स्वच्छ निर्वाचनबाट समृद्ध लोकतन्त्रको सपना
२५ साउन २०८२
•
१२ मिनेट पाठ
स्वच्छ निर्वाचनबाट समृद्ध लोकतन्त्रको सपना
हाम्रो विद्यमान राजनीतिक प्रणालीणीको कार्यान्वयनमा कतिपय कमीकमजोरीहरू होलान् । त्यो कमजोरी प्रणालीको होइन, प्रक्रियामा होला । प्रक्रियालाई ठीक ढङ्गले कार्यान्वयन गर्ने प्रश्नमा हो । त्यस्तो अवस्थामा हामी न संविधानलाई दोष दिन सक्छौँ, न प्रणालीलाई दोष दिन सक्छौँ  । त्यो प्रणालीअन्तर्गतका ऐजेरु हुन्  । एउटा रुखमा अर्कै जात पलाउँछ, त्यसलाई ऐजेरु भनिन्छ । एक ठाउँमा निर्वाचन भयो, निर्वाचन अधिकृतले निर्वाचनमा बुथ कब्जा भएको, जनताले भोट हाल्न नपाएको देखेनन् । 




आफ्नै अगाडि भएको कुरालाई केही पनि भएको छैन भनेर सिफारिस गरे । निर्वाचनपछि सरकार बन्यो । निर्वाचित मान्छेले निर्वाचन गराउने र धाँधली भएको नदेख्ने मान्छेलाई न्यायाधीश नियुक्त गरे । यो प्रणालीको कुरा होइन । म प्रणालीलाई दोष दिइरहनुपर्छ भन्ने ठान्दिन । यो व्यक्तिगत मनोवृत्ति हो । प्रणालीले त्यसो भन्दैन । प्रक्रियाले पनि त्यसो भन्दैन । तर प्रणाली कार्यान्वयन गर्ने प्रक्रिया अवलम्बन गरिरहँदा त्यसलाई पालना नगरेर उल्टो बाटो हिँडेको कुरा हो । यो त्यसलाई अस्वीकार गरेको कुरा हो । यो लोकतन्त्रलाई अस्वीकार गरेको कुरा हो  । 

मेरो पहिलो निर्वाचन २०४८ सालमा हाम्रा साथीहरूले रु ४३ हजार चन्दा उठाएका थिए । रु २१ हजार निर्वाचनमा खर्च भयो । बसको छतमा चढेर हिँड्दा साथीहरू खसे । दुई जनाको उपचार गर्दा रु १२ हजार खर्च भयो । चुनावपछि पार्टीको कोषमा रु १० हजार बचत रह्यो । त्यसो भएर यो कालो धनलाई ठिकठाक पार्ने समय निर्वाचनजस्तो कुरा पनि होइन । 

मेरो अनुभव छ, त्यस चुनावमा हाम्रो पार्टीको महासचिव माधवकुमार नेपाल हुनुहुन्थ्यो । चुनावमा जाँदा उहाँले मलाई बाटो खर्च भनेर दुई सय रुपैयाँ दिनुभएको थियो  । एक सय असी रुपैयाँ बस भाडा थियो । रातिको बस थियो  । बिचमा खाना खानका लागि रु २० दिनुभएको थियो । एउटा साथी भेटियो, सँगै खाना खायौँ, तपाईँले तिर्नुपर्दैन, म तिर्छु भनेर मेरो खानाको पनि उनैले तिरे, रु २० बच्यो । चुनाव सिद्धिएको एक दुई दिनपछि पाँच/सात जना साथीसँग भेट भएको थियो । ती साथीहरूले भने–तपाईँले एक कप चिया पनि नखुवाई चुनाव सिध्याउने, चुनावमा विजयी भएर जाने, यो त ज्यादती नै हो । मैले भनेँ, मलाई पार्टीले दिएको २० रुपैयाँ मेरो खल्तीमा सुरक्षित छ  । त्यसकारण पाँच सात जनालाई चिया खान पुग्छ, त्यसबेला एक रुपैयाँ कप चिया पाइन्थ्यो । पाँच सात जनालाई चिया खान पुग्छ भनेर खाएका थियौँ । 

विगत दुईवटा आमनिर्वाचनमा सर्वाधिक भोट ल्याएर नेपालमा जितेको सांसद म हुँ । कुनै प्रकारको ‘अनफेयर’ चिज नगरी, कतै बुथ कब्जा नगरी, कतै कसैलाई धम्की नदिई, कुनै अनुचित क्रियाकलाप नगरी, एकदम स्वच्छताका साथ जनताले भोट दिएर जितेको हुँ । न बल प्रयोग, न धन प्रयोग । 

म २०५१/५२ सालमा गृहमन्त्री थिए । म भएको सरकारले निर्वाचन घोषणा गरेको थियो । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल त्यसबेला गृहसचिव हुनुहुन्थ्यो । त्यतिबेला मैले प्रहरीलाई दिएको, कर्मचारीलाई दिएको निर्देशन र मेरो गृहमन्त्रीको हैसियतका क्रियाकलापको सम्बन्धमा जहिले पनि उहाँ बोल्न खुला हुनुहुन्छ । मैले कसरी गृह मन्त्रालय चलाएको थिएँ, निष्पक्ष रूपमा चलाएको थिएँ कि थिइनँ भन्ने कुरा ।  

म भन्छु, सरकार भन्ने कुराको परिभाषा बदल्नुपर्दछ । सरकार शासक होइन, व्यवस्थापक हो र सेवक हो । देशमा सुशासन र विकास दिने काम सरकारको हो । त्यसको बन्दोबस्त गर्ने काम सरकारको हो । एउटा जिम्मेवार सरकार जनताप्रति उत्तरदायी हुन्छ । उत्तरदायी मात्रै होइन, जिम्मेवार हुन्छ । यो कानुनसँग सम्बन्धित हो, प्रणाली व्यवस्थासँग सम्बन्धित हो । त्योभन्दा माथि सत्य र निष्ठासँग सम्बन्धित कुरा जनता र देशप्रति जिम्मेवार हुन्छ । कर्तव्यबाट निर्देशित सरकार त्यस्तो हुनुपर्दछ । जिम्मेवार भनेको ‘अकाउन्टेबल’ मात्रै होइन, त्यो भन्दामाथि । आमाले बच्चाको स्याहारसुसार गर्नु, बच्चालाई स्तनपान गराउनु कुन उत्तरदायित्वको कुरा हो ? कसलाई उत्तर दिनुपर्छ ? कसले प्रश्न गर्छ ? त्यसको कसले हिसाबकिताब खोज्छ ? ‘अकाउन्टेबिलिटी’ कसले खोज्ने ? आमा हुनुको हिसाबले स्नेहबाट उत्पन्न हुने, कर्तव्यबाट उत्पन्न हुने त्यो कर्तव्य हो । 

त्यस्तै, सरकारमा जो छ, उनीहरूमा कर्तव्यबाट जिम्मेवारीबोध हुनुपर्दछ र उनीहरूले देशप्रति र जनताप्रति जिम्मेवारी लिनुपर्दछ । रिस उठेका मान्छेलाई गाली गर्न तथ्यका आधारमा स्वतन्त्रता छ, गरुन् । जसरी नेपाल राष्ट्र बैंकले छापेको नोटमा लेखिएको हुन्छ, कसैले भुक्तानी माग्न आएमा रु यति तत्काल भुक्तानी दिइनेछ । त्यसरी नै मैले भनेका कुराहरूमा पनि तत्काल भुक्तानी दिनेछु, यदि मिलेन भने । अब गालीगलौज गर्न त शब्दकोश पल्टाई पल्टाइ खोजेर जति गरे हुन्छ । 

मानव समाज जब समाजमा रूपान्तरित हुन थाल्यो, समाजमा रूपान्तरित हुन थालेपछि त्यसलाई कसरी व्यवस्थापन गर्ने ? समाजका रूपमा समाज त चल्नुपर्‍यो । समाज व्यवस्थापनको प्रश्न आयो । समाज व्यवस्थापनको प्रश्न आएपछि मानव जातिले राजनीति भन्ने कुरालाई पहिले कमजोर, अलिकति अमूर्त रूपमा, सानो मात्रामा वा आफ्नै झुण्डभित्र लिन थालियो । समाजले आकार लिँदै गएपछि त्यहाँका थितिविधिहरूमार्फत राजनीति सुरु भयो र विस्तारै राजनीतिक प्रणाली विकास हुँदै गयो । कहिले हामी देख्छौँ दास मालिकहरू, दास व्यवस्था र आम रूपमा दास हुने व्यवस्था । त्यो किन गर्नुपर्‍यो भन्दा समाजलाई व्यवस्थित गर्न । त्यसबेला जनसङ्ख्यालाई व्यवस्थित गर्ने उपयुक्त समतामूलक लोकतान्त्रिक विधि विकसित भइसकेको थिएन । विधि विकसित गर्दा कसरी गर्ने भन्ने कुरामा त्यो प्रणाली आयो ।

त्यसपछि सामन्ती प्रणाली जमिनदार हुने, जमिनदारी प्रथा । कतैकतैको भाषामा त्यसलाई जागिर भन्थे । जागिरबापत जमिन दिने चलन थियो । राणा शासनसम्म पनि जागिरमा प्रसन्नताका साथ प्रसन्न हुने गरी काम गर्‍यो भनेदेखि बिर्ता दिने, बक्सिस दिने, पैसाभन्दा जमिन दिने, उसको तलबबाहेक अरु चिजमा प्रसन्न हुँदा ल यो गरी खा भनेर जिमदारी दिने चलन थियो । खासगरी पहाडतिर त्यत्रो ठूल्ठूलो जिमदारी भएन किनभने पहाडमा त्यसरी जिमदारी दिने खालको जमिन थिएन । तराईतिर बढ्दा जिमदारी भयो । जिमदार दुई प्रकारका भए । एउटा सरकारबाट प्राप्त गरेको बक्सिसबाट प्राप्त बिर्ता वा जिमदारी र अर्को, जसलाई जिम्मा दिएको छ, जिमदार भनेर,  ती जिम्मावालहरूले आफ्नै नाममा जमिन हजाराैँ बिघा लेखाए र जमिनदार भए । 

पछिल्लो समय थोरै थोरै जमिन, अलिकति सानो मात्रका जमिनहरू मालपोतमा गएर अलिअलि पैसा खुवाएर लेखाएका हुन् । अब अहिले बसोबास गर्न पाउनुपर्‍यो, हामी पनि नागरिक नै हौ भनेर बलजफ्ती बसेका तिनीहरूलाई नागरिकता दिनुपर्ने अवस्था सिर्जना भए । केही जमिन, केही मान्छेले किनेको । अब पछिल्लो समयमा किन्नेभन्दा अर्को बाँकी उपाय भएन । यो बिचमा एकपल्ट क्रान्तिका नाममा रातो टालो गाड्ने, कब्जा गर्ने र आफ्नो भयो भन्ने चलन पनि चलेको थियो । अझै पनि रातो टालो अरूको खेतमा, विद्यालयको खेतमा, क्याम्पसको खेतमा कुनै धार्मिक संस्थाको खेतमा एउटा छेस्कोमा रातो टालो गाडेर अधिकार जमाउने त्यो छँदै थियो । रातो टालो गाडेपछि त्यसबाट भूतप्रेतभन्दा बढी मान्छे कायल हुन्थे ।  

समाजलाई व्यवस्थित गर्ने क्रममा चल्दै आएका, विकसित हुँदै आएका कुराहरू हुन् । यसको सारतत्व भनेको राजनीति हो । जसभित्र केन्द्रमा राज्य उत्पन्न भयो । राजनीतिले जसले सक्छ त्यसले राज्य चलाउने कुरा भयो । अन्तर्राष्ट्रिय रूपमा दोस्रो विश्वयुद्धभन्दा अगाडि अथवा लिग अफ नेसन्स र संयुक्त राष्ट्रसङ्घ बन्नुभन्दा अगाडि त जसको लाठी, त्यसको भैँसी भन्ने दुनियाँमा चलेकै हो । अहिले फेरि त्यही युग फर्किन खोजेको छ । दोस्रो विश्व युद्धभन्दा अगाडिको इन्टरनेशनल अर्डर, ग्लोबल अर्डर भन्ने कुराहरू केही नहुने, त्यो देश मलाई चाहियो, त्यहाँका मानिसहरू त्यहाँ लगेर ‘सिफ्ट’ गरिदिन्छु, ती ठाउँ खाली गरिदिनु, फलानो देश खाली गरिदिनु भन्ने । यो खालको प्रवृत्ति फेरि फर्किन खोजेको छ । विश्व युद्धको समाप्तिपछि लिग अफ नेसन्स र संयुक्त राष्ट्रसङ्घ जन्मियो । संयुक्त राष्ट्रसङ्घको वडापत्रले एउटा मुख्य रूपमा भन्ने हो भने विश्व कानुन बनायो । 

लोकप्रियता, गर्न सक्ने क्षमता, जनताको विश्वासको आधारमा, आवधिक हिसाबले निर्वाचन गरेर त्यसबाट आउने खालको परिपाटी स्थापना गर्नुपर्छ । यसको सुरुआत करिब सन् १२१५ मा म्याग्नाकार्टाबाट भयो । यो परिमार्जित हुँदै आएको छ र हामीसँग थुप्रै असन्तुष्टिका कुराहरू छन् । केही पनि नभएका ठाउँबाट, एउटा सामन्ती राज्यबाट यहाँ आएका छौँ । राणा शासनमा केही पनि कानुन नभएको अवस्था थियो । संविधान र कानुन थिएन । २००४ सालबाट नेपालमा संविधानको सुरुआत भयो । 

नेपालमा राजनीतिक पार्टीहरू सुरुआत भए र सामाजिक व्यवस्थापनको सन्दर्भमा राजनीति र राजनीतिक पार्टी मानव जातिले आविष्कार गरेको हो । समाजलाई व्यवस्थापन गर्न राजनीति आए पनि विभिन्न कालखण्डमा यसभित्र कमीकमजोरीहरू नभएका होइनन् । पञ्चायतकालमा त प्रजातन्त्रका कमजोरी नै कमजोरी भनेर हामीले पढ्नु पर्दथ्यो । पञ्चायतका राम्रा पक्ष, निर्दलीयताको के छ आदि इत्यादि भन्ने कुरा पढाइन्थ्यो र प्रजातन्त्रका के के खराबी छन् भनेर पढाइन्थ्यो । जनमत सङ्ग्रह गराउँदा पनि राजा वीरेन्द्रको घोषणामा सुधारिएको पञ्चायत की बहुदलीय व्यवस्था भनियो । बहुदलीय प्रजातन्त्र भनिएन । सुधारिएको पञ्चायत की बहुदलीय व्यवस्था ? त्यसमा जनमत सङ्ग्रह भएको थियो ।  त्यो कालखण्डबाट हामी आयौँ । 

प्रजातन्त्र पुनः स्थापनापछि पनि राजाले सक्रिय शासन चलाए । आयोग बनाएर शेरबहादुर देउवामाथि मुद्दा चलाइयो । यो सबै २००७ सालमा राजा फर्काएर भएको हो । विपी गइसकेका थिए, उतै बस्न दिएको भए भइहाल्थ्यो नि । राजा फर्काउँदैनौँ अरू कुरामा सम्झौता गर्छौँ भनेका भए पनि हुन्थ्यो होला । त्यो त्यस बेलाको कुरा हो, अग्रजहरूको कुरा हो । अग्रजहरूले के के गरे त्यसमा पनि नजाउँ । तर त्रुटि चाहिँ भयो, जसले गर्दा भोगेको भोगै गर्नुपर्‍यो २०६५ सालसम्म । 

विसं २०६३ चैत ११ गतेसम्म हामी त निरङ्कुश राजतन्त्रका ‘बुट’ मुनि थियौँ त फेरि । दलको कुनै अर्थ नहुने, अस्तित्व नहुने त्यो ठाउँमा पुगेकै थियौँ त । त्यसकारण फेरि फर्किन खोजेको–२००७ सालसम्म दुईवटा शासन थियो, त्यसपछि एउटा निर्मम राणा शासन सिद्धियो भने अर्को षडयन्त्रकारी शासनको फेरि निरन्तरता रह्यो । त्यो षडयन्त्रकारी शासनको अन्त्य २०६५ साल जेठ १५ गते पहिलो संविधानसभाको पहिलो बैठकले गर्‍यो । यो प्रणालीहरूको यसरी विकास हुँदै आएको छ । 

विसं २०६५ को पुनः स्थापित संसद्लाई धन्यवाद दिनुपर्छ । उसले निर्णय गरेर राजाका अधिकारहरू प्रधानमन्त्रीमा सार्‍यो । नागरिक सर्वोच्चता कायम गर्न सुरु गर्‍यो, सामन्तवादलाई थान्कोमा राख्न सुरु गर्‍यो र पहिल्यै पनि थान्कोमा बसभन्दा नमानेको हुनाले अधिकारविहीन बनाएर राख्यो र संविधानसभाले बिदाइ गर्‍यो । हाम्रो अत्यन्त तीतो अनुभव छ, एउटा संविधानसभा असफल भएपछि फेरि अर्को संविधानसभाबाट हामीले संविधान बनायौँ । अब अर्को गणतन्त्रात्मक परिपाटी सुरु भयो । कुनै पनि प्रणाली सुरुमै पूर्ण हुँदैन ।

जबसम्म संविधान र कानुनको दायरामा बस्छ, त्यसप्रति पूर्ण रूपमा सहिष्णु हुनुपर्दछ । सरकार शासक होइन भन्ने कुरा बुझ्नुपर्दछ । तर सरकार भनेको संविधान कार्यान्वयन र प्रणालीको रक्षा गर्ने, संविधानले भनेको प्रणालीको रक्षा गर्ने संयन्त्र पनि हो । सुशासनको, शान्ति सुव्यवस्थाको र त्यसको प्रत्याभूति गर्ने र त्यसको सुनिश्चित सरकारले गर्नुपर्छ । सरकार त्यसको प्रत्याभूतकर्ता पनि हो । त्यसकारण सरकारको नियन्त्रणकारी प्रवृत्ति हुँदै हुँदैन भनेपछि त ‘एनार्किज्म’ मज्जाले मौलाउने भयो । कोही पनि ‘एनार्किस्ट’ भएन भने सरकारले कसैमाथि किन कानुनको कुरा गर्छ र ? कसैलाई त कानुनको कुरा गर्नुपरेको छैन । अब कोही ‘एनार्किस्ट’ भयो भने जहाँ पनि थिति हुन्छ । हामी यहाँ बसेका छौँ, यहाँ पनि थिति र रुल छ । त्यसबाट कोही एकदम ‘एनार्किस्ट’ भएर निस्कियो भने बाहिर निकाल्नु पर्ने हुन्छ ।

निर्वाचनकै कुरा गर्दा ‘एनार्किस्ट’ ले बुथ कब्जा गर्दैन, यसको अर्थ म यो भन्दिनँ कि पुराना पार्टीहरूमा त्यस्ता कमजोरी छैनन् । पुराना पार्टीहरूमा पनि त्यस्ता कमजोरी छन् । ती कमजोरीहरूलाई पुराना पार्टीहरूले पनि हटाउनुपर्दछ र नयाँ शक्तिहरूलाई संविधान र कानुनभित्र बसेर प्रशस्त आफ्ना भनाइहरू राख्न, अभिव्यक्ति दिन, अधिकारको प्रयोग गर्न सबै स्वतन्त्र छ भनेर हामीले बताउनुपर्छ । त्यसकारण राजनीति र राजनीतिक पार्टीले लोकतन्त्र र लोकतान्त्रिक प्रणाली र यसको कार्यान्वयन सुरु गरे । त्यसको एउटा महत्त्वपूर्ण कुरा हो–निर्वाचन । 

लोकतन्त्र निर्वाचनबाट आउँछ । पुराना राजनीतिक पार्टीहरूले नेतृत्वदायी भूमिका लिनुपर्छ भनेको सरकारको टुप्पोमा बसेर नेतृत्वदायी भूमिका हुँदैन । अभ्यास, आचरण, बानीलगायत सबै कुरामा नेतृत्वदायी भूमिका लिनुपर्दछ । प्रजातन्त्र उत्तम प्रणाली हो तर, त्यसलाई गलत ढङ्गले सञ्चालन गरियो भने त्यो राम्रो प्रणाली रहन सक्दैन, भताभुङ्ग हुनसक्छ । फेरि जाने कहाँभन्दा एक पुस्ताले दुःख पाउँछ, फेरि फर्किएर आउने त्यही हो । लोकतन्त्रमै आउनुपर्छ, अरू कुनै विकल्प छैन । आजको र अबको बाँकी भविष्यको मानव जातिले दमनकारी, अधिकानयकवादी, तानाशाही शासन स्वीकार गर्दैनन् । 

हामीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भनेर पन्ध्रौँ पञ्चवर्षीय योजनाको गन्तव्यमा राख्यौँ, सोह्रौँ पञ्चवर्षीय योजनामा राख्यौँ । अहिले पनि त्यस बाटोमा गइराखेका छौँ । मैले भन्ने गरेको छु, प्रतिव्यक्ति आयको सरदरमा जोडेर गरिबलाई नक्कली ढगले धनी बनाइदिने काम गरेर केही फाइदा छैन । उसको चुलोमा आगो बल्दैन । त्यसकारण कोही पनि पछाडि छोडिनुहुँदैन । खाने, लगाउने, शिक्षा प्राप्त गर्ने, बस्ने र स्वास्थ्य सुविधा प्राप्त गर्ने यी आधारभूत अधिकारहरू हरेक व्यक्तिले प्राप्त गर्नुपर्छ । मैले भन्ने गरेको छु, जैविक र मानवीय न्यायोचित आवश्यकताहरूको सहज परिपूर्ति हुनुपर्छ, कमसेकम गरिबी निवारण भनेको त्यो हो । हरेक व्यक्तिको वा प्रतिव्यक्ति आयको सरदरले हुँदैन । अर्बपतिले दामासाहीले गरिबलाई धन बाँड्दा पैसा बाँड्नु परेन, हिसाब बाँड्दा धेरै जीवनमाथि उठेको देखिन्छ, त्यो नक्कली कुरा हो । त्यसकारण हामीले नक्कली काम गर्न खोजेको होइन । 

परिपूर्ण लोकतन्त्रका लागि हामीले काम गर्ने हो । हामीलाई खाली पार्टी खोल्न, चुनाव लड्न, भोट हाल्न र बोल्न भए पुग्यो होइन । विभिन्न ढङ्गले टन्न खायो अनि चाहिने नचाहिने बोल्यो मात्रै होइन । समाजको उत्थान हाम्रो उद्देश्य हो । समुत्थान हुनुपर्‍यो । त्यसलाई स्वच्छ निर्वाचनबाट स्वच्छ सरकार बनाउने काम गर्नुपर्छ । यो निर्वाचनको सन्दर्भमा केही केहीले ‘नो भोट’ भनेको सुनिन्छ । यो ‘नो भोट’ किन चाहियो ? भोट हाल्न मन नलागे नहाले भएन ? यसै ‘नो भोट’ हुन्छ । निर्वाचनको बुथमा नै जानुपर्छ र ‘नो भोट’ भन्न ? भोट हाल्न नगएर घरमै बसेपछि त ‘नो भोट’ भयो नि । अनि ‘नो भोट’ भनेर त्यहाँसम्म जाने भोट दिन्न भन्न ? कसैलाई पनि भोट दिन्न भनेर जानुपर्ने ? यो समाज भड्काउने कुरा मात्रै हो । 

अब हामीले आफैँले सजगताका साथ समतामूलक, न्यायोचित समाज निर्माण गर्नुपर्छ । उत्पादन र उत्पादकत्व वृद्धि मात्रै होइन, वितरणमा न्यायोचित त्यो कुरा हरेक ठाउँमा हुनपर्छ । वितरणमा न्यायोचितता भनेको अधिकारको वितरणमा, अवसरको वितरणमा, सबैमा न्यायोचित वितरण वा समान वितरणको परिपाटी अगाडि बढाउनु पर्दछ । हतार र भावनामा अनेक खालका निर्णयहरू अरूले केके गर्‍यो, के के अनुभवहरू गरे, त्यो गर्दै जानु र हामी ‘गिनिपिक’ हुनु, हाम्रो समाजलाई ‘गिनिपिक’ बनाउनु र अरूले भनेका अनुभवहरू गर्दै जानु वाञ्छनीय हुँदैन । 

कानुनमा के कस्ता सुधार गर्नुपर्छ, निर्वाचन आयोगले केही सुझाव दिएको छ, केही अलि कति बहकिएका सुझाव होलान्, केही धेरै राम्रा सुझाव होलान् । ती सबैलाई यथोचित बनाउनुपर्छ र अगाडि बढाउनुपर्छ । यहाँ ‘इगो’को प्रश्न छैन । ‘इगो’ को कुरा हुँदैन, देशको कुरा हुन्छ । यो कसैको ‘इगो’ होइन, देशको । जित्नु कसैको अहम्ले होइन, देशको आवश्यकताले जित्ने हो । जित्नु जनताले पर्छ, ‘डेमोक्रेसी’ले पर्छ । ‘डेमोक्रेसी’ले जित्नका लागि हाम्रा यस्ता कुराहरूलाई हामीले बढी सशक्त बनाएर लिएर जानुपर्छ ।

(प्रस्तुत विचार प्रधानमन्त्री केपी शर्मा ओलीले १८ साउन, २०८२ मा पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठको ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन इतिहास’ पुस्तक लोकापर्णमा व्यक्त गरेका विचारका आधारमा स्वकीय सचिवालयबाट तयार गरिएको हो।)
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
१८ घण्टा अघि
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ७ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस