बालबालिकाको भविष्य पनि पुनर्निर्माण गरौं
१८ भदौ २०८३
•
७ मिनेट पाठ
बालबालिकाको भविष्य पनि पुनर्निर्माण गरौं
नेपाल यतिबेला विनाशकारी बाढी र पहिरोको पीडामा छ। घर बगेका छन्, परिवार उजाडिएका छन्, आफन्त गुमेका छन् र कैयौं बालबालिकाले आफ्ना आमाबुबा गुमाएका छन्। कतिपय बालबालिका सुरक्षित आश्रयको खोजीमा छन्, कतिपयको विद्यालय छुटेको छ भने कतिपयको हातमा भोलिको कुनै निश्चितता छैन। राज्यको पहिलो दायित्व अहिले उद्धार, राहत, उपचार र पुनस्र्थापना हो, यद्यपि यही राष्ट्रिय विपत्तिकै बिचमा तीन वर्षकी गरिमा चौधरीको बलात्कारपछि भएको हत्यालाई भुल्नुहुँदैन।त्यस घटनाले उठान गरेको गम्भीर प्रश्न हो– नेपालका बालबालिका कति सुरक्षित छन् ?




गरिमाको मृत्यु एउटा दुःखद घटना मात्र होइन, यो हाम्रो कानुन, सुरक्षा प्रणाली, न्याय व्यवस्था, सामाजिक चेतना र राज्यको प्राथमिकतामाथिको गम्भीर प्रश्न हो। विगतमा पनि बालबालिकामाथि बलात्कार, यौन हिंसा, अपहरण, हत्या, बेचबिखन र दुव्र्यवहारका घटना भएका छन्। प्रत्येक पटक समाज केही दिन आक्रोशित हुन्छ, दोषीलाई कारबाहीको माग हुन्छ, सरकारबाट वक्तव्य आउँछ र समयसँगै घटना ओझेल पर्छ।

तीन वर्षकी बच्चीलाई अपराधीको नियत पहिचान गर्न सिकाएर सुरक्षित राख्न सकिँदैन। बच्चाले चकलेट देखाउने मानिस असल हो कि अपराधी हो भनेर छुट्याउन सक्दैन। त्यसैले बालबालिकालाई मात्र ‘सावधान रहनू’ भनेर राज्य र समाज आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन। बालसुरक्षा बालबालिकाको जिम्मेवारी होइन, परिवार, समाज र राज्यको सामूहिक जिम्मेवारी हो। अब हाम्रो सोच ‘अपराध भएपछि के गर्ने ?’ बाट ‘अपराध हुन नदिन के गर्ने ?’ तर्फ जानुपर्छ।

सरकारले बालसुरक्षासम्बन्धी छुट्टाछुट्टै कार्यक्रम मात्र होइन, संघ, प्रदेश र स्थानीय तहलाई जोड्ने समग्र राष्ट्रिय बाल सुरक्षा प्रणाली निर्माण गर्नुपर्छ। बालबालिकामाथिको यौन हिंसा र हत्या मात्र होइन, बालश्रम, बालविवाह, बेचबिखन, अनलाइन शोषण, बेवास्ता, कुपोषण र विपत्तिका कारण उत्पन्न जोखिमलाई पनि यही प्रणालीमा समेटिनुपर्छ। प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रमा बाल सुरक्षाको  जोखिम नक्सा बनाउनुपर्छ। सुनसान भवन, विद्यालय वरपरका जोखिमयुक्त स्थान, असुरक्षित बाटो, बजार, बसपार्क, नदीकिनार तथा अन्य संवेदनशील क्षेत्र पहिचान गरी सुरक्षा योजना बनाउनुपर्छ ।

गरिमाको घटनाले कानुन र अनुसन्धानको कमजोरीबारे पनि गम्भीर प्रश्न उठाएको छ। यस्ता जघन्य अपराधमा अनुसन्धान वैज्ञानिक, प्रमाणमा आधारित र समयबद्ध हुनुपर्छ। डिएनए तथा फरेन्सिक प्रमाण, सिसिटिभी, डिजिटल प्रमाण, घटनास्थल व्यवस्थापन र बालमैत्री बयान प्रक्रियामा विशेषज्ञता भएका जनशक्ति विकास गर्नुपर्छ। अनुसन्धान कमजोर भयो भने न्याय कमजोर हुन्छ। न्याय पनि वर्षौंसम्म पर्खाइमा राखिनु हुँदैन।

यस्ता घटनापछि दोषीलाई कठोर सजायको माग हुनु स्वाभाविक छ तर बहस केवल मृत्युदण्डमा सीमित हुनु हुँदैन। नेपालको संविधान, कानुन र मानवअधिकारसम्बन्धी दायित्वभित्र रहेर यस्ता अपराधमा सबैभन्दा प्रभावकारी र कठोर सजायको समीक्षा हुनुपर्छ। त्यसभन्दा महत्त्वपूर्ण कुरा अपराधीले ‘म पक्राउ पर्छु, प्रमाणबाट उम्कन सक्दिनँ र दोषी ठहरिएँ भने सजाय भोग्नैपर्छ’ भन्ने निश्चितता महसुस गर्ने प्रणाली निर्माण गर्नु हो।

कानुन मात्र पर्याप्त छैन।समाजको सोच पनि बदलिनुपर्छ।हामी छोरीलाई मात्र सावधान हुन सिकाउँछौं तर छोरालाई अरूको शरीर, सीमा र सम्मानको अर्थ कति सिकाउँछौं ? विद्यालयदेखि घरसम्म बालबालिकालाई सुरक्षित र असुरक्षित स्पर्श, आफ्नो शरीरमाथिको अधिकार, ‘नाइँ’ भन्न सक्ने क्षमता, सहमति, लैंगिक सम्मान र हिंसाविरुद्धको व्यावहारिक शिक्षा दिनुपर्छ। यो शिक्षा छोरीलाई मात्र होइन, छोराछोरी दुवैलाई दिनुपर्छ। छोरालाई सफल बनाउने मात्र होइन, जिम्मेवार र संवेदनशील मानिस बनाउने शिक्षा आवश्यक छ।

आजको परिस्थिति गरिमाको घटनामा मात्र सीमित छैन।देशमा आएको विनाशकारी बाढीले हजारौं बालबालिकाको जीवनलाई अर्को किसिमको जोखिममा पारेको छ। केहीले आमाबुबा गुमाएका छन्, केही परिवारबाट छुट्टिएका छन्, केहीले घर गुमाएका छन् र धेरैको शिक्षा अवरुद्ध भएको छ।विपत्तिपछि  बालबालिका हराउने, बेचबिखनमा पर्ने, बालश्रममा धकेलिने वा हिंसाको सिकार हुने जोखिम अझ बढ्न सक्छ।त्यसैले विपद् व्यवस्थापनको केन्द्रमा बाल सुरक्षा अनिवार्य रूपमा राखिनुपर्छ ।

बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्दा बच्चाका लागि खाना र पानी मात्र पर्याप्त हुँदैन, सुरक्षित आश्रय, पोषण, स्वास्थ्य परीक्षण, खोप, सरसफाइ, मनोसामाजिक सहयोग र संरक्षण पनि आवश्यक हुन्छ। परिवारबाट छुट्टिएका बालबालिकाको तत्काल अभिलेख राख्ने, उनीहरूको परिवार खोज्ने र सुरक्षित पुनर्मिलन गराउने संयन्त्र हुनुपर्छ। कुनै पनि बच्चालाई अपरिचित व्यक्ति वा संस्थाको जिम्मामा लगाएर राज्य पन्छिनु हुँदैन।

बाढीले आमाबुबा गुमाएका बालबालिकाका लागि सरकारसँग दीर्घकालीन नीति हुनुपर्छ।उनीहरूलाई केही महिनाको राहत दिएर जिम्मेवारी पूरा हुँदैन। उनीहरूको शिक्षा, स्वास्थ्य, पोषण, आवास र भविष्यको जिम्मेवारी राज्यले लिनुपर्छ।सम्भव भएसम्म सुरक्षित आफन्त वा परिवारमा आधारित संरक्षणलाई प्राथमिकता दिनुपर्छ।

त्यस्तो व्यवस्था सम्भव नभए मात्र मापदण्ड पूरा गरेका सुरक्षित संरक्षण केन्द्रको व्यवस्था गर्नुपर्छ। प्रत्येक अभिभावक गुमाएका वा अत्यन्त जोखिममा रहेका बालबालिकाका लागि सरकारले व्यक्तिगत संरक्षण योजना बनाउनुपर्छ। उनी कहाँ बस्छन्, विद्यालयमा छन् कि छैनन्, स्वास्थ्य अवस्था कस्तो छ, पोषणको अवस्था कस्तो छ, मनोसामाजिक सहयोग आवश्यक छ कि छैन र भविष्यमा उच्च शिक्षा वा सिप विकासका लागि के आवश्यक छ, यी सबैको अभिलेख राखिनुपर्छ ।

कुनै पनि बालबालिका राहतको सूचीमा एउटा संख्या मात्र बन्नु हुँदैन। बाढीका कारण विद्यालय छुटेका बालबालिकालाई तत्काल अस्थायी सिकाइ केन्द्र, शैक्षिक सामग्री र वैकल्पिक शिक्षाको व्यवस्था गर्नुपर्छ। दीर्घकालीन रूपमा अभिभावक गुमाएका बालबालिकालाई निःशुल्क शिक्षा, छात्रवृत्ति, प्राविधिक शिक्षा र सिप विकासको अवसर दिनुपर्छ। आज उनीहरूलाई शिक्षा दिनु खर्च होइन, नेपालको मानव पुँजीमा लगानी हो ।

स्वास्थ्यमा पनि यही दृष्टिकोण आवश्यक छ।बाढी प्रभावित बालबालिकालाई नियमित स्वास्थ्य परीक्षण, पोषण, स्वच्छ पानी, सरसफाइ र आवश्यक उपचारको व्यवस्था गर्नुपर्छ तर शारीरिक स्वास्थ्य मात्र होइन, मानसिक स्वास्थ्य पनि राज्यको जिम्मेवारी हो। आमाबुबा गुमाउनु, घर बग्नु, मृत्यु देख्नु र आफ्नो पुरानो संसार गुमाउनु बालबालिकाका लागि गहिरो मानसिक आघात हो।

हरेक वर्ष सरकारले राष्ट्रिय बाल सुरक्षा रिपोर्ट कार्ड सार्वजनिक गर्न सक्छ– कति बालबालिका हिंसाबाट जोगिए, कति हराएका बालबालिका समयमै भेटिए, कति अपराध अनुसन्धान भए, कति मुद्दा समयमै टुंगिए, कति पीडित परिवारले सहायता पाए, बाढीबाट प्रभावित कति बालबालिका विद्यालय फर्किए र कति अनाथ बालबालिकाले शिक्षा तथा स्वास्थ्यको पहुँच पाए। जनताले अब सरकारको वक्तव्य होइन, परिणाम हेर्न पाउनुपर्छ।

बाढीपीडितका लागि राहतको अर्थ केवल बाँचेकालाई खाना खुवाउनु होइन, बाँचेकाको भविष्य बचाउनु पनि हो।घर पुनर्निर्माण गर्नुपर्छ, सडक र पुल बनाउनुपर्छ तर बाढीले भत्काएको बालबालिकाको भविष्य पनि पुनर्निर्माण गर्नुपर्छ।घर बनाउनु पुनर्निर्माणको एउटा भाग हो।बच्चाको भविष्य बनाउनु वास्तविक पुनर्निर्माण हो।

गरिमाको घटनाले हामीलाई अपराधविरुद्ध कठोर हुन सिकाउँछ।बाढीले हामीलाई कमजोर नागरिकको भविष्यप्रति जिम्मेवार हुन सिकाउँछ। यी दुवै संकटले एउटै प्रश्न सोधिरहेका छन्– सबैभन्दा कमजोर नागरिकलाई सुरक्षित राख्न राज्य कति तयार छ? अब हामी घटना भएपछि मात्र आक्रोशित हुने समाज बन्नुहुँदैन, जोखिम पहिचान गर्ने समाज बन्नुपर्छ। बच्चा हराएपछि मात्र खोज्ने होइन, हराउन नदिने प्रणाली बनाउनुपर्छ। अपराध भएपछि मात्र कानुन सम्झने होइन, अपराध हुनुअघि नै कानुनको डर निर्माण गर्नुपर्छ।बच्चा अनाथ भएपछि मात्र राहत दिने होइन, उसको सम्पूर्ण भविष्य सुरक्षित गर्ने नीति बनाउनुपर्छ।

गरिमाकी आमाको खाली काख हामी कहिल्यै भरिदिन सक्दैनौं।उनकी छोरी फर्काउन सक्दैनौं। राज्यले गरिमाको मृत्युबाट सिकेर अर्की आमाको काख खाली हुन नदिने प्रणाली निर्माण गर्न सक्छ।

त्यसैगरी बाढीले आमाबुबा गुमाएका बालबालिकालाई हामीले दयाको पात्रका रूपमा होइन, अधिकार भएका नागरिकका रूपमा हेर्नुपर्छ।

अब हामीले त्यस्तो देश बनाउनुपर्छ, जहाँ कुनै बच्चा घरअगाडि खेल्दा असुरक्षित नहोस्, कुनै बच्चा हराउँदा राज्य तत्काल खोजीमा लागोस्, कुनै पीडित परिवार न्यायका लागि वर्षौं भौंतारिनु नपरोस्, बाढीले आमाबुबा गुमाएका बच्चा भविष्यविहीन हुन नपरोस्, हरेक बच्चाले राम्रो खाना, शिक्षा, स्वास्थ्य र सुरक्षित बाल्यकाल पाऊन्।एउटा बालबालिकालाई सुरक्षित राख्नु एउटा जीवन मात्र बचाउनु होइन, एउटा परिवार, भविष्य र राष्ट्र बचाउनु हो।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
१८ घण्टा अघि
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ७ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस