राहतपछि आत्मनिर्भरताको बाटो
२३ असोज २०८३
•
६ मिनेट पाठ
राहतपछि आत्मनिर्भरताको बाटो
नेपालको विकासको यात्रा जलवायु परिवर्तन, प्राकृतिक विपत्तिको प्रभाव, राजनीतिक अस्थिरता वा अनुभवको कमी भएका राजनीतिज्ञहरूले परीक्षण र त्रुटिको शैलीमा देश सञ्चालन गर्ने निरन्तरको प्रयासजस्ता अनेकौं अवरोधका कारण अन्त्यहीन चुनौतीबाट गुज्रिरहेको देखिन्छ।




नेपाल र नेपाली नागरिकलाई अहिले आवश्यक कुरा भनेको आत्मनिर्भर जीविकोपार्जनका अवसर हुन्, जसले समुदायलाई स्थानीय स्रोत–साधनको उपयोग गर्दै आफ्नै सामाजिक उद्यम स्थापना गर्न सहयोग पुर्‍याउन सक्छ। नेपालका विभिन्न ठाउँमा समुदायका मानिसहरू एकजुट भएर एकअर्कालाई सहयोग गरेका प्रशस्त उदाहरण छन्।

कृषि उत्पादनका लागि समुदायमा आधारित सहकारीहरू गठन भएका छन्। आफ्नै क्षेत्रको पानी र ऊर्जाको आवश्यकता पूरा गर्न साना तथा लघु जलविद्युत् आयोजना सञ्चालन गर्ने सहकारीहरू पनि छन् र साथै सौर्य ऊर्जाको प्रयोग पनि नेपालमा राम्रोसँग भइरहेको छ।

त्यसैगरी, स्थानीय तहमा विशेषगरी महिलाहरूले मात्र सञ्चालन गरेका बचत तथा ऋण सहकारीहरू पनि छन्, जुन स्वनिर्भर भइसकेका छन्। उनीहरूले आफ्नै बचत परिचालन गरी सदस्यहरूलाई ऋण प्रदान गर्दै सबै सदस्यको जीविकोपार्जनमा सहयोग पुर्‍याउन सफल भएका छन्।

व्यावसायिक बैंकहरू नपुगेका क्षेत्रमा यस्ता सहकारीले वित्तीय संस्थाका रूपमा काम गरिरहेका छन्। साना तथा लघु उद्यमीहरूलाई आवश्यक पर्ने वित्तीय सेवा उपलब्ध गराउन व्यावसायिक बैंकहरूले विश्वास नगरेका अवस्थामा पनि यी सहकारीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।

नेपालमा सहकारी आन्दोलन, विशेषगरी बचत तथा ऋण सहकारीहरू, अव्यवस्थापन र भ्रष्टाचारका कारण बदनाम भएको पनि प्रशस्त उदाहरण छन्। सहकारीका मूल्य र सिद्धान्तविपरीत सञ्चालन भएका देशभरका केही सहकारी अहिले कालोसूचीमा परेका छन् र ठुलो संख्यामा मानिस ठगीका पीडित बनेका छन्।

अर्कातर्फ जुम्ला, हुम्ला, डडेलधुरा, बैतडी र अन्य ठाउँमा चार दशकभन्दा लामो समयदेखि किसान तथा साना र लघु उद्यमीलाई सेवा दिँदै आएका साना सहकारीका प्रशस्त उदाहरण  पनि छन्।

अहिले डिजिटल युग फस्टाउँदै गएको छ र युवाको नेतृत्वमा सरकार रहेको अवस्थामा उचित रणनीति बनाउन सक्ने हो भने नेपाल आफ्ना समुदायको विकास गर्दै सामाजिक, आर्थिक र वित्तीय आत्मनिर्भरताको दिशामा अघि बढ्न सक्छ। बाढीलगायतका विपत्ति, जसमा भोटेकोसी–त्रिशूली क्षेत्रमा भएको हिमताल विस्फोट पनि समावेश छ, ले नेपालको प्रगतिमा ठुलो धक्का पुर्‍याएको छ।

नेपालका सातै प्रदेश वनस्पति, वन्यजन्तु र जलस्रोतका दृष्टिले सम्पन्न छन्। यससँगै यहाँ परिचालन गर्न सकिने मानव स्रोत पनि प्रशस्त छ। परिवारको आवश्यकता पूरा गर्न रोजगारीका लागि युवाहरूलाई विदेश पलायन हुन बाध्य बनाउनुको सट्टा यही मानव स्रोतलाई आफ्नै समुदाय र क्षेत्रमा अर्थपूर्ण काममा लगाउन सकिन्छ।

आफ्नै समुदाय र क्षेत्रमा युवाको मानव स्रोतलाई अर्थपूर्ण काममा लगाउन सकेमा, नेपालीमा रहेको आध्यात्मिक मूल्य–मान्यतासँग जोडेर उनीहरूले आफ्नै ठाउँमा सुखी र सन्तुष्ट जीवन बिताउन सक्छन्।

यसका लागि सरकारले नेपालका सबै नागरिकलाई समान आधारमा निःशुल्क र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुपर्छ। यसले नागरिकले शिक्षा र स्वास्थ्यका लागि खर्च गर्नुपर्ने ठुलो आर्थिक स्रोत बचत गर्नेछ, जसलाई साना, लघु तथा ठुला सामाजिक उद्यममा लगानी गर्न सकिन्छ। यसले मानिसलाई दिगो जीविकोपार्जनको अवसर उपलब्ध गराउन सहयोग गर्नेछ।

सामाजिक उद्यमलाई प्रवर्धन गर्नुको कारण पनि यही हो। यस्ता उद्यमले आफू स्थापना भएको क्षेत्रमा दिगो व्यवसायलाई अघि बढाउने मात्र होइन, त्यसबाट प्राप्त नाफालाई पुनः समुदायमै लगानी गर्छन्। यसले ती क्षेत्रको आर्थिक तथा सामाजिक विकासलाई थप गति दिन सक्छ।

अहिले बाढी प्रभावित क्षेत्र र त्यस आसपासका धेरै मानिसका लागि पूर्वाधार र जीविकोपार्जनलाई पुनःनिर्माण तथा पुनःव्यवस्थित गर्नुपर्ने आवश्यकता छ। त्यसैले बेरोजगार युवालाई यहीं काम गर्न सक्ने बनाउन व्यावसायिक तथा सिपमूलक तालिम सुरु गर्ने यो सम्भवतः उपयुक्त समय हो। हरेक निर्माण क्षेत्रमा दैनिक गतिविधिका लागि खाना, सरसफाइ, औषधि तथा आध्यात्मिक केन्द्रजस्ता विभिन्न सामग्री र सेवाको आवश्यकता हुन्छ।

यी क्षेत्रका युवालाई समूहमा संगठित गरी एकअर्कासँग सहकार्य गर्दै आफ्ना आवश्यकता तथा आफ्नो छिमेकको आवश्यकता पूरा गर्न परिचालन गर्न सकिन्छ। यसका लागि सरकारले अब देशभरका आमा समूह, महिला समूह, उपभोक्ता समूह तथा युवा समूहलाई पुनः सक्रिय बनाउनुपर्छ र आफ्नै छिमेकबाट आम्दानी गर्ने तथा त्यसको विकास गर्ने कामका लागि प्रोत्साहन दिनुपर्छ।

बाढी प्रभावित जनसंख्या र क्षेत्रमा विभिन्न स्रोतबाट सहयोग आइरहेको अवस्थामा सरकारले सम्पूर्ण समुदायलाई समेट्ने विद्यालय तथा शिक्षा प्रणाली स्थापना गर्ने योजना बनाउनुपर्छ। यस्तो शिक्षा दिनुपर्छ, जसबाट विद्यार्थीले कक्षा १२ पूरा गर्दा आफ्नो जीवन धान्न आवश्यक सिप हासिल गरिसकेको होस्।

औपचारिक शिक्षासँगै प्रत्येक विद्यालयमा बालबालिकालाई जीवनोपयोगी सिप पनि सिकाइनुपर्छ। यसमा आर्थिक व्यवस्थापन, खाना पकाउने र सरसफाइ जस्ता घरायसी आवश्यकता पूरा गर्ने सिप तथा अभिभावकले उनीहरूका लागि उपलब्ध गराउन सक्नेभन्दा बाहेकका आवश्यकताका लागि आफ्नै खल्ती खर्च जुटाउन केही आम्दानी गर्न सक्ने सिप पनि समावेश हुनुपर्छ।

जीवनोपयोगी सिपमा सञ्चार तथा मिडिया साक्षरता र आफ्ना अधिकार तथा लिंग, रङ, वर्ग, जात वा धर्मको कुनै भेदभाव नगरी सबै अन्य मानवका अधिकारको सम्मान गर्ने कुरा पनि समावेश हुनुपर्छ।

सरकारको बजेट योजना बनाउँदा विकासका बाँकी काम र विकास कस्तो हुनुपर्छ भन्ने पूर्वधारणाका आधारमा प्रायः छलफल हुने गर्छ। वास्तवमा यो कुनै जटिल कुरा होइन। धनी तथा गरिब दुवै देशमा सबै नागरिकका लागि निःशुल्क र समान शिक्षा तथा स्वास्थ्य प्रणालीका राम्रा उदाहरणहरू पहिल्यै छन्।

फिनल्यान्डमा उत्कृष्ट शिक्षा र स्वास्थ्य सेवा उपलब्ध छन्, जसले मानिसलाई आफ्ना बालबालिकालाई कसरी खुवाउने वा उनीहरूको हेरचाह कसरी गर्ने भन्ने निरन्तर चिन्ताबाट मुक्त भएर समाजमा पूर्ण रूपमा सहभागी हुन सक्षम बनाउँछ।

फिनल्यान्ड विश्वकै धनी देशमध्ये एक भए पनि त्यहाँका नेता, उद्योगपति र उनीहरूका छोराछोरीले देशका अन्य नागरिकका छोराछोरी जाने त्यही विद्यालयमा पढ्ने तथा उनीहरूले प्रयोग गर्ने उही सार्वजनिक सेवा र सुविधाको उपयोग गर्ने व्यवस्थाबाट हामीले धेरै कुरा सिक्न सक्छौं।

हाम्रो आफ्नै छिमेकमा हेर्ने हो भने श्रीलंका एउटा देशका रूपमा र भारतको एउटा राज्यका रूपमा केरला शिक्षा तथा स्वास्थ्य सेवा सबैलाई निःशुल्क उपलब्ध गराउने प्रणाली भएका उदाहरण हुन्। आफ्नै दक्षिण एसियाली क्षेत्रमा यस्ता प्रणाली सम्भव छन् भने अब नेपालले पनि यसको प्रयोग गर्ने समय आएको छ। बाढी प्रभावित जनसंख्याका लागि आइरहेको स्रोत–साधनको उपयोग गर्दै यसको परीक्षणका रूपमा केही क्षेत्रमा सुरुवात गर्न सकिन्छ।

त्यसैले अब युवा नेतृत्वको सरकारले विकासको काम सुरु गर्नुपर्छ र अरू सबै कुराको चिन्ता पछि गर्नुपर्छ। यसको सुरुवात निःशुल्क शिक्षा, स्वास्थ्य सेवा तथा प्राविधिक र जीवनोपयोगी सिपको तालिमबाट हुन सक्छ। बाढीले नेपालका विभिन्न क्षेत्रमा ठुलो क्षति पुर्‍याएको अवस्थामा जीवन र पूर्वाधार पुनः स्थापना गर्नुपर्ने भएकाले यस्तो पहल झनै आवश्यक छ।

वर्तमान संकट राहत र पुनःनिर्माणको समय मात्र बन्नुहुँदैन। यसलाई नेपालले दिगो जीविकोपार्जन कसरी निर्माण गर्ने, समुदायलाई कसरी बलियो बनाउने र युवाहरूले आफ्नै देशको विकासमा योगदान गर्न सक्ने भविष्य कसरी निर्माण गर्ने भन्नेबारे पुनर्विचार गर्ने अवसरका रूपमा लिन सकिन्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
२१ घण्टा अघि
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस