दक्षिण एसियामा चमत्कार
२० असोज २०८२
•
६ मिनेट पाठ
दक्षिण एसियामा चमत्कार
बंगलादेश भ्रमणमा पुग्नुभएका पाकिस्तानी परराष्ट्रमन्त्री इसाक दारले ढाकामा महत्वपूर्ण नेताहरूलाई भेटेपछि दिल्लीमा एक किसिमको तरंग छायो। नेपाल, भुटान, श्रीलंका, मालदिब्स आदि दिल्लीबाट टाढिन थालेको भारतका केही मिडिया र कूटनीतिक पण्डितले विश्लेषण गरिरहेका छन्। ध्रुवीकरण बढ्दै जाँदा सन् १९४७ मा स्वतन्त्र भएको भारत छरछिमेकीबाटै एक्लिने सम्भावना रहेको भारतीयहरूको विश्लेषण र विवेचना भयाक्रान्त मनोविज्ञानको उपज मात्रै होइन भन्न सकिन्छ।




सार्कलाई अफापसिद्ध बनाउनेदेखि लिएर छरछिमेकलाई हेप्ने गरेको गम्भीर आरोप भोगिरहेको छ भारतले। चौबिस करोड जनसंख्या भएको भारतको उत्तर प्रदेश राज्यका लाखौं मुसलमानलाई सत्तारूढ दलका नेताहरूले अभारतीय जस्तो व्यवहार गर्ने गरेको आरोप पनि सर्वथा मिथ्या होइन।

कश्मीरका पुराना नेता फारुक अब्दुल्लाहले कतिपय नेताले मुसलमान समुदायका मानिसलाई ‘अराष्ट्रवादी’ भनेकोमा आपत्ति जनाएको सामाजिक सञ्जाल र बहुचर्चित मिडियामा आइरहेको छ।

अरुणाचलदेखि तमिलनाडुसम्म एकताको सट्टा विभाजनको स्वर सुनिन्छ। म एकपल्ट मुम्बईबाट गोवा हुँदै बेङलोर जाँदै थिएँ । उत्तर भारतीय बस ड्राइभरले हिन्दी गाना बजाउँदा केही तमिल युवकले थर्काए, ‘यो तिम्रो भारत हो र हिन्दी गीत बजाउने? बन्द गर, कवाडी गीत।’

म छक्क परें। भारतीय भूभागमा हिन्दी वर्जित भएका उदाहरण मुम्बईमा शिवसेना, असमका बोडो, मणिपुर, दक्षिण भारत जताततै देख्न पाइन्छ।

ब्रेकिङ इन्डिया पुस्तकमा राजीव मलहोत्रा लेख्छन्– भाषा, संस्कृति, रहनसहन आदि कारणले मात्रै होइन, सनातन धर्मविरुद्ध गैरसरकारी संस्थाहरूले घृणा फैलाउने काम गरिरहेकाले भारतको राष्ट्रिय चरित्र लोप हुँदैछ।

चीनले २६ राष्ट्र समेटेर हालै अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेपछि असंलग्न परराष्ट्र नीतिमा हिँड्नुपर्छ भन्ने राष्ट्रसमेत ध्रुवीकरणको चपेटामा परेका छन्। दक्षिण एसियाली राजनीति र रणनीतिसमेतलाई यसले अप्ठ्यारो मोडमा लगिरहेको छ।

युरोप र अमेरिकाबाट चीनको सम्मेलनमा कोही आएनन्। जापान र चीनको कटु इतिहास झल्काउने सैनिक परेडका कारण जापान झस्किनु स्वाभाविक हो। विश्वको पहिलो शक्ति हुन चाहेको चीनले भारतलाई समेत सहभागी बनाउनु उसको कूटनीतिक चातुर्य हो तर एकातिर मात्रै ढल्केर नेपालले पश्चिमी राष्ट्रहरूको सदासय र सहयोग गुमाउने खतरा पनि छ।

राजनीतिक स्थिरता, भरपर्दाे राजनीतिक नेतृत्व, स्थायी शक्ति र कूटनीतिक विश्वास नभएको भनेर नेपालको आलोचना हुने गरेको छ। धेरै राष्ट्र उदाहरण झन्, विश्वास (क्रेडिबिलिटी) नभएका कारण कूटनीति नै पानीको फोका बन्छ। सरकारले एक आँखाले मात्रै हेरेर कुनै एउटा राष्ट्रलाई ‘हेडसर’ मान्न थालेको खण्डमा कतिपय राष्ट्रले दूतावाससमेत बन्द गर्न सक्छन्। भेनेजुयला, सिरिया र लेबनानमा त्यही भयो।

राजनीतिक दलहरूले घातप्रतिघात गर्दा आन्तरिक राजनीति तरल छ र बितेका सत्र–अठार वर्षमा पनि राजनीति गुणस्तरीय हुन सकेन। दलहरूले जतिसुकै भूल र अक्षम्य काम गरे पनि ‘मेरो पार्टी’ भनेर सती जाने मतदाता र कार्यकर्ताले राजनीतिलाई सुधार्ने प्रयास नै गरेनन्।

यो रोग भारत, बांगलादेश र सबैतिर छ। सीमित मानिसलाई प्रभावित बनाएपछि बाह्य शक्तिले समेत आफ्नो गुप्त रणनीति सफल बनाउन सक्ने भएको हुँदा राजनीतिक दृष्टिले दक्षिण एसिया जोखिममा छ। श्रीलंकामा राष्ट्रपति भाग्नुपरेको र बांगलादेशको पछिल्लो घटनाबाट नेपाली नेताहरूले केही शिक्षा लिएको देखिएन।

मन्चुरियामा जापानले हमला गर्दैछ भन्ने सूचना पाएपछि सिमानामा कडाइ गरियो। हतियार लिएर हजारौं सैनिक र प्रहरी उभिए तर हमला गर्न कोही आएनन्।

वर्षांैदेखि मजदुर, हजाम, मोची, कुल्ली र शिक्षक बनेर बसेका जापानको जमातले सुरक्षाकर्मी र सर्वसाधारणमाथि हमला गर्न थाले। नेपालविरुद्ध कुनै अप्रिय अवस्था आएमा सिमाना नाघेर शत्रु पस्नै पर्दैन, नेपाली नागरिकको भेषमा हजारौं वैरी यतै बसेका छन्।

आन्तरिक शत्रु बाह्यभन्दा घातक हुन्छन्। नेपाली राजनीतिलाई अस्थिर बनाएर आफ्नो आधार इलाका प्रमाणित गर्न अनेकौं कृत्य भएको इतिहास छ।

तिब्बतको स्वतन्त्रताका लागि सशस्त्र युद्ध गर्ने उद्देश्यले खम्पा विद्रोह गराउन नेपालको हिमालय क्षेत्रमा हतियार र छापामार जत्थामा लगानी गर्ने काम बाहिरी शक्तिबाटै भयो। हिसी र वाङदी नामका खम्पा नाइकेलाई विभाजित गराएर राजा वीरेन्द्रबाट सो विद्रोह अन्त्य गरिबक्सेपछि चीनले राजा वीरेन्द्रको तीस वर्षे शासनकालमा उहाँलाई दशपल्ट चीनमा स्वागत गरेको जगजाहेर छ।

नेपाल कुनै पनि शक्तिको युद्ध मैदान नहोस् भन्ने राजाको सदाशय स्पष्ट बुझ्न सकिन्छ। सन्तुलित र निष्पक्ष कूटनीतिमा निपुण भएकै कारण असंलग्न परराष्ट्र नीति, सार्कको परिकल्पना र संयुक्त राष्ट्रसंघमा नेपाल सुरक्षा परिषद्मा सफल देखियो। दुईचार करोड डलरका परियोजना वा ससाना स्वार्थमा फसेको भए त्यो उचाइमा पुग्न सम्भव थिएन।

हाम्रा दलहरूका आफ्नो स्वार्थ हुन सक्छन् तर राष्ट्रिय सुरक्षा र परराष्ट्र नीतिमा साझा दृष्टिकोण भएन भने सरकार परिवर्तन हुँदैपिच्छे हामी अल्मलिन सक्छौं।

विश्वका अत्यन्तै पुराना सत्र राष्ट्रमध्ये एउटा हो नेपाल। ‘जेठा मामाको त भाङ्ग्राको धोती, कान्छा मामाको झन् के गति’ भनेझैं हामी कूटनीतिक दृष्टिले अझैसम्म परिपक्व हुन सकैनौं। यही कारण ससाना परकम्पले पनि हामी विचलित भएको देखिन्छ।

आर्थिक स्वार्थ वा सत्तामा पुग्न चाहिने वैदेशिक मद्दत मात्रै कूटनीति होइन। कूटनीति इतिहासको निरन्तरता हो। वर्तमानको बलियो शस्त्र र अस्त्र हो। भविष्यको आधार हो। क्षणिक फाइदा मात्रै हेर्ने काम विकृत राजनीतिको कुरूप अनुहार हो।

कतिपय राष्ट्र कूटनीतिक लापरबाहीले कमजोर मात्र होइन, समाप्त भएका छन्। पाकिस्तान टुक्राउने खेलमा पूर्वी पाकिस्तानी बुद्धिजीवी लोभले फसे। बंगालजस्तो ठूलो भूभागमा मिर जाफर जस्तो देशद्रोहीले पलासीको युद्धमा आफ्नो फौजलाई आत्मसमर्पण गर्ने आदेश दिए। शासक सिराज उद्दौलाले भरोसा गरेकोे मानिस ‘गद्दार’ ठहरिए। इतिहासमा ती देशद्रोहीलाई ‘गद्दार ए हिन्द’ भनिन्छ। उनको चिहानमा आज पनि मानिसहरू थुक्ने गर्छन्।

पदमा पुग्नु ठुलो कुरा होइन तर उसले जनता र राष्ट्रको दीर्घकालीन हितविरुद्ध काम गर्छ भने त्यस्तो शासक सजीव वा निर्जीव हुनुको अर्थ हुँदैन।

कम्बोडियाका सेनापति लोन नोललाई राजाले धेरै भरोसा गर्थे। उनले विदेशी धन लिएर राजा, राष्ट्र र जनतालाई धोका दिएको राजाको आत्मवृत्तान्तमा लेखिएको छ।

कोरियालाई दुई टुक्रा बनाउने खेलमा, सुडानलाई पृथक् बनाउने षड्यन्त्रमा, इथियोपियाबाट इरिट्रिया चोइट्याउँदा, इन्डोनेसियाबाट इस्ट टिमोर बनाउँदा वा सिक्किमलाई भारतमा गाभ्ने खेलमा लोभीपापीहरूलाई नै खरिद गरियो। महाकाली सन्धि गर्न हतारिएका नेपाली नेताहरूले महाकाली नदीको उद्गम कहाँ छ भनेर सोधखोज गरेको भए नेपाली भूभाग मिचियो भनिरहनुपर्ने थिएन।

राजा राजेन्द्रका पालामा काठमाडौंमा बसेका ब्रिटेनका कूटनीतिज्ञहरू, चीनसँगको प्राचीन सम्बन्ध, सन् १९४० को दशकमा सुरु भएको अमेरिका र भारतसँगको सम्बन्ध एवं फ्रान्स र जर्मनीलगायतका युरोपेली राष्ट्रसँगको सम्बन्ध आदिको वस्तुनिष्ठ मूल्यांकन गर्न नसक्दा कूटनीति लहडबाजीमा चल्यो।

दलका कार्यकर्तालाई जागिर खुवाउने, आफन्तको उदरपूर्ति गर्ने वा सरकार फेरिँदा राजदूत फेर्नैपर्ने ठट्यौलीजस्तो भयो कूटनीति।

न राष्ट्रिय मूलनीति छ, न स्पष्ट परराष्ट्र नीति। यसले गर्दा दक्षिण एसियामा बढिरहेको विश्वशक्तिको होडबाजीबाट हामीले ठूलो मूल्य चुकाउनुपर्ने देखिन्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
२१ घण्टा अघि
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस