बहुपक्षीयता अझै मरेको छैन
२७ पौष २०८२
•
१० मिनेट पाठ
बहुपक्षीयता अझै मरेको छैन
आजको राजनीतिक बहसमा राष्ट्रवादी र जनवादी (पपुलिस्ट) स्वरहरू प्रायः सबैभन्दा चर्को सुनिन्छन्। तर त्यही कारणले मात्र उनीहरू प्रतिनिधिमूलक हुन् भन्ने होइन। वास्तवमा विश्वव्यापी सर्वेक्षणहरूले देखाउँछन् कि द्वन्द्व, गरिबी, जलवायु परिवर्तन र अन्य साझा चुनौतीहरू समाधान गर्न अन्तर्राष्ट्रिय सहकार्यको पक्षमा विश्वमा अझै पनि स्पष्ट बहुमत छ।




हुन पनि करिब ५० देशमा अहिले द्वन्द्व चलिरहेका छन्, भन्सार–कर (ट्यारिफ) युद्ध जस्ता असामान्य विषय अब नयाँ सामान्य विषय बन्दै गएका छन् र विश्व आर्थिक वृद्धि पुस्तौंमै सबैभन्दा सुस्त गतिमा झरेको छ। यस्तो अवस्थामा सन् २०२६ मा विश्व प्रवेश गरिरहँदा उत्साहित हुन पर्ने देखिँदैन। अहिलेको एक मात्र निश्चितता भनेको बढ्दो अनिश्चिततासँग बाँच्नु हो। यथार्थपरक भविष्यवाणी निरन्तर अनपेक्षित नतिजामा  पुग्ने देखिएको छ।  

वर्तमान समयका तनाव र उथलपुथलले तीन स्पष्ट धार संकेत गर्छन्, यी धारले नयाँ तर अझै अस्थिर भूराजनीतिक धरातल निर्माण गरिरहेका छन्।

ती हुन, विश्व एकध्रुवीयबाट बहुध्रुवीय हुँदैछ। नियममा आधारित व्यवस्थाबाट शक्तिमा आधारित व्यवस्थातर्फ र आर्थिक खुलापनबाट संरक्षणवादतर्फ विश्व उन्मुछ छ।

यसैगरी विश्व व्यापारवाद र घरेलु सुरक्षालाई जोड दिने औद्योगिक नीतिमा आधारित  राजनीतितर्फ मोडिँदैछ। अहिले राजनीतिले अर्थतन्त्र चलाइरहेको छ, अर्थतन्त्रले राजनीति होइन।

सन् २०२६ र त्यसपछि आउने वर्षहरूमा विश्व कसरी बदलिन्छ भन्नेबारे विभिन्न धारणा र अड्कल छन्। एकध्रुवीय विश्वका सुनिश्चितताबाट टाढिँदै जाँदा के हामी पुनः महान् शक्तिहरूको प्रतिस्पर्धा र प्रभाव–क्षेत्रहरूतर्फ फर्किनेछौं? अथवा चीन र संयुक्त राज्य अमेरिकाले प्रभुत्व जमाएको ‘एक विश्व, दुई प्रणाली’ अन्तर्गतको  व्यवस्था देख्नेछौं? अथवा अराजकतापूर्ण अव्यवस्थाको अवधि मात्र गर्वमा छ?

स्पष्ट कुरा के हो भने दोस्रो विश्वयुद्धपछि हामीले देखेका विश्व व्यवस्थाका हरेक स्तम्भ खस्कँदै छन्। यो सूचीमा विधिको शासन, मानव अधिकार र लोकतन्त्रप्रतिको प्रतिबद्धता (अहिले विश्वमा ९१ राष्ट्रमा निरंकुश शासन छन् भने ८८ मात्र लोकतन्त्र), साथै बहुपक्षीय सहकार्य, मानवीय सहायता र वातावरणीय संरक्षणसमेत पर्छन्।

यी परिवर्तनका कारण हाम्रो समयको प्रमुख विचारधाराका रूपमा रहेको नवउदारवादको ठाउँमा आक्रामक र झन् झन् निरंकुश बन्दै गएको राष्ट्रवाद जन्मिएको छ। जातीय अतिराष्ट्रवादले मानवीय तथा मानवअधिकार कानुनलाई झन् खुला उल्लंघन गराइरहेको छ।

युक्रेनमाथि रुसको युद्ध मात्र होइन, सुडान र इथियोपियाजस्ता देशका बढ्दो गृहयुद्धहरू र अन्यत्रका सीमापार द्वन्द्वहरूमा यो लागु हुन्छ। त्यसैले सन् २०२६ को सुरुवातमा आइपुग्दा पछिल्लो दशकलाई विश्वव्यापी महामारी, दोस्रो विश्वयुद्धपछि युरोपमा महान् शक्तिद्वारा लडिएको पहिलो युद्ध, मध्यपूर्वको विनाश, गहिरिँदो जलवायु संकट र अव्यवस्थाका लागि सम्झिने सम्भावना देखिन्छ।

तर सन् १९४१ लाई सम्झौं– जब फासीवादको उदयले विश्वलाई अझ व्यापक युद्ध र निराशामा डुबाएको थियो– त्यस बेला केही कुरा अप्रत्याशित भयो। अमेरिका र बेलायतले युद्धपछिको नयाँ विश्व व्यवस्था निर्देशित गर्ने सिद्धान्तहरू प्रस्तुत गरे। चाँडै नै दुई दर्जनभन्दा बढी देशहरूले एटलान्टिक चार्टरको समर्थन जनाए, जसले संयुक्त राष्ट्रसंघको जन्म, ब्रेटन उड्स संस्थाहरूको स्थापना, मानवअधिकारको सार्वभौम घोषणापत्र र मार्सल योजनाको ढाँचा तयार गर्‍यो। त्यो विगतको पृष्ठभूमिमा के अहिले पनि त्यस्तै केही हुन सक्छ त भन्ने प्रश्न ज्वलन्त बनेको छ।

विखण्डित विश्वमा मतदाताहरू आफ्नै दैनन्दिन जीवन–यापन र सुरक्षाबारे बढी चिन्तित हुनु अनौठो  होइन। तर रोचक कुरा के छ भने यस अप्रत्याशित मोडका बाबजुद उनीहरूले अन्तर्राष्ट्रिय गतिशीलताले आफ्नो जीवनमा झन् झन् गहिरो प्रभाव पारिरहेको छ भन्ने पनि बुझिरहेका छन्।

स्थानीय स्तरमा के भइरहेको छ र विश्वस्तरमा के भइरहेको छ, यी दुईबिचको सम्बन्धबारे उनीहरू पहिल्यैभन्दा अहिले धेरै सचेत छन्। अधिकांशले उचित परिस्थितिमा अरूलाई सहयोग गर्नु भनेको आफू स्वयंलाई सहयोग गर्ने विश्वसनीय उपाय हो भन्नेमा विश्वास गर्छन्।

सर्वसाधारण कहाँ उभिएका छन्?

यी र अन्य प्रश्नको उत्तर हालै गरिएको फोकलडाटा सर्वेक्षणमा भेटिन्छन्, जुन अध्ययनमा विश्वका ३४ देशका करिब ३६ हजार वयस्कलाई समेटिएको थियो। जनवरीयताका दैनिक समाचारहरू, विशेष गरी व्यापार युद्धहरूको निरन्तर कभरेजलाई हेर्दा उत्तरदातामध्ये दुई तिहाइले अन्यत्र गरिएका निर्णयहरूले आफ्नो जीवनलाई असर गरिरहेको स्विकार्नुलाई स्वाभाविक मान्न सकिन्छ।

कोभिड–१९ महामारी समाप्त भएको तीन वर्ष मात्र भएकाले करिब ७७ प्रतिशत उत्तरदाता अझै पनि विश्व स्वास्थ्यका घटनाप्रति सजग छन् तर जलवायु परिवर्तनका प्रभाव (समग्रमा ५८ प्रतिशत, युवा उत्तरदातामा ६३ प्रतिशत) र खाद्य आपूर्तिमा अवरोध (५५ प्रतिशत) का परिणामबारे पनि स्पष्ट बहुमत सचेत देखिएको छ।

यी भावना कुनै कल्पनाशील विश्वनागरिक आदर्शवादबाट मात्र उत्पन्न भएका होइनन्, बरु व्यावहारिक यथार्थको प्रतिविम्ब हुन्। सर्वसाधारण मानिसका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा आफ्ना आधारभूत आवश्यकताहरू पूरा भइरहेका छन् कि छैनन् भन्ने हो। उनीहरू जान्छन् कि सहकार्यले खाद्य र पानीको आपूर्तिजस्ता सुरक्षाहरू दिन सक्छ। ४० प्रतिशत उत्तरदाताका लागि यो शीर्ष प्राथमिकताको विषय थियो।

यसैगरी सहकार्यले गरिबी र असमानता घटाउन मद्दत गर्न सक्छ भन्ने धारणा राख्नेमा ३८ प्रतिशत उत्तरदाता थिए र  सव–सहारा अफ्रिकामा यो  विषयमा बहुमतको समर्थन थियो।

यसैगरी अधिकांशले मानव अधिकारको संरक्षण (३७ प्रतिशत), रोजगारीको समर्थन (३६ प्रतिशत) र स्वास्थ्य तथा जलवायु परिवर्तनप्रतिको प्रभावकारी प्रतिक्रियाको प्रवर्धनजस्ता विषयलाई  महत्त्वपूर्ण मानेका छन्। विशेष गरी एसियासहित समग्र ग्लोबल साउथमा यो शीर्ष प्राथमिकतामा देखिन्छ।

केही टिप्पणीकारले आजको विश्वलाई स्थानीयतावादी र वैश्विकतावादीबिच विभाजित मान्छन्। यसैगरी ‘कुनै खास ठाउँसँग’ र  ‘जहाँसुकै’ जोडिएका मानिसहरूबिच विश्व विभक्त भएको उनीहरू मान्छन् तर अधिकांश सर्वसाधारणले टिप्पणीकारले भनेका हिसाबले यी विषयलाई हेर्दैनन्। राष्ट्रिय हितका केही अंशमा सम्झौता गर्नुपरेको आवस्थामा समेत बहुमतले विश्वव्यापी चुनौतीको सम्बोधनका लागि सहकार्यको पक्ष लिएको देखिएको छ।

सव–साहरा अफ्रिकामा आपसी समृद्धि, शान्ति र स्थिरताका लागि सहकार्यको समर्थन प्रति ६८ प्रतिशतको समर्थन देखिएको छ भने पूर्वी तथा दक्षिण एसियामा (६४ प्रतिशत) मा यो सबैभन्दा बलियो छ, जब कि यो क्षेत्रमा यी लक्ष्यहरू प्राप्तिका लागि सबैभन्दा बढी जोखिममा छन्। यसको विपरीत उत्तरी युरोपमा केवल ५७ प्रतिशतले मात्र वैश्विण्क सहकार्यका फाइदा लिन राष्ट्रिय हित त्याग्न तयार रहेको बताएका छन्।

तर जनवादी राष्ट्रवादी दलहरू अग्रस्थानमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिका होस् वा युरोपका देशहरू हुन्, अधिकांश सर्वसाधारण ‘एक्लै अघि बढ्ने’भन्दा अन्य देशसँग मिलेर काम गर्नुपर्ने आवश्यकताप्रति बढी झुकाव राख्छन्।

केवल कट्टर राष्ट्रवादीहरू मात्र उनीहरू र उनीहरूको देशको सफलताका लागि अरूको क्षतिमा हुनैपर्छ भन्ने शून्य–योग दृष्टिकोण राख्छन्।  यस्तो समूह विश्व जनसंख्याको करिब १६ प्रतिशत मात्र हो (अमेरिकामा यो २५ प्रतिशत छ )।

दार्शनिक क्वामे एन्थोनी अप्पियाहको ‘जरा गाडेका विश्वनागरिक अर्थात् रुटेड कस्मोपोलिटान्स’ मान्यतामा प्रतिबद्ध २१ प्रतिशत अन्तर्राष्ट्रियवादीहरू खुला व्यापारमार्फत सीमापार सहकार्यलाई सकारात्मक–योग खेल (पोजिटिभ सम गेम)का रूपमा हेर्छन्। विशाल बहुमत भने अझै बिचमै छन्– उनीहरू न त संकुचित, अन्तर्मुखी राष्ट्रवादी छन्, न त पूर्ण विश्वनागरिक। उनीहरू देशप्रेमी त छन् तर उनीहरू आफूलाई ‘हामी’ र ‘उनीहरू’बिचको अन्त्यहीन संघर्षको हिस्सा ठान्दैनन्।

बहुपक्षीयताको पक्षमा मौन बहुमत

त्यसो भए अन्तर्राष्ट्रिय सहकार्यप्रति समर्थन कति छ त? बिचको बहुमत कर्तव्यरहित विश्व चाहन्छ कि कर्तव्यपूर्ण? आफ्नो बगैंचाको ढोका, सहरको पर्खाल वा राष्ट्रिय सिमानापार कुन किसिमका दायित्व स्वीकार गर्न उनीहरू तयार छन् त?

अध्ययनमा समेटिएको एक समूह (कुल उत्तरदातामध्ये २२ प्रतिशत)ले दुःख निवारणका लागि मानवीय कारबाहीलाई समर्थन गर्छ र विपद् क्षेत्रहरूमा आपतकालीन सहयोग जस्ता निःस्वार्थ कदम चाल्न तयार देखिन्छ। यिनीहरूलाई सद्कर्ममुखी बहुपक्षीयतावादी भन्न सकिन्छ,  जो अरूको पीडा महसुस गर्छन् र आफूभन्दा ठुलो कुनै उद्देश्य वा मूल्यमा विश्वास गर्छन्।

दोस्रो समूह (जसको हिस्सा पनि २२ प्रतिशत नै छ) व्यावहारिक बहुपक्षीयतावादीको हो। उनीहरू अन्तर्राष्ट्रिय विकासका लागि तिर्ने कर राम्रोसँग खर्च भयो कि भएन भन्ने हेर्न चाहन्छन्। उनीहरू नेताहरूले नतिजा देखाउनुपर्छ, नत्र सहकार्य असफल ठहरिनेछ भन्ने ठान्छन्।

अध्ययनले देखाएको तेस्रो समूह (२१ प्रतिशत) स्वार्थमा आधारित बहुपक्षीयतावादीहरूको हो। यदि सहकार्यले आफू र आफ्ना समुदायलाई फाइदा पुग्छ भन्ने देखिन्छ, खाद्य सुरक्षाको सुनिश्चितता हुन्छ र शान्ति तथा सुरक्षाको प्रत्याभूति हुन्छ भने त्यस्तो अवस्थामा सहकार्यलाई उनीहरूले समर्थन गर्ने देखिएको छ।

यसबाट के बुझिन्छ भने सहकार्य दैनन्दिन जीवनसँग जोडिनुपर्छ। नेताहरूले विश्व सहकार्यले जमिनीस्तरमै मानिसका लागि काम गर्छ भन्ने देखाए भने जनताले बहुपक्षीय प्रयासहरूलाई समर्थन गर्नेछन् तर यो प्रक्रिया विश्वस्तरबाट सुरु भएर तल पुग्ने किसिमको हुनु हुँदैन, बरु मानिसहरूले विश्व घटनाहरूले आफ्नो दैनन्दिन जीवनमा के अर्थ राख्छन् भनेर सोध्ने विन्दुबाट यो सुरु भएको हुनुपर्छ।  

हाल महँगो आधारभूत आवश्यकताका वस्तु, जोखिममा परेका रोजगारी, कमजोर स्वास्थ्य, खाद्य असुरक्षा र व्यक्तिगत सुरक्षामाथिका खतरा जस्ता दैनन्दिन कठिनाइहरूले जताततै सार्वजनिक अजेन्डा परिभाषित गरिरहेका छन्। यदि अन्तर्राष्ट्रिय सहकार्यले यी बोझ हल्का गर्न सकेन भने यसको समर्थन क्षण भरमै हराउन सक्छ।

बहुपक्षीय संस्थाहरूको अन्धसमर्थनबिना पनि बहुपक्षीय सहकार्य पुनर्जीवित हुन सक्छ। ‘अमेरिका फस्र्ट’ शैलीको  विपरीत अझै पनि विश्व स्वास्थ्य संगठनप्रति विश्वव्यापी विश्वास ६० प्रतिशत (अफ्रिकामा ७१ प्रतिशत) छ र संयुक्त राष्ट्रसंघप्रति ५८ प्रतिशत विश्वास छ।

हाम्रो सर्वेक्षणले देखाएअनुुसार अमेरिका, युरोपेली संघ, चीन वा रुस कुनै पनि महान् शक्तिले विश्वव्यापी रूपमा १० मध्ये तीनजनाको पनि विश्वास जित्न सकेको देखिएको छैन। यद्यपि लामो समयदेखि वैश्वीकरणको पक्षमा उभिएका अन्तर्राष्ट्रिय वित्तीय संस्थाप्रति विश्वास भने निकै कम देखिएका छ।

विशेषगरी युरोप, बेलायत र अमेरिकामा उर्लंदो जनवादी राष्ट्रवादले वैश्वीकरण सबैका लागि न्यायोचित नभएको अनुभूति गरेको छ।  

त्यसो भए अब निष्कर्ष के निकाल्ने त? पहिलो, मानवीय सहायताका लागि मात्र होइन, जलवायु परिवर्तन र महामारी रोकथामजस्ता सामूहिक मुद्दामा विश्वव्यापी कारबाही परिचालित गर्न सकिन्छ भन्ने पक्षमा स्पष्ट बहुमत देखिन्छ। मुख्य कुरा भनेको नीतिहरूलाई प्रबुद्ध स्वार्थको भाषामा प्रस्तुत गर्ने भन्ने विषय हो, जसले आपसी र दोहोरो लाभ सुनिश्चित गर्ने साधनका रूपमा काम गरोस्।

तर, माथि भनिएझैं अहिलेको  अवस्था नाजुक छ। यदि सहकार्यलाई सीमित स्रोतको अपव्यय हो भनेर ठान्न थालियो भने यसप्रति रहेको समर्थन रातारात हराउन सक्छ। साधारण जनजीवनलाई प्रत्यक्ष रूपमा सुधार गर्ने वा सुरक्षित बनाउने स्पष्ट र देखिने सफलताहरू आवश्यक छन्।

यदि विश्वको विशाल बहुमतले कुनै एक देशले मात्र हाम्रा सबैभन्दा ठुला चुनौतीहरू समाधान गर्न सक्दैनन् भन्नेमा सहमति जनाउँछ भने सामूहिक कारबाहीका लागि वर्तमान नेताहरूलाई स्पष्ट म्यान्डेट दिनुपर्छ,  त्यो नतिजाले त्यही आवश्यकताप्रति सकेत गर्छ।

यसको आधारमा एटलान्टिक चार्टरको शैलीमा अन्तर्राष्ट्रिय र घरेलु लक्ष्यहरू स्पष्ट गर्ने नयाँ, विश्वव्यापी, मूल्यमा आधारित व्यवस्था आवश्यक छ। सर्वसाधारणका लागि परिणामसहितको शक्तिशाली विकल्प प्रस्तुत गर्नु अहिलेको आवश्यकता हो। त्यसपछि राजनीतिक, आर्थिक र नागरिक अधिकार, विधिको शासन, लोकतन्त्र, वातावरणीय दिगोपन र शान्तिमा आधारित विश्व व्यवस्था पुनर्निर्माणको प्रक्रिया सुरु गर्न सकिन्छ।

आजको उथलपुथलबिच आगामी बाटो खोज्ने क्रममा यो पछिल्लो सर्वेक्षणले दिएको  संकेत विशेष छ। द्वन्द्व र प्रतिस्पर्धाको हल्लाबिच पनि मानिसहरू अलगाव होइन, आशा खोजिरहेका छन्।

करिब चारमध्ये एक जनाले सहकार्य भनेको शान्ति र प्रगतिका लागि दीर्घकालीन योजनामा सहमति जनाउनु हो भनेका छन्। त्यत्तिकै अनुपातले विश्वास निर्माण र शान्तिमा आधारित मूल्यद्वारा सहकार्य निर्देशित हुनुपर्ने चाहना व्यक्त गर्छन्। शून्य–योग राजनीतिसँग जोडिने युगमा पनि आफ्ना नेताहरूले मिलेर के हासिल गर्न सक्छौं भन्ने साझा दृष्टि व्यक्त गरून् भन्ने सर्वसाधारण चाहन्छन्।

–गोर्डन ब्राउन बेलायतका पूर्वप्रधानमन्त्री हुन्। (प्रोजेक्ट सिन्डिकेटबाट)
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस