ऊर्जामार्फत राष्ट्रनिर्माणको उज्यालो
२९ असोज २०८२
•
८ मिनेट पाठ
ऊर्जामार्फत राष्ट्रनिर्माणको उज्यालो
निजी क्षेत्रले अहिलेसम्म एक सय मेगावाट क्षमताको एकल जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्न नसकेको भए तापनि १० देखि ८६ मेगावाटसम्मका कैयन् आयोजना निर्माण सम्पन्न गरिसकेको छ। यसै सिलसिलामा १०.३ मेगावाटको  दोर्दीखोला आयोजना दोर्दीखाला जलविद्युत् कम्पनी लिमिटेडले, १२ मेगावाटको माथिल्लो खिम्ती आयोजना हिमाल हाइड्रोपावर लिमिटेडले, १२ मेगावाटको नामार्जुन मादी आयोजना हिमाल हाइड्रोपावर लिमिटेडले, १४.९ मेगावाटको मायाखोला आयोजना मायाखोला हाइड्रोपावर लिमिटेडले, १५.३३ मेगावाटको कलंगागाढ आयोजना कलंगा हाइड्रोपावरले, २० मेगावाटको तल्लो मोदी आयोजना मोदी इनर्जी प्राइभेट लिमिटेडले, २२ मेघावाटको माइखोला आयोजना सानीमामाई हाइड्रो पावर लिमिटेडले, २४.२ मेगावाटको  लिखु ‘ए’ आयोजना नम्बर हिमालय हाइड्रोपावर प्राइभेट लिमिटेडले, २५ मेगावाटको माथिल्लो दोर्दी आयोजना लिवर्टी इनर्जी कम्पनी लिमिटेडले, २५ मेगावाटको माथिल्लो मादी आयोजना मादी पावर प्राइभेट लिमिटेडले, २७ मेगावाटको दोर्दी आयोजना हिमाल हाइड्रोपावर लिमिटेडले, ३० मेगावाटको नादी(लमजुङ) आयोजना नादी हाइड्रोपावर लिमिटेडले, ३३.४ मेगावाटको लिखु ‘टु’ आयोजना ग्लोबल हाइड्रोपावर एसोसेट्स लिमिटेडले, ३८.४६ मेगावाटको माथिल्लो कलंगा आयोजना सानीगाड हाइड्रो प्राइभेट लिमिटेडले, ४२ मेगावाटको मिस्त्रीखोला आयोजना माउन्टेन इनर्जी नेपाल लिमिटेडले, ४४ मेगावाटको सुपरमादी आयोजना सुपरमादी हाइड्रोपावर लिमिटेडले, ५० मेगावाटको  माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजना सिनो सगरमाथा पावर कम्पनी प्राइभेट लिमिटेडले, ५२.४ मेगावाटको लिखु ‘फोर’ आयोजना ग्रिन भेन्चर लिमिटेडले, ५४ मेगावाटको सुपर दोर्दी आयोजना पिपुल्स हाइड्रोपावर लिमिटेडले, ७३ मेगावाटको मध्यतमोर आयोजना सानिमा मिडिल तमोर हाइड्रो पावर लिमिटेडले, ८६ मेगावाटको सोलु दुधकोसी आयोजना साहस ऊर्जा लिमिटेडले निर्माण सम्पन्न गरी व्यावसायिक सञ्चालनमा ल्याइसकेका छन्। निजी क्षेत्रबाट यी जलविद्युत् आयोजनाहरूनिर्माण सम्पन्न हुनु भनेको राष्ट्रनिर्माणमा टेवा पुग्नु हो।




राजस्वमा योगदान

राज्यको समृद्धिका लागि राज्यकोषको ढुकुटी फराकिलो र बलियो हुनुपर्छ। करदाताको संख्या, करको प्रकार, करदाताको इमानदारीले ढुकुटीको आयातन निर्धारण गर्छ। प्रस्तुत सन्दर्भमा, निजी क्षेत्रले ऊर्जा आयोजना सर्वेक्षण, विद्युत् प्रसारण, उत्पादन, वितरण अनुमतिपत्र प्राप्ति, नवीकरण, संशोधन, बिक्री तथा हस्तान्तरण, घरजग्गा तथा सवारी साधनको प्रयोग, मूल्य अभिवृद्धि, अन्तःशुल्क वा त्यस्तै कुनै कर लाग्ने मालवस्तुको प्रयोग, ऊर्जा आयोजनामा आवश्यक पर्ने मेसिनरी, पार्टपुर्जा आयात, सञ्चार सेवाको प्रयोग, प्राकृतिक व्यक्तिका रूपमा आर्जित आय, संस्थागत आय, लाभांश, जडित क्षमता तथा विद्युुत् बिक्री, जान–अन्जान प्रचलित कानुनको बर्खिलाप आदिका माध्यमबाट आयकर, भन्सार महशुल, अन्तःशुल्क, भूमिकर, मूल्य अभिवृद्धि कर, सवारी कर, स्वामित्व शुल्क, सेवा शुल्क, रोयल्टी, लाभांश, दस्तुर, दण्ड, जरिबानाजस्ता शीर्षकहरूमा राज्यकोषमा योगदान पुर्‍याउँदै आएको छ।

राजस्वका उल्लिखित स्रोतमध्ये, विद्युत् विकास विभागको क्षेत्राधिकारअन्तर्गत, आव २०७९/८० मा रोयल्टी, अनुमतिपत्र र नवीकरण दस्तुरबापत ४.३१  अर्ब राज्यकोषमा दाखिला भएको छ। त्यस्तै,  सोही वर्ष मन्त्रालयको कार्यक्षेत्रअन्र्तगत रोयल्टी तथा अन्य गरी ६.२८ अर्ब राज्यकोषमा दााखिला भएको थियो।

उक्त वर्ष नेपाल विद्युत् प्राधिकरणले कुल १.१६ खर्ब आम्दानी गरेकोमा निजी क्षेत्रको योगदान ५२ अर्ब थियो। यहाँनिर जडित ऊर्जामा निजी क्षेत्रको स्वामित्व ८० प्रतिशत रहेकाले सो अनुपातमा राजस्व दाखिला भएको छ भनेर बुझ्नुपर्छ। यो आफैंमा प्रतिनिधिमूलक उदाहरण मात्र हो। अर्थात्, अन्य शीर्षकमा समेत निजी क्षेत्रका ऊर्जा कम्पनीहरूद्वारा मनग्य योगदान पुगेको छ भन्ने कुरा भुल्नु हुँदैन।

स्मरण रहोस्, अनुमति प्राप्त कम्पनीले जलविद्युत्को व्यापारिक उत्पादन सुरु गरेको पहिलो १५ वर्षसम्म प्रतिजडित किलोवाटको वार्षिक एक सय रुपैयाँ र प्रतियुनिट सरदर बिक्री मूल्यको दुई प्रतिशतका दरले र सो अवधिपश्चात् प्रतिजडित किलोवाट वार्षिक एक हजार पाँच सय र प्रतियुनिट सरदर बिक्री मूल्यको १० प्रतिशतका दरले राज्यलाई रोयल्टी बुझाउनुपर्छ। यसको अर्थ व्यावसायिक  उत्पादन प्रारम्भको १५ वर्षपश्चात् उक्त आयोजनाले राज्यको समृद्धिमा अझ बढी योगदान पुर्‍याउने गर्छ भन्ने नै हो। निजी क्षेत्रबाट राज्य ढुकुटीमा अनेक शीर्षकमा धनराशि जम्मा गर्नु भनेको राष्ट्रमा भरथेग हुनु हो।

अवसर सिर्जना

२०८१ असोजसम्ममा निजी क्षेत्रको जडित क्षमता दुई हजार पाँच सय ४८.६ मेगावाट पुगेको र निजी क्षेत्रको अगुवाइमा तीन हजार दुई सय २७ मेगावाट बराबरका जलविद्युत् तथा सौर्य आयोजनाहरूको वित्तीय व्यवस्थापन पूराभई निर्माण कार्य अगाडि बढिरहेको परिप्रेक्ष्यमा ऊर्जा उत्पादनका क्रममा विज्ञ, परामर्शदाता, श्रमिक, उपकरण उत्पादक तथा आपूर्तिकर्ता, डिजाइनर, बैंकर, बिमक, पुर्नबिमक, स्थानीयवासीले  पेसा, व्यवसाय र रोजागारीका अनेकौं अवसर प्राप्त गरेका छन्।

त्यस्तै, तीन हजार आठ सय ९९ मेगावाट बराबरका आयोजनाको पिपिए भइसकेको, १० हजार पाँच सय मेगावाट बराबरका आयोजना पिपिएको पर्खाइमा रहेका, जलविद्युत् मार्गचित्र, २०८१ अनुरूप २०९२ सालसम्ममा जडित क्षमता २८ हजार पाँच सय मेगावाट पुर्‍याउने लक्ष्य सफलीभूत तुल्याउन निजी क्षेत्र कटिबद्ध रहेको सन्दर्भमा आगामी दिनमा, निजी क्षेत्रले राजस्व दाखिला, रोजगारी सिर्जना, व्यापार–व्यवसायको अवसर बढावाका माध्यमबाट मुलुकको समृद्धिमा योगदान पुर्‍याउनेमा कुनै सन्देह छैन। निजी जलविद्युत् उद्यमीबाट आर्थिक अनेकन् असरहरू पैदा गरिनु भनेको राष्ट्र निर्माणमा टेवा पुग्नु हो।

संस्थागत सामाजिक उत्तरदायित्व

राज्य समृद्धिका लागि शिक्षा, स्वास्थ्य, वातावरण, भौतिक पूर्वाधार आदि क्षेत्र सबलीकृत हुनुपर्छ। उक्त कुरा राम्रैसँग बुझेको निजी क्षेत्रले खुद आम्दानीको ०.५ प्रतिशत हिस्सा सीमान्तकृत समुदायका लागि आयमूलक सिपविकास, विद्यालयहरूमा कम्प्युटर तथा प्राविधिक सहयोग, सडक तथा खेलमैदान निर्माण, उद्यमशीलता विकास, वातावरणीय सुधार, बाढीपहिरो पीडितलाई राहत वितरण, ग्रामीण विद्युतीकरण, स्थानीय सिँचाइ आयोजना निर्माण, सामुदायिक भवन निर्माण, स्वास्थ्य संस्थालाई आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको छ।

जलविद्युत् सम्बद्ध निजी क्षेत्रबाट हालसम्म तीन हजार तीन सय किमी सडक निर्माण, एक सय ४० वटा स्वास्थ्य केन्द्र स्थापना, एक सय ५३ वटा विद्यालय भवन निर्माण, दुई सय झोलंगेपुल निर्माण, ९५ वटा खानेपानी आयोजना निर्माण, ४५ वटा सिँचाइ आयोजना निर्माण र ३० वटा एम्बुलेन्स प्रदान गरिनु त्यसैको दृष्टान्त हो । निजी जलविद्युत् उद्यमीबाट सामाजिक कार्य गरिनु भनेको अन्ततोगत्वा राष्ट्र निर्माणमा मलजल पुग्नु हो।

रोजगारी सिर्जना

जनशक्ति पलायन हुँदा राज्य समृद्ध बन्न सक्दैन।  रोजगारीका अवसरको अभावमा जनशक्ति पलायन भएको हो। निजी क्षेत्रका जलविद्युत् कम्पनीले दक्ष, अर्धदक्ष, अदक्ष जनशक्तिलाई रोजगारीका अनेकन् अवसरहरू उपलब्ध गराई राज्यको समृद्धिमा योगदान पु¥याइरहका छन्। निजी क्षेत्रको कार्य दायर र आयतन वृद्धि हुँदैजाँदा आगामी दिनमा यो अनुपात अझ फराकिलो बन्नेमा कुनै शंका छैन।

हाल, निर्माण सम्पन्न भएका आयोजनाहरूद्वारा करिब दुई हजार श्रमशक्तिलार्ई स्थायी रूपमा र निर्माणाधीन आयोजनाहरूमा दुई लाख ३४ हजार श्रमशक्तिलाई स्थायी वा अस्थायी रूपमा रोजगारी उपलब्ध हुनु त्यसैको ज्वलन्त उदाहरण हो। वस्तुतः निजी जलविद्युत् उद्यमीबाट रोजगारीका अवसरहरू पैदा गरिनु भनेको राष्ट्र निर्माणमा इँटा थपिनु हो।

प्रस्तुत सन्दर्भमा, जग्गा प्राप्ति, स्वामित्व हदबन्द बढी जग्गा आदि सन्दर्भमा प्रवद्र्धकले अनेकन् सास्ती झेलिरहनुपरेको छ। भूमि ऐन, २०२१ पाँचौं संशोधन (२०५८) अनुसार प्रवद्र्धकले अधिकतम ७५ रोपनी मात्र जग्गा स्वामित्वमा लिन सक्छ। त्यस्तै, व्यक्तिगत जग्गा धनीले मनोमौजी रूपमा मुआब्जा माग गर्ने, जग्गाको साटो जग्गा माग गर्ने, ऐलानी जग्गाको मुआब्जा खेतीयोग्य जमिनसरह माग गर्ने, कतिपय जग्गा धनीद्वारा अदालतमा  मुद्दा  दायर गर्न पुग्ने गरिएको छ।

जग्गा प्राप्त गर्न नसक्दा दाताको सहयोगमा निर्माण भइरहेका आयोजनालाई दाताबाट रकम उपलब्ध गराउन आनाकानी गर्ने गरिएको छ। ७५ रोपनी भन्दा अधिक  सार्वजनिक जग्गा प्राप्तिका लागि कम्पनीले सरोकारवाला मन्त्रालय, विभाग, कार्यालय हँुदै मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्छ।

त्यस्तै, तोकिएको प्रक्रिया पूरा गरी हदबन्दीभन्दा अधिक जग्गा खरिद पश्चात् कुनै कारणवश थप जग्गा आवश्यक परेमा पुनः वातावरणीय प्रतिवेदन परिमार्जन गरी पहिले अवलम्बन गरिएका सम्पूर्ण प्रक्रिया पूरा गरी मन्त्रीपरिषद्बाट निर्णय गराउनुपर्छ। त्यस्तै, हदबन्दीभन्दा अधिक जग्गा अन्य कार्यका लागि प्रयोग गर्न, बैंकमा राखी ऋण लिन वा बिक्री–वितरण गर्न नपाइने प्रावधान छ। राज्यले जग्गा प्राप्ति तथा रुख कटानको क्षेत्रमा रहेका यी व्यवधानहरू कानुनी रूपमै निरूपण गरिदिनुपर्छ।

विद्युत् खरिद सम्झौतापूर्व ठुलो मात्रामा धनराशि खर्च भइसक्ने हुँदा पिपिएको पर्खाइमा रहेका १० हजार पाँच सय मेगावाट बराबरका आयोजनाहरूको पिपिए रोक्नु एकहदसम्म अपराध हो। २०९३ सालसम्ममा जडित क्षमता २८ हजार पाँच सय पुर्‍याउने लक्ष्य लिएको सन्दर्भमा नेपाल विद्युत् प्राधिकरणले सबै प्रकृतिका आयोजनाहरूको पिपिए खुला गरिदिनुपर्छ।

त्यस्तै २०७५ वैशाखमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १० वर्षमा १५ वर्षको मार्गचित्र अगाडि सार्दैगर्दा ऊर्जा मिश्रणमा जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनाको हिस्सा ३० देखि ३५ प्रतिशत औंल्याएको, छिमेकी भारतमा एक सयभन्दा अधिक जलाशययुक्त आयोजना निर्माण भइसकेको, नेपालमा भने हालसम्म एउटा मात्र (कुलेखानी) जलाशययुक्त आयोजना निर्माण हुन सकेको, एक सय ४० मेगावाट क्षमताको तनहुँ आयोजना मात्र निर्माणाधीन अवस्थामा रहेको सन्दर्भमा निजी क्षेत्रले जलशययुक्त आयोजना निर्माण गर्ने आँट गर्नुपर्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
२३ घण्टा अघि
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस