शिवरात्रि र प्रेम दिवस: अनन्त प्रेमको आध्यात्मिक यात्रा
०३ फागुन २०८२
•
६ मिनेट पाठ
शिवरात्रि र प्रेम दिवस: अनन्त प्रेमको आध्यात्मिक यात्रा
हिजो मात्र संसारले प्रेम दिवस मनायो, जहाँ फूल, शब्द र उपहारमार्फत प्रेम व्यक्त गरियो। आज हिन्दुहरूले हृदयदेखि महाशिवरात्रिको पवित्र रात्रिमा ध्यान, जप र उपवासमार्फत प्रेम अनुभूति गरिरहेका हुनेछन्। प्रेम दिवस बाहिरी अभिव्यक्ति हो, शिवरात्रि भित्री अनुभूति। प्रेम दिवसमा रङ र सुगन्ध छ, शिवरात्रिमा मौन र समाधि। तर दुवैको केन्द्र एउटै छ– प्रेम।




आध्यात्मिक दृष्टिकोणले प्रेम केवल भावना होइन, यो आत्मा र परमात्माको मिलन हो। सतीदेवी र भगवान् शिवको प्रेम यसैको जीवित प्रतीक हो। सतीले शिवलाई बाह्य रूपले होइन, भित्री ब्रह्म चेतनाले चिनेकी थिइन्। उनको समर्पण सामाजिक मान्यताभन्दा माथि उठेको थियो। जब अपमान सहनुपर्‍यो, उनले देह त्यागिन् तर प्रेम त्यागिनन्। यसले देखाउँछ कि साँचो प्रेम शरीरभन्दा पर साथै समयभन्दा पर हुन्छ। पछि पार्वतीका रूपमा पुनर्जन्म लिएर गरेको तपस्याले प्रेमलाई साधना र चेतनाको उत्कर्षमा रूपान्तरण गर्‍यो।

उता, पश्चिमी परम्परामा सन्त भ्यालेन्टाइनले प्रेमका लागि साहस देखाए। उनले प्रेम गर्नेहरूलाई मिलन गराए, राज्यको प्रतिबन्ध हुँदाहुँदै पनि। अन्ततः उनले आफ्नो जीवन अर्पण गरे, तर प्रेमको पक्षमा उभिए। यसरी सन्त भ्यालेन्टाइन र सती–शिवको कथा दुवैले एउटै सत्य उजागर गर्छन् -प्रेम त्याग, साहस र आत्मिक प्रतिबद्धताको नाम हो।

यदि प्रेम दिवसले हामीलाई प्रेम व्यक्त गर्न सिकाउँछ भने शिवरात्रिले प्रेममा जाग्न सिकाउँछ। प्रेम दिवसले हृदय खोल्न प्रेरित गर्छ भने शिवरात्रिले चेतना खोल्छ। अन्ततः सन्देश एउटै छ -प्रेम बाहिरी सम्बन्ध मात्र होइन, भित्री मिलन हो, जहाँ आत्मा परमात्मासँग एकाकार हुन्छ, त्यहीं साँचो शिवरात्रि र साँचो प्रेम दिवस सम्पन्न हुन्छ।

शिवरात्रि: बाहिरी रात, भित्री उज्यालो

शिवरात्रि केवल पात्रोमा आउने एक पर्व मात्र होइन, यो अज्ञानको अन्धकार हटाएर आत्माले आफ्नै प्रकाश खोज्ने आध्यात्मिक अवसर हो। महाशिवरात्रि हामीलाई बाहिरी संसारको कोलाहलबाट भित्रको मौनतिर फर्काउँछ। भगवान् शिव योगका अधिष्ठाता हुन्। उनी श्मशानवासी, विरक्त, भस्मधारी रूपमा देखिन्छन्, किनकि उनी जीवनको नश्वरतालाई पूर्ण रूपमा स्वीकार गरेर अनन्तताको अनुभूति गर्छन्।

भस्मले स्मरण गराउँछ - सबै रूप अन्ततः धुलोमा विलीन हुन्छन्, तर चेतना अमर छ। शिवरात्रिको व्रत र जागरणले दिने गहिरो सन्देश हो -‘अहंकार निदाउन देऊ, चेतना जागृत गर।’

भक्तजनहरू जब रातभर ‘ॐ नमः शिवाय’ जप्छन्, त्यो केवल ध्वनि वा अनुष्ठान होइन, त्यो आत्माको आवाहन हो। त्यो आफ्नो भित्रको शिवतत्त्वलाई जगाउने साधना हो।

यही रात्रिमा शक्ति र शिवको दिव्य मिलनको स्मरण गरिन्छ। शक्तिविना शिव शून्य, शिवविना शक्ति निष्क्रिय हुन्छ। चेतना र ऊर्जा जब एक हुन्छन्, त्यहीं सृष्टि जन्मिन्छ। प्रेम पनि यस्तै हो - ऊर्जा र चेतनाको एकत्व, दुई शरीरमा बस्ने एउटै आत्माको अनुभूति।

प्रेम दिवस: बाहिरी अभिव्यक्ति, भित्री प्रतिज्ञा

यदि शिवरात्रि प्रेमको ध्यान हो भने प्रेम दिवस प्रेमको अभिव्यक्ति हो। प्रेम दिवसको ऐतिहासिक सन्दर्भ सन्त भ्यालेन्टाइनसँग जोडिएको छ। रोमन शासनले विवाह र प्रेममाथि प्रतिबन्ध लगाउँदा उनले प्रेम गर्ने जोडीहरूको विवाह गराइदिए। उनले प्रेमलाई भयभन्दा माथि राखे। अन्ततः उनले आफ्नै जीवन बलिदान गरे तर प्रेमको पक्षमा उभिए।

यहाँ पनि शिवरात्रिसँग मिल्दो आध्यात्मिक सूत्र भेटिन्छ। शिव ध्यानमा छन्, सन्त भ्यालेन्टाइन साहसमा। शिव जागरणको प्रतीक र सन्त भ्यालेन्टाइन समर्पणको गुण। शिवरात्रिमा आत्मा र शक्ति मिल्छन्, प्रेम दिवसमा दुई हृदय मिल्छन्। दुवै कथाले एउटै कुरा सिकाउँछन् - प्रेम सधैं अन्धकारको बिचमा प्रकाशको ज्वाला हो।

शिवरात्रि र प्रेम दिवस दुई आयाम, एउटै सत्य हुन्। शिवरात्रिको सन्देश - ‘आफ्नो भित्रको प्रेम खोज।’ प्रेम दिवसको सन्देश–‘आफ्नो प्रेम व्यक्त गर।’

शिवरात्रिमा हामी मौन बस्छौं, ध्यान गर्छौं, भित्रको शिवसँग मिल्छौं। प्रेम दिवसमा हामी शब्द बोल्छौं, भावना व्यक्त गर्छौं र प्रियजनसँग नजिकिन्छौं।

तर यदि अभिव्यक्तिमा आध्यात्मिकता भएन भने प्रेम सतही हुन्छ। त्यसैगरी, ध्यानमा करुणा भएन भने साधना अधुरो हुन्छ। त्यसैले यी दुई पर्वहरू एकअर्काका पूरक जस्ता देखिन्छन्। एकले भित्री उज्यालो दिन्छ, अर्कोले बाहिरी ऊष्मा।

प्रेमको साँचो अर्थ नै शिव–शक्ति मिलन हो। प्रेम स्वामित्व होइन, सहअस्तित्व हो। प्रेम अधिकार होइन, आदर हो। प्रेम शरीरको आकर्षण मात्र होइन, आत्माको पहिचान हो। सन्त भ्यालेन्टाइनले जस्तै प्रेम सधैं साहस माग्छ। शिवरात्रिले सधैं जागरण माग्छ।

बाहिर रात जति गाढा हुन्छ, भित्रको दीप त्यति आवश्यक हुन्छ। शिवरात्रि हामीलाई त्यो दीप बाल्न सिकाउँछ। प्रेम दिवस हामीलाई त्यो दीप अरूसँग बाँड्न सिकाउँछ। जब चेतना र ऊर्जा एक हुन्छन्, त्यो शिवरात्रि हो। जब हृदय निस्वार्थ खुल्छ - त्यो प्रेम दिवस हो। अन्ततः दुवै पर्वको सन्देश एउटै छ– ‘प्रेम नै परम सत्य हो, प्रेम नै परम शिव हो।’

सती: प्रेमको पहिलो अग्नि

सती देवी राजा दक्ष प्रजापतिकी पुत्री थिइन्। दक्ष प्रतिष्ठा, अहंकार र सामाजिक नियमका प्रतीक थिए। शिव भने नियमभन्दा परको सत्य। सतीले शिवमा प्रेम बाह्य रूप देखेर होइन, भित्री सत्य देखेर जागृत भएको थियो। शिवको भस्म, जटा र नाग बाहिरी प्रतीक थिए, सतीले त्यसभित्रको ब्रह्म चेतना देखिन्।

शिव–सतीको प्रेम चयनको होइन, पहिचानको हो। उनीहरूले एकअर्कामा आफ्नो आत्मा चिने। आध्यात्मिक दृष्टिले हेर्दा सती आत्मा हुन् र शिव परम चेतना। आत्मा सधैं परमात्मातर्फ आकर्षित हुन्छ। त्यसैले यो प्रेम केवल दाम्पत्य सम्बन्ध होइन, आत्मा र परम चेतनाको मिलनको पहिलो अग्नि हो, जहाँ वासना होइन जागरण, अधिकार होइन समर्पण र रूप होइन सत्यको अनुभूति प्रधान हुन्छ।

दक्षप्रजाप्रतिको यज्ञ: अहंकार र प्रेमको टकराव

जब राजा दक्षले भव्य यज्ञको आयोजना गरे र भगवान् शिवलाई निमन्त्रणा गरेनन्, त्यो केवल ज्वाइँप्रतिको अपमान थिएन, त्यो तप, वैराग्य र परम सत्यप्रतिको अस्वीकार थियो। यज्ञ, जसको उद्देश्य देवत्वलाई आह्वान गर्नु हो, त्यही यज्ञ अहंकारको प्रदर्शनमा परिणत भयो।

सतीदेवी पिताको घर पुग्दा उनले आफ्ना प्रियतमको अपमान सुन्नुपर्‍यो। त्यो अपमान शब्दको मात्र थिएन, प्रेमको अस्तित्वमाथिको प्रहार थियो। उनको अन्तरमा अग्नि प्रज्वलित भयो, तर त्यो प्रतिशोधको आगो थिएन, त्यो सत्यको ज्वाला थियो।

यज्ञकुण्डमा आफूलाई समर्पण गर्नु बाह्य दृष्टिले आत्मदाह जस्तो देखिए पनि आध्यात्मिक दृष्टिले त्यो अहंकार, देहाभिमान र पारिवारिक बन्धनको दाह थियो। सतीदेवीले शरीर त्यागिन् तर शिवप्रतिको प्रेम त्यागिनन्।

जब शिवले यो घटना थाहा पाए, उनले ताण्डव गरे। त्यो ताण्डव केवल क्रोधको अभिव्यक्ति होइन, ब्रह्माण्डीय सन्तुलनको पुनस्र्थापना थियो। त्यो विनाश देखिए पनि वास्तवमा अहंकारको विसर्जन र सत्यको पुनः प्रतिष्ठापन थियो।

पुनर्जन्म: प्रेमको अनन्त चक्र

हिन्दु परम्परामा भनिन्छ कि सतीदेवीले देह त्याग गरेपछि उनी पुनः पार्वतीका रूपमा जन्मिइन्। यो केवल पुनर्जन्मको कथा होइन, यो प्रेमको अनन्त चक्रको उद्घोष हो। पार्वतीका रूपमा उनले बाल्यकालदेखि नै शिवप्रति अद्भुत आकर्षण अनुभव गरिन्।

उनले वर्षौंसम्म कठोर तपस्या गरिन् - हिमालयका कन्दरामा ध्यान, व्रत र मौन साधना। त्यो तपस्या कुनै जिद्दी प्राप्ति थिएन, त्यो आत्माको परम चेतनासँग पुनर्मिलनको साधना थियो। अन्ततः भगवान् शिवले उनको भक्ति र समर्पण स्वीकार गरे र शिव - शक्ति पुनः एक भए।

यस कथाले देखाउँछ - साँचो प्रेम समय, मृत्यु र पुनर्जन्मभन्दा पनि पर हुन्छ। आत्मिक मिलन कुनै एक जीवनको घटना होइन, यो चेतनाको अनन्त यात्राको निरन्तरता हो। यही सत्य पश्चिमी परम्परामा पनि झल्किन्छ, जहाँ सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा उभिएर आफ्नो जीवन अर्पण गरे।

शरीर नाशवान छ, तर प्रेम चेतनाको स्पन्दन हो, त्यो मृत्युले टुट्दैन, समयले मेट्दैन। त्यसैले पुनर्जन्मको कथा र बलिदानको कथा दुवैको गहिरो सन्देश एउटै हो  - जहाँ प्रेम शुद्ध, निस्वार्थ र आत्मिक हुन्छ, त्यहाँ दूरी, समय वा मृत्यु केवल रूपान्तरणका चरण मात्र हुन्, प्रेम स्वयं अनन्त छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
२२ घण्टा अघि
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
बिहानको घन्टी
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस