादजस्ता संवेदनशील विषयले भ्रमणका क्रममा अपेक्षित प्राथमिकता नपाएको उनको भनाइ छ।
महामन्त्री पौडेलले प्रधानमन्त्री पदमा पुग्नुअघि र पदमा रहँदा भारतसँगको सम्बन्ध तथा सीमा विवादका विषयमा शाहले दिएका अभिव्यक्ति र भारत भ्रमणका क्रममा देखिएको व्यवहारबिच विरोधाभास रहेको टिप्पणी गरेका हुन्।
उनले यसलाई प्रधानमन्त्रीको कथनी र करणीबिचको विरोधाभास भन्दै कूटनीतिक संवेदनशीलताको अभाव र अपरिपक्वताको संकेत भएको बताए।
त्यस्तै, भारतसँग भएका सहमति कार्यान्वयनका लागि सरकारले स्पष्ट कार्ययोजना र समयसीमा सार्वजनिक गर्नुपर्ने कांग्रेसको माग छ। विकास सहयोगको अनुदान र ऋण कुन क्षेत्रमा कसरी परिचालन हुन्छ भन्ने विषय पनि संसद् र नागरिकलाई जानकारी गराउनुपर्ने माग समेत महामन्त्री पौडेलले गरेका छन्।
५ मिनेट अघि
•
१ मिनेट पाठ