राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बताएका छन्।
शनिबार सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले अब झोला वितरण नगर्न नेता-कार्यकर्तालाई आग्रह गरे।
पार्टीका कार्यक्रम तथा अधिवेशन-महाधिवेशनमा झोलाको सट्टा ‘फाइल’ वा ‘डायरी’ प्रयोगमा ल्याउन थालिएको लामिछानेले बताए।
पछिल्लो समय रास्वपाका कार्यकर्तालाई पनि ‘झोले’ भन्न थालिएको उल्लेख गर्दै लामिछानेले रास्वपाका नेता-कार्यकर्तालाई त अझ ‘खराने’ र ‘घण्टे’ भन्ने गरिएको भन्दै ठट्टा गरे।
‘कम्तीमा झोलेबाट त हामी बाहिर निस्केका छौं,’ उनले भने, ‘झोलेबाट बाहिर निस्किए पनि त्यो झोलेभन्दा नमिठो शब्द आयो फेरि।’
प्रशिक्षण कार्यक्रममा सहभागीलाई झोला नदिन आग्रह गर्दै उनले पहिला झोलाबाट निस्कने सुरुवात गरिएको बताए।
‘कम्तीमा हामीले रास्वपालाई झोले युगबाट बाहिर निकालेका छौं,’ लामिछानेले भने, ‘घण्टे र खराने युगबाट नि निकालौंला।’
राजनीति गर्ने मान्छेलाई ‘झोले’ भनेर व्यङ्ग्य गर्ने चलन वर्षौंदेखि चल्दै आएको उनको भनाइ छ। रास्वपा अस्तित्वमा आउनुअघि पनि कांग्रेस, एमाले, माओवादी, जसपा र लोसपा लगायतका दलमा लाग्नेलाई ‘झोले’ भनेर आलोचना, विरोध र अपमानित गर्ने गरिएको उनले उल्लेख गरे।
कुनै पनि दलको विचार, सिद्धान्त, आदर्श, नेतृत्व, नेता, नीति र कार्यक्रम मन परेर मान्छे राजनीतिमा लाग्ने लामिछानेले बताए। तर, पार्टीमा लागेकै आधारमा होच्याउन विरोधीहरूले विभिन्न शब्द प्रयोग गर्ने गरेको उनको आरोप थियो।
कार्यक्रम र अधिवेशनमा दिइने झोला बोकेर हिँड्दा त्यहीअनुसार ‘झोले’ देखिने र भनिने गरेको ठानेर नै झोला त्याग्ने सोच बनाएको उनले सुनाए।
‘अनि मैले सोचेँ, यो झोलाको युगबाट त बाहिर निस्किन पर्यो। अब यो झोलासोला छोडेर अलिकति फरक ढंगले जाऊँ,’ उनले भने।
राजनीतिलाई झोलाबाट बाहिर निकालेर ल्यापटप, आइप्याड वा प्याड स्मार्ट तरिकाले राख्न सकिने भएकाले झोलाको सट्टा फाइल प्रयोगमा ल्याइएको लामिछानेले सुनाए। त्यो फाइल वा डायरीभित्र जनताका मुद्दा र गुनासा अटाउनुपर्नेमा उनले जोड दिए।
फाइल महँगो पर्ने अवस्थामा सक्नेले आफैँ किन्ने र नसक्नेलाई अरूले सहयोग गरिदिनुपर्ने उनको भनाइ थियो। ‘अब झोलाको युगबाट निस्केर फाइलको युगमा आइसकेपछि हामी आफैँ गर्ने, हुनेले किन्ने, नहुनेको हुने साथीले किन्दिने अभियान सुरु गरौँ,’ लामिछानेले भने।
१७ मिनेट अघि
•
१ मिनेट पाठ